कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

‘अर्थतन्त्र सुधार्न १५ प्रतिशत आयात प्रतिस्थापन कर लगाऔं’

'रेमिट्यान्स बढ्नुको साटो घट्दो छ, सरकारी खर्च बढ्न सकको छैन, विदेशी लगानी, पर्यटनलगायत स्रोतबाट पनि रकम आएको छैन, त्यसैले अर्थतन्त्रले तरलताको समस्या भोगिरहेको छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका सबैजसो व्यावसायिक क्षेत्रमा लगानी गर्ने समूहमा पर्छ— गोल्यान ग्रुप । यसको नेतृत्व ६२ वर्षीय पवन गोल्यानले गरिरहेका छन् । व्यवसायका लागि हङकङबाट ७५ वर्षअघि नेपाल आएका बाबु सोनहनलाललाई पवनले १६ वर्षको हुदाँदेखि सघाउन थालेका हुन् ।

‘अर्थतन्त्र सुधार्न १५ प्रतिशत आयात प्रतिस्थापन कर लगाऔं’

सुरुमा ट्रेडिङ व्यवसायमा सक्रिय गोल्यान समूहले बैंक, बिमा, उद्योग, पर्यटन र हाल कृषि क्षेत्रमा समेत ठूलो लगानी गरिरहेको छ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्षसमेत रहेका पवनसँग व्यापार व्यवसाय, विद्यमान आर्थिक संकट र समाधानका उपायबारे कान्तिपुरका कृष्ण आचार्ययज्ञ बन्जाडेले गरेको कुराकानीको सम्पादित अंश :

तरलताको विद्यमान अवस्थाबारे बैंक तथा वित्तीय संस्था परिसंघले विस्तृत अध्ययन पनि गरेको छ । के कारणले झन्डै एक वर्षदेखि निरन्तर वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभावको अवस्था आएको हो ?

सबैभन्दा असन्तुष्टि लाग्ने कुरा अहिले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने पैसा पनि छैन । एक वर्षदेखि निक्षेप बढेको छैन । चालु आर्थिक वर्षको ७ महिनाको समग्र बैंकिङ उद्योगको निक्षेप औसतमा वृद्धिदर २ प्रतिशतले ऋणात्मक छ । निक्षेपबाट कर्जा प्रवाह गर्ने पुग्ने स्रोत जुट्न सकेको छैन । मागअनुसार कर्जा प्रवाह गर्न सकिएको छैन । चालु आर्थिक वर्षदेखि आयात उच्च दरले बढ्यो ।

अघिल्ला वर्षहरूमा वार्षिक रूपमा हुँदै आएको आयात बराबर अहिले ७ महिनामै आयात भएको छ । त्यसलाई पनि बैंकहरूले लगानी गर्नुपर्‍यो । पछिल्लो ७ महिनामा बैंकहरूले करिब ४ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । करिब ९० प्रतिशत आयात र बाँकी १० प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा गएको छ । रेमिट्यान्स बढ्नुको साटो घटिरहेको छ, सरकारी खर्च बढ्न सकेन, विदेशी लगानी, पर्यटनलगायत स्रोतबाट पनि रकम आएन । यी कारणले अर्थतन्त्रले तरलताको समस्या भोगिरहेको छ ।

चीनमा सबैभन्दा धनी किसान नै छन् । सबैभन्दा बढी खुसी पनि किसान नै हुन्छन् । यस कारण किसानलाई धनी बनाएर कृषि उत्पादन बढाउन सकिन्छ ।

नेपालमा राष्ट्र बैंकले २०७२ सालमा एकै पटक २ अर्बबाट बैंकहरूको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍यायो । पुँजी बढाउँदा बैंकहरू मर्जरमा जान्छन्, बलिया हुन्छन् र संख्या घट्छ भन्ने राम्रो उद्देश्यले त्यो नीति ल्याइएको थियो । तर, विडम्बना हकप्रद सेयरमार्फत पुँजी बढाउन दिइयो । हकप्रद सेयर निष्कासन गर्न नदिएको भए बोनस सेयरबाट पुँजी नपुग्ने बैंकहरूलाई मर्जरमा जानुपर्ने बाध्यता आउँथ्यो । संख्या पनि घट्थ्यो । त्यति बेला थोरै बैंक मात्र मर्जरमा गए, धेरैले हकप्रदमार्फत पुँजी बढाए । हकप्रद सेयरमार्फत पुँजी पुर्‍याउने बैंकलाई प्रतिफल बढाउनुपर्ने दबाब पर्‍यो । उनीहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागे । अरू बैंकले पनि त्यही बाटो पछ्याउन थालेपछि बैंकिङ व्यवसाय धेरैले बढ्यो ।

अर्को कारण, राष्ट्र बैंकले बिस्तारै बैंक तथा वित्तीय संस्थाको गैरब्याज आय (विभिन्न सेवा शुल्क आदि) कडाइ गर्‍यो । केही बैंकले उच्च शुल्क लिएकै कारण राष्ट्र बैंकले गैरब्याज आयमा कडाइ गरेको थियो । यस कारण मैले बैंकहरूलाई हामी स्वनियमनमा बसौं, नत्र ठूलो समस्या हुन्छ भनिरहेको छु । नेपालका बैंकहरूको गैरब्याज आय सार्क क्षेत्रमा मात्र नभई विश्वभरमै सबैभन्दा कम छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो आय २१ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा यो १८ प्रतिशत रहेकामा अहिले करिब १५/१६ प्रतिशतमा झरेको छ । यस कारण बैंकहरू जसरी हुन्छ कर्जा विस्तारमा लागे । राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गर्‍यो । बैंकहरूले बोनस सेयर दिन थाल्यो । यसले पुँजी बढ्यो । पुँजी बढेपछि प्रतिफल पनि बढाउन बैंकहरूलाई दबाब पर्‍यो ।

बैंक तथा वित्तीय संस्थाले आक्रामक रूपमा कर्जा विस्तार गरेकाले यस्तो अवस्था आयो भन्ने आरोप छ नि ?

यसमा आंशिक सत्य छ । आयात बढेपछि प्रतीतपत्रको (एलसी) माग बढ्यो । त्यसमा राम्रो नाफा र जोखिम कम हुने भएकाले पनि बैंकहरू आक्रामक रूपमा त्यता लागेकै हुन् । तर त्यो मात्र तरलता अभावको कारण होइन । प्रमुख कारण निक्षेप नबढ्नु नै हो । निक्षेप बढ्नलाई रेमिट्यान्स बढ्नुपर्‍यो, पर्यटक आउनुपर्‍यो । समग्रमा मुलुक बाहिरबाट पैसा आउनुपथ्र्यो । त्यो हुन सकेन ।

समस्या समाधानका उपाय के–के हुन् ?

आयात घट्ने, रेमिट्यान्स र सरकारी खर्च बढ्ने तथा राष्ट्र बैंक र सरकारले कुनै विशेष नीतिगत व्यवस्था नगर्दासम्म बैंकमा पर्याप्त पैसा आउने सम्भावना देखिन्न । पैसा नआउँदासम्म सजिलै कर्जा पाउने अवस्था आउँदैन । पहिलो रेमिट्यान्स बढाउने उपाय गर्नुपर्छ । यसका लागि वैदेशिक रोजगारीमा जाने स्वीकृति दिँदा नै बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गर्नुपर्छ । ता कि विदेशमा कमाएको रकम त्यो व्यक्तिले सिधै आफ्नो खातामार्फत मात्र पठाउने गर्नुपर्छ । हाल रेमिट्यान्समार्फत आएको निक्षेपलाई थप एक प्रतिशत बढी ब्याज दिने व्यवस्था छ । यसलाई बढाएर थप एक प्रतिशत बढी ब्याज दिन बैंक तथा वित्तीय संस्था परिसंघले सरकार र राष्ट्र बैंकमा पटकपटक आग्रह गर्दै आएको छ ।

वैधानिक प्रणालीमार्फत रेमिट्यान्स बढाउन वैदेशिक रोजगारीमा गएकाहरूलाई कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा निश्चित प्रतिशत कोटा व्यवस्था गर्नुपर्छ । यसो गर्दा एकातिर उनीहरूको पैसा बचत हुन्छ, अर्कोतर्फ पूर्वाधारमा लगानी गर्न पुँजी निर्माण हुन्छ, राम्रो प्रतिफल पनि पाइन्छ । विदेशमा गएका नेपालीहरूको आईपीओमा धेरै आकर्षण पनि छ । यो उनीहरूको माग पनि हो । यसो गर्दा विदेशमा दु:ख गरेर कमाएको रकम उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सकिन्छ । उपभोगमा जाने खर्च कम हुन्छ । विद्यमान समस्या समाधान गर्न केही समयका लागि आयातलाई निरुत्साहित गर्नुपर्छ ।

विगतमा केही व्यापारीले आफूलाई मात्र फाइदा लिन पुगे । त्यो गलत हो । त्यसका आधारमा सबैलाई दोष दिन भएन । बैंकिङ व्यवसायका लागि पनि मिहिनेत र धेरै अनुभव चाहिन्छ ।

हामीसँग करिब साढे ६ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात गर्नु पुग्ने विदेशी मुद्रा सञ्चिति छ । हरेक महिना यो घट्दो छ । यसलाई बढाउन अब पनि पहल नगरिए हामीसँग अत्यावश्यक सामग्री जस्तै खाद्यान्न र औषधि किन्ने विदेशी मुद्रा पनि नहुन सक्छ । प्रतीतपत्र खोल्दा विदेशी बैंकहरूले तिम्रो देशमा विदेशी मुद्राको सञ्चिति राम्रो छैन भनेर प्रश्न उठाउन थालिसके । अहिले पनि केही बैंकहरूले शतप्रतिशत नगद नराखी एलसी खोल्न नपाउने अवस्था छ । यही क्रम बढिरहे आउँदा दिनमा नेपाल कालोसूचीमा पर्न सक्ने अवस्था पनि आउन सक्छ । त्यस कारण निर्यात प्रोत्साहन र आयात प्रतिस्थापनको नीति राज्यले लिनुपर्छ । यसका लागि करिब १५ प्रतिशत आयात प्रतिस्थापन कर लगाउन उपयुक्त देखिन्छ ।

सिधै भन्सार कर बढाउँदा विश्व व्यापार संघ, साफ्टालगायत संघसंस्थाबाट विरोध आउन सक्छ । यस कारण हाम्रो मुलुक समस्यामा छ, वित्तीय संकटको अवस्थामा सुधार गर्न, मुलुकलाई आत्मनिर्भर बनाउन १५ प्रतिशत आयात प्रतिस्थापन कर लगायौं भन्दा बाहिरी जगत्ले पनि प्रश्न उठाउन पाउँदैन । यो व्यवस्था कृषि र पेट्रोलियम पदार्थमा पनि लागू गर्नुपर्छ ।

१५ प्रतिशत आयात प्रतिस्थापन कर लगाउँदैमा तरलता समस्या समाधान हुन्छ त ?

एउटै कारणले अर्थतन्त्रमा समस्या आएको पनि होइन, समाधान पनि हुँदैन । उल्लिखित सबै उपाय अपनाएर मात्र समस्या समाधान गर्न सकिन्छ । नेपालमा कृषिमा जम्मा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्दै आएको छ । किसानलाई अनुदान दिएर देशभित्र कृषि उत्पादन बढाउँछु भन्नु दिवास्वप्न मात्र हो । अहिलेको अवस्थामा नेपालका उत्पादनले बाहिरका वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

भारत, चीन, बंगलादेशलगायत राष्ट्रबाट ठूलो परिमाणमा कृषि सामग्री आयात हुन्छ । यसलाई रोक्ने बाटो भनेकै आयात प्रतिस्थापन कर हो । यसो गर्दा आन्तरिक उत्पादन बढ्ने भएकाले केही वर्षमै हामीले मागअनुसार कृषि उपज उत्पादन गर्न सक्षम हुन्छौं । ठूलो संघर्ष गरेर जेनतेन चलिरहेका उद्योगको उत्पादन क्षमता पनि बढ्छ । थप उद्योग पनि स्थापना गर्न पनि सकिन्छ ।

विदेशीबाट विदेशी मुद्रामा ऋण लिन पाउने नीति पनि छ । तर अपेक्षाअनुसार बैंकहरूले ऋण लिन सकेनन् । यसमा के–कस्ता अप्ठ्यारा रहेछन् ?

केही बैंकको क्षमता नपुगेको हो भने प्राय: बैंकले प्रयास नै गरेनन् । बैंकिङ भनेको पैसा कमाउनकै लागि मात्र होइन । अरू व्यापार जस्तो नाफा भएन भने छाडेर जाने भन्ने हुँदैन । अल्पकालीन नाफा घाटा मात्र हेरेर बैंकिङ व्यवस्था गर्दा जोखिम हुन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले ४.४ प्रतिशत स्प्रेड कायम गर्न पाउँछन् । अहिले औसत स्प्रेड दर ३.८ प्रतिशतभन्दा कम छ । बैंकहरूको लागत बढिरहेको छ । त्यसअनुसार कर्जाको ब्याजदर बढ्न सकेको छैन । यसले केही कर्पोरेटलाई फाइदा भयो । ७ प्रतिशतको ब्याजदर १४ प्रतिशत पुर्‍याए भनेर बैंकहरूले गाली खाइरहेका छन् । त्यो बेलामा कम ब्याजदरमा टिकेको भए अहिले ब्याजदर धेरै माथि जाँदैनथ्यो । यसमा बैंकहरूले पनि दूरदर्शी योजना बनाउन नसकेकै हुन् ।

सञ्चालकहरूले व्यवस्थापनलाई नाफामा मात्र केन्द्रित हुन निर्देशन दिएकाले बैंकहरू नाफामुखी भए, आक्रामक र अस्वस्थ रूपमा प्रतिस्पर्धामा उत्रिए भन्ने आरोप छ नि ?

विगतमा यो कुरा ठीक थियो । पछिल्ला दिनमा प्राय: बैंकमा यस्तो अवस्था छैन । कोभिड पनि बैंकहरू पनि उद्धारतर्फ लागेका हुन् । त्यसो नगरेको भए अहिले अवस्था डरलाग्दो हुन्थ्यो । यही कारण अर्थतन्त्र संकुचनमा जान पाएन । अहिले अर्थतन्त्रमा देखिएको आक्रामकता बैंकहरूका कारण आएको होइन । आर्थिक गतिविधि बढेपछि माग र आयात बढ्यो । त्यसका लागि बैंकहरूमा एलसीको माग बढ्यो । एलसीसँगै ट्रस्ट रिसिप्ट, डिमान्ड कर्जा पनि गयो । अहिलेको अवस्था त्यही हो । विगतमा भने सञ्चालकहरूले नाफाको लक्ष्य तोकिदिएकै हुन् । तर, अहिले त्यो अवस्था छैन । लक्ष्य तोकिदिने सञ्चालकहरूले नै हो । यसलाई गलत सोच्नु भएन ।

सरकारले ब्याज अनुदानको सस्तो कर्जा र राष्ट्र बैंकले सस्तो ब्याजदरको पुनर्कर्जा कार्यक्रम ल्याएको छ । त्यसको चरम दुरुपयोग भयो । ठूला र पहुँचवालाले मात्र सुविधा लिए भनिन्छ नि ?

भटमास र सोयाबिन तेल, घिउलगायतका लागि प्रवाह भएको कर्जालाई पनि कृषिमै राखिएको रहेछ । यी शीर्षकमा प्रवाह भएको कर्जामा अनुदान त छैन । यसरी कृषि कर्जाको रकम धेरै देखिएको छ । कृषिमा अनुदान पनि ४५ अर्ब रुपैयाँ गएको छ । कृषि कर्जा पनि प्रभावकारी भएको छैन । यसबारेमा बृहत् अध्ययन हुन जरुरी छ । यसबारे म आफैं पनि अध्ययन गर्दै छु । कृषि कर्जाका नाममा लिएको रकम घरजग्गा, सेयरलगायत क्षेत्रमा गयो कि ?

तपाईं पनि कृषि उद्यमी हुनुहुन्छ ? कर्जा सुविधा तपाईंले पनि लिनुभएको छ, कहाँ उपयोग गर्नुभएको छ ?

सुरुमा पाँच प्रतिशत ब्याज अनुदानमा मैले साढे १० करोड रुपैयाँ लिएको हुँ । त्यसमा आफ्नो केही लगानी जोडेर सबै कृषि फार्मको विकास तथा विस्तार गर्न लगाएको छु । कृषि काम गर्न जग्गा पनि किनेको छु । त्यो जग्गा वर्षौंसम्म पनि खेतीकै लागि हो, व्यवसायको सम्भावना छैन । अहिले पनि करिब ४ करोड जति कर्जा भुक्तानी गर्न बाँकी छ । त्यसबाहेक सहुलियत कर्जा लिएको छैन ।

आईएमएफलगायत अन्तर्राष्ट्रिय निकायले हरेक वर्ष कर्जाको गुणस्तर खस्किएका विषयमा प्रश्न उठाउने गरेका छन्, यसमा परिसंघको धारणा के हो ?

राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाका कारण पछिल्लो दुई वर्षदेखि खराब कर्जा बढ्न पाएको छैन । यस अवधिमा केही असुली भएकाले खराब कर्जा केही घटेको अवस्था पनि छ । उदाहरणका लागि होटललाई हेरौं । होटलबाट ब्याज पनि नउठाउन र त्यसलाई खराब कर्जामा वर्गीकरण नगर्न राष्ट्र बैंकले भनेको छ । यी क्षेत्रले भोलि एकै पटक २ वर्षको ब्याज तिनुपर्ने अवस्था आउन सक्छ । त्यति बेला मेरो क्षमता हुने वा नहुने भन्ने कुराले खराब कर्जाको वास्तविक अवस्था थाहा हुन्छ । केही बैंकले ‘इभरग्रिनिङ’ गरेकै छन् । केही बैंकले गल्ती गर्दा वित्तीय क्षेत्रले नै आरोप लाग्ने गरेको छ । म दाबीसाथ भन्न सक्छु, धेरै बैंकले त्यसो गरेका छैनन् । उनीहरूले सही बाटोबाटै व्यवसाय विस्तार गरिरहेका छन् । नेपालमा बैंकिङ क्षेत्रको नियमन कडा खालको छ । यस कारण पनि धेरै चलखेल गर्ने अवसर बैंकहरूलाई हुँदैन ।

बैंकहरूले स्थिर सम्पत्ति धितोमा मात्र कर्जा लिन थाले । यही कारण प्रोजेक्ट फाइनान्सिङ फस्टाएन भनिन्छ नि ?

प्रोजेक्ट फाइनान्सिङ नगर्ने भन्ने होइन । एक करोड रुपैयाँसम्मको कर्जा प्रोजेक्ट फाइनान्सिङ गरिरहेका छन् । तर यस्तो कर्जा व्यक्ति हेरेर दिने गरिन्छ । बैंकले पत्याएको मानिसलाई उसको तिर्ने क्षमताभन्दा बढी पनि कर्जा दिन्छन् । अरूलाई सजिलै दिँदैनन् । यसबारे मैले राष्ट्र बैंकसमक्ष पनि कुरा राखेको छु । यो प्रवृत्तिले विकास हुँदैन । प्रोजेक्ट फाइनान्सिङ गर्दा एनपीए बढ्ने जोखिम पनि रहन्छ । तर, जोखिम हेरेर बैंकले केही प्रतिशत ब्याजदर कम–बढी पनि गर्न सक्छन् । तर काम गर्न चाहनेले पैसा पाउनुपर्‍यो । अहिले पर्याप्त धितो नहुनेले कर्जा पाउने अवस्था छ ।

बैंकिङ क्षेत्रमा गरिएको लगानीको प्रतिफल (आरओई) हरेक वर्ष घट्दो छ । तुलनात्मक रूपमा अन्य क्षेत्रमा राम्रो प्रतिफल पाइने भएकाले लगानी त्यता हस्तान्तरण हुन लागेको भन्ने सुनिन्छ । अब प्रतिफलका हिसाबले बैंकिङ क्षेत्र कम आकर्षित देखिएको हो ?

यस विषयमा मैले नै बोलेको छु । लगानी रूपान्तरण गर्नेभन्दा पनि अवसरको कुरा हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्न पाउने व्यवस्था छ । त्यो व्यवस्थाअनुसार तोकिएको समयपछि संस्थापकहरूले सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउनुपर्‍यो । कोही मानिसले बैंकमै लगानी गरिरहन चाहन्छ भने प्रतिफल पनि पाउनुपर्‍यो । बैंकिङ क्षेत्रको प्रतिफल हरेक वर्ष घट्दो छ । अरू क्षेत्रमा योभन्दा राम्रो प्रतिफल आउने भएपछि लगानीकर्ता त्यता आकर्षित हुनु स्वाभाविक हो ।

एकै व्यक्ति बैंकर र व्यवसायी दुवै भूमिकामा भएकाले स्वार्थ बाझियो भन्दै अलग गर्ने कुरा बेला–बेला उठ्ने गरेको छ । नेपालमा बैंकर र व्यवसायी छुट्याउन सम्भव छ ?

असम्भव भन्ने हुँदैन । राज्यले चाह्यो भने सम्भव छ । व्यावसायिक (प्रोफेसनल) व्यक्ति बैंकको नेतृत्वमा रहेको बैंकले भन्दा व्यवसायी भएको बैंकले राम्रो पर्फमेन्स (कार्यप्रगति) गरेको छ । यस कारण बैंकिङ क्षेत्रमा पर्फमेन्स पनि हेर्नुपर्छ होला । यो हेर्ने काम राष्ट्र बैंक र सरकारको हो । राज्यको नीति जे हुन्छ, हामीले त्यो मान्नुपर्छ । लगानी गरेकालाई मात्र त्यसको पीडा हुन्छ ।

विगतमा केही व्यापारीले आफूलाई मात्र फाइदा लिन पुगे । त्यो गलत हो । त्यसका आधारमा सबैलाई दोष दिन भएन । बैंकिङ व्यवसायका लागि पनि मिहिनेत र धेरै अनुभव चाहिन्छ । तुलनात्मक रूपमा व्यापारीहरूसँग त्यो अनुभव हुन्छ । व्यावसायिक बनाउने नाममा अनुभव नभएको व्यक्तिलाई जिम्मेवारी दिने र अनुभवीलाई बाहिर पठाउने पनि त गर्नु भएन । यो धारणा कुण्ठित विचारधारा हो । यो मेरो निजी धारणा हो ।

तपाईं नै बैंकर र व्यवसायीको दोहोरो भूमिकामा हुनुहुन्छ, सबैतिर किन ?

ट्रेडिङ व्यवसायको कुरा गर्नुभएको हो भने छ धेरै गुणा सजिलो छ । र प्रतिफल पनि निकै राम्रो छ । कुनै एउटा राम्रो ब्रान्डको एजेन्सी ल्यायो, त्यसलाई बेच्यो, वर्षको २/३ अर्ब रुपैयाँ नाफा आइहाल्छ । हाम्रो देशको प्रमुख समस्या नै यही हो । धेरै मानिस यो व्यवसायमा लागेका छन् । यही कारण हामीले कुनै विशेष वस्तु तथा उत्पादनमा आफ्नो पहिचान बनाउन सकेका छैनौं । अब विदेशबाट ल्याएका सामानको बिक्रीलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउनुपर्छ र त्यसको बिक्रीका लागि प्रोत्साहन गर्नुपर्छ । बाहिरबाट सामान ल्याएर यहाँ बेच्दा राम्रो नाफा भइरहेको छ । राज्यले बिस्तारै त्यसलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ । राज्यले नीति रूपान्तरण गर्ने उपयुक्त समय हो यो । हामी सबैको सोच पनि परिवर्तन गर्नुु छ । हामीले व्यापारभन्दा उद्योगमा नाफा बढाउनुपर्छ भन्ने सोच नहुँदासम्म आन्तरिक उत्पादन बढाउन सकिँदैन ।

उद्योगको गर्न धेरै अप्ठ्यारो छ । उद्योग खोलिसकेपछि कामदार, कच्चा पदार्थ, मेसिनरी औजारहरू सबैको व्यवस्थापन गर्नुपर्‍यो । तयारी भएको वस्तु बजारसम्म पुर्‍याउन र बिक्री गर्न पनि समस्या छ । यस्ता अनेकै समस्या भोगर उत्पादन गर्दा पनि २/३ प्रतिशत मात्र नाफा हुन्छ । यही लगानी व्यापारमा लगायो भने धेरै नाफा कमाउन सकिन्छ ।

विगतमा गोल्यान समूहले पनि ट्रेडिङ गरेको होइन ?

यो ३० वर्षअघिको कुरा हो । त्यो बेलामा हामी टेक्सटाइल व्यापारमा थियौं । त्यसैसँग जोडेर सिल्कका कपडा पनि उत्पादन गरौँ भनेर त्यसको धागो मगाइयो । बजारमा त्यसको माग धेरै रहेछ । सबै सामग्री भारतमा जाँदो रहेछ । मलाई त्यो व्यापारमा चित्त बुझेन । यो व्यापार गर्दा सजिलै नाफा हुने भएकाले सन्तानहरूमा मिहिनेत गर्ने बानी हराउला भन्ने डर लाग्यो । यहाँ मैले ट्रेडिङ व्यापार गर्नेका सन्तान बिग्रिए भन्न खोजेको चाहिँ होइन । मिहिनेत नगरी पैसा कमाउँदा त्यसको महत्त्व कम हुन्छ भन्ने मेरो सोचाइ हो । यस कारण मैले त्यो व्यापार बन्द गरें । त्यसपछि कपडा उद्योग गर्‍यौं, छाता, जुत्ताचप्पल, अडियो क्यासेट, जिप फसनर, स्टिल, प्लास्टिकका बोरालगायत उत्पादन गर्ने उद्योग स्थापना गर्‍यौं । सन् १९९५ तिर आएर धागो बनाउने उद्योग सुरु भएको हो । अहिले हाम्रा तीन उद्योग पूर्ण रूपमा निर्यातमा आधारित छन् । ती उद्योगले उत्पादन गरेको ७० प्रतिशत निर्यात हुन्छ भने ३० प्रतिशत स्वदेशमा बिक्री हुन्छ ।

हाम्रो समूहको मुख्य लगानी बैंक र इन्स्योरेन्स कम्पनीमा पनि छ । पछिल्लो दिनमा हाइड्रोपावरलगायत ऊर्जामा लगानी बढाएका छौं । करिब ७ सय मेगावाटको जलविद्युत् आयोजनाको लाइसेन्स हाम्रो समूहसँग छ । सबैमा हामीले मात्र लगानी गर्न सक्दैनौं । यसमा विदेशी लगानी ल्याउने सोचमा छौं । करिब ८० प्रतिशत विदेशी लगानीकर्तालाई दिएर बाँकी २० प्रतिशत सेयर लगानी हाम्रो रहने गरी विदेशी साझेदार खोजी गरिरहेका छौं । मुलुकको पैसा नेपालभित्रै रहोस् भन्ने हाम्रो चाहना हो । भर्खरै संखुवासभामा ५४ मेगावाटको जलविद्युत् आयोजनाको पीपीए हुने तयारीमा छ । यसमा करिब ८ करोड त हामीले राजस्व बुझाइसकेका छौं । यसबाहेक होटल क्षेत्रमा पनि लगानी सुरु गरेका छौं । दीर्घकालमा काठमाडौं बाहिर पनि होटल खोल्न योजना छ । कृषिमा लगानी बढाउँदै छौं ।

कृषि उद्यममा पनि हुनुहुन्छ, त्यसको अनुभव पनि बताइदिनुस् न ?

सक्रिय व्यवसायबाट अवकाश लिएपछि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत झापाको एउटा गाउँबाट कृषि सुरु गरेको थिएँ । अर्ग्यानिक खेती उत्पादन गर्न किसानलाई प्रोत्साहन दिन त्यो प्रयास गरिएको थियो । सुरुमा एक गाउँबाट थालिएको काम विस्तार हुँदै २५ गाउँमा पुग्यो । त्यसका लागि मैले मासिक २५ लाखसम्म खर्च गरेको थिएँ । त्यसपछि कोभिड आयो । सीएसआरको काम बन्द भयो । त्यसमा करिब १ हजार किसान आबद्ध थिए । यसरी खेती गर्दा उत्पादन बढ्यो र लागत घट्यो । तर, समस्या बजारीकरणमा देखियो । ती किसानलाई बजारसम्म जोड्नका लागि ‘माटो’ कम्पनी स्थापना गरिएको हो ।

अहिले ती किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउनुका साथै माटो कम्पनीले आफैं उत्पादन पनि गर्दै आएको छ । खेती गर्ने प्रयोजनका लागि झापामै करिब १ सय ४० बिघा जग्गा पनि किनेका छौं । त्यो सबै जग्गा व्यावसायिक खेतीकै लागि उपयोग गर्ने हो ।

विभिन्न कारणले नेपालमा कृषि उद्यम गर्न अलि गाह्रो छ । तीन तहको सरकार छ । ती तीनतिर फर्किएका हुन्छन् । तर असम्भव भन्ने पनि छैन । यसका लागि नीति निर्माताको इच्छा शक्ति चाहिन्छ । कृषि उत्पादनलाई बढाउन पहिलो चरणमा मुलुकभरका किसान, खेतीयोग्य जग्गा, जग्गाको उर्वरा शक्ति, सिँचाइमा पहुँचलगायत कुराको तथ्यांक चाहिन्छ । स्थानीय पालिकाले चाहेमा यी तथ्यांक एक महिनामै संकलन गर्न सक्छन् । उल्लिखित तथ्यांक उपलब्ध भएपछि तिनको उपयोग, बीउबिजन, मललगायत कुराका लागि कृषि विज्ञसँग बसेर योजना बनाउनुपर्छ । खेतीयोग्य जग्गा उपलब्धतासँगै किसानलाई सस्तोमा उन्नत बीउ, मल र सिँचाइ सुविधा प्रदान गर्नुपर्छ । सुपथ मूल्यमा वा अनुदानमा ट्रयाक्टरलगायत कृषि सामग्री प्रदान गर्न सकिन्छ । यसो गर्दा किसानको लागत कम पर्छ । यति गरेपछि उत्पादन भइहाल्छ । त्यसलाई व्यवस्थापन गर्न स्टोरेज, स–साना एग्रो प्रोसेसिङ उद्योग स्थापना गर्नुपर्छ । यी उद्योग चलाउन पनि किसान र स्थानीयलाई प्राथमिकता दिनुपर्छ ।

चीनमा सबैभन्दा धनी किसान नै छन् । सबैभन्दा बढी खुसी पनि किसान नै हुन्छन् । यस कारण किसानलाई धनी बनाएर कृषि उत्पादन बढाउन सकिन्छ । यति मात्र गर्दा पनि आगामी २/३ वर्षमा नेपालमा पुग्ने कृषि उपज उत्पादन गर्न सकिन्छ, जसबाट हाल हुँदै आएको २ खर्ब रुपैयाँको कृषि उपजको आयात कम गर्न सकिन्छ । सरकारले कृषिमा मीठा–मीठा नारा मात्र दिएर हुँदैन । प्रभावकारी कार्यान्वयन हुनुपर्छ । आन्तरिक उत्पादन नबढाए अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्न सकिँदैन ।

तस्बिरहरू : कविन अधिकारी/कान्तिपुर

प्रकाशित : फाल्गुन २५, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?