कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वीरगन्जमा होटल, रेस्टुरेन्टको स्तर निर्धारण गर्न थालियो

शंकर आचार्य

पर्सा — वीरगन्जका होटल तथा रेस्टुरेन्टको स्तर निर्धारण गर्दै लोगो वितरण कार्य सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण मधेस प्रदेश कार्यालय जनकपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जले संयुक्तरुपमा मंगलबारदेखि खाद्य स्वच्छताको आधारमा यहाँका होटल तथा रेस्टुरेन्टहरुको स्तर निर्धारण र लोगो वितरण थालेका हुन् ।

वीरगन्जमा होटल, रेस्टुरेन्टको स्तर निर्धारण गर्न थालियो

यहाँस्थित क्लार्क्स रिसोर्टबाट अनुगमन थालिएकोमा उसलाई 'तीन तारे' स्तर दिइएको छ । उसले १ सयमा ९५ अंक प्राप्त गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण मधेस प्रदेश कार्यालय जनकपुरका प्रमुख विजय खनालले विश्वव्यापीरुपमा अमेरिकाबाट यो प्रणाली सुरु गरिएकोमा एसिया महादेशमा नेपालले मात्र हाल यो प्रणाली अंगीकार गरेको बताए । नेपालमा यो प्रक्रिया अनिवार्य नभई स्वेच्छिक भएको पनि उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका प्रमुख बिक्की राउतले यसअघि वीरगन्जमा होटल तथा रेस्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकलाई सचेत बनाउन अभिमुखीकरण कार्यक्रम समेत गरिएको बताए । वीरगन्जबाट हाल २२ होटल एवम् रेस्टुरेन्टहरुबाट स्तरीकरणका लागि निवेदन परेकोमा मंगलबार र बुधबार सबैको अनुगमनपछि स्तर निर्धारण र लोगो वितरण गरिने उनले बताए ।

झण्डै तीन वर्षपछि वीरगन्जमा यसरी स्तरीकरण मूल्यांकन थालिएको उनको भनाइ छ । राउतले होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण मूल्यांकनपछि लोगो टाँस्नुका साथै प्रमाणपत्र प्रदान गर्ने गरिएको बताए । यस्तो लोगो तथा प्रमाणपत्रको समयावधि १ वर्षको हुन्छ । होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा भएको व्यवस्थाअनुसार ५० वटा सूचकको आधारमा होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिन्छ। एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दा माथि अंक ल्याउने होटललाई अति उत्तम (३ वटा स्टार सहितको हरियो लोगो), ८० देखि ८९ नम्बर ल्याउने उत्तम (२ स्टार सहितको हरियो लोगो), ६५ देखि ८९ सम्म सन्तोषजनक (१ स्टार हरियो लोगो र ५० देखि ६४ सम्म अंक ल्याउने सामान्य (पहेँलो लोगो) टाँसिदै छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले स्तरीकरण तथा लोगो वितरण कार्यक्रमले यहाँका होटल तथा रेस्टुरेन्टहरुका कमीकमजोरी घट्दै गएर उपभोक्तासँगै होटल व्यवसायी पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : फाल्गुन २४, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×