कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कक्षा ९ बाट गाउँमै कृषि प्राविधिक पढ्दै विद्यार्थी

चन्द्र कार्की

तेह्रथुम — धनकुटाको महालक्ष्मी नगरपालिका ७ का निर्मल पराजुली लालीगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको बसन्त माविमा बाली विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका छन् । आफ्नो घरनजिकै अन्य विषयमा पढाइ हुने विद्यालय हुँदाहुँदै पराजुली भविष्यमा कृषि प्राविधिक बन्ने उद्देश्यले यहाँसम्म आएका हुन् । देशमा कृषि प्राविधिकको अभाव रहेको र आफ्नो रुची पनि कृषि क्षेत्र नै भएकाले कक्षा ९ देखि नै बाली विज्ञान विषय लिएर अध्ययन गरिरहेको उनको भनाइ छ । 

कक्षा ९ बाट गाउँमै कृषि प्राविधिक पढ्दै विद्यार्थी

बसन्तपुर बजारकी कृतिसा कार्की पनि सोही विद्यालय नजिकै निर्माण भएको ग्रीन हाउस (प्लास्टिक घर) मा भर्खरै रोपेको तरकारी गोडमेल तथा रोगकीरा नियन्त्रणमा खटिरहेकी छन् । उनी पनि सोही विद्यालयकी कक्षा १२ को छात्रा हुन् । पराजुली र कार्कीजस्ता कक्षा ९ देखि १२ सम्मका २ सय बढी विद्यार्थी कृषि प्राविधिक बन्ने उद्देश्यमा छन् । छोराछोरीले घरकै खाना खाएर गाउँकै विद्यालयमा कृषि विषय पढ्न पाएपछि आर्थिक अवस्था कमजोर भएका अभिभावक निकै दङ्ग छन् ।

आर्थिक अवस्थाका कारण अन्यन्त्र गएर कृषि विषय पढ्न सक्ने अवस्था नभएका धेरै विद्यार्थीका लागि बसन्त माविमा सुरु भएको बाली विज्ञान विषयको पढाइ निकै प्रभावकारी भएको प्रधानाध्यापक नरेन्द्र काफ्लेले बताए । आर्थिक अभावका कारण पढाइलाई पूर्णविराम लगाउनैपर्ने अवस्थाका धेरै विद्यार्थी विद्यालयमा बाली विज्ञान विषय अध्ययन गरिरहेका छन् । सामान्य खेती किसानी गर्ने परिवारका धेरै बालबालिकाले आफूले रोजेको कृषि विषय अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।

लालीगुराँस नगरपालिका ३ मुसाङखेलका सामान्य परिवारका १५ वर्षीय रोशन भट्टराई यसै वर्षबाट कक्षा ९ मा बाली विज्ञान विषय लिएर अध्ययन गरिरहेका छन् । घरनजिकै भएको विद्यालयमा प्राविधिक धार तर्फको कृषि विषय अध्ययन गर्न पाउँदा खुसी लागेको उनले बताए । उनका बुबा आमा व्यवसायिक किसान हुन् । ‘कृषि विषय पढेर बुबा आमालाई खेतीपातीमा सघाउने हो’ भट्टराईले भने । ०७० सालबाट कक्षा ९ देखि सुरु भएको बाली विज्ञान विषयको पढाइ अहिले छैटौं ब्याचमा पुगेको छ । विद्यालयमा तेह्रथुम, संखुवासभा र धनकुटाका बालबालिका अध्ययनरत छन् । विद्यार्थीलाई आधुनिक खेती प्रणाली अपनाएर थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सकिने प्रविधि समेत सिकाइरहेको शिक्षक मानिक कार्कीले बताए । केही वर्षभित्रै ग्रामीण बस्तीमा घरैपिच्छे कृषि प्राविधिक उत्पादन गर्ने योजना विद्यालयको छ । विद्यालयमा कृषि विषयका अलवा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, अंग्रेजी, नेपाली र गणित विषय समेत पढाई हुने गरेको छ ।

प्रत्येक कक्षामा ४८ जना मात्र विद्यार्थीको कोटा तोकिएको छ । अध्ययनका लागि आएका विद्यार्थीमध्ये कृषि क्षेत्रमा रुची भएका तर आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालयले पहिलो प्राथमिकता दिएको प्रधानाध्यापक काफ्लेले बताए । बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थी भविष्यमा गाउँमै कृषि उद्यम संचालन गरेर स्वरोजगार र आत्मनिर्भर बन्न पाइने भएपछि निकै उत्साहित देखिएका छन् । विद्यार्थीलाई कृषि क्षेत्रमा प्रयोग भैरहेको पुरानो र नयाँ विज्ञानको मिश्रण गरेर सिकाउँदा सिकाइ क्रियाकलाप समेत प्रभावकारी भएको बाली विज्ञान विषयकी शिक्षिका प्रतिमा थापाले बताइन् । विद्यार्थीलाई पढाइसँगै फिल्डमै लगेर समेत असल कृषि अभ्यासको ज्ञान सिकाउने गरिएको विद्यालयले जनाएको छ ।

बाली विज्ञान पढिरहेका विद्यार्थीले तरकारी, फलफूल तथा अन्नबालीको उत्पादन प्रविधि, रोग कीराबाट बाली जोगाउने उपाय लगायतका विषयमा समेत जानकारी हासिल गरिरहेका छन् । पछिल्लो समय स्वदेशमा भनेजस्तो रोजगारीका अवसर नपाएपछि युवाको मोह वैदेशिक रोजगारीमा देखिएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा जान थालेसँगै खेतीयोग्य जमिन बाँझो बस्ने क्रम बढेको छ । यसलाई रोक्न विद्यालयमा भइरहेको बाली विज्ञान विषयको पढाइ प्रभावकारी बन्न सक्ने काफ्लेले बताए । कृषि क्षेत्रमा युवा प्राविधिकको संख्या बढाउने उद्देश्यले सुरु गरिएको बाली विज्ञान विषयमा अहिले कक्षा ९ देखि १२ सम्म पढाइ भैरहेको छ । केन्द्रीय तथ्याङ्क विभागले केही दिन अघि देशभर कृषि गणनाका लागि अस्थायी रुपमा कर्मचारी माग गरेको छ । यो काममा विद्यालयले उत्पादन गरेका कृषि प्राविधिक जनशक्ति प्रयोग गर्न सके कृषि क्षेत्रको सही तथ्याङ्क र जानकारी आउने विश्वास विद्यालयको छ ।

यो क्षेत्र बेमौषमी तरकारी खेतीका लागि उर्वर भूमि हो । हरेक परिवारले न्युनतम १० रोपनी भन्दा बढी जमिनमा बेमौसमी तरकारी खेती गरेर आम्दानी गरिरहेका छन् । ती किसानलाई दक्ष कृषि प्राविधिकको अभाव अहिले पनि छ । विद्यालयबाट उत्पादन भएका दक्ष कृषि प्राविधिकलाई किसानका खेतबारीमा प्रयोग गर्न सक्दा पनि कृषि उत्पादनमा बढोत्तरी आउने विद्यालयको भनाइ छ ।


प्रकाशित : फाल्गुन २४, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×