कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुग्यो - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसले युक्रेनमा आफ्ना सेनाकाे उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार (साढे १२ बजे) प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो । 

रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ भने धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक हो । विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ । रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । यद्यपी रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने यी मुलुकहरुले बताउँदै आएका छन् ।

कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ । अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा यसले झनै बढाउने छ ।

नेपालमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ । साउनदेखि पुस मसान्तसम्म मात्रै कुल १ खर्ब ३२ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा मात्रै १३. २ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।


प्रकाशित : फाल्गुन १९, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानको विद्यालयमा आगलागी

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–९ को लिउरेबारीस्थित लोकतान्त्रिक आधारभूत विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

विद्यालयमा भएको आगलागीबाट भएका सामग्री जलेर नष्ट हुँदा १ लाख ९३ हजार हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलका अनुसार विद्यालयमा केही दिन अघिदेखि नै आगलागी भएको पाइएको छ । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा नखुलेको उनले जानकारी गराए । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।

विद्यालय जाने क्रममा कार्यालय कोठाबाट धुँवा आएको देखेपछि के भयो भनेर हेर्दा आगलागी भएको पाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्धबहादुर ओलीले बताए । विद्यालयको कार्यालय कक्षमा भएको आगलागीबाट सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि केही दिन विद्यालय सञ्चालन गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×