कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८१

मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — मर्जरमा जाने बिमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । यस्ता बिमा कम्पनीहरूले संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि २ वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइनेलगायत सुविधा पाउने भएका हुन् । बिमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि केही सुविधा थपिएको बिमा समितिले जनाएको छ । ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गरेर यी सुविधा थपिएको हो ।

मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा

समितिले २०७६ सालमै ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ जारी गरे पनि अझै एउटा पनि मर्जर तथा एक्विजिसन भएको छैन । यही कारण उनीहरूलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले केही सुविधा थप गरिएको बिमा समितिमा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । कम्पनीको पुँजीगत आधार र सुशासनमा पनि अभिवृद्धि गर्नुपर्नेछ,’ उनले भने, ‘कम्पनीहरू स्वस्फूर्त रूपमा मर्जरमा जाउनु भन्न पनि सुविधा थपिएको हो ।’ अबको समय प्रविधिमैत्री सेवा भएकाले कम्पनीहरूको संख्या घटाएर उनीहरूको पुँजीगत आधार र सेवाका गुणस्तर बढाउनुपर्ने उनको भनाइ छ ।

मर्जर तथा एक्विजिसनमा जाने बिमा कम्पनीहरूले यसअघि पनि १० प्रकारका सुविधा पाउने व्यवस्था थियो । उक्त व्यवस्थामा थप ८ वटा बुँदा थपेर १८ पुर्‍याइएको छ । अहिले थपिएका सुविधामा संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि दुई वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइने, व्यक्तिगत क्रसहोल्डिङको सीमा अवधि वृद्धिलगायत छन् । ‘बिमक गाभिएकै कारण गाभ्ने बिमकको सञ्चालक समितिमा प्रतिनिधित्व रहन सक्ने अवस्था नभए बिमा समितिको स्वीकृति लिएर थप सञ्चालकको व्यवस्था गर्न सकिने,’ संशोधित निर्देशिकामा भनिएको छ, ‘गाभ्दा वा गाभिएको कारणबाट बिमकको शाखा कार्यालय थपघट तथा मिलान गर्नुपर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सकिनेछ ।’ यसअघि उक्त व्यवस्था थिएन ।

गाभ्ने, गाभिने प्रक्रियामा कुनै बिमकको संस्थापक सेयर अन्य गाभ्ने, गाभिने बिमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बिक्री गर्न बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे तापनि उपयुक्तता जाँच गरी बिक्रीका लागि स्वीकृति दिन सकिने व्यवस्था छ ।

गाभ्ने, गाभिने कार्यपछिको एकीकृत रूपमा बिमांकीय प्रतिवेदन थप्न ६ महिना अतिरिक्त समय प्रदान गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘कुनै बिमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आए सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिनेछ ।’ सञ्चालकको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएको वा प्राप्तिपछि पुनः निर्वाचन नभएसम्मको अवधिका लागि पुरानै सञ्चालक समिति पदमा बहाल रहन पाउने सुविधा पनि निर्देशिकामा छ । ‘गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बिमकका अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘गाभ्ने, गाभिने कार्य सम्पन्न भएपछि कार्यालय स्थापना र यान्त्रिकीकरण गर्दा भएको खर्चलाई एक वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिने छ ।’ बिमा क्षेत्रलाई राज्यले प्राथमिकता दिएको भनिए पनि मुलुकको कुल जनसंख्याको करिब ६५ प्रतिशत अझै बिमाको पहुँचमा छैनन् । बिमा समितिको तथ्यांकअनुसार पुससम्म करिब ३५ प्रतिशत जनसंख्यामा मात्रै बिमा पहुँच पुगेको छ । यो तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा पनि समावेश छ । गत आर्थिक वर्षको पुससम्म यो कुल जनसंख्याको २४.४६ प्रतिशत थियो ।

पछिल्ला वर्षहरूमा बिमासम्बन्धी ज्ञान बढ्नुका साथै बिमा कम्पनीको संख्या बढेकाले बिमामा पहुँच बढेको समितिको दाबी छ । हाल मुलुकभर १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । विभिन्न बिमा कम्पनीहरूले ३ हजार २ सय ७९ वटा शाखा कार्यालयमार्फत मुलुकभर बिमा सेवा दिँदै आएका छन् । अघिल्लो पुससम्म यो संख्या २ हजार ८ सय ४६ थियो ।

प्रकाशित : फाल्गुन १६, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×