सरकारले चोभारलाई घोषणा गर्‍यो भन्सार क्षेत्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले चोभारलाई घोषणा गर्‍यो भन्सार क्षेत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चोभार भूतखेल गाविसलाई भन्सार क्षेत्र घोषणा गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुक्खा बन्दरगाह रहेको उक्त क्षेत्रलाई भन्सार क्षेत्र तोकेको हो ।

‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार प्रकाशित सूचनामा भनिएको छ ।

सूचनाअनुसार पूर्व दिशामा वाग्मती नदी मसानघाटदेखि दक्षिणमा शिल खोल्सी वाग्मती नदीमा मिसिएको बिन्दुभित्रको क्षेत्र तोकिएको छ । त्यस्तै, पश्चिममा माथिल्लो गुठ बस्तीसँग जोडिएको बल्खु दक्षिणकाली सडकमा मसानघाट जानेबाटो जोडिएको बिन्दुदेखि दक्षिणतर्फ तल्लो गुठ बस्तीसँग जोडिएको गोरेटो बाटो दक्षिणमा शिल खोल्सीभित्रको क्षेत्र, उत्तरमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ मसानघाटा जाने बाटो वाग्मती नदी जोडिएको बिन्दुसम्म र सो बाटोसँग जोडिएको खोल्सी (हिमाल सिमेन्ट खोल्सी) लाई भन्सार क्षेत्र तोकिएको छ ।

दक्षिणमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ शिल खोल्सी सुरु भएको बिन्दुदेखि शिल खोल्सी वाग्मती नदीमा मिसिएको विन्दुभित्रको क्षेत्रलाई तोकिएको सूचनामा उल्लेख छ । ‘सरकारले भन्सार क्षेत्र तोकिसकेको छ,' नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, 'अब कार्यविधि बनेर भन्सार बसेपछि बन्दरगाह उद्घाटन हुन्छ ।’ यस विषयमा भन्सारका कर्मचारीहरूसँग नियमित छलफल भइरहेको उनले बताए ।

२०७५ असारमा शिलान्यास भएको बन्दरगाह २०७८ असारमा सम्पन्न भइसकेको छ । समितिका अनुसार भन्सार, क्वारेन्टिन र सुरक्षा निकायको कार्यालय तयार भइसकेको छ । तर, भन्सार कार्यालय नगएपछि बन्दरगाह सञ्चालनमा ढिलाई भएको हो ।

बन्द हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दरगाहका लागि विश्व बैंकसँग २०१३ काे जुन ११ मा सम्झौता गरे पनि शिलान्यास र निर्माणमा ढिलाई भएको थियो । समितिका अनुसार बन्दरगाह शिलान्यास भएको डेढ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने लक्ष्य थियो । तर, स्थानीयको अवरोध, कोरोना महामारीलगायतका कारण ढिलाई भएको थियो । अहिले निर्माण सम्पन्न भए पनि भन्सार नबस्दा सञ्चालनमा ढिलाई भइरहेको हो । बन्दरगाह सञ्चालन हुँदा साना तथा मझौला किसिमका विभिन्न व्यापारिक अवसरका साथै स्थानीयबासीलाई विभिन्न किसिमका रोजगारीका अवसरहरू सिर्जना हुनेछन् ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका आयोजनाहरूसँग जोडिने हुनाले उक्त क्षेत्र व्यापारिक हबको रूपमा विकसित हुने समितिको दाबी छ । बन्दरगाहले व्यापारिक लागत घट्न गई उपभोग्य वस्तुको मूल्य घट्ने र देशको आर्थिक उन्नति हुने, निकासी तथा पैठारी प्रवर्द्धन हुने जनाइएको छ ।

सुक्खा बन्दरगाहको क्षेत्रफल २ सय ६० रोपनी हो । बन्दरगाहमा ३ सय ५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली हुने जनाइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय दूतावासले मनायो ७४औं सेना दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी भारतको ७४औं सेना दिवस मनाएको छ । मंगलबार राजदूतावसको रक्षा प्रभागले एक समारोहका बीच सेना दिवस मनाएको हो । 

नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी जनरल प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनीतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनो रहेको बताए । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

सेनापति शर्माले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै दुई देशका सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्य रहेको बताए ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्सल) केएम करियप्पाले पहिलो भारतीय कमान्डर इन चिफको रुपमा भारतीय सेनाको कमान्ड सम्हालेको सम्मानमा हरेक वर्ष भारतीय सेना दिवस मनाउने गरिन्छ ।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×