१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान थालेको हो । यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बााझो राखेर  अहिले पनि वार्षिक २ खर्ब भन्दा बढीको कृषि उपजको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ ।’

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्वन गर्नेगरी नीतिगत व्यवस्थाका लागि सरकारसँग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनार गोदारसँग चेम्बरले इजरायलको कृषि उत्पादन मोडलबारे जानकारी समेत लिएको छ । इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदूत गोदारले बताए ।

इजरायलमा १ दशमवल ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भएपनि उच्चतम प्रविधि मार्फत मुलुक खाद्यान्नमा आत्मर्निभर तथा निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदूत गोदारले बताए । उनले भने, ‘इजरायलमा कृषि पेशा सौखले गरिएको छैन । कृषकले यसलाई व्यवसाय र जीवनको महत्वपूर्ण हिस्सा बनाएका छन् ।’ नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ । इजरायल चेम्बर अफ कमर्ससँग सहकार्य मार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।


प्रकाशित : फाल्गुन ९, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?