कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागढुंगा-सिस्नेखोला सुरुङमार्गलाई थप रकम निकासा  

कान्तिपुर संवाददाता

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न भन्दै अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराएको छ । रकम अभावमा मुआब्जा वितरण हुन नसकेको भन्दै सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थमा निकासाका लागि पत्र पठाएको थियो । सो आग्रहअनुसार थप ३५ करोड रुपैयाँ रकम निकासा भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्गलाई थप रकम निकासा  

यसअघि पनि सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जाका लागि सडक विभागअन्तर्गतका अन्य स्रोतबाट ३० करोड रुपैयाँ रकमान्तर गर्न विभागले अर्थलाई भनेको थियो । ‘यो रकम आएर पनि वितरण थालिसकिएको छ,’ आयोजनाका निर्देशक शाक्यले भने, ‘थप ३५ करोड रुपैयाँ पनि रकमान्तर भएर आएको छ ।’ अझै थप २० करोड रुपैयाँ आए स्थानीयलाई मुआब्जाको समस्या टुंगिने उनको दाबी छ । मुआब्जाको समस्या काठमाडौंतर्फ रहे पनि धादिङतिर नरहेको उनले बताए । अहिलेसम्म ४६ करोड रुपैयाँ मुआब्जाको रुपमा वितरण गरिएको छ ।

सरकारी जग्गासहितको मुआब्जा वितरण गर्न चाहिने कुल रकम सवा अर्ब रहेको आयोजनाले जनाएको छ । काठमाडौंको बलम्बुमा सरकारी २ रोपनी र स्थानीयको १० रोपनी जग्गा निर्माण क्षेत्रमा पर्दछ । दुई महिनाभित्र मुआब्जा वितरण सकिएमा घर भत्काएर सुरुङमार्गमा पर्ने 'फ्लाइओभर' निर्माणको काम अघि बढाउन सकिने उनको भनाइ छ । ‘मुआब्जाका लागि मागे अनुसारको रकम आए सबै रकम खर्च हुने छ,’ निर्देशक शाक्यले भने, ‘त्यसपछि कामको गति पनि बढ्ने छ ।’

अहिलेसम्म सुरुङको मात्र भौतिक प्रगति ४४ प्रतिशत छ । दुईतर्फी र आपतलीनसहित कुल ५.४९९ किलोमिटरमध्ये २.४ किलोमिटरमा सुरुङ खन्ने काम सकिएको पनि उनले बताए । पुरै आयोजनाको मात्र भौतिक प्रगति ३० प्रतिशत छ । २०७६ कात्तिकमा सुरु भएको सुरुङ निर्माण ४२ महिना भित्र सक्नु पर्ने छ ।


प्रकाशित : फाल्गुन ९, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?