नाफामा विद्युत् प्राधिकरणले सबै सरकारी संस्थानलाई जित्यो

विद्युत् निर्यात बढ्यो, आयात घट्यो
रमेश लम्साल

काठमाडौँ — अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ ।

नाफामा विद्युत् प्राधिकरणले सबै सरकारी संस्थानलाई जित्यो

उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ अर्ब १२ करोड नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा छ अर्ब १८ करोड नाफा गरेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर दोब्बर भएको हो ।

यो सँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी जस्ता कारणले संस्थाको आर्थिक स्वास्थ्यमा गुणात्मक फड्को मारेको प्रतिक्रिया दिए । उनले विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण पनि चालु आवको ६ महिनामा संस्थाले उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले भने 'सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम नै हाम्रा लागि बरदान सावित भएको छ ।'

यस्तै, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको अर्को महत्वपूर्ण कारण हो । यस्तै, हिमाल पावरले सञ्चालन गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत हिस्सासमेत प्राधिकरणको नाममा आएको छ । सो आयोजनाको बिजुलीको खरिद मूल्य पनि असाध्यै सस्तो छ । 'गत पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्नसक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं', उनले भने। प्राधिकरणले आव २०७३/७४ मा एक अर्ब ५० करोड, आव २०७४/७५ मा दुई अर्ब ८४ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा १३ अर्ब २७ करोड, २०७७/७८ मा छ अर्ब एक करोड नाफा गरेको थियो ।

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ । यस्तै, ३५ अर्ब ८६ करोड खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ, भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड छ । प्राधिकरणको पूँजीकृत सम्पत्ति एक खर्ब ६५ अर्ब छ । यस्तै, पूँजीकृत हुन बाँकी सम्पत्ति एक खर्ब ५२ अर्ब, सहायक कम्पनीमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, तरल पूँजी ८५ अर्ब एक करोड रुपैयाँ बराबर छ ।

घिल्लो वर्षका तुलनामा चालु आवको छ महिनामा नेपालमा खपत भएर बढिरहेको विद्युत् भारतर्फ निर्यात बढेको छ । यस्तै अपुग विद्युत्को आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाखको विद्युत् भारततर्फ निर्यात भएकोमा चालु आवको ६ महिनामै ८० करोड ५० लाखको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

आव २०७६/७७ मा १३ अर्ब ४२ करोडको विद्युत् आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड पुगेको थियो । तर, चालु आवको ६ महिनामा दुई अर्ब ५८ करोडको मात्र विद्युत् आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भएता पनि यसवर्ष १० अर्ब भन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यसवर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ । कूल ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । -रासस

प्रकाशित : फाल्गुन ८, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?