२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

रेल उद्घाटन गर्न दुई मिति प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — जयनगर–कुर्था खण्डमा चल्ने रेलको औपचारिक उद्घाटनका लागि भारतीय रेलवे कम्पनी, कोंकणले दुईवटा मिति प्रस्ताव गरेको छ । कोंकणले फागुन १६ (फेब्रुअरी २८) र फागुन १७ (मार्च १) का लागि मिति प्रस्ताव गरेको हो ।

रेल उद्घाटन गर्न दुई मिति प्रस्ताव

भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने भएकाले त्यही अनुसार मिति तय गर्न खोजिएको नेपाल रेलवे कम्पनीले जनाएको छ । कोंकणले भारतीय राजदूतावासलाई दुईवटा मिति तय गरेर पठाएको थियो । दूतावासले नेपाल सरकारबाट प्रस्ताव आउनुपर्ने बताएको कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए ।

‘कोंकणले हामीसँग सल्लाह गरेरै उद्घाटनको मिति तय गरेर दुतावास पठाएको हो,’ झाले भने, ‘उद्घाटनका लागि हामी तयार छौं भनिसकेका छौँ ।’ अहिले चलाउन केही समस्या नरहेको उनले बताए । ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कोंकणबाट आएको प्रस्ताव पेश गरेर चलाउने मिति तयार हुनेछ,’ उनले भने, ‘आइतबार मन्त्रालयलाई यसबारे औपचारिक रूपमा जानकारी गराउनेछौँ । दुईमध्ये एउटा मितिमा उद्घाटन हुन्छ, अब ढिलो गर्ने पक्षमा हामी छैनौँ ।’

१६ महिनाअघि भारतबाट ल्याइएका दुईवटा रेल सेट गत फागुन १ गतेदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालनमा छ । रेल सञ्चालनको तालिम लिएका ६० जना नेपाली कर्मचारीहरू अहिले अभ्यास गरिहेका छन् । उनीहरूलाई प्राविधिक कुरा सिकाउन कोंकणबाट आएका १४ जना कर्मचारीले सहयोग गरिरहेका छन् ।

२६ जना भारतीय प्राविधिकमध्ये १४ जना अहिले आएका छन् भने बाँकी १२ जना रेल चल्ने बेलासम्म आइसक्ने झाको भनाइ छ । उनका अनुसार कुर्थादेखि जयनगरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैया तिर्नेगरी भाडादर कायम गरिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?