कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

सिद्धबाबा सुरुङ निर्माण सम्झौता छिट्टै

७ अर्ब ३४ करोडमा चाइनिज कम्पनीले निर्माण गर्दै
घनश्याम गौतम

रूपन्देही — सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानिएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । ठेक्का सम्झौता हुन भने बाँकी छ । फागुनभित्रै सम्झौता गर्ने सरकारको तयारी छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ गरिरहेको कम्पनीले नै सुरुङ निर्माणको जिम्मा पाएपछि समयमै निर्माण हुनेमा शंका उत्पन्न भएको छ ।

सिद्धबाबा सुरुङ निर्माण सम्झौता छिट्टै

२०७२ सालदेखि नै चर्चा हुन थालेको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ मा ग्लोबल टेन्डर आह्वान भएको थियो । खरिद प्रक्रियामा प्राविधिक रूपमा सक्षम देखिएका चार कम्पनीमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी छानिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘सबैभन्दा न्यून ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गर्ने चिनियाँ कम्पनीलाई ठेक्का दिने आशयको सूचना जारी गरिएको छ,’ उनले भने, ‘फागुनभित्रै सम्झौता गर्ने र भदौभित्र नै निर्माण सुरु गराउने प्रयासमा छौं ।’

विभागले आयोजनाको लागत साढे ८ अर्ब लाग्ने अनुमान गरेको थियो । प्राविधिक रूपमा सक्षम अन्य तीन प्रतिस्पर्धी कम्पनीमध्ये कोभेक–सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख, चीनकै सीसीईसीसीले ९ अर्ब ८० करोड १६ लाख र सियुआन चाइना जेभी र फस्ट हाइवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ अंक कबोल गरेको झाले बताए । खरिद प्रक्रियामा ६ चिनियाँ, दुई नेपाली र चिनियाँ कम्पनीको संयुक्त तथा एउटा नेपाली र भारतीय संयुक्त कम्पनी गरी नौ कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सम्झौतापछि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा १ किलोमिटर १ सय २६ मिटर लम्बाइको सुरुङ निर्माण गरिनेछ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले काठमाडौं–तराई मधेस द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ । सुरुङमार्ग निर्माण कम्पनीले नै आफैं डिजाइन तयार गरी त्यहीअनुसार निर्माण गर्ने इन्जिनियरिङ प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुन थालेको हो । सुरुङमार्ग निर्माणका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ०७७ मंसिरमै १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए ।

सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनको काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले गरेको थियो । अध्ययन टोलीले गत वर्ष नै सुरुङको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो । भूगर्भशास्त्रीहरूका अनुसार बुटवल–तानसेन सडक खण्डमा पर्ने पहाड कमजोर माटो र ढुंगा मिसिएर बनेको छ । त्यसैले पानी परेपछि माटो बग्छ र त्यससँगै ढुंगा झर्दा मानवीय क्षति हुने गर्छ । सिद्धबाबा क्षेत्रको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्र हो । वर्षामा खस्ने पहिरो र ढुंगाले च्यापिएर सिद्धबाबा क्षेत्रमा पछिल्लो १० वर्षमा ७३ जनाको मृत्यु भएको छ । ०५४ सालमा बस पहिरोमा पुरिँदा एकै घटनामा ३२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?