कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

तरलता अभाव कम गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता समस्या समाधान नभएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन, बरु घट्दो क्रममा छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप (सीडी) अनुपात ९० प्रतिशतको निर्देशित सीमा भन्दा माथि पुगिसकेको छ ।

तरलता अभाव कम गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

तरलताको समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले आउटराइट पर्चेज (सोझै खरिद बोलकबोल) मार्फत उल्लेखित रकम बजारमा पठाउन लागेको हो । यसको अवधि ६ महिना (आउँदो असारसम्म) हुने राष्ट्र बैंकले जनाएको छ । यो प्रक्रियामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको नेपाल सरकारको ट्रेजरी बिल्स खरिद गर्छ । त्यसो हुँदा ट्रेजरी बिल्सको बिक्री गरेको पैसा बैंकहरुमा जान्छ । यो प्रक्रियाका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले आज (बिहीबार) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले भोलि (शुक्रबार) मात्र खरिद गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बुधबारसम्म वित्तीय प्रणालीमा करिब १६ अर्ब रुपैयाँ मात्र अधिक तरलता छ । तरलता अभाव भएकै कारण बुधबारमात्र बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब २६ करोड रुपैयाँ अल्पकालीन सापटी (एसएलएफ) लिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×