२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

माघमा जग्गाको कारोबार र राजश्व घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — गत माघ महिनाको तुलनामा यो माघमा जग्गाको कारोबार र राजस्व संकलन दुवै घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा १ अर्ब २३ करोड ९ लाख रुपैयाँ राजस्व घटेको हो । ०७७ माघमा २ लाख ११ हजार ९ सय ८ वटा जग्गा कारोबार हुँदा ६ अर्ब ७३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो माघमा १ लाख ३२ हजार ५३ वटा जग्गा कारोबार हुँदा ५ अर्ब ५० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको हो । 

माघमा जग्गाको कारोबार र राजश्व घट्यो

माघ महिनामा जग्गा कारोबार र राजस्व घटे पनि समग्रमा भने चालु वर्ष बढेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ ।

गत वर्ष माघ मसान्तसम्म ३० अर्ब ९५ करोड ७५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो भने चालु वर्षमा ४८ अर्ब ९१ करोड २० लाख ५८ हजार १ सय ५१ रुपैयाँ संकलन भएको छ । राजश्व मात्र नभएर कारोबार संख्या पनि १ लाख ३४ हजार ६ सय ६७ ले बढेको छ । गत वर्ष माघ मसान्तसम्म १० लाख १९ हजार ९ सय ४९ वटा जग्गा कारोबार हुँदा चालु वर्षमा ११ लाख ५४ हजार ६ सय १६ कारोबार भएको विभागको तथ्यांक छ ।

विभागका अनुसार सेवाग्राहीले अनलाइन प्रविधिमार्फत जग्गा कारोबार गर्न निवेदन दिन सकिने गरी हाल ६७ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ । यस प्रणालीको माध्यमले जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गाको हक हस्तान्तरण गर्न आवश्यक पर्ने लिखत तथा निवेदन आफ्नो घर वा आफूलाई पायक पर्ने भू–सेवा केन्द्र मार्फत अनलाइनबाट भरेर सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा पेस गर्न, प्रणालीबाटै लिखत निवेदन प्रिन्ट गर्न सक्छन् ।

त्यस्तै जुनसुकै स्थानबाट उक्त प्रणालीको प्रयोग गरेर बैंक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन् । विभागका अनुसार चालु आर्थिक वर्षमै १२६ वटै मालपोत कार्यालयमा सेवा विस्तार गर्ने योजना छ ।


प्रकाशित : फाल्गुन ४, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x