ओखर घडी

सीमा तामाङ

काठमाडौँ — पाँच वर्षअघि अष्ट्रेलियाबाट ब्याचलर्स इन आईटी पढाइ सकेपछि ३३ वर्षीय युवा प्रकाश दाहालले केही वर्ष ई कमर्स क्षेत्रमा अनुभव बटुले । ग्राफिक्स डिजाइनिङको काम समेत गर्ने प्रकाशलाई एक वर्षअघि काठको घडी बनाएर बजारमा पठाउने सोच आयो । सानैदेखि उनीभित्र हुर्किरहेको घडीको सौख मुख्य कारण थियो ।

प्रकाशले सम्झे, 'म घडीहरु संकलन गर्थेँ, अनि त्यसका आकारप्रकारबारे घोत्लिराख्थेँ । घडी कसरी बन्छ, त्यसभित्र के के प्रयोग गरिन्छ भनेर चासो राखिरहन्थेँ ।' अष्ट्रेलियाबाट पढाई सकेपछिका केही समय उनी कतारको दोहामा ग्राफिक्स डिजाइनिङको काम पनि गरे । साथै 'एम्पाएर इन्टरनेसनल' नामक कम्पनी खाेली आईटी र वेबसाइट डेभलपर व्यवसाय गरे । सो व्यवसाय अहिले पनि सञ्चालनमै रहेकाे उनले बताए । दोहा बसाइका बेला उनको काठमाडौं नियमित आउजाउ चलिरहन्थ्यो । अघिल्लो लकडाउनअघि उनले नेपालमै केही गर्ने निश्चय गरे । त्यहीं बेला उनले काठको घडी बनाएर बजारमा पठाउन सकिन्छ कि भनेर काम थालिहाले । उनले भने, ‘पहिलो लकडाउनका बेला घडीको डिजाइनमाथि काम गरेँ, त्यसपछि झण्डै ६ महिना त यसैको तयारीमा बिताएँ ।’

एक वर्षअघि प्रकाशले 'कास कर्प' प्राइभेट कम्पनी खोले । जुन कम्पनीले अहिले नेपाली बजारमा नपाइने ओखरको काठबाट बनेका घडीहरु ओखर ब्राण्डमा उत्पादन गर्छ । उनले भने ‘अन्तर्राष्ट्रिय बजारमा आइसकेका भएपनि यस्तो स्वदेशी घडी हामीले नै पहिलोपटक नेपाली बजारमा ल्याएका हौं ।’ ओखरसँग तिहारको साइनो भएकाले गत वर्ष उनले तिहारलाई नै लक्षित गरेर घडी बजारमा ल्याए । जसमा जापानमा बनेको घडीको दम, समय देखिने डायल, सुई, सिसा, डायलको केस, भित्रपट्टिको मेसिन, ब्याक कभर र डिजाइन अनुसार चीनमा बनाइएका चेनमा प्रयोग गरिने काठ प्रयोग गरिन्छ । विदेशबाट ल्याइएका यी सबै सामानको उनले नेपालमै एसेम्बल गर्छन् । संस्थापक दाहालले अहिले घडी निर्माण र बजारीकरण गर्न ६ जनालाई रोजगारी नै दिएका छन् ।

तिहारमा मात्रै घडी बेच्न सकिएला भन्ने सोचेका प्रकाशले यस पटक भने ‘भ्यालेनटाइन डे’ लक्षित बजारीकरण गरे । उनले सुनाए, ‘गत वर्षको ‘भ्यालेनटाइन डे’ मा एक सय ५० वटा घडी बेच्यौं ।’ यो वर्ष घडीसहित अन्य सामग्री गरी ५ सय वटा बेच्ने लक्ष्य छ । चिटिक्क परेका उनका घडीमा तन्नेरी पुस्ताको आकर्षण किन पनि छ भने उनले बेच्ने प्रत्येक घडी विशेष हुन्छन् । कस्टमाइज्ड गरिएकाले घडीमा उपभोक्ताले आफूले भनेअनुसारको चित्र वा जसलाई उपहार दिन लागिएको हो, उसको नाम वा सन्देश खोपाउन सक्छन् । उपभोक्ताले दिएको डिजाइनका आधारमा डिजाइनरहरुले घडीमा चित्रहरू खोप्छन् ।

उनले तीन नामका घडी बजारमा ल्याएका छन्- काष्ठमण्डप, कालापत्थर र मुर्चङ्गा । थपिएको अर्काे नयाँ ब्राण्ड ‘अष्ठमंगल’ घडी यहीं फागुन महिनामा बजारमा आउने प्रकाशले बताए । घडीमा बढी केन्द्रित भएको देखिएपनि यो कम्पनीले काठकै फ्रेम भएको चस्मा, चस्माको बट्टा, मोबाइलको कभर, कानमा लगाउने झुम्का, औंठी समेत ल्याइसकेको छ।

कालापत्थर घडीको डायलमा ढुङ्गाको टेक्सचर दिने ३ डी प्रिन्ट राखेका छन् भने अष्ठमंगलमा अष्ठमंगलकै चिन्ह राखेर ल्याउने तयारी छ । बजारमा ल्याइसकेका घडी महँगो भएको जानकारी आएसँगै काठको स्ट्रयाप प्रयोग गरी सामान्य घडीको डायल राखी मुर्चुङ्गा घडी पनि बजारमा ल्याइसकेका छन् । अन्य घडीको तुलनामा यो घडी सस्तो पर्छ ।

ओखर ब्राण्डका घडी र अन्य सामग्रीमा तन्नेरीहरुको चासो किन पनि छ भने, अन्य घडीभन्दा यी हलुंगो छ । देख्दैमा युनिक र आकर्षक छन् । 'पर्यावरणको चासो राख्नेहरुलाई अर्को खुसीको कुरा के भने तपाईंले जुन घडी लगाउनुहुन्छ, त्यसवापत कम्पनीले एउटा ओखरको बिरुवा रोप्ने बाचा गरेको छ' प्रकाशले भने । चार जनाको समूहले २० लाख रुपैयाँबाट सुरु गरेको कम्पनीको लगानी अहिले १ करोडभन्दा बढी भइसकेको छ । प्रकाश दंग छन्, सबैखाले पुस्ताले ओखरबाट बनेको घडी र अन्य सामानहरु रुचाएका मात्रै छैनन, यसबारे चासो राख्दै सामाजिक संजालबाट पनि कम्पनीका गतिविधिहरु चियाइरहेका छन् ।


प्रकाशित : फाल्गुन २, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत

विनोद पाण्डे

काठमाडौँ — नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ । 

पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप्तीमा ५८ रन बनाएको छ । कुर्टिस क्याम्फर ७ र शेन गेटकेट २० रन बनाएर खेलिरहेका छन् । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स्टर्लिङलाई २ रनमा बोल्ड गरे । ग्यारेथ डेलानीलाई आउट गर्दै जितेन्द्र मुखियाले नेपालले दोस्रो सफलता दिलाए । ९ रन बनाएका डेलानीलाई जितेन्द्रले सानदार कट एन्ड बोल्ड गरे ।

पाँचौं ओभरमा पहिलो पटक बलिङ आक्रामणमा आएका अविनाश बोहराले कप्तान एन्डी बालब्रिनलाई १९ रनमा बोल्ड गरे । १३ बलमा ३ चौका प्रहार गर्दै बालब्रिनले १९ रन बनाए ।

नेपालबाट प्रतियोगितामा पहिलो पटक कुशल भुर्तेल र कुशल मल्ल खेलिरहको छन् । आयरल्यान्डविरूद्ध यी दुई खेलाडीसहित अविनाशलाई प्लेयिङ ११ मा खेलाइएको छ । उनीहरूलाई आरिफ शेखल, विवेक यादव र शाहव आलमको स्थानमा ल्याइएको हो । प्रमुख अलरान्डर करण केसीलाई नेपालले ओमान भ्रमणमा अझै खेलाएको छैन । शुक्रबारबाट सुरु हुने ट्वान्टी–२० विश्वकप छनोट अघि यो प्रतियोगिता खेलिएको छ ।

नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । प्रतियोगिता जित्न नेपालले आज आयरल्यान्डलाई ठुलो अन्तरमा पराजित गर्नु पर्छ । नेपाल जस्तै यसअघिका दुई मध्येको एक खेल जितेको आयरल्यान्डले विजय हात पारे युएईलाई उछिन्दै विजेता बन्न सक्छ ।

पहिलो दुई खेल जितेको युएई सोमबार ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

प्रकाशित : फाल्गुन २, २०७८ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×