कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

घोराही–तुलसीपुर सडक अलपत्र

दुर्गालाल केसी

दाङ — ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र परेको छ । दुई वर्षमा निर्माण हुनुपर्ने जिल्लाको मुख्य सडक अलपत्र बनेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । २०७६ असारबाट निर्माण सुरु भएको यस खण्डको अहिलेसम्म ७ प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार २०७८ वैशाखमा यसको निर्माण पूरा भइसक्नुपर्ने हो । सडक निर्माणका लागि निकासा भएको रकम खर्च हुन सकेको छैन । 

घोराही–तुलसीपुर सडक अलपत्र

निर्माण जिम्मा लिएका ठेकेदार नटिक्दा समस्या भएको हो । उनीहरू काम अलपत्र पारेर भाग्ने गरेका छन् । त्यसले काम अलपत्र छ । घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक फोरलेन बनाउनुपर्नेमा अहिलेसम्म सडकछेउको जमिन कटान गर्नेबाहेक अरू केही काम हुन सकेको छैन । सम्पन्न हुनुपर्ने समयभन्दा आठ महिनापछि गत मंसिर ११ मा घोराहीमा सडक निर्माण कार्य शुभारम्भ भन्दै तामझामका साथ कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख र सरोकारवालाको उपस्थितिमा निर्माण कम्पनीले अब सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म केही काम हुन सकेको छैन ।

सडकको काम गर्ने म्याद २०७९ वैशाखसम्म थपिएको छ । भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे आफैं उपस्थित भएर अब एक वर्षमा सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । पहिले खटाएका व्यक्तिले धोका दिएकाले काम ढिलो भएको भन्दै उनले अब तीव्र गतिमा काम गर्ने बताएका थिए । उक्त कम्पनीले तीन वटा पेटी ठेकेदारलाई काम दिएको थियो । तर उनीहरूले पनि अहिले काम अलपत्र पारेका छन् । सुरुमा फोरलेन निर्माण कम्पनी तथ्य इन्जिनियरिङले कामको जिम्मेवारी दिएका व्यवसायी अनुप पाण्डेविरुद्ध अहिले जिल्ला प्रशासनमा आर्थिक रूपमा ठगिएको भन्दै १७ जनाले निवेदन दिएका छन् ।

निर्माण सामग्री लिएको, गाडी भाडामा लगाएको, मजदुरले काम गरेको, खाना खाएको, तरकारी किनेकोलगायत पैसा नपाएको भन्दै उजुरी परेको हो । हालसम्म ५ करोड ८९ लाख रुपैयाँ ठगिएको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा निवेदन दिएका छन् । अहिलेसम्म जिल्ला प्रशासनमा ४ करोड ४५ लाख ४३ हजार रुपैयाँ पाउनुपर्ने भन्दै निवेदन आएको र उक्त पत्र फोरलेन सडक आयोजना कार्यालय लमहीमा पठाइएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले माघ १४ मा आयोजना कार्यालयलाई एक पत्र लेखी ठगीसम्बन्धी निवेदनमा आवश्यक कारबाहीका लागि पठाएकी थिइन् । सोनापुर सिमेन्टले २ करोड ४७ लाख १० हजार ३ सय २७ रुपैयाँ, खड्कबहादुर विकसहित ३ सय मजदुरले ८० लाख ३९ हजार ६ सय ४५ रुपैयाँ, प्रकाशकुमार खड्काको टिपर प्रयोग गरेको ७ लाख, ठगेन्द्र घर्तीको एक्स्काभेटर चालकको २ लाख २१ हजार ४ सय ७४ र विष्णु श्रेष्ठले जेसीभी तथा ट्र्याक्टर प्रयोग गरेको ६ लाख १४ हजार २ सय १९ रुपैयाँ पाउनुपर्ने भन्दै प्रशासनमा निवेदन दिएका छन् ।

यसैगरी भ्याली पेट्रोल पम्पबाट डिजेल हालेको १६ लाख ७९ हजार ५ सय ३२, अम्बिका केसीको तरकारी पसलबाट तरकारी लिएको २ लाख ३१ हजार, पाण्डव बालुवा प्रशोधनमा ३० लाख ५ हजार २ सय ५०, वीरबल खड्काको पसलबाट सरिया, सिमेन्ट लिएको ११ लाख, जितबहादुर वलीको बालुवा–ढुंगा ढुवानीको १० लाख, सन्जात धितालको १४ लाख १४ हजार १ सय र नर्मला थापाको पसलमा खाना खाएको ३४ हजार ९ सय ९२ रुपैयाँ पाउन बाँकी भन्दै निवेदन परेको छ ।

झवीन्द्रप्रसाद आचार्यकोमा खाना खाएको १४ लाख ७८ हजार ८ सय ४५, मानबहादुर खड्काको पसलबाट टायर लिएको १ लाख २५ हजार र तुलबहादुर खत्रीसहित ५ जनाको एक लाख ५६ हजार ४ सय रुपैयाँ पाउनुपर्ने भन्दै निवेदन परेको छ । त्यसैगरी पाण्डेविरुद्ध घोराही भरतपुरका गेहेन्द्र बस्नेतले टिपरलगायतका विभिन्न १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले माघ १७ मा फोरलेन सडक आयोजनालाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन पत्र पठाएको छ ।

प्रकाशित : माघ २५, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×