२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा ५ जना छनोट

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जना छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले परेका १५ आवेदनमध्ये ५ जना सिफारिस गरेको हो । छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । 

धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा ५ जना छनोट

छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको स्रोतले बताएको छ । उक्त पदका लागि उल्लेखित ५ जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

अध्यक्ष पद सिफारिस समितिले दोस्रो पटक आह्वान गरेको सूचनापछि १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो । पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो । नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्ष पदका लागि १५ दिन अघि सूचना जारी गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

प्रकाशित : माघ २४, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?