कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मनमौजी डेरीवाला

सरकारी निर्णय नआउँदै दूधमा १० रूपैयाँ मूल्यवृद्धि
राजु चौधरी

काठमाडौँ — निजी डेरी उद्योगीहरूले सरकारी निर्णय नआउँदै आफूखुसी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण गरेपछि घाटा लाग्ने भन्दै प्रदेश १ र लुम्बिनी प्रदेशका डेरीले उपभोक्ता मूल्य बढाएका हुन् ।

मनमौजी डेरीवाला

सामान्यतः दूधको खुद्रा बिक्री मूल्य (उपभोक्ता मूल्य) दुग्ध विकास संस्थान (डीडीसी) ले तोक्ने प्रचलन छ । कच्चा दूधको न्यूनतम मूल्य बढेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ढुवानी, प्रशोधन, लागत मूल्यसहित अध्ययन गर्न डीडीसीलाई निर्देशन दिइसकेको छ । तर सरकारी आधिकारिक धारणा नआउँदै निजी डेरीहरूले मूल्य बढाएका छन् ।

‘डीडीसीले उपभोक्ता मूल्य १० रुपैयाँ प्रस्ताव गरेको छ । तर मन्त्रालयले स्वीकृत दिएको छैन । दूध सबै तह/वर्गकाले उपभोग गर्ने हुँदा सकेसम्म घटाउनुपर्ने भनेको छ,’ डीडीसीका एक अधिकारीले भने, ‘तर निजी डेरीहरूले उपभोक्ता मूल्य बढाइसकेको जानकारी पाएका छौं । मूल्य डीडीसीले तय गरेको आधारमा हुनुपर्नेमा डेरीहरूले आफ्नो तरिकाले मूल्य बढाए ।’ प्रदेश १ र लुम्बिनीमा डेरी उद्योगीहरूले दूधको बिक्री मूल्यसँगै बटर, पनिरको मूल्य पनि बढाएका छन् । प्रदेश १ र लुम्बिनी प्रदेशमा दूधको मूल्य बढेको डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले स्विकारे । सरकारले कच्चा दूधको मूल्य बढाउने निर्णयलगत्तै दुग्ध उत्पादक सहकारी संघले खरिद मूल्य बढाउन परिपत्र गरेको उनले बताए । डेरी उद्योगहरूलाई घाटा लागेकाले सरकारी रिपोर्टकै आधारमा प्रदेशमा मूल्य बढाइएको उनको भनाइ छ ।

‘२० हजार लिटर दूध बिक्री गर्दा १ लाख २० हजार रुपैयाँ घाटा छ । दिनकै लाखौं रुपैयाँ घाटा खाएर कसरी व्यापार गर्ने ? त्यही भएर स्थानीय डेरीले राष्ट्रिय दुग्ध विकास बोर्डको रिपोर्टका आधारमा मूल्य बढाएका हुन्,’ दाहालले भने, ‘प्रदेश ५ मा माघ २० देखि लागू भएको छ ।’

उद्योगीहरूको दबाबमा राष्ट्रिय दुग्ध विकास बोर्डले पुस २६ मा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको थियो । बोर्डले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवलाई भेटेर मूल्य बढाउन प्रस्ताव गरेको थियो । प्रस्तावित मूल्यमा किसानले प्रतिलिटर ७ र उद्योगीले ३ रुपैयाँ पाउने बोर्डले जनाएको थियो । तर उपभोक्तावादी संस्थाले यसको विरोध गरेका थिए । त्यसपछि मन्त्री रायले दूधको मूल्यका सन्दर्भमा मन्त्रिपरिषद्बाट कच्चा पदार्थको मूल्य बढाएका थिए ।

मन्त्रिपरिषद्ले ४ प्रतिशत ठोस पदार्थ (फ्याट) र ८ प्रतिशत चिल्लो पदार्थ (एसएनएफ) का आधारमा न्यूनतम मूल्य तोकेको थियो । न्यूनतम मूल्यमा ६.५२ रुपैयाँ बढाइदिएको छ । यसअघि किसानले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा न्यूनतम ४९ रुपैयाँ ५२ पैसा पाएका थिए । डीडीसीले उपभोक्ता मूल्य ७६ रुपैयाँ तोकेको छ ।

तर बजारमा सर्वसाधारणले ८० रुपैयाँसम्ममा किन्छन् । डेरी उद्योगीहरूले महँगी बढेको भन्दै उपभोक्ता मूल्य बढाउने निर्णय गरेका हुन् ।

‘सबै कुराको मूल्य बढेको छ । कच्चा पदार्थको मूल्य बढेपछि उपभोक्ता मूल्य नबढे किसानलाई भुक्तानी गर्न सक्दैनौं । कि त निजी डेरीहरू बन्द गर्नुपर्‍यो । त्यही भएर उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेका छौं,’ डेरी एसोसिएसनका प्रदेश १ अध्यक्ष हेमचन्द्र खनालले भने, ‘एसोसिएसन, डेरी उद्योग संघ र साना डेरीसहितको सहभागितामा मूल्य बढाउने निर्णय गरेका छौं ।’ बोर्डले तयार पारेको रिपोर्टका आधारमा किसानलाई प्रतिलिटर ७ र उद्योगलाई ३ रुपैयाँ पाउने गरी मूल्य बढाउने निर्णय भएको उनले जानकारी दिए । ‘प्रतिलिटर १० रुपैयाँ बढाएका छौं । अब आधा लिटरको प्याकेटको मूल्य ४३ रुपैयाँ पर्छ,’ उनले भने । यता डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन मन्त्रालयमा दबाब दिइरहेको छ ।

प्रकाशित : माघ २४, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×