कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

बोटमै सुक्न थाले सुन्तला

लोप हुँदै रैथाने जात, किसानलाई जीविकोपार्जनमा समस्या
ज्योति कटुवाल

दैलख — सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिएको दुल्लु नगरपालिकामा लगाइएका सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । ‘ग्रिनिङ’ रोगका कारण धमाधम सुन्तलाका बिरुवा सुक्न थालेका हुन् ।

बोटमै सुक्न थाले सुन्तला

केही वर्षयता आयातित सुन्तलाको बीउका कारण रैथाने सुन्तला मासिन थालेका हुन् । दैलेखबाट गत वर्ष झन्डै ८ करोड रुपैयाँको सुन्तला बिक्री भएको थियो । यो वर्ष झन्डै ५० प्रतिशत उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दुल्लु क्षेत्रमा १ सय ८२ कृषक समूहले सुन्तला खेती गरिरहेका छन् ।

सुन्तलाका बिरुवामा बिस्तारै पात झर्ने, दाना सानो हुने र बोट सुक्दै जाने समस्या देखिएको दुल्लु नगरपालिका–१० छिउडीका भद्रबहादुर खड्काले बताए । ‘अरू बाली र फलफूल लगाउन छाडेर सुन्तला खेती गरियो,’ उनले भने, ‘तर विभिन्न रोगले धमाधम बिरुवा मासिन लागे ।’ सरकारी निकायले पनि रोगकिरा नियन्त्रणमा बेवास्ता गरेको उनको गुनासो छ ।

धमाधम बोट सुक्न थालेपछि जीविकोपार्जनमा समस्या भएको अघिल्लो वर्ष सुन्तलाबाट झन्डै ४ लाख रुपैयाँ कमाएका भैरवीका काशीराम बुढाले बताए । ‘सुन्तला नपाक्दै कुहिने र बोट पनि सुक्ने समस्या देखियो,’ उनले भने, ‘के रोग आयो, जति विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन ।’ उनको बारीमा झन्डै १ सय सुन्तलाका बोट छन् । यस वर्ष मुस्किलले २५/३० बोटमा मात्र सुन्तला फलेको उनको भनाइ छ ।

यस वर्ष सुन्तलाबाट कमाएर आर्थिक प्रगति गर्ने सपना अधुरै बनेको दुल्लुका नरबहादुर खड्काले गुनासो गरे । अन्य खाद्यान्न र फलफूल खेती छाडेर झन्डै एक दशकदेखि उनले व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । उनको बारीमा पनि झन्डै १ सय सुन्तलाका बोट छन् । उनले अघिल्लो वर्ष ४ लाख रुपैयाँको सुन्तला बिक्री गरे पनि यस वर्ष २ लाख रुपैयाँमै चित्त बुझाएका छन् । ‘वर्षै साल उत्पादन घटिरहेको छ,’ उनले भने, ‘घर खर्च धान्न नसक्दा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भयो ।’

दुल्लुको ६ सय ९४ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला जोन कार्यक्रमले दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका बिरुवामा गरेको पीसीआर अनुसन्धानमा ‘ग्रिनिङ’ रोगका कारण सुन्तलाका बोट सुक्दै गएको फेला परेको थियो । उक्त अनुसन्धानमा रोगका कारण झन्डै ५० प्रतिशत उत्पादन घटेको खुलेको थियो ।

अहिले दैलेखका २ स्थानीय तहका १८ वडामा सुन्तला जोन कार्यक्रम लागू छ । दुवै स्थानीय तहमा सुन्तला खेतीका लागि उपयुक्त हावापानी रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषिविज्ञ राजु भुजले बताए । दैलेखका किसानले खोकु स्थानीय, तीनपातेलगायत जातका सुन्तला लगाउने गरेका थिए । तर रोककिराको प्रकोप बढेपछि सियागावा वासे, ओकित्सुवासेलगायत विदेशी जातका सुन्तला लगाउन थालेका छन् । धेरैजसो किसानले उन्नत जातका सुन्तलाको कलमीसमेत गर्ने गरेको उनले जानकारी दिए ।

व्यवस्थापन कमी हुँदा पनि सुन्तलाको उत्पादन घटेको भुजको भनाइ छ । कृषियोग्य जमिनको एकीकरण नहुनु, विशिष्टीकृत व्यवसायीकरणको अभाव, उन्नत प्रविधि नअपनाइनुलगायत कारण पनि समस्या भएको उनले जानकारी दिए । कर्णालीमा गुणस्तरीय पूर्वाधार विकास नहुँदा पनि फलफूल र कृषिजन्य उत्पादन घटिरहेको उनले बताए । ‘किसानहरूको लापरबाही पनि उत्तिकै छ,’ उनले भने, ‘किसानहरूले मलजलको उचित व्यवस्थापन पनि गर्न सकेका छैनन् ।’ अहिले ४० देखि ५० वर्षसम्मका सुन्तलाका बिरुवा पनि दैलेखमा छन् । पुराना बिरुवा भएकाले पनि उत्पादन बढ्न नसकेको उनी बताउँछन् ।

प्रकाशित : माघ २२, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×