कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचिवहरूलाई खर्च बढाउन भनिरहनु राम्रो होइन : अर्थमन्त्री 

काठमाडौँ — पुँजीगत खर्च गर्नका लागि सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्मको पुँजीगत खर्च समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने उनको भनाइ छ ।

सचिवहरूलाई खर्च बढाउन भनिरहनु राम्रो होइन : अर्थमन्त्री 

‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन’, उनले भने ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।’ मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।

यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिए । जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको बताउँदै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिए । खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले भनेका छन् । खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : माघ १८, २०७८ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?