कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपात नरोकिँदा ५ हजार चौपाया जोखिममा

नाम्खाको लिमीसहित तांगिन, चाला, यारी, मचु, यालबाङ, यांगारलगायत ठाउँ हिउँले सेताम्मे
जनकबहादुर शाही

हुम्ला — भारी हिमपातका कारण नाम्खा गाउँपालिकासहित हुम्लाका उच्च हिमाली बस्तीका झन्डै ५ हजार पशुचौपाया जोखिममा परेका छन् । नाम्खाको लिमीमा मात्रै १ हजार चौरी पालिएका छन् । अहिले नाम्खाको लिमीसहित तांगिन, चाला, यारी, मचु, यालबाङ, यांगारलगायत ठाउँमा एक फिट हिउँ छ । नाम्खाका धेरैजसो बासिन्दाको मुख्य पेसा नै पशुपालन हो ।

हिमपात नरोकिँदा ५ हजार चौपाया जोखिममा

चखेली गाउँपालिका–५ नेक्पामा पनि भारी हिमपात भएको छ । सदरमुकामस्थित सिमकोट गाउँपालिकाका माथिल्ला भेगमा पनि बाक्लो हिउँ जमेको छ । हिमपातले वनमा भएको घाँस पुरिँदा पशुचौपाया पाल्न समस्या भएको हो । ‘न घाँसको व्यवस्था छ, न चरन क्षेत्रमा लगेर चराउने बन्दोबस्ती नै,’ नाम्खा गाउँपालिका–६ हल्जीका फुन्जोक तामाङले भने, ‘जताततैको घाँस हिउँले छोपेको छ ।’

घाँस अभावले पशु जोगाउन कठिन भएको उनको भनाइ छ । भारी हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ । गाउँमा झन्डै एक फिटसम्म हिउँ जमेको तामाङ बताए । उनले पालेका ८ वटा चौंरीसहित ३५ पशुलाई घरभित्रै थुनेर राखेका छन् ।

अन्न उत्पादन न्यून हुने हुम्लाको माथिल्लो भेगका बासिन्दाले चौंरीसहित जुमा, झोपा, घोडा र लुलुगाई पालेका छन् । यो वर्ष कात्तिक पहिलो साता नै हुम्लामा हिउँ परेको थियो । पहिलेको हिउँ नसुक्दै पटकपटक हिमपात भएपछि पशुचौपाया जोखिममा परेको सिमकोटका कमान लामाले बताए । ‘यस वर्ष घाँस नकाट्दै छिटो हिमपात भयो,’ उनले भने, ‘हिउँले सबै घाँस छोपिएपछि पशुबस्तुका लागि घाँस स्टक राख्नै पाएनौं ।’

अहिले भुस, खोले र उवा, कोदोलगायत बालीको नल खुवाएर पशु पालिरहेको उनले जानकारी दिए । विगतका वर्षमा हिउँ ढिलो पर्ने हुँदा घाँसको व्यवस्था गर्न पाइन्थ्यो । ‘यस वर्ष भने न पाकेको अन्न भित्र्याउन पाइयो, न घाँसको व्यवस्था गर्न,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘खाद्यान्नको जोहो त जसोतसो भयो । तर हिउँ छिटो पर्दा कसैले पनि पशुका लागि घाँसको व्यवस्था गर्न सकेनन् ।’ जिल्लाका धेरैजसो वनभरि हिउँ जमेका कारण पशुबस्तु चराउन मुस्किल भएको उनको गुनासो छ ।

हिमपातका कारण पशुपालन व्यवसाय नै संकटमा परेको हल्जीका कोतान्बा तामाङले बताए । ‘हिउँले घाँस ढाकेपछि मान्छेले खानलाई ल्याएको मैदा र चामलको खोले पकाएर पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘चैत नलागेसम्म हिउँ बिलाउँदैन, यसरी कहिलेसम्म पशु पाल्ने ?’

गाउँमा वर्षमा एक बाली मात्र पाक्छ । त्यही पनि कात्तिकमा भएको वर्षा र हिमपातले भित्र्याउन नदिएको उनको गुनासो छ । दुई दशकअघिसम्म हिउँदयाममा पशुबस्तु चीनमा र वर्षायाममा चीनतिरका पशु नेपालतिर चरन सार्ने परम्परा थियो । चीनले झन्डै दुई वर्षदेखि कोरोना महामारीका कारण हिल्सा नाका बन्द गरेको छ ।

प्रकाशित : माघ १५, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?