कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारभरि अन्तःशुल्क स्टिकर नटाँसेका गुट्खा

कर छली गरिएका गुट्खा बिक्री भइरहँदा पनि नियामक निकाय मौन

भैरहवा — कपिलवस्तुस्थित महाशक्ति गुट्खा उद्योगले कर छली गर्दै आफ्नो उत्पादन ‘युव पराग’ ब्रान्डको गुट्खा बजारमा बिक्री गर्दै आएको पाइएको छ । कुनै पनि गुट्खा वा सुर्तीजन्य पदार्थको उत्पादन गरी बिक्री गर्नुअगावै अन्तःशुल्क तिरेको स्टिकर प्याकेटमा टाँस्नुपर्ने प्रावधान छ । 

विशेषगरी कपिलवस्तु र रूपन्देहीका दक्षिणी सीमावर्ती ग्रामीण बस्तीका पसलमा उद्योगले आफ्ना आधिकारिक डिलरमार्फत बिनास्टिकरका उक्त ब्रान्डका गुट्खा बिक्री गर्दै आएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका–४, सिउटीमा यो उद्योग सञ्चालनमा छ । खुलमखुला अन्तःशुल्कका स्टिकरबिनै कर छली गरिएका गुट्खा बिक्री भइरहँदा पनि अनुगमन र कारबाही गर्ने आधिकारिक निकाय आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालयले यसतर्फ चासो देखाएका छैनन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बहादुरगन्ज, गैडहवा, बरगादलगायतका ठाउँबाट फेला परेका बिनास्टिकरका अवैध उक्त गुट्खाका केही प्याकेट बुधबार बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयका प्र्रमुखसमक्ष प्रमाणस्वरूप पुगेको समाचार स्रोतले बताएको छ । उक्त ब्रान्डको गुट्खा प्रारम्भिक रूपमा हेर्दा बिनास्टिकरको रहेकाले राजस्व छलेको देखिएको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत राजेन्द्र पन्थीको भनाइ छ । ‘यसबारे प्रतिवेदन तयार पारी विस्तृत अध्ययन र अनुसन्धान गरिनेछ,’ उनले भने ।

गुट्खा उत्पादकले अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र स्वास्थ्य जोखिम कर तिनुपर्छ । बजारमा फेला परेको यो गुट्खाको प्याकेट १ सय ५० ग्रामको छ । अन्तःशुल्कका स्टिकरबिनै २ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ । अन्तःशुल्क, भ्याट र स्वास्थ्य जोखिम कर तिर्ने हो भने यसको उत्पादन लागत न्यूनतम पनि २ सय ६० रुपैयाँ पर्न जाने जानकार बताउँछन् । राजस्व कार्यालयका अनुसार १ सय ५० ग्रामको गुट्खामा १ सय २१ रुपैयाँ ८ पैसा अन्तःशुल्क, ४३ रुपैयाँ ७८ पैसा भ्याट र ९ रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्छ ।

यसबारे अनुसन्धान सुरु गरिने आन्तरिक राजस्व कार्यालय कृष्णनगर कपिलवस्तुका प्रमुख कर अधिकृत दिनेश पाण्डेले जनाए । ‘उद्योगमा पुगेर आवश्यक अनुसन्धान गर्छौं,’ उनले भने, ‘अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ यस उद्योगले विगतमा पनि यस्तै बदमासी गरेका उजुरी परेको उनले बताए ।

उद्योगका सञ्चालक सोहन पन्थीले भने यस कार्यको बचाउ गर्दै आफूहरू साना व्यापारी भएको र आफ्नो उत्पादनलाई फसाउन अरूले स्टिकरबिनाका नक्कली गुट्खा बजारमा पठाएको हुन सक्ने दाबी गरे । ‘अन्तःशुल्कका स्टिकर नटाँसी बिक्री गर्दा के हुन्छ भन्नेबारे हामीलाई जानकारी छ,’ उनले भने, ‘हामीलाई फसाउन कसैले भारतबाट गुट्खा ल्याएर हाम्रो उत्पादनको नक्कल गरेको हुन सक्छ ।’

प्रकाशित : माघ १४, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?