कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मासिँदै रैथाने बाली 

विप्लव महर्जन

सल्यान — ५ वर्ष अघिसम्म बन्गाड कुपिण्डे नगरपालिका- १० ढोरपिपलका ५५ वर्षीय प्रेमबहादुर रानाले आफ्नो सात रोपनी खेतमा 'बन्गाडी जरन' भन्ने स्थानीय जातको धान लगाउने गर्थे । उत्पादन कम भए पनि खाँदा स्वादिलो हुने भएकाले उनले पछिसम्म उक्त धान मासेका थिएनन् ।

मासिँदै रैथाने बाली 

परिवारको संख्या बढ्दै गएपछि थोरै मात्रामा उत्पादन हुने धानले बिहान बेलुकीको छाक टार्न कठिनाई हुन थाल्यो । त्यसपछि आधुनिक जातका धान लगाए । सात रोपनी जग्गामा आधुनिक धान लगाउँदा उनले अहिले झन्डै ३० मुरी उत्पादन गर्छन् । अन्य व्यवसाय नभएका उनलाई यसले वर्षभर गुजारा त चलेकै छ तर रैथाने बन्गाडी जरनको जस्तो स्वाद भने पाउन छाडे । अहिलेको उन्नत जातका खाद्यान्न बाली धान, गहुँ र मकै स्वादभन्दा पेट भर्नका लागि मात्र रहेको उनी बताउँछन् ।

कालीमाटी गाउँपालिका ५ दम्दवालीका रनबहादुर गाहा मगरको शारदा तथा बबई नदी किनारमा रहेको खेतमा केही वर्ष अघिसम्म रैथाने बालीको रुपमा चिनिने सेतो मोटो दाना भएको जरन धान लहलह झुल्ने गर्थ्यो । अहिले उनको खेतमा उक्त जातको धान देखिन छाडेको छ । उनी पनि रैथाने बाली मासेर बढी उत्पादन हुने उन्नत जातका बालीमै केन्द्रित छन् ।

जिल्लामा स्थानीय तथा रैथाने जातको रुपमा रहेको बन्गाडी जरन धान धेरै चर्चामा थियो । जिल्लाका अधिकांसले जरन धान लगाउने गर्थे । अहिले मासिएको छ । बन्गाडी जरन मात्र नभई रैथाने गहुँ, मकै पनि मासिएका छन् । धेरै उत्पादन गरेर बिक्री वितरण गरी आयआर्जन गर्ने उद्देश्यले किसानले उन्नत जातका बाली लगाउन थालेपछि रैथाने बाली (धान, गहुँ, मकै) मासिएको हो ।

कृषि विकास कार्यालय सल्यानको गत वर्षको तथ्यांक अनुसार जिल्लामा कृषियोग्य जमिन ४५ हजार ५ सय ६७ हेक्टर रहेको छ । जसमध्ये ३८ हजार ९ सय ९ सय २६ हेक्टरमा किसानले विभिन्न किसिमका बाली लगाउँदै आएका छन् । उक्त जग्गामध्ये खेत ७ हजार ८२ हेक्टर र पाखो ३१ हजार ८ सय ६७ हेक्टर रहेको छ । खेतीयोग्य जमिन तथा खेत ७ हजार ८२ हेक्टरमध्ये रैथाने बालीको रुपमा चिनिने पाखे(घैया) धान ६ हेक्टरमा मात्र लगाइएको छ । बाँकी सबैमा किसानले उन्नत जातका धान लगाउने गरेका छन् ।

किसानले १४ हजार २ सय १७ हेक्टरमा गहुँ लगाउदै आएका छन् । गहुँ सबै उन्नत जातका मात्र छन् भने १९ हजार ३ सय २५ हेक्टरमा मकै लगाउने गरेका छन् । किसानले लगाएको मकै पनि सबै उन्नत जातका मात्र छन् । किसानले जिल्लामा ६ सय ७८ हेक्टर क्षेत्रफलमा कोदो लगाउने गरेका छन् । केही वर्ष अघिसम्म किसानले स्थानीय जातको कोदो लगाउँदै आएपनि अहिले ती स्थानीय तथा रैथाने जात पनि मासिँदै गएको छ । किसानले ९ सय ९० हेक्टरमा जौं र ५ हेक्टरमा फापर लगाउने गरेका छन् । अहिले फापर र जौं मात्र रैथाने छन् । दलहन अन्तर्गत अधिकांस बाली उन्नत जातका भएकाे कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

स्थानीय तथा रैथाने बालीबाट परिवारलाई आवश्यक खाद्य वर्षभर नपुग्ने भएकाले बढी उत्पादन गर्ने उद्देश्यले उन्नत जातका बाली लगाउन थालेको त्रिबेणीका दलबहादुर घर्तीले बताए । ‘अहिले उन्नत जातको धान एक रोपनीमा लगाउँदा कम्तीमा ४ मुरी उत्पादन हुन्छ । स्थानीय जातको धान बढीमा दुई/ढाई मुरी हुन्थ्यो । त्यस्तै मकै, गहुँ पनि रैथानेभन्दा उन्नत जातको उत्पादन दोब्बर नै हुने गर्छ । त्यहीं भएर रैथाने बाली लगाउन छाडेका हौँ’ उनले भने ।

सम्बन्धित निकायले उन्नत जातका बालीतर्फ उत्साहित गरेकै कारण रैथाने बाली बचाउन नसकिएको छत्रेस्वरीका किसान चिन्तामणी बस्नेतले बताए । अहिले स्थानीय तथा रैथाने बालीको माग बढ्दै गएपनि बिउ नभएकाले पुन त्यसको उत्पादन गर्न नसकिएको उनले बताए । ‘धानमा पाखे, जरन र अनदी कतै मात्र देखिने गर्छ । सेतो मकै र मोटो दाना हुने स्थानीय गहुँ त देखिनै छाडेको छ’ उनले भने ।

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख भरत कुमार बस्नेतका अनुसार किसानले बिक्री गरेर सजिलै आयआर्जन गर्न सक्ने भएकाले उन्नत जातका बाली भित्रिँदै गएको र रैथाने बाली मासिँदै गएको हो । जिल्लामा रैथाने बालीमा केही मात्रामा कोदो, फापर, जौं र दलहनमा मास, गहत, सिल्टुङ्ग र मस्याङ्ग बचेको छ । दलहन अन्तर्गत मसुरो, चना, तोरी, केराउ भटमास, सिमी, बोडी पनि सबै उन्नत जातका हुन् ।

प्रकाशित : माघ ७, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?