कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्तिन थाले साना व्यवसायी

सीमा तामाङ

काठमाडौँ — देशभर एक सातायता कोरोना संक्रमण (ओमिक्रोन भेरिएन्ट) दर तीव्र गतिमा बढिरहेको छ । संक्रमण दर बढेकै कारण सरकारले सोमबारदेखि सिनेमा हल तथा रात्रिकालीन व्यवसायलाई माघ १५ सम्म बन्द गर्ने निर्णय गरिसकेको छ । यससँगै व्यवसायी पनि आत्तिन थालिसकेका छन् ।

आत्तिन थाले साना व्यवसायी

दिनदिनैजसो होलसेलबाट सामान उठाउने शंखमूलकी कपडा व्यवसायी मनीषा थापाले गएको साता एक पटक मात्र सामान हालिन् । ‘कोरोनाको दर बढ्दै छ, लकडाउन हुने हो कि भन्ने डर छ,’ उनले भनिन्, ‘यता सामान हाल्यो, उता लकडाउन भयो भने के गर्ने ?’ अबको लकडाउनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योल रहेको उनले सुनाइन् ।

पहिले ल्याइरहेको पसलबाट कोरोनाका कारण मौसमअनुसारका समान ल्याउन नपाउँदा अर्कैतिरबाट महँगोमा ल्याएर बेच्नुपरेको उनको भनाइ छ । अहिले सामान्य पसल मात्र होइन, होलसेल पसल पनि सुनसान हुन थालिसकेका छन् । उपत्यकाका खुद्रा पसलेले सामान लिने न्युरोडको रञ्जना कम्प्लेक्स पनि अन्य समयको तुलनामा सोमबार खालीखाली थियो ।

रन्जनामै कपडाको होलसेल पसल चलाइरहेका सीताराम भट्टराई पनि १० दिनदेखि व्यापार घट्दै गएको बताउँछन् । ‘कोरोनाको त्रास बढ्दै गएकाले व्यापार घटेको छ,’ उनले भने, ‘यस्तै पारा हो भने लकडाउन हुन्छ होला, पहिला नि ऋण तिरेर चलाइयो, अब पनि अवस्था त्यस्तै आउला ।’ प्रतिदिन एक लाखभन्दा बढीको व्यापार हुने पसलमा हिजोआज १० देखि ५० हजार रुपैयाँ पुग्न पनि मुस्किल हुने परेको उनले सुनाए । कोरोना बढ्दै गयो भने त पसल खोल्ने र बन्द गर्ने मात्र हुने उनको बुझाइ छ । सरकारले विभिन्न निर्णय गर्न थालिसकेपछि व्यवसायी चिन्तित छन् । दुई वर्षदेखि कोरोनाका कारण राम्ररी सामान बेच्न नपाएको उनीहरू सुनाउँछन् ।

व्यवसायले आफ्नो बाटो लिन लागेका बेला लकडाउन हुँदा आफूहरू मारमा पर्ने गरेको उनीहरूको भनाइ छ । अहिले रिटेल पसलका व्यापारी आउनै छाडेकोको रञ्जना गल्लीकै नेफा भवनमा कपडाको नै होलसेल पसल सञ्चालन गरिरहेको सत्यनारायण मानन्धरले बताए । कपडाको मात्र नभई अरू सबै खाले पसलमा ग्राहकको कमी हुन थालिसकेको छ । न्युरोडस्थित पाको रोडको ताम्राकार कम्प्लेक्समा पनि पहिलाको तुलनामा ५० प्रतिशतभन्दा बढी मानिसको आगमन घटेको छ । ‘पहिला दिनमै १० हजार मानिस कम्प्लेक्स आउँथे, आजकाल मुस्किलले ३/४ हजार आउँछन्,’ कम्प्लेक्समा मोबाइल पसल गरिरहेका विवेक शर्माले भने, ‘ओमिक्रोनका बिरामी बढ्न थालेपछि मान्छे घट्न थाले । मान्छे नै नभएपछि के व्यापार हुन्थ्यो ?’

थापाथलीस्थित वाग्मती किनारामा चटपटे बेच्ने मिठु मगर अब लकडाउन भयो भने बाँच्ने आधार नै नरहने बताउँछिन् । उनलाई लकडाउन भयो भने कसरी थेग्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘आफ्नो मात्र ज्यान होइन, बूढा बाउआमा पाल्नु छ, के पो गर्ने हो,’ उनले भनिन् ।

प्रकाशित : माघ ४, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?