कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्सीको नयाँ भाडादर कागजमै अड्कियो, मिटरमा पुरानै 

सीमा तामाङ

काठमाडौँ — माघदेखि लागू हुनेगरी ट्याक्सीमा सरकारले नयाँ भाडादर तोके पनि मिटर भने अझै अद्यावधिक हुन सकेको छैन । वाग्मती प्रदेशको मन्त्रीस्तरीय बैठकले पुस २० गते ट्याक्सीमा नयाँ भाडादरको निर्णय गरेको थियो । तर ट्याक्सीमा जडान गरिएका मिटरमा भने अहिले पनि पुरानै भाडादर कायम छ ।  

ट्याक्सीको नयाँ भाडादर कागजमै अड्कियो, मिटरमा पुरानै 

प्रदेशले फ्लाग डाउनमा ६० रुपैयाँ र सुरुको १ किलोमिटर यात्रा पश्चात प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसाका दरले भाडादर समायोजन गरेको थियो । तर, भाडादर समायोजन भएपनि वेटिङ चार्ज र रात्रिकालीन समयको भाडादर स्पष्ट नहुनाले मिटर अद्यावधिक गर्न नसएिको गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।

‘वेटिङ चार्ज र रात्रिकालीन समयको भाडादर खुलाई दिन भन्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेका छौं,’ कार्यालयका सहायक निरीक्षक रामप्रसाद लम्सालले भने, ‘पत्रबारे अहिलेसम्म केही जानकारी आएको छैन ।’ कार्यालयका मुख्य व्यक्तिहरुलाई कोरोना संक्रमण भएकाले यस विषयमा छलफल अघि बढाएपनि ठोस निर्णय भइनसकेको उनले सुनाए ।

प्रदेशले जारी गरेको सूचना र कार्यालयलाई पठाएको पत्रमा पहिलो १ किलोमिटरसम्म यात्राको सुरु फ्ल्याग डाउन ६० रुपैयाँ कायम भए पनि पहिलो किलोमिटमा हुनसक्ने वेटिङ चार्जबारे उल्लेख गरिएको छैन । त्यस्तै रात्रिकालीन समयको हकमा पनि भाडादरबारे खुलाइएको छैन । भाडादर समायोजन अघि फ्लाग डाउन १४ रुपैयाँ र प्रत्येक किलोमिटरमा ३९ रुपैयाँ कायम थियो ।

पुरानो भाडादर भन्दा पनि नयाँ भाडादरले ट्याक्सी चालक र व्यवसायी मारमा परेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष पुर्णलाल मोक्तानले बताए । ‘पहिला बस्नासाथ १४ रुपैयाँ उठ्थ्यो, त्यसपछि हरेक एक किलोमिटरमा ३९ रुपैयाँ थियो,’ उनले भने, ‘अहिले सुरुवाती कलसहित १ किलोमिटरसम्म ६० रुपैयाँ र त्यसपछि हरेक १ किलोमिटरमा ४९ रुपैयाँ कायम गरेको छ, हामीलाई उल्लु बनाउने काम भयो ।’

मन्त्रालायको भाडादर समायोजन समितिले नजानिँदो पारामा आफूहरुलाई घाटा लाग्नेगरी भाडादर बढाएको उनको आरोप छ । जुनसुकै देशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भाडा दर कायम भएपनि नेपालको हकमा नभएको उनले बताए । ‘सुरुवाती कलसहित ३ किलोमिटरसम्म एक सय ५० रुपैयाँ अनिवार्य गरी रनिङ चार्ज प्रत्येक एक किलोमिटरमा ४९ रुपैयाँ कायम गर्दा हुन्थ्यो, हाम्रो माग पनि यही हो,’ उनले भने, ‘ट्याक्सीमा नजिकको यात्रा गर्नेलाई महगों र टाढाको यात्रा गर्नेलाई सस्तो पर्थ्यो।’


प्रकाशित : माघ २, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?