कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरुल र पिँडालुमा मुलुक आत्मनिर्भर उन्मुख, सखरखण्डमा भारतकै भर

गत वर्षको तुलनामा मूल्य कम, समिति भन्छ : ‘माग बढ्न थालेपछि मूल्य बढ्छ’

काठमाडौँ — माघेसंक्रान्तिमा उपभोग हुने तरुल/पिँडालुमा मुलुक आत्मानिर्भरउन्मुख देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण अनुसार माघेसंक्रान्तिकै लागि पुस २७ गतेसम्म तरुल ८ लाख ८५ हजार ८ सय ६९ केजी भित्रिएको छ । जसमध्ये भारतबाट ११ प्रतिशत आयात भएको हो भने बाँकी स्वदेशी उत्पाद हो । 

तरुल र पिँडालुमा मुलुक आत्मनिर्भर उन्मुख, सखरखण्डमा भारतकै भर

सोही अवधिमा कालीमाटीमा पिँडालु २ लाख ५३ हजार २ सय ८८ केजी भित्रिएको छ । जसमध्ये भारतबाट करिब १ प्रतिशत मात्रै भित्रिएको र अरु स्वदेशी नै आएको समितिले जनाएको छ । सखरखण्डको हकमा भने ५१ प्रतिशत भारतबाट आयात भएको समितिको तथ्यांक छ । ‘भित्रिएको कुल १ लाख ५१ हजार ३ सय १० किलो सखरखण्डमध्ये ५१ प्रतिशत भारतकै हो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘तरुल र पिँडालुको हकमा आत्मानिर्भर उन्मुख छौं, भने सखरखण्ड आधाभन्दा बढी भारतबाट आएको देखिन्छ ।’

उनका अनुसार बारा, चितवन, धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, नवलपरासी, मोरङ, सर्लाही, सिन्धुली लगायतका जिल्लामा मुख्त तरुल/पिँडालु उत्पादन हुन्छ । कालीमाटीको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा मूल्य सामान्य घटेको छ । गत वर्ष यहीं समयमा प्रतिकिलो ५९.२८ रुपैयाँ पर्ने तरुल अहिले घटेर प्रतिकिलो ५६.४१ मा बिक्री भएको छ । गत वर्ष प्रतिकिलो ५१.१६ रुपैयाँ पर्ने पिँडालु घटेर ४७.७६ र सखरखण्ड ६९.४३ रुपैयाँबाट घटेर ६५.१३ मा कारोबार भइरहेको समितिले जनाएको छ । यद्यपि, माग बढ्न थालेपछि मूल्य थप बढ्न सक्ने समितिले जनाएको छ । ‘सर्लाहीको तरुल प्रतिकिलो ५०/६० रुपैयाँमा बिक्री भएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘भोलिपर्सिबाट माग बढ्छ । माग बढेपछि मूल्य घट्दैन, थप बढ्न सक्छ ।’

तरकारी तथा फलफूल थोक बजार व्यवसायिक संस्थाका अध्यक्ष गिताप्रसाद आचार्यले स्वदेशी उत्पादन बढेको बताए । ‘यसपालि तरुल, पिँडालुको उत्पादन स्वदेशमै राम्रो छ । मूल्य पनि राम्रै छ,’ उनले भने, ‘बजार मूल्यको हकमा भोलिपर्सि मात्रै थाहा हुन्छ । मागको आधारमा मूल्य घटबढ हुने हो ।’ कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ भने बाँकी ३० प्रतिशत बल्खु तरकारी बजारले पूर्ति गर्दै आएको छ ।

यस्तो छ कालीमाटीमा आयातको तथ्यांक


प्रकाशित : पुस २८, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?