कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दिनदेखि ठप्प जोगबनी नाकाबाट आयात–निर्यात सुरु

विनोद भण्डारी

विराटनगर — भारतको बथनास्थित मिरगञ्ज पुल भासिएपछि पाँच दिनदेखि ठप्प जोगबनी नाकाको आयात निर्यात बुधबारदेखि भण्टाबारी नाकाबाट सुरु भएको छ । 

पाँच दिनदेखि ठप्प जोगबनी नाकाबाट आयात–निर्यात सुरु

नेपाली पक्षको आग्रहमा भारतले मंगलबार सुपोल जिल्लाअन्तर्गत वीरपुर नाका प्रयोग गर्न अनुमति दिएपछि वीरपुर हुँदै भण्टाबारी नाकाबाट आयात–निर्यात सुरु भएको विराटनगर भन्सारका अधिकृत अमित तिवारीले बताए । उनका अनुसार भण्टाबारीदेखि विराटनगरको आईसीपीसम्म मालवाहक गाडीलाई स्कर्टिङ गरेर ल्याउनु पर्ने स्थिति छ ।

जोगबनी नाकाबाट हुने आयात–निर्यातको मुख्य मार्गमा पर्ने मिरगञ्ज पुल भासिएपछि अररिया प्रशासनले गत शुक्रबार उक्त पुलबाट साना–ठूला ढुवानीका साधन गुड्न रोक लगाएपछि निकासी पैठारी मंगलबारसम्म ठप्प भएको थियो । पाँच दिनपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगका लागि कच्चा पदार्थ लिएर आएका १ हजार ५ सयभन्दा बढी मालवाहक ट्रक र कन्टेनर भारतीय सडकमै रोकिएका थिए ।

विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भारतको वीरपुर र सुनसरीको भण्टाबारी नाका हँुदै विराटनगरको आईसीपीसम्म आइपुग्दा मालवाहकलाई झन्डै ११६ किलोमिटरको यात्रा तय गर्नु पर्छ । ४ वर्षअघि पनि मिरगञ्जको पुल भासिँदा भारतले वीरपुर हुँदै मालवाहक सवारीलाई भण्टावारी नाकाबाटै नेपाल प्रवेश दिइएको थियो ।

भण्टाबारी नाका हुँदै नेपाल प्रवेश गर्ने मालवाहक ढुवानीका साधन सीधै विराटनगरको आईसीपी आएर मात्र भन्सार जाँच गराउने छन् । ती मालवाहक साधनले भण्टाबारी भन्सारमा जाँच गर्न नमिल्ने सापकोटाले बताए । विराटनगर भन्सारले दैनिक १५ करोड रुपैयाँ राजस्व असुली गर्दै आएको छ ।

प्रकाशित : पुस २८, २०७८ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?