कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

शीतलहरले धान बिक्रीमा असर

शंकर आचार्य

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्ज शाखामा किसानले बिक्री गर्न ल्याएको धानमा ‘म्वाइस्चर’ (चिसोपना) को समस्या देखिएको छ । डेढ सातायता जारी शीतलहरका कारण यो समस्या देखिएको हुन सक्ने शाखा प्रमुख विकास कटुवालले बताए ।

शीतलहरले धान बिक्रीमा असर

‘शीतलहर अघि यो समस्या थिएन, त्यतिबेला आद्रता नाप्दा धानमा १६ प्रतिशतसम्म म्वाइस्चर हुन्थ्यो,’ उनले भने, ‘अहिले औसतमा २ प्रतिशत बढेर १८ देखि १९ प्रतिशतसम्म पुगेको छ ।’

१८ प्रतिशतभन्दा बढी म्वाइस्चर रहेको धान खरिद गर्न नमिल्ने भएकाले फिर्ता पठाउने गरिएको उनले बताए । ‘दैनिक सरदर एक सयमध्ये ८ ट्र्याक्टरको धानमा यो समस्या देखिने गरेको छ,’ उनले भने, ‘हामीले किसानलाई सुकाएर फेरि ल्याउन आग्रह गरेका छौं ।’

शीतलहरसँगै २ पटक पानी परेको र कतिपय किसानको धान पानीमा भिजेकाले समेत म्वाइस्चर बढेको हुन सक्ने उनले बताए । शाखाले मंगलबारसम्म ९ हजार ५ सय क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको छ । मंगलबार शाखा परिसरमा करिब २ हजार ५ सय क्विन्टल धान होल्डमा रहेको उनले बताए । शाखा परिसर अहिले धान लोड गरिएको किसानको ट्र्याक्टरले भरिएको छ ।

शाखाले सोना मन्सुलीसँगै जिरा मसिनो धान पनि खरिद खुला गरेको छ । तर, किसानले हालसम्म बिक्री गर्न नल्याएको प्रमुख कटुवालले बताए । शाखाले १८ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित पुस ७ देखि किन्न थालेको हो, जसमा १५ हजार क्विन्टल सोना मन्सुली र ३ हजार क्विन्टल जिरा मसिनो धान रहेको छ । यस भेगमा तुलनात्मक रूपमा जिरा मसिनो धानको खेती कम हुने र हाल निजी क्षेत्रले यो धानको मूल्य बढी दिएकाले किसानले निजी क्षेत्रलाई यो धान बिक्री गरेको हुन सक्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले यस वर्ष जिरा मसिनो धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय १० रुपैया निर्धारण गरेको थियो । यस वर्ष सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ रहेको छ । जुन संघीय सरकारले निर्धारण गरेको हो ।

दैनिक ठूलो परिमाणमा धान फिर्ता हुँदा किसान भने मारमा परेका छन् । किसान संघ पर्साका अध्यक्ष असर्फी साहले प्राकृतिक कारणले यस भेगका किसानको धानमा चिसोपनाको समस्या बढेकाले खाद्यले यो समस्या बुझेर किसानको धान खरिद गर्न आनाकानी गर्न नहुने बताए । ‘हामी शीतलहरसँगै हिउँदे वर्षाको मारमा पनि पर्‍यौं,’ उनले भने, ‘खाद्यले हाम्रो पीडा बुझिदिनुपर्छ ।’

प्रकाशित : पुस २८, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?