कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिरगन्ज पुल भासिँदा जोगबनीबाट आयात–निर्यात ठप्प

विनोद भण्डारी

विराटनगर — भारतको बथनाहस्थित मिरगन्ज पुल भासिएपछि जोगबनी नाकाबाट शुक्रबारदेखि आयात–निर्यात ठप्प भएको छ । पाँच वर्षअघि बाढीले उक्त पुल क्षतिग्रस्त बनाएको थियो । झन्डै डेढ वर्षसम्म ४५ किलोमिटर सडक घुमेर सुनसरीको भन्टाबारी नाकाबाट आयात–निर्यात गरिएको थियो ।

मिरगन्ज पुल भासिँदा जोगबनीबाट आयात–निर्यात ठप्प

उक्त पुल सुनसरी–मोरङका उद्योगका लागि आवश्यक कच्चापदार्थ आयात र तयारी सामान निर्यात गर्ने प्रमुख मार्गमा पर्छ । पुल मर्मत गरेर सञ्चालन हुँदै आएको थियो । भारतको अररिया प्रशासनले बिहीबार रातिदेखि पुलबाट मालवाहक र ठूला सवारी आउजाउमा रोक लगाएको छ । शुक्रबार जोगबनी नाकाबाट आयात–निर्यात पूर्ण ठप्प भएको विराटनगर भन्सारका अधिकृत अमित तिवारीले बताए । पुलबाट खाली गाडी पनि फर्कन पाएका छैनन् ।

विराटनगर भन्सार, जोगबनी भन्सारका प्रतिनिधिसहित मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीले शुक्रबार वैकल्पिक बाटोको खोजी गरेका छन् ।

करिब १५ किमि घुमेर भारतको अररिया हुँदै कुर्साकट्टा नाकाबाट आयात–निर्यात गर्न सकिने सम्भावना देखिएको तिवारीले बताए । कुर्साकट्टा नाकाबाट कम्तीमा १० दिनसम्म आयात–निर्यात गर्न र मिरगन्ज पुलकै छेउमा निर्माणाधीन आरसीसी पुललाई द्रुतगतिमा निर्माण गर्ने विषयमा भारतीय पक्षसँग सहमति भएको अनुगमनमा सहभागी मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए ।

मिरगन्ज पुल भएर प्रतिदिन तीन सयभन्दा बढी मालवाहक सवारी औद्योगिक कच्चापदार्थसहित सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा आउँथे । त्यसकै आधारमा विराटनगर भन्सारले प्रतिदिन १५ करोड रुपैयाँ राजस्व असुल्दै आएको थियो ।

प्रकाशित : पुस २४, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?