कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया कलमीमा भारतीय श्रमिकको भर

पर्वत पोर्तेल

काँकडभिट्टा — जाडोयाम सुरु भएसँगै चियाका बोट काँटछाँट (कलमी) गरिन्छ । हिउँदमा जब चियाको मुना पलाउन कम हुन्छ, तब काँटछाँट गरिन्छ । यसो गर्दा चियाको उत्पादनसँगै गुणस्तर बढ्छ । विगतमा यो काममा नेपाली श्रमिककै बाहुल्य थियो । घरेलु हतियार (सिक्कल) बोकेका श्रमिक समूहले चियाका हरिया बोट काँटछाँट गरेर नांगो पार्थे ।

चिया कलमीमा भारतीय श्रमिकको भर

तर अहिले त्यस्तो दृश्य देखिँदैन । सीमित भारतीय श्रमिक मेसिनको सहायतामा बोट काँटछाँट गरिरहेका भेटिन्छन् । बिर्तामोडको गिरिबन्धु चिया बगान काँटछाँट गर्दागर्दै भेटिएका भारतीय श्रमिक इनावुल इस्लामले झापाका आधा दर्जनभन्दा बढी चिया बगान कलमी गर्ने ठेक्का लिएको जानकारी दिए । चिया बोट काँटछाँटका लागि मात्रै प्रत्येक वर्ष आफूहरू आउने गरेको उनले बताए ।

पाँच जनाको टोली जिल्लाका केही बगानको काम सकेर भारत फर्किन्छन् । ‘हामी पाँच वर्षदेखि प्रुनिङ र स्किपिङका लागि नेपाल आउँछौं,’ इस्लामले भने, ‘एक डेढ महिना काम गर्छौं, दुई–चार लाख रुपैयाँ कमाएर फर्किन्छौं ।’ स्किप मेसिनको प्रयोगबाट उनीहरूले चियाका बोट काँटछाँट गर्दै आएका छन् । मेसिनको प्रयोगले कम जनशक्तिमा चाँडो काम गर्न सम्भव हुन्छ ।

प्रतिबोट ६० पैसाका दरले काँठछाँट ठेक्का लिइएको इस्लामले जानकारी दिए । आफूहरूको टोलीले प्रतिदिन १० हजार बोट काँटछाँट गर्ने गरेको उनको भनाइ छ । ‘गिरिबन्धुका करिब १ लाख ७५ हजार बोट काँटछाँट गर्नै पाँच दिन लाग्यो,’ उनले भने । यसबाट आफूहरूले कम्तीमा एक लाख रुपैयाँ आम्दानी गर्ने उनले बताए । केही समययता चिया टिप्ने, विषादी छिट्ने आदि काममा भारतीय श्रमिककै बाहुल्य देखिन्छ । कारखानाभित्र त धेरैजसो कर्मचारी भारतीय नै छन् ।

निजी लगानीको गोमादेवी चिया बगानमा होस् या सरकारले लिजमा दिएको टोकला चिया बगानमै किन नहोस्, सबैतिरका बगानमा भारतीय श्रमिककै बाहुल्य छ । नेपाली श्रमिक अभावका कारण भारतबाट ल्याएर काम लगाउनुपरेको चिया उद्यमीहरू बताउँछन् । ‘नेपाली श्रमिक पाइन छाडेपछि भारतीय श्रमिक बोलाएर काम लगाउन बाध्य छौं,’ चिया उद्यमी कुमार गिरीले भने ।

भारतको पश्चिम बंगाल सोनापुर, चोप्राथान, धुपगुढी, कोचविहारसम्मका श्रमिक चिया बगानमा कार्यरत छन् । नेपाली श्रमिकको तुलनामा भारतीय सस्तोमा उलपब्ध हुने पनि चिया उद्यमीहरूको भनाइ छ । भारतीय श्रमिकको पारिश्रमिकमा मात्रै बर्सेनि करोडौं रुपैयाँ बाहिरिइरहेको उनीहरू बतताउँछन् ।

झापा र इलाममा मात्रै सानाठूला गरी सयभन्दा बढी चिया कारखाना छन् । चिया क्षेत्रमा करिब ४५ हजार नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ । यसमध्ये थोरै मात्र स्थायी छन् । हजारौं मजदुर वर्षौंदेखि ज्यालादारीमा छन् । पछिल्लो समय ज्यालादारी नेपाली श्रमिक बगानको काम छाडेर विदेश पलायन हुने क्रम बढेको छ । यसले पनि जिल्लाका धेरैजसो चिया उद्योगले भारतीय श्रमिक प्रयोग गरिरहेको चिया तथा कफी विकास बोर्डअन्तर्गतको चिया विस्तार योजना कार्यालय प्रमुख इन्द्र अधिकारीले बताए । भने, ‘त्यही कारण उनीहरूको प्रयोग बढेको हुन सक्छ ।’

प्रकाशित : पुस २४, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?