कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

तातोपानी नाका खुल्यो, भित्रिए १० कन्टेनर 

अनिश तिवारी

सिन्धुपाल्चोक — चीनको खासा र न्यालम क्षेत्रमा बाक्लो हिमपातका कारण रोकिएको तातोपानी नाका शुक्रबारबाट फेरि सञ्चालनमा आएको छ । हिमपातका कारण चिनियाँ कन्टेनर आवतजावत रोकिएपछि भोटेकोसी गाउँपालिका वडा नम्वर–२ स्थित तातोपानी नाका ठप्प थियो ।

तातोपानी नाका खुल्यो, भित्रिए १० कन्टेनर 

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुुसार नाकाबाट शुक्रबार दश वटा कन्टेनर नेपाल भित्रिएका छन् । उनका अनुसार चार फिट बाक्लो हिउँले सडक भरिएकाले १२० सीबीएमसम्म भारी बोकेका करिब १ सय कन्टेनर न्यालम र खासा भ्यान पार्किङमै रोकिएका छन् ।

‘हिमपातको कारण देखाएर चीनले तत्काललाई कन्टेनर पठाउन बन्द गरिदिएको थियो, शुक्रबारबाट भने पहिलेझैं कन्टेनर आउन थालेका छन्,’ गौतमले भने । भूकम्पको चार वर्षपछि मालबाहक सवारीका लागि खुलाइएको तातोपानी नाकाबाट निर्यात भने शून्य छ ।

आहिले कन्टेनर आउन थाले पनि हिउँले आधा छोपिएकाले लोड गरिएका स्याउ तथा खाद्य सामग्री बिग्रिन थालेको छ । चीनको खासा, न्यालम र बिम्बु क्षेत्रमा केही दिन हिउँ परिहरहने देखिएकाले नेपालका लागि लोड गरिएका अन्य कन्टनेरका स्याउ तथा खाद्य सामग्री पनि बिग्रने अवस्थामा पुगेको छ । हप्ता दिनअघि मात्रै तातोपानी भन्सारमा भित्रिएका दुई कन्टेनर स्याउ कुहिएको अवस्थामा पाइएको थियो । यसअघि तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमि माथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावाना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि तातोपानी नाका बन्द थियो ।

‘यो नाका अनेक बहानामा खुल्ने र बन्द भइरहँदा व्यवसायी तथा स्थानीय दिक्क छन्, सरकारकै गैरजिम्मेवारीका कारण चीनले यसअघि एकतर्फी मात्रै नाकालाई खुलायो’ भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने । चिनियाँ अधिकारीले नाकाबाट दैनिक २० भन्दा बढी कन्टेनर नेपाल पठाउन नसकिने बताउँदै आएका छन् । चीनले ठाउँको अभाव, कोरोना महामारी र मौसम प्रतिकूलताको कारण देखाउँदै कन्टेनर आयात तत्कालका लागि नबढाउने सूचना दिएको पौडेलले प्रष्ट्याए ।


प्रकाशित : पुस २३, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?