२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

दलभन्दा माथिका नेता

बाबुराम भट्टराई

सुवासजीसँग मेरो २०४६ सालको आन्दोलनदेखि परिचय र सहकार्य हुँदै आएको हो । मुख्यगरी सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी, शान्ति प्रक्रियामा आएपछि उहाँसँग नजिकबाट सहकार्य गर्ने मौका जुर्‍यो । संविधानसभा रहने क्रममा उहाँ संविधानसभाको अध्यक्ष र म प्रधानमन्त्री अनि दोस्रो संविधानसभामा म संवैधानिक समितिको सभापति थिएँ । त्यसबेला निकट सम्बन्ध राखेर काम गर्ने अवसर मिल्यो । 

दलभन्दा माथिका नेता

सुवासजीको अप्रत्याशित निधनले मुलुकलाई निकै क्षति पुर्‍याएको छ । उहाँ संसदीय प्रणालीको विषयविज्ञ हुनुहुन्थ्यो । अर्को राजनीतिक आन्दोलनमा जोडिनुभएकाले, प्रगतिशील राजनीति संस्कार भएको व्यक्ति हुनुहुन्थ्यो । सबभन्दा महत्त्वपूर्ण उहाँ हंसमुख, मिलनसार र समन्वयकारी चरित्र भएको व्यक्ति हुनुहुन्थ्यो । हामीले शान्ति प्रक्रिया र संविधान निर्माण सहमतिका आधारमा गरेका हौं ।

खासगरी कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलबीचको सहमतिले नै संविधान निर्माण भएको हो । संविधानसभाको पहिलो कालखण्डमा प्रधानमन्त्री रहँदा र दोस्रो संविधानसभामा संवैधानिक समितिको सभापति रहँदा राजनीतिक दलबीच सहमति जुटाउन मैले गरेको प्रयास अहिले सम्झन्छु । त्यसबेला दलहरूबीच उहाँले गर्ने सहजीकरणले धेरै मद्दत पुर्‍याउँथ्यो । प्रमुख दलले विवाद टुंग्याउने भए पनि कानुनको विषयविज्ञता र स्वभावजन्य गुणका कारण मैले सम्भव भएसम्म उहाँको सहयोग लिएको छु ।

कतिपय एकाध पक्ष जसका पनि हुन्छन् । पहिलो संविधानसभाको म्याद सर्वोच्च अदालतले २०६९ जेठ १४ रातमा तोकिदिएको थियो । त्यसबेला संविधानसभाको बैठक समय बढाएर हुन्छ कि म्याद थपेर हुन्छ भनेर लम्ब्याउने कुराकानी भएको थियो । दलहरूको दबाबमा त्यसमा अडान लिन सक्नुभएन । त्यसयताको कालखण्डमा संवैधानिक समितिको सभापति रहँदा निकै नजिकबाट काम गरेको छु । हामीबीच नेताहरूका मनोविज्ञानका विषयमा कुराकानी हुन्थ्यो, त्यही मनोविज्ञानका आधारमा समाधान निकाल्नेबारे पनि कुरा हुन्थ्यो । यसरी हेर्दा संविधान निर्माणमा उहाँको सकारात्मक भूमिका रह्यो ।

संसद्लाई उहाँले राम्रो ढंगले चलाउनुभयो । सांसदहरू उत्तेजनामा आउँदा शान्तिपूर्वक समाधान गर्ने उहाँको स्वभाव थियो । दलहरूबीच अनौपचारिक ढंगले कुरा गरी समाधान निकाल्ने भूमिका पनि उहाँको थियो । उहाँको सभामुख र अध्यक्षको भूमिका निर्विवाद नै रह्यो । त्यसकारण उहाँलाई दोस्रो पटक संविधानसभाको अध्यक्ष बनाएका हुन् । व्यक्तिगत विशिष्ट गुणका कारण दुई पटक सभामुख र अध्यक्ष बन्नुभएको यसरी पुष्टि हुन्छ । दलभन्दा माथि रहेर मुलुकका लागि सोच्न सक्ने नेतामध्येमा उहाँ हुनुहुन्थ्यो । सबैले रुचाउने व्यक्ति हुनुहुन्थ्यो ।

प्रकाशित : भाद्र २७, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?