कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस

मानव–हिउँ चितुवा द्वन्द्व

पशुपालनका लागि अझै पनि शे–फोक्सुन्डो क्षेत्रका जनता परम्परागत खुला असुरक्षित गोठहरूमा भर पर्न विवश छन् । यस्ता अव्यवस्थित र असुरक्षित गोठहरू नै मानव–वन्यजन्तुबीच नकारात्मक अन्तरक्रियाको मुख्य कारक बनेका छन् ।
चन्द्रजंग हमाल

काठमाडौँ — संरक्षणका हिसाबले विश्वमै मानव र वन्यजन्तु बीचको नकारात्मक अन्तरक्रिया चलनचल्तीमा द्वन्द्व एक प्रमुख चुनौती हो । संरक्षणमा उदाहरणीय कार्य गरेका नेपालजस्ता राष्ट्रहरूमा एकातिर वन्यजन्तुको संख्या बढ्दो छ भने अर्कोतिर मानव–वन्यजन्तु नकारात्मक अन्तरक्रिया पनि त्यही अनुपातमा बढ्दो छ ।

मानव–हिउँ चितुवा द्वन्द्व

मानव–वन्यजन्तुबीच नकारात्मक अन्तरक्रिया संरक्षण क्षेत्रमा धेरथोररूपमा चलिरहन सक्छ । यसलाई पूर्णरूपमा निर्मूल गर्न गाह्रो भए पनि न्यूनीकरण गर्न भने अवस्य सकिन्छ ।

मनव–वन्यजन्तु बीचको नकारात्मक अन्तरक्रियाको हिसाबले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पनि अक्षुतो छैन । पछिल्ला वर्षहरूमा यसप्रकारको अन्तरक्रिया निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बढ्दो छ । निकुञ्जको तथ्यांकअनुसार सन् २०१७–२०२२ सम्म हिउँ चितुवाबाट मात्रै मध्यवर्ती क्षेत्रका २ हजारभन्दा बढी पशु चौपाया मारिएका छन् । त्यसैगरी समूहमा मार्ने घटना पनि बढ्दो छ । यसरी वन्यजन्तुबाट पशु चौपाय मारिंदा रिसले क्रुद्ध बनेका किसानले प्रतिशोधमा वन्यजन्तुलाई विभिन्न उपाय लगाई दुःख दिएका, मारेका घटनाहरू यदाकदा भएका पाइन्छन् ।

एक अध्ययनले देखाए अनुसार हिउँ चितुवाको प्राकृतिक आहारामध्ये २४–४२ प्रतिशत घरपालुवा पशु चौपाया पर्छन् । हिउँ चितुवा आफ्नो प्राकृतिक आहारा पूर्ति गर्ने क्रममा कहिलेकाहीँ गाउँबस्ती छिरी पशु चौपाया मार्ने गरेको पाइन्छ । त्यस्तै बूढो, बिरामी र अशक्त हिउँ चितुवाले वन्यजन्तु प्रजाति शिकार गरेर आफ्नो आहार जोहो गर्न नसकेपछि घरपालुवा जनावरमाथि आक्रमण गर्छ ।

माथिल्लो डोल्पाको आयआर्जनको मुख्य स्रोतहरूमध्ये पशुपालन पनि एक हो । निकुञ्जको तथ्यांकअनुसार त्यसक्षेत्रमा २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा छन् । प्रति घरधुरी औसतमा ५० र अधिकतम ५ सयसम्म भेडाच्याङ्ग्रा रहेका छन् । यति धेरै संख्यामा पशुधन हुँदा पनि विडम्बना धेरैजसो घरधुरीमा सुरक्षित सुधारिएका खोर छैनन् । परम्परागत खुल्ला असुरक्षित गोठहरू छन् । यस्ता अव्यवस्थित र असुरक्षित गोठहरू नै मानव–वन्यजन्तुबीच नकारात्मक अन्तरक्रियाको मुख्य कारक बनेका छन् ।

अध्ययनको क्रममा ५ सयवटासम्म भेडाच्याङ्ग्रा भएका किसान पनि अझै व्यवसायिक बन्न सकेका छैनन् । धेरैजसो पशुपालक किसानले भेडाच्याङ्ग्रा आयआर्जनभन्दा पनि खेतबारीमा प्रयोग हुने मलखादको लागि पाल्ने गरेको पाइन्छ ।

माथिल्लो डोल्पाको मुख्यखेती उवा र फापर हो । स्थानीयले बाहृय खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ । परम्परागत पशुपालन भन्दा पनि व्यावसायिक पशुपालनतर्फ किसानले ध्यान दिनु आवश्यक छ ।

मानव–वन्यजन्तुबीच नकारात्मक अन्तरक्रिया व्यवस्थापन गर्ने तीन सर्वमान्य उपाय :

१. प्रवर्द्धनात्मक उपाय : यसअन्तर्गत जनचेतना र प्रचारप्रसारमार्फत् स्थानीयलाई सचेत गर्ने र अन्य विभिन्न उपायद्वारा मानव–वन्यजन्तुबीच नकारात्मक अन्तरक्रिया रोकथाम/प्रतिबन्ध गर्न प्रेरित गर्ने कार्यक्रमहरू पर्छन् ।

२. प्रतिबन्धात्मक उपाय : यसअन्तर्गत नकारात्मक अन्तरक्रिया रोक्ने कार्यक्रमहरू पर्छन् । जसमा सुधारिएका सुरक्षित खोरहरू पर्छन् । यीनले हिउरू चितुवाको प्रवेश रोक्छन् भने तिनीहरूबाट हुने आक्रमण र सामूहिक आक्रमण रोक्छन् ।

३. उपचारात्मक उपाय : यसअन्तर्गत घटना भइसकेपछि व्यवस्थापन तथा प्रतिकार्यका उपाय पर्छन् । यसमा समुदायस्तरीय पशु बिमा कार्यक्रम सरकार र अन्य निकायबाट दिइने राहत कार्यक्रम पर्छन् ।

फागुन २०७७ मा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने साल्दाङको कोमाङ गाउँमा एक किसानको गोठमा हिउँ चितुवाले आक्रमण गर्‍यो । एकै रातमा हिउँ चितुवाले ५२ वटा भेडाच्याङ्ग्रा मारिदियो । माघ २०७८ एक रात साल्दाङकै लुरी गाउँमा अर्का किसानको ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको मास किलिङबाट मारिए । दुवै किसानको १/२ घण्टामै लाखौंको पशुधन क्षति भयो ।

धेरै भेडाच्याङ्ग्रा पालेका किसानले नत सुधारिएको खोर बनाएका थिए न गोठ भित्रका भेडाच्याङ्ग्राको बिमा नै गरेका थिए । किसानले सामान्य खर्चमा सुधारिएको खोर बनाएका भए यस्तो ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो । सानो लगानीले ठूलो दुस्परिणाम रोक्न सकिन्थ्यो ।

सामान्यतय: ५० वटा भेडाच्याङ्ग्रा अट्न १५.१० वर्ग फिट खोरको आवश्यकता पर्छ । उक्त क्षमताको मेस जाली (ग्याल्भानाइज्ड डबल कोटेड्) युक्त सुधारिएका खोर स्थानीयस्तरमै बढीमा ४० हजार लागतमा बनाउन सकिन्छ ।

निकुञ्जको माथिल्लो डोल्पामा हिउँ चितुवाले हिउँदमा पशु चौपायको ‘मास किलिङ’ गर्ने गरेको छ । किसानको गाउँकै गोठमा हुने यस्ता घटना रोक्न घरधुरीस्तरमा पशु चौपायको क्षमताअनुसार सुधारिएको खोर निर्माण गर्न सकिन्छ । शे–फोक्सुणो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका किसान खोरले पशुधनको वन्यजन्तुबाट हुनसक्ने जोखिम निर्मूल गरेको बताउँछन् । हिउँ चितुवा ३/४ पटक खोरको छानामा आएर फर्केको बताए । पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायलाई हिउँ चितुवाले आक्रमण गर्नसक्ने डरले रातमा राम्रोसँग सुत्न पनि नपाउने पनि उनले सुनाए । हाल यस्ता खोरको माग स्थानीयस्तरबाट बढ्दो क्रममा आएका छन् ।

पशु बिमा कार्यक्रम एक नवीनतम कार्यक्रम हो । हिउँ चितुवा संरक्षणका लागि यो जनावर पाइने धेरैजसो देशमा यस कार्यक्रम लागू छ भने नेपालमा पनि कञ्चनजंघा संरक्षण क्षेत्र र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा समुदायस्तरमा सञ्चालित छ । यो कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको व्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था छ ।

यो कार्यक्रम समुदायबाटै सञ्चालित व्यवस्थित र नियन्त्रित हुने भएकोले यसमा किसानले तिरेको रकम जोखिममा रहन्न । अन्य नाफामूलक बिमा कम्पनीजस्तो कमिसन र कम्पनी डुब्न सक्ने जोखिम पशु बिमा कार्यक्रममा रहँदैन । किसानको लगानी सुरक्षित हुन्छ । यो कार्यक्रम सञ्चालनार्थ गठित पशु बिमा उपसमितिमा निकुञ्ज तथा स्थानीय सरकारका प्रतिनिधि पनि रहने व्यवस्थाले बिमा कार्यक्रम पारदर्शी हुने देखिन्छ । पशु बिमा गर्न इच्छुक किसानलाई यो कार्यक्रमले उत्साहित बनाएको देखिन्छ । समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दीगोरूपमा राहत रकम पाउन सक्छन् ।

पशु मूल्यको थोरै प्रतिशत प्रियिम (बिमांक रकम) तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहतको दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन् ।

समुदायको प्रिमियम योगदानमा आधारित बिमा योजना भएकोले किसानले तिरेको प्रिमियम खेर जाँदैन, बिमा समितिमै बस्छ । यदि पशुको क्षति भएन भने किसानले आफ्नो प्रिमियम फिर्ता चाहेमा फिर्ता लिन पनि सक्छन् । यो कार्यक्रमलाई थप विकसित र परिस्कृत गर्दै लैजान सके कार्यक्रमभित्रै पशु खोप तथा पशु उपचार कार्यक्रम पनि समेट्न सकिने अवसर छ ।

वन्यजन्तुबाट हुने क्षतिबाट सबैभन्दा बढी प्रभावित स्थानीय नै हुन्छन् । त्यसैले सुधारिएको खोर निर्माण र पशु बिमा कार्यक्रमलाई अभियानकै रुपमा लगि यसको अपनत्व र नेतृत्व स्थानीयले नै लिनु आवश्यक छ । यस अभियानले दीगो जीवीकोपार्जन र दीगो संरक्षणलाई सुनिश्चित गर्छ । घरघरमा सुधारिएको खोर र पाटन–पाटनमा सामूहिक खोर बनाउन सके मानव–वन्यजन्तुबीच नकारात्मक अन्तरक्रियालाई सकारात्मक गति दिन सकिन्छ । स्थानीय सरकारले पनि आफ्ना वार्षिक नीति, कार्यक्रम र बजेटमा सुधारिएको खोर निर्माणमा सहुलियत दिनसके किसानलाई ठूलो प्रोत्साहन मिल्ने छ ।

माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामा मानव–वन्यजन्तु बीचको नकारात्मक अन्तरक्रिया समाधानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेका थिए । आज घरदैलोको सरकारको रूपमा लिइने स्थानीय सरकारले पनि संरक्षणमा हातेमालो गर्दै यस्ता सवालमा ध्यान दिनु जरूरी छ ।

हिउँ चितुवा हिमालको शान र मान हो । हिमालको रौनक हो । आजैबाट सानो लगानी गरी दीगो जीवीकोपार्जन र हिउँ चितुवा संरक्षणमा सहभागी बनौं ।

(हमाल डब्लुडब्लुएफ, नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत हुन् )

प्रकाशित : कार्तिक ६, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?