२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

सीपीसी महाधिवेशन र सी महत्त्वाकांक्षाले जेलिएको चिनियाँ राजनीति

स्वदेशभित्रको नयाँ राजनीतिक–सामाजिक स्थिति र बाह्य विश्वमा देखा परेका नयाँ चुनौतीहरू तथा चीनको खस्किँदो छविजस्ता विषयहरूबाट पाठ सिकेर अगाडि बढ्न सके निश्चित रूपमा सीले चीनलाई नयाँ दिशा दिनेछन् र यो देशभित्र र अन्तर्राष्ट्रिय जगतकै लागि सकारात्मक विषय हुनेछ।
बुद्धिप्रसाद शर्मा

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी ) को आसन्न २०औं महाधिवेशनलाई अन्तर्राष्ट्रिय रूपमै चासो र व्यग्रताका साथ हेरिएको छ । महाधिवेशन हुँदै गर्दा चिनियाँ नागरिकमा पनि देशले कस्तो बाटो लिने हो भन्ने कौतुहलता देखिन्छ । विश्वको दोस्रो अर्थतन्त्र मात्र नभई विविध आयामहरूमा अगाडि रहेको चीनको घरेलु राजनीतिले पक्कै पनि अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको हो ।

सीपीसी महाधिवेशन र सी महत्त्वाकांक्षाले जेलिएको चिनियाँ राजनीति

मुख्यगरी चीनभित्र कडा नियन्त्रण र बाह्य विश्वमा चीनको अधिकतम प्रभावलाई मुख्य मुद्दा बनाएका पार्टी महासचिव तथा राष्ट्रपति सी चिनफिङको पुनः पार्टी नेतृत्वमा स्थापित हुने चाहनाले चीनभित्र र बाहिर तरंग उत्पन्न गरेको छ। अबको चीन उदारवादतर्फ वा थप अनुदारवादतर्फ कता मोडिन खोजेको भन्ने कौतुहलता सर्वत्र देखिन्छ। नेता सीको दोस्रो कार्यकालवाट सिर्जित यावत अप्ठ्याराहरुले गर्दा पनि विविध प्रश्न एवं चिन्ताहरू उत्पन्न भएको बुझ्न सकिन्छ।

अक्टोबर १६ बाट सुरु हुने सीपीसीको २०औं महाधिवेशनबाट पार्टीका वर्तमान महासचिव सी तेस्रो कार्यकालका लागि स्थापित हुन चाहेको संकेत दिइसकेका छन् । एक हप्ता अगाडि पार्टीका आफूनिकट नेताहरुसँगको छलफलमा सी ले आफूले धेरै योजनाहरु पूरा गर्नुपर्ने भएकोले पार्टी नेतृत्वमा रहेर योगदान गर्न चाहेको बताएका थिए। चाखलाग्दो कुरा त के छ भने सत्तामा सी यति शक्तिशाली भएका छन् कि विरोधीहरू कानेखुसी पनि गर्न नसक्ने भएका छन्। अबको चिनियाँ राजनीतिको गति सीको खास चाहना र निर्देशनमै अगाडि बढ्ने छ।

राजनीतिबाट विश्राम लिने वा अझै सक्रिय हुने भन्ने सन्दर्भमा नेता सीको निर्णय नै अन्तिम हुनेछ। सीपीसीभित्र पनि विभिन्न गुटहरू छन् । हु चिन्थाओको कार्यकालसम्म सक्रिय रहेका ती गुटहरूलाई नेता सीले आफ्नो दुई कार्यकालभित्र छिन्नभिन्न मात्र पारेनन, केही समय उठ्न नसक्ने गरी तह लगाएका छन्। चाहे भ्रष्टाचारको नाममा होस् वा पार्टी अनुशासनको नाममा नेता सीले आफ्ना विरोधीहरूलाई नराम्रोसँग ठेगान लगाएका छन्। त्यही त पार्टीले के चाहन्छ भन्दा पनि नेता सीको मनमा के छ भन्ने कुरा यतिखेर महत्त्वपूर्ण भएको छ, र यही सन्दर्भबाट सीपीसीको आसन्न महाधिवेशनलाई हेरिएको छ।

उमेरले ७० पुग्नै लागेका नेता सीले चीनको कायाकल्प गर्ने विशाल दृष्टिकोणले विगत दस वर्षमा अनेकौं प्रयोगहरु गरे। उनले यति धेरै कार्यक्रम अगाडि सारे कि कतै चीन तिनै विविध कार्यक्रमहरूको दलदलमा फस्ने त होइन भन्ने चिन्ता चिनियाँहरूमा देखिन्छ। देशभित्र राज्य नियन्त्रित उद्योग तथा संस्थाहरूमाथि बढ्दो नियन्त्रण र लगानीदेखि बेल्ट एन्ड रोडसम्म हेर्दा नेता सीका धेरै प्रयासको परिणाम सकारात्मक देखिएको छैन, र विगत ४० वर्षयताका सुधारहरूलाई अगाडि बढाउनुको साटो चिनियाँ राजनीतिक नेतृत्व थप पश्चगामी दिशातिर जाने त होइन भन्ने चिन्ता पनि उत्तिकै देखिँदैछ। अर्कोतर्फ पश्चिमाहरू चीनप्रति थप आक्रामक हुँदै अगाडि बढ्दा त्यसको प्रतिवाद विश्व समुदायको साथ लिएर गर्नुपर्नेमा थप अनुदारका साथ प्रस्तुत हुँदा चीनको विदेश नीतिमा कतै विचलन आएको त होइन वा सीको नेतृत्वमा चीनको शान्तिपूर्ण उदयको समय सकिएकै हो त भन्ने आशंका र त्रास चीनभित्र र बाहिरी विश्वमा स्वाभाविक रूपमा देखिएको छ।

नेता तङ सियाओ फिङको अग्रसरतामा सन् १९८२ मा दुई कार्यकालको प्रावधान राखिए पनि नेता सीको निर्देशनमा सन् २०१८ मा त्यो प्रावधान हटाइएको थियो। यसले गर्दा सी नेतृत्वमा कहिलेसम्म रहन चाहन्छन् भन्ने कुरा उनकै इच्छामा भर परेको छ। विश्लेषक युन सुनका भनाइमा सीले आफूलाई तेस्रो कार्यकालका लागि स्थापित भए भने पनि उनको घरेलु र विदेश नीतिमा खासै बदलाव आउने छैन । नेता सीको दृष्टिकोणमा समाजमाथि कम्युनिस्ट पार्टीको नियन्त्रण उदारवादको नाममा खुकुलो हुँदै जानु खतरनाक हुन्छ। यसकारण उनले सन् २०१२ मा पार्टी नेतृत्वमा आएलगत्तै सोभियत युनियन किन पतन भयो र कुन स्थितिले चिनियाँ कम्युनिस्ट पार्टीलाई पतनतर्फ लैजान्छ भन्ने विषयलाई गम्भीरका साथ अध्ययन र छलफलमा ल्याए। सीले आफ्ना सिनियर कमरेडहरूलाई सचेत गराउँदै भने कि पहिलो, आर्थिक सुधारका नाममा राजनीतिक उदारवादलाई प्रश्रय दिइयो र दोस्रो, आर्थिक उदारवादभन्दा राजनीतिक सुधारको गति बढ्ता भयो भने चिनिया कम्युनिस्ट पार्टीको पतनलाई कसैले रोक्न सक्ने छैन । आफ्नो पहिले कार्यकालमा आन्तरिक मामिलामा कडा र बाह्य मामिलामा केही नरम एवं सहयोगी देखिएका नेता सी, दोस्रो कार्यकालमा भने आन्तरिक र बाह्य दुवै मामिलामा बढ्ता अनुदार भएको आलोचना सर्वत्र खेप्नु पर्यो। प्राध्यापक रोबर्ट एस रोसका विचारमा नेता सीका लागि तेस्रो कार्यकालको सबैभन्दा जटिल मुद्दा भनेकै विदेश नीतिलाई सही ट्य्राकमा ल्याउनु र धर्मराउँदो अर्थतन्त्रलाई सही दिशा दिनु हुनेछ।

नेता सीमाथि सन् १९७८ यताको सामुहिक नेतृत्वको संस्कृतिलाई भत्काई एकमनावाद लादेको आरोप छ। प्रभावशाली नेता तङले पार्टी संस्थागत, वैचारिक एवं अनुशासितपूर्वक चलोस् भन्ने हेतुले अगाडि बढाएको सामूहिक नेतृत्वको राजनीतिक संस्कृतिले हु चिन्थाओको कार्यकालसम्म सकरात्मक परिणाम दिएको थियो। तर सीले त्यस पद्धतिलाई उल्टाए र आफूलाई माओपछिको कोर नेताका रूपमा उभ्याए सम्पूर्ण राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै। चीनलाई धनी र बलियो बनाउने नेता तङको सपनालाई नेता सीको अब चीन जसरी पनि बलियो शक्तिका रूपमा देखिनुपर्छ चाहे अर्थतन्त्र अप्ठ्यारोमै परोस् भन्ने मान्यताले ओझेलमा पारेको कतिपय विश्लेषक टिप्पणी गर्दछन्। 'दी स्टेट स्ट्राइक्स व्याक, दी एन्ड अफ इकोनोमिक रिफर्म इन चाइना?' का लेखक तथा अर्थशास्त्री निकोलस लार्डीका भनाइमा सीले चीनलाई आजको अवस्थामा ल्याइपुर्‍याएको आर्थिक मोडलमाथि धावा बोल्दा यसले आन्तरिक तथा बाह्य दुवै क्षेत्रमा अनिश्चितता निम्त्याएको छ र यसले चीनलाई कमजोर बनाउने छ।

बितेको दशकमा नेता सीको राजनीतिक लक्ष्य पार्टीभित्र राजनीतिक पकड बलियो बनाउने, लेनिनिस्ट पार्टी–राज्य सत्तालाई सशक्त बनाउने र विश्वमा चिनियाँ प्रभावलाई बढाउने रहेको प्राध्यापक मिन्सिन फेईको टिप्पणी छ। पहिलो दुई एजेन्डामा सी धेरै हदसम्म सफल भए पनि आक्रमक विदेश नीतिका कारण पश्चिमा शक्तिहरू एकताबद्ध भएको कारण सीको तेस्रो लक्ष्यमा धक्का पुगेको प्राध्यापक फेईको तर्क छ। राजनीतिक पकडमात्र होइन, महत्त्वपूर्ण मानिने चिनियाँ सैन्यमाथि पनि उनको बलियो प्रभाव छ। आफूलाई बलियो बनाइराख्न सीले चिनियाँ सेनाका उच्चस्तरीय नया संरचना निर्माणदेखि जनरललाई पार्टीको कमान्डबाट गतिलोसँग निर्देश गर्न र आज्ञाकारी बनाइराख्न सफल भए।

सन् १९७८ यता पार्टी महासचिव तथा राष्ट्रपतिमात्र होइन प्रधानमन्त्री पनि देशभित्र र बाहिर उल्लेख्य रूपमा देखिने वा सुनिने थिए। तर सीको छायाँमा वर्तमान प्रधानमन्त्री ली खछ्याङ यसरी परे कि गरुडको छेऊ अन्य चराहरूको जस्तो हालत हुन पुग्यो ।जबकि माओकै पालामा पनि प्रधानमन्त्री चाउ एन लाईको प्रभाव सर्वत्र थियो, विश्वमञ्चमा त झनै लोकप्रिय थिए । वर्तमान प्रधानमन्त्री ली अगाडिका प्रधानमन्त्रीहरु चु रोन्ची र वेन चियावाओहरुको दृष्टान्त नै हेर्ने हो भने उनीहरूको सक्रियता राष्ट्रपति सँगसँगै थियो। अर्को सर्न्दभमा, सीपीसी केन्द्रीय पार्टी स्कुलका प्राध्यापक रहिसकेका छाई सिया भन्दछन्– चीनमा पार्टी र सरकारबीचको संर्घष त नयाँ होइन, सीपीसी हेडक्वार्टर र सरकारका प्रमुख निकायहरु रहेको बेइजिङको महत्त्वपूर्ण स्थल चोङ्गनानहाईको दक्षिणी र उत्तरी बेल्टबीचको संर्घषलाई रोचक नै मानिन्छ । तर सी सत्तामा आएपछि उनले आफूमा शक्ति यतिबिघ्न केन्द्रिकृत गरे कि दुवै संस्थालाई आफूतिर मात्र हेर्नुपर्ने बनाइदिए। पार्टीका स्थायी समिति सदस्य हुन् वा पोलिटब्युरोका सदस्य नेता सीको अगाडि निरीह र आज्ञापालक जस्ता हुन पुगे। नेता सी सबै कुराका अध्यक्ष जस्ता बने। जुन ट्याग यस पहिले माओलाई लाग्ने गर्दथ्यो।

हुन त केही चिनियाँ विश्लेषकहरू नेता सीले पार्टीभित्रको गुटहरूलाई ध्वस्त पार्ने नाममा आफ्नै बलियो गुट बनाएको र पछिल्लो कार्यकालका धेरै जस्तो नियुक्ति त्यही योजनाअनुसारको भएको तर्क गर्दछन्। वाङ सिआओहोङ्ग, काई छी, छेन सी, तिङ्ग स्वेसियाङ्गलगायत थुप्रै आफूनिकटका नेताहरुलाई सीले दिएको महत्त्वपूर्ण जिम्मेवारी हेर्दा सीपीसीभित्र नयाँ समूह तयार भइसकेको कतिपयको टिप्पणी छ।

केही चिनियाँ विश्लेषकहरू दाबी गर्दछन् कि पछिल्लो पाँच वर्ष सीद्वारा विभिन्न पदहरूमा नियुक्ति पाएकोहरूको क्षमता हेर्दा उनीहरू उक्त पदहरूका लागि उपयुक्त पात्र निश्चित रूपमा थिएनन् र उनीहरूका कारण ती संस्था कमजोर बन्दै गइरहेका छन्। कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रुयु जे नाथनको दाबी छ कि नेता सीको भयानक शक्ति केन्द्रिकृत अभ्यासले चीनलाई अन्तर्राष्ट्रिय स्तरमै अविश्वसनीय बनाउँदै लैजानेछ। हार्वड विश्वविद्यालयका प्राध्यापक तथा 'रिभोलुसन एन्ड डिक्टेटरसिपः दि भ्वाइलेन्ट ओरिजिनस् अफ ड्युरेबल अथोरिटेरियनिज्म' पुस्तकका लेखक स्टेभेन लेभिट्स्कीको टिप्पणी छ- जसरी नेता माओले अगाडि बढाएको ग्रेट लिप फरवार्ड (१९५८–१९६२) तथा सांस्कृतिक क्रान्ति (१९६६–१९७६) को कार्यक्रमको नाममा भयानक विनासकारी अवस्था चिनियाँ जनताले भोग्नुपर्‍यो, त्यसैगरी वर्तमान अवस्थामा नेता सीका एकपछि अर्का पश्चगामी कार्यक्रमहरूले चीनको अगाडिको बाटोलाई अलमलमा पारेको छ।

चिनियाँ राष्ट्रवादलाई बलियो बनाउने र विश्वमा चीनको उपस्थितिलाई दरिलो बनाउने भन्दै सीले अगाडि बढाएका धेरै कार्यक्रम जस्तै बेल्ट एन्ड रोड, कमन प्रोस्पेरिटी, डुअल सकुलेसन रणनीतिदेखि नयाँ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको स्थापनासम्म हेर्दा या त चीनको तयारीमा समस्या भो या नेता सीमा व्यक्त बढ्ता महत्त्वाकाक्षांले धरातलीय यथार्थतालाई बुझ्न सकेन। अपमानको शताब्दीको इतिहास दोहोर्‍याएर अब न त देशभित्र न त बाहिर सहानुभूति प्राप्त गर्न सकिन्छ भन्ने यर्थाथतालाई सी नेतृत्वले बुझ्न सकेको देखिएन । 'सी चिनफिङः दि मस्ट पावरफुल म्यान इन दि वर्ल्ड' का लेखकद्वय स्टेफन अस्ट र एड्रियन गेइग्सको विश्लेषणमा आत्मविश्वास र दृढ निश्चियी क्षमतायुक्त हुँदाहुँदै पनि नेता सीका गम्भीर कमजोरीले गर्दा उनी विविध गम्भीर चुनौतीहरूबाट घेरिएका छन् र ती समस्याहरू जटिल बन्दै गएका छन् चीनभित्र।

नेता सीले आफ्नो कार्यकालमा पार्टीभित्र पूर्ण कमान्ड सम्हाल्दै चीनलाई आन्तरिक रूपमा बलियो बनाउने र विश्वव्यापी रूपमा चीनलाई पुरातन शक्तिभन्दा भिन्न देखाउने, साथै नयाँ अन्तर्राष्ट्रिय विश्व व्यवस्थाका लागि योगदान दिने जुन परिकल्पना गरेका थिए ती योजना वास्तवमा सकारात्मक नै थिए। तर ती मुद्दा कार्यान्वयनमा स्वदेशभित्र र बाहिर उनले जुन कदम अगाडि बढाए ती वास्तविक रूपमा पश्चगामी सावित भए। आज रुस र चीनप्रति नकारात्मक बन्दै गइरहेको विश्व दृष्टिकोणले वास्तविक रूपमा अमेरिकासहित उसका साझेदार मुलुकहरूमा थप आत्मविश्वास सिर्जना गरेको छ र आफ्ना मिसनमा रणनीतिक रूपमा अगाडि बढ्न सहज बनाएको छ। चीन मामिलाका जानकार माइकल शिमनको तर्क छ कि अमेरिका नेतृत्वको विश्व व्यवस्थामा समस्या छन्, तर चीनले अगाडि बढाएका कार्यक्रम हेर्दा तिनले विकल्प दिन सक्छन् भन्ने आधार कत्ति पनि देखिँदैन।

सीले पहिलो कार्यकालको सुरुवातमा व्यापक रूपमा अगाडि बढाएको भ्रष्टाचारविरुद्धको कारबाहीले वाहवाही कमाएको थियो। बहुसंख्यक चिनियाँ जनता अझै पनि भ्रष्टाचार चीनको डरलाग्दो समस्या भएको बताउँछन्। तर जब सीको भ्रष्टाचारविरुद्धको अभियान आफूइतरलाई ठीक पार्ने अस्त्रका रूपमा प्रयोग हुन थाल्यो अनि विभिन्न आशंकाहरू उब्जायो। उच्च अधिकारीहरू चाउ योनकाङ, सुन चनकाई, फु चनहुवा, वाङ्ग मिन, सन लिचुन, लिउ यानपिङलगायत सीइतरका सयौं नेताहरूविरुद्ध जब कठोर डण्डा बर्सियो तब बुझ्न गाह्रो भएन अब पार्टीमा सीको विचारधाराबाहेक बाँकी सबै गौण हुनेछ। यो स्थितिको निर्माण भनेको नेता तङले थिति बसालेको सामूहिक नेतृत्व र नीति निर्माणविरुद्धको कदम थियो।

सुरुमा कोभिड-१९ विरुद्ध चिनियाँ नेतृत्वको अभियानले विश्वव्यापी प्रशंसा पाएको थियो। तर समयक्रमले चीनको शून्य–कोभिड रणनीति देशभित्र प्रत्युत्पादकमात्र बनेको छैन, आम चिनियाँमा नेतृत्वप्रति तीव्र रोष उत्पन्न गराएको छ। अहिले पनि चीनका साना–ठूला धेरै सहरहरूमा आशिंक वा पूर्ण लकडाउनको अवस्था छ। एक दुई केस देखिँदैमा पूरै सहर नै ठप्प पारेर अभियान थाल्ने अवस्थाले चिनियाँ समाजको जनजीवन अस्तव्यस्त बनाएको छ। अझै पनि चीनको एक सहरबाट अर्को सहर जानु अगाडि धेरै सोच्नु पर्ने स्थिति छ। तर पनि सी नेतृत्व भन्दैछ– शून्य कोभिड रण्ननीतिमा कुनै पनि हालतमा पुनर्विचार हुने छैन । कोभिड प्रभाव कारण चिनियाँ अर्थतन्त्रले ४० वर्षयता कठिन अवस्थाको सामना गर्न परिरहेको छ, बेरोजगारीको समस्या विस्फोटक अवस्थामा छ, महँगी अत्याधिक बढेको छ भने पार्टीको अनावश्यक हस्तक्षेपकारी तथा विभिन्न प्राविधिक झन्झटका कारण सयौं बहुराष्ट्रिय कम्पनीहरूले एकपछि अर्को चीन छोडिरहेका छन्। यीलगायतका यावत कारणहरुले गर्दा चाँडै पहिलो अर्थतन्त्र बन्ने चिनियाँ सपनामा नराम्रो धक्का पुगेको अर्थशास्त्रीहरूको निष्कर्ष छ।

नेता सी नेतृत्वको चिनियाँ सत्ताको आक्रमक विदेश नीतिका कारण एसिया प्यासिफिक क्षेत्रमा मात्र होइन । अन्तर्राष्ट्रियस्तरमै चीनले धेरै मित्रहरू गुमाउनुपर्‍यो । फरक राजनीतिक विचारधारा भए पनि मुख्यगरी सन् १९७८ यताको खुलापनको नीतिसँगै चीनले अमेरिका, जापान, अस्ट्रेलिया, बेलायतलगायत विश्व जगतमा थुप्रै समृद्ध मुलकहरुसँग विश्वासमा आधारित सघन सहकार्यको सम्बन्ध निर्माण गरेको थियो। तर विडम्बना नै भन्नु पर्छ सीको दोस्रो कार्यकाल सकिन लाग्दासम्म चीनले थुप्रै मुलुकहरुसँगको सम्बन्ध बिगारेको मात्र छैन अमेरिका नेतृत्वको पश्चिमा विश्व चीनविरुद्ध थप आक्रमक एवं नयाँ-नयाँ संगठनहरू निर्माण गर्दै चीनलाई घेराबन्दी एवं कमजोर बनाउने गरी अगाडि बढेको छ। चीनमामिलाका अन्तर्राष्ट्रिय जानकारहरू सी नेतृत्वको चिनियाँ सत्ताले यसरी हतार गरेर एकै पटक विश्वका शक्तिहरुसँग पाखुरा सेक्नु हुँदैनथ्यो। वर्तमान विश्व व्यवस्थाबाट सबैभन्दा बढी लाभ लिनेमध्येको मुलुक चीनले नरम सहकार्यको नीतिबाटै विश्वमा दरिलो उपस्थिति निर्माण गर्न सक्दथ्यो।

२०औं महाधिवेशनबाट नेता सीले तेस्रो कार्यकाल सुरु गर्ने चाहना गरकोले उनको आउँदो कार्यकाल सी विचारधारालाई थप अगाडि बढाउनमै केन्द्रित हुनेछ। स्वदेशभित्रको नयाँ राजनीतिक–सामाजिक स्थिति र बाह्य विश्वमा देखा परेका नयाँ चुनौतीहरू तथा चीनको खस्किँदो छविजस्ता विषयहरूबाट पाठ सिकेर अगाडि बढ्न सके निश्चित रूपमा सीले चीनलाई नयाँ दिशा दिनेछन् र यो देशभित्र र अन्तर्राष्ट्रिय जगतकै लागि सकारात्मक विषय हुनेछ। अन्यथा, यदि सी विद्यमान रणनीति र कार्ययोजना अनुसार नै अगाडि बढेमा चीनले देशभित्र र बाहिर बेहोर्नु पर्ने संकट कम भयानक हुने छैनन्, यी संकटहरूले चीनलाई नयाँ दलदलमा फसाउनेछ।

प्रकाशित : आश्विन २९, २०७९ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?