खानेकुरा खाँदा सावधानी अपनाऔं- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेकुरा खाँदा सावधानी अपनाऔं

गत वर्ष नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थाननजिकै एक वयस्क तातो ममको डल्लो हतारमा निल्न खोज्दा सर्केर ठहरै भएका थिए ।
ढुण्डीराज पौडेल

काठमाडौँ — सबै उमेरका व्यक्तिहरूको खानेनलीमा कुनै वस्तु अड्किएर या सासनलीमा सर्किएर गम्भीर अवस्था भएका या अकाल मृत्युसमेत हुन पुगेका खबरहरू संप्रेषित हुने गरेकै छन् । दसैंको अवसरमा खसी, बोका, च्यांग्रा, कुखुरा एवं राँगाभैंसी आदिको मासु बढी खाने गरिन्छ । कतिका लागि त धीत मर्ने गरी मासु खान दसैं कुर्नुपर्ने अवस्था पनि छ ।

सात वर्षअघि आफ्ना पारिवारिक सदस्यहरूको मासुको माग पूरा गर्न नसक्दा चितवनका एक दलितले आत्महत्या गरेको दु:खद समाचार पनि आएको थियो । मासु सबै प्रकारको एमिनोएसिडले भरिपूर्ण प्रोटिनको स्रोत भए पनि रातो मासु रगतमा कोलेस्ट्रोल र अल्पघनत्व भएको लिपिडको मात्रा बढी भएका व्यक्तिहरूका निम्ति हानिकारक हुन सक्छ, मस्तिष्क र मुटुको रक्त प्रवाहमा नकारात्मक असर पर्न सक्छ । चाडपर्वमा एकातिर व्यायाम कम हुने अनि अर्कातिर क्यालोरी र कोलेस्ट्रोल बढी हुने वस्तुको सेवन बढी हुन जाँदा शरीरलाई बेफाइदा हुन्छ ।

दसैंमा हतारमा मासु खाँदा घाँटीमा हड्डी अड्काएर अस्पताल आउनेहरूको संख्या पनि बढ्छ । केही वर्षअघिको दसैंमा एक पुराना गायकका छोराको घाँटीमा अड्किएको हड्डीले खानेनली नै छेडेर अवस्था गम्भीर बनाएको समाचार पढिएको थियो । पंक्तिकार कार्यरत मोफसलको एक मेडिकल कलेजमा गत वर्ष दाँत पूरै झरिसकेका ९७ वर्षीय एक वृद्धको समेत घाँटीमा अड्किएको

हड्डी निकाल्नुपरेको थियो । अड्किने या सर्किने मुख्य कारण नै हतारमा, राम्रोसँग नचबाई निल्नु हो । मुखको पछाडिको भाग (ओरोफ्यारिङ्स) पछि स्वर वा सास र खानेपिउने नलीहरू छुट्टिन्छन् । त्यसैले बोल्दा र खानेकुरा निल्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

दाँतहरू राम्रोसँग विकसित भइनसकेका बालबालिका या उमेरका कारण बंगाराहरू झरेर दन्तविहीन भएका वृद्धवृद्धालाई चपाउन गाह्रो हुन्छ । नचपाईकन निल्नु घातक हुन सक्छ । माथि उल्लेख गरिएजस्तो दाँत नभएकाहरू मात्रै होइन, दाँत भएकाहरूले पनि हड्डी सहितको मासुको झोल होसियारी नपुर्‍याई पिउँदा पनि सानातिना तिखा हड्डीहरू घाँटीमा अड्किन सक्छन् । आमाहरूले शिशुहरूलाई सुताएरै स्तनपान गराउँदा या दूध आदि पिलाउँदा त्यो कानतिर जान या सर्किन पनि सक्छ । झोल या ठोस पदार्थ निल्ने बेला स्वरयन्त्र सहितको सासनली माथि उठ्ने र थुनिने गर्छ । चार वर्षमुनिका बच्चाहरूमा त निल्ने प्रक्रिया पूर्ण विकसित नभएका कारण स्वरयन्त्र सहितको सासनली कम सुरक्षित या कम संरक्षित हुने गरेकाले सर्किने सम्भावना बढी हुने तथ्य अनुसन्धानबाट सिद्ध भइसकेको छ ।

बालबालिकामा विभिन्न प्रकारका अनाज, गेडागुडीका दाना, फुकेर बजाउने सिटीको भाग आदि सासनलीतिर सर्किन जाँदा तत्कालै मृत्यु या गम्भीर प्रकारको न्युमोनिया हुन सक्छ । त्यसैले अभिभावकहरूले ध्यान दिनुपर्ने हुन्छ— यदि बच्चाले कुनै वस्तु मुखमा राखेरपछि तत्काल सास फेर्न गाह्रो भयो, नीलो हुन गयो अथवा तत्काल ठीक भए पनि पछि खोकी लाग्ने या श्वास–प्रश्वासमा अप्ठ्यारो हुन गए सासनलीमा कुनै वस्तु अड्किएको शंकामा जँचाउने, एक्सरे या आवश्यक परे सिटी स्क्यान गर्नुपर्ने हुन्छ ।

पंक्तिकार कार्यरत मेडिकल कलेजको नाक, कान, घाँटी विभागमा बर्सेनि एक दर्जनजति बालबालिका सासनलीमा समेत विभिन्न वस्तु सर्किनाले ल्याइन्छन् जसका लागि ब्रोन्कोस्कोपीको जरुरत पर्छ । एक बालकको सासनलीको माथिल्लो भागमा सर्किएर अड्किएको हड्डीको टुक्रासमेत निकाल्नुपरेको थियो । मोफसलका केही नगण्य अस्पतालमा मात्रै यसका लागि आवश्यक पर्ने रिजिट ब्रोन्कोस्कोपीको सेवा उपलब्ध छ ।

सासनलीमा लामो समय केही अड्किए खोकी लाग्ने र सास प्रक्रियामा अवरोध भई न्युमोनियाको समेत सम्भावना हुन्छ । बालबालिकाबाहेक वयस्कको पनि असावधानीका कारण खानेनलीमा केही अड्किने मात्रै होइन, नचपाईकन हतारमा, कुरा गर्दै, खोक्दै, मदिरा आदिको असरमा जथाभावी निल्दा मासु जस्ता ठोस वस्तु अड्किने मात्र नभई पेय पदार्थसमेत सर्किन गई मृत्यु पनि हुन सक्छ । गत वर्ष भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थाननजिकै एक वयस्क तातो ममको डल्लो हतारमा निल्न खोज्दा सर्केर ठहरै भएको समाचारले अन्तर्राष्ट्रिय रूपमै प्रमुखता पाएको थियो ।

निल्ने प्रक्रियामा धेरै मांसपेशी एवं स्नायु पद्धति र तन्तुहरूको संलग्नता रहने भएकाले सुस्त मनस्थिति वा कमजोर चेतना भएका दीर्घरोगीहरू एवं वृद्धवृद्धालाई निल्न सकिने वस्तुहरू राम्रोसँग केलाएर दिनुपर्ने हुन्छ । कोही कुनै कारण अचानक बेहोस भए पानी दिने चलन छ । तर, सर्किएर सासनली एवं फोक्सोमा जान सक्ने भएकाले बेहोस हुँदा मुखमा पानी हालिदिनु घातक हुन सक्छ ।

सर्किनुका कारण

प्रकृतिले मानिसलाई अन्य जनावरमा जस्तो एकोहोरो आवाज मात्रै निकाल्न होइन, बोलीसमेत प्रकट गर्ने क्षमता दिएको छ । तर बोली निकाल्ने, निल्ने र सास फेर्ने तीनवटै काम सँगसँगै गर्न सक्ने सुविधा चाहिँ प्रकृतिले मानिसलाई दिएको छैन । हेक्का राख्नुपर्ने कुरा के हो भने, घाँटीको स्वरयन्त्रसँगै वायु नली (ल्यारिङ्स, ट्राकिया) र झोल एवं ठोस पदार्थ पार हुने खानेनली (हाइपोफ्यारिङ्स, इसोफेगस) पृथक्पृथक् हुन्छ । त्यसैले निल्ने, बोल्ने र सास लिने काम सँगसँगै गर्न सकिन्न ।

हावा बाहेकको कुनै पनि वस्तु त्यो ठोस होस् या झोल, मुखबाट ओरोफ्यारिङ्स, हाइपोफ्यारिङ्स, इसोफेगस (खानेनली) हुँदै पेटमा पुग्नुपर्छ । पेटमा पुगेको वस्तु खानेनली हुँदै घाँटीबाट बाहिर निस्कन नदिन एक प्रकारको मांसपेशीय पद्धतिले काम गरेको हुन्छ ।

वायुको प्रवाह हुने ल्यारिङ, ट्राकिया फोक्सोमा कुनै पनि प्रकारको झोल या ठोस पदार्थ पुग्न गए त्यो घातक हुन सक्छ । यसरी ठोस पदार्थ खाँदा होस् या झोल पदार्थ निल्दा, अन्य अन्तर्निहित स्वास्थ्य समस्याबाहेक पनि यदि होसियारी पुर्‍याइएको छैन भने त्यसले फोक्सोमा गम्भीर प्रकारको न्युमोनियादेखि अकाल मृत्युसमेत निम्त्याउन सक्छ ।

सर्किन र अड्किनबाट कसरी जोगिने ?

कुनै पनि ठोस पदार्थ खाना नलीबाट सहजै पेटमा पुगोस् भनेर मुखमा राखेर चपाएर नहडबडाईकन बसेर निल्नुपर्ने हुन्छ । मुखमा पैदा हुने र्‍यालमा महत्त्वपूर्ण इन्जाइमहरू हुन्छन्, जसले चबाइएको वस्तुलाई झन् नरम बनाइदिन्छन् ।

झोल पदार्थ निल्दा त सावधानी र होसियारी पुर्‍याउनुपर्छ भने कुनै पनि ठोस वस्तु खाँदा सचेतता झनै आवश्यक पर्छ । निलेर घाँटी (फ्यारिङ्स) मा पठाउनुअघि मुखले ठम्याएर ठोस वस्तुलाई राम्ररी चबाएर र बसेर निल्दा अड्किने वा सर्किने सम्भावना कम हुन्छ । चबाएर निल्नुलाई एउटा यौगिक क्रिया मान्न सकिन्छ, जसका लागि मांसपेशी, स्नायु तन्तु, मस्तिष्क या चेतना एवं दाँत, हड्डीसहित बंगाराहरूमा समन्वयको जरुरत पर्छ । केही निल्ने बेला अर्थात् ओठ, जिब्रो, दाँत, तालु सबैको संयुक्त कार्यसम्पादनबाट चबाएर तयार गरिएको बोलस (योग्य बनाइएको भोजनको डल्लो) लाई घाँटी हुँदै खानेनलीसम्म पुर्‍याउने प्रक्रियामा ३० वटा मांसपेशीले समन्वयात्मक भूमिका खेलेका हुन्छन् । मस्तिष्क र मस्तिष्कसँग सम्बन्धित स्नायु नसाहरू (क्रानियल नर्भ) सक्रिय हुन्छन् । खानेनलीबाट वस्तु पार हुने बेला रुद्रघण्टी अर्थात् ल्यारिङ पनि उचालिने गर्छ । निल्ने बेला खानेनलीको वस्तु नछिरोस् भनेर सासनली पनि केही सेकेन्ड बन्द हुन्छ । सहज रूपमा भन्नुपर्दा, सास तान्दा न हामी निल्न सक्छौं, न आवाज नै निकाल्न । फोक्सोमा भरिएको हावा जोडले स्वरयन्त्रको भोकल कर्डमा ठक्कर दिएर पैदा हुने तरंगले आवाज निस्कन्छ जुन मुखबाट बोलीका रूपमा बाहिरिन्छ ।

खानेवस्तु घाँटीमा नसर्कियोस् भनेर जिब्रो र दाँतको सहायताले एउटा डल्लोका रूपमा समेट्ने र त्यसलाई महत्त्वपूर्ण रसादि या इन्जाइमको सहायताले पेटमा पच्न योग्य बनाइनुपर्छ । सर्किएर सासनली नै अवरुद्ध हुन गए पछाडिबाट छातीलाई दबाब पुग्ने गरी थिच्न सकिन्छ । तर अड्किँदा या सर्किंदा पानी दिनु हुन्न । अझ हड्डी अड्किँदा फूल खान दिने प्रचलन छ जुन झनै हानिकारक हुन्छ ।

निल्दा होसियारी पुर्‍याऔं

खाना खानेबित्तिकै पानी पिउन आवश्यक पर्दैन । खानासँगै धेरै पानी पिउँदा पाचन प्रणालीमा नकारात्मक असर पर्न सक्छ । तर केही सीमित बाहेकका औषधिहरू खाँदा भने पानी पिउन आवश्यक हुन्छ । डक्सिसाइक्लिन एन्टिबायोटिक, पिसाबलाई क्षारीकरण गर्ने र पातलो गर्ने पोटासियम आदि औषधिहरू त बसेर एक गिलास पानीसँग सर्लक्क निल्नुपर्छ । सुतेर, बोल्दै खानु हुन्न । झोल, ठोस खाद्य पदार्थसहित औषधिहरू सीधा बसेर होसियारीपूर्वक निल्नुपर्छ ।

प्रकाशित : आश्विन १७, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

छक्कबहादुर लामा एमाले प्रवेश गर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने कार्यक्रममा लामा एमाले प्रवेश गर्न लागेका हुन् । 

२०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामाले चुनाव जितेका थिए । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । लामाले एमालेमा आफ्नो प्रवेश राजनीतिको सेफ ल्यान्डिङ भएको बताए ।

'म यसपटक उठ्न खोजेको थिइनँ तर मसँग सल्लाह छैन, सहकार्य छैन । उनीहरुको च्यानल हुँदा रहेछ त्यो च्यानल कहिले पनि नफुक्ने, थाहा पनि नदिने काम भयो,' लामाले भने, 'उम्मेदवारका लागि म जान खोजेको होइन । टिकटका लागि जान खोजेको होइन । मेरो लागि यो सेफ ल्यान्डिङ हो । विचारको कदर नहुने ठाउँमा के बस्नु ।'

२०७४ को सालमा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए । २ वटा आमनिर्वाचनमा उनले कम मतान्तरले जितेको रेकर्ड छ । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । नेकपाको विवादमा समेत उनी अध्यक्ष ओली समूहमा लागेका थिए । ओलीले महाधिवेशनमा आयोजक समितिका सदस्य बनेका लामापछि दाहाल र नेपाल समूहतर्फ लागेका थिए ।

उनले माओवादीसँग विचार नमिलेको बताए । 'म युद्धमा गएको थिइनँ । यसकारण माओवादीमा स्पेस छैन । माओवादीमा बुद्धिको कदर पनि भएन । म कमल चिह्न लिएर उठेको मान्छे,' लामाले भने।

गत चुनावमा माओवादी केन्द्रले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 'म स्वतन्त्र हुँदा पनि जित्ने,' लामाले भने, 'मेरो माथि सानो सानो मानिसलाई राख्ने काम भयो। अनि तिकडम मच्याउने र गुटबन्दी गर्ने, सालो र भिनाजुको सम्बन्ध नै टुटाइदियो । मेरो सालोहरु मेरोविरुद्ध लगाए ।'


प्रकाशित : आश्विन १७, २०७९ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×