कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंको शुभकामना !

सम्पादकीय

मनसुन लम्बिएकाले दिनहरू पूरै घमाइला भइनसके पनि दसैंको आगमनले यतिबेला देशको सम्पूर्ण माहोल उमंगमय छ । मित्रता, भाइचारा र पुनर्मिलनको यस पर्वमा नेपालीहरू बृहत् पारिवारिक उत्सवमा रमाइरहेका छन् । मुलुककै ठूलो चाड मनाउन कोही अझै कर्मथलोबाट थातथलोतर्फ लाग्दै छन् ।

दसैंको शुभकामना !

घर हिँडेकाहरू होऊन् या घरमा प्रतीक्षारतहरू, सबै पर्वमय हर्षोल्लासमा छन् । कोभिड–१९ का कारण यसअघिका दुई वर्ष दसैं मनाउन खासै नपाएकाहरू महामारीको सन्त्रास घटेको यो बेला विशेष उत्साहमा छन् ।

१५ दिनसम्म अनुष्ठान गरिने दसैंको आठौं दिन आज महाष्टमी मनाइादै छ । घटस्थापनाका दिन घरघरमा जमरा राखी सुरु भएको यस चाडमा नवरात्रिभर शक्तिका प्रतीक विभिन्न देवीको पूजा–आराधना गरिन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका लगाइन्छ । देशका कतिपय भागमा दसैंको १५ औं दिन अर्थात् कोजाग्रत पूर्णिमाकै दिनसम्म टीका लगाउने क्रम जारी रहन्छ ।

जुगौं पुरानो यो चाडको धार्मिक–ऐतिहासिक पक्ष जे भए पनि, योसँग जोडिएका किंवदन्तीहरूको अर्थ जस्तो रहे पनि, आजका मितिमा दसैं बहुसंख्यक नेपालीको लोकचाड बनेको छ । मल्लकालमै धुमधामसित मनाइने यो पर्व पछिल्ला वर्षहरूमा अझ व्यापक बनिरहेको छ । ऊ बेला विशेष गरी सामरिक उत्सवका रूपमा मनाउन थालिएको भए पनि आज दसैं देशकै ठूलो सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ ।

अन्यत्रका हिन्दुहरूले यसै अवधिमा मनाउने पर्वभन्दा नेपालीहरूको दसैं बिलकुल फरक र मौलिक छ । हामी जसरी परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्छौं, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिन्छौं, यो संस्कृति आफैंमा अनुपम छ । आपसी प्रेम, मित्रता र सहृदयतालाई नवीकरण गर्ने यही मौलिकपन र सांस्कृतिक तथा सामाजिक विशेषताहरूकै कारण यो नेपालका सबै धर्मावलम्बीको चाड बनेको छ । विभिन्न समुदायबीच यसलाई मनाउने परम्परागत विधि र शैलीमा केही भिन्नता होलान्, तर पनि पारिवारिक एकता र पुनर्मिलनले सबैलाई जोडेकै छ ।

अध्ययन र रोजगारीका सिलसिलामा थातथलो छाडेर सहर पसेका होऊन् या विदेशिएकाहरू, धेरैजसो विशेष गरी यसै अवसरमा घर फिर्छन् । पारिवारिक जमघट र पुनर्मिलनका अवसरमा सबै संकट भुलेर घरै रमाइलो मात्र बनाउँदैनन्, आफन्तहरूबीच र टोल–समाजमा पनि आपसी वैमनस्य बिर्सेर रमाउने गर्छन् । ‘लाहुरे संस्कृति’ झाँगिँदै जाँदा यो पक्ष अझ विशेष बन्दै गएको छ । यसै अवसरमा काठमाडौं उपत्यकाबाट मात्रै करिब २० लाख यात्रु बाहिरिने प्रहरीको अनुमानबाटै थाहा हुन्छ, दसैं कति भव्य छ !

समयक्रमसँगै दसैंका महत्त्वका आयामहरू थपिँदा छन् । सबै खाले कार्यालयहरूमा लामो पर्व बिदा दिइने भएकाले यो आफैंमा विश्राम र मनोरञ्जनको पर्व पनि बनेको छ । अरू बेलाभन्दा राम्रो लगाउने र मीठो खाने प्रचलनका कारण यही बेला बजार पनि बढी चलायमान हुन्छ । यसर्थ, आर्थिक हिसाबले पनि यो चाड उत्तिकै महत्त्वपूर्ण छ । परन्तु दु:खको कुरा भन्नुपर्छ— जनताको दसैंलाई अझ सुखद बनाउन सरकारी तदारुकता भने शून्य छ ।

खाद्यवस्तुको भाउ एक वर्षयता किलोमै ३ सय रुपैयाँसम्म बढेको छ । एक अध्ययनअनुसार दसैंको माहोल अर्थात् पछिल्ला दुई सातामै ३३ प्रतिशतसम्म मूल्य बढाइएको छ । अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा सरकार उदासीन छ, अनुगमन देखावटी मात्रै छ । परिणामस्वरूप न्यून वर्गका लागि दसैं धान्न धौ–धौ छ । अर्कातर्फ, लामो यात्राका यात्रुहरूलाई घर जान मात्र होइन, फर्कन पनि उत्तिकै सास्ती छ । उनीहरू जसरी–तसरी यात्रा गर्न बाध्य छन् । यस अवसरमा बर्सेनि ठूलो संख्यामा यात्रुहरूको आवागमन भइरहँदा पनि यातायात प्रणालीलाई व्यवस्थित गर्न सरकारले सकेको छैन, चाहेको पनि देखिँदैन ।

यसैगरी, कोरोना महामारी सुस्ताए पनि डेंगीको संकट बढ्दो छ । अहिलेसम्म संक्रमितको संख्या २५ हजार नाघिसक्दा कम्तीमा ३८ जनाको ज्यान गइसकेको छ । दसैंमा संक्रमितहरूको आवागमनका कारण लामखुट्टे बढी भएका क्षेत्रमा संक्रमण अझ फैलिन सक्ने चिन्ता विज्ञहरूको छ । तर पनि प्रकोप रोकथाम र नियन्त्रणका निम्ति सरकारले सार्थक पहल थालेकै छैन । यसरी संकटलाई बेवास्ता गर्ने छुट सरकारलाई छैन, तीनै तहले देशभर डेंगी नियन्त्रणको अभियान चलाउनुपर्छ, जसमा नागरिकको पनि साथ–सहयोगको खाँचो छ ।

दसैंको विशेषतै यस्तो छ कि यिनै अनेकौं प्रतिकूलताका बीच पनि नागरिकहरू पर्वको उल्लासमा झुमिरहेका छन् । आफ्नो बर्कतले भ्याएसम्म दसैं राम्ररी मनाउन पहल गरेका छन् । यसै पावन अवसरमा हाम्रो पनि सबैलाई शुभकामना !

प्रकाशित : आश्विन १७, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?