कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘उद्योगी र व्यापारीलाई एउटै नजरले हेर्नु हुँदैन’

पवन गोल्यान

प्रदेश १ मेरो जन्मस्थल र कर्मस्थल हो । म यहीँ जन्मेको, यहीँ पढेको हुँ । प्रदेश १ वा समग्र नेपालकै कुरा गर्दा हामी तुलनात्मक लाभका वस्तुको उत्पादनमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ । र, हाम्रो देशको आवश्यकता के छ भनेर हेरिनुपर्छ । त्यो भनेको मुख्यगरी ४ वटा क्षेत्र हुन् । द्रुततर आर्थिक विकास र लक्षित समृद्धि हासिल गर्नका लागि नेपालले मुख्यगरी कृषि, जलविद्युत्, पर्यटन र उत्पादन बढाएर निर्यात प्रवद्र्धनका क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छ ।

‘उद्योगी र व्यापारीलाई एउटै नजरले हेर्नु हुँदैन’

गोल्यान समूह यी चारवटै क्षेत्रमा लगानी गरिरहेको छ । त्यसमा पनि अधिकांश प्रदेश १ मा नै केन्द्रित छन् । निर्यात लक्षित कृषिका लागि गोल्यान गु्रपले प्रदेश १ मा नै लगानी गरेको छ । त्यस्तै, १ सय मेगावाट र ५४ मेगावाट गरी २ वटा जलविद्युत् आयोजनामा लगानी गरिएकोमा ती पनि यही प्रदेशमा छन् ।

नेपालका दुईवटा प्रदेशहरू प्रदेश १ र मधेश प्रदेशले मात्र नेपालका लागि चाहिने खाद्यान्न उत्पादन गरेर निर्यातसमेत गर्न सक्ने सम्भावना रहेको छ । खाद्य सुरक्षा र आयात प्रतिस्थापन हुने गरी हामी यी प्रदेशबाट मात्र कृषि उत्पादन गर्न सक्छौं । मैले आफूसक्रिय व्यापारबाट अवकाश जस्तो भएपछि कृषि क्षेत्रमा केही गरौं भन्ने मनशायले माटो ब्रान्डबाट कृषि उत्पादन गर्ने र बजार पठाउने गरिरहेको छु । गोल्यान ग्रुपले साना किसान नमासिने गरी, उनीहरूलाई अप्ठ्यारो नपर्ने गरी उनीहरूसँगै सहकार्य गरेर कृषि गरिरहेका छ ।

नेपालमा उत्पादित ब्रान्डिङ भएन, बिकेन भन्ने सुनिन्छ । अहिले हामीले इलामको घिउलाई ब्रान्डिङ गरेर बेचिरहेका छौं । प्रदेश १ को मात्रै कुरा भएन देशभरि नै हामीसँग अवसर कति हो कति छ । विश्वमा सबैभन्दा बढी अलैंची उत्पादन हुने क्षेत्र नै नेपालको पूर्व क्षेत्र हो । विश्वभर उत्पादन हुने अलैंचीको करिब ४० प्रतिशत नेपालले मात्रै उत्पादन गर्छ । नेपालमा उत्पादन हुने ७० देखि ८० प्रतिशत प्रदेश १ मा उत्पादन हुन्छ । तर अहिलेको आवश्यकता भनेको त्यसको ब्रान्डिङ र प्याकेजिङमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । अलैंची एउटा उदाहरण मात्रै यस्ता अवसर धेरै छन् । पछिल्लो १० वर्ष अवधिमा नेपालले गरेको अलैंचीको व्यापार हेर्ने हो भने औसत ७ सय रुपैयाँ किलोमा निर्यात बिक्री भएको देखिन्छ ।

ब्रान्डिङ नगरिकन नेपालबाट ७ सय रुपैयाँ प्रतिकिलोमा अलैंची बिक्री भइरहेकोमा भारतले त्यसलाई राम्रो ब्रान्डिङ र प्याकेजिङ गरेर प्रतिकिलो १७ सय रुपैयाँमा खाडी मुलुकमा बिक्री गरिरहेको छ । त्यो हामी आफैं गर्न सक्छौं । हामी आफैं ब्रान्डिङमा र प्याकेजिङमा ध्यान दिने हो भने हाम्रा उत्पादनहरू विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन् र त्यसको मूल्य पनि राम्रो पाइन्छ । यी सबै कुरा गरेर मात्र भएन, हामीले काम पनि गर्नुपर्छ । तुलनात्मक लाभका क्षेत्रका रुपमा रहेका कृषि पर्यटन, जलविद्युत् र निर्यात प्रवद्र्धनलाई केन्द्रमा राख्ने बताइरहँदा हामीले मजदुरका विषयलाई उपेक्षा गर्न हुँदैन । नेपालमा सबैभन्दा बढी कामदार रहेको उद्योग रिलाइन्स स्पिनिङ मिल प्रदेश १ मै छ । यो उद्योग स्थापना भएको २५ वर्षभन्दा बढी भइसक्यो, तर त्यहाँ आजसम्म पनि मजदुर हड्ताल वा विरोध भएको छैन । यो भन्नुको मतलब केही न केही उद्योगीहरूले पनि व्यवस्थापन गर्न जरुरी छ । मजदुरले पाउने जून अधिकार त्यो हामीले उनीहरूलाई दिनुपर्छ र उनीहरूको कर्तव्य पनि हामीले सिकाउनुपर्छ । यी र यस्ता कुरामा हामीले ध्यान पुर्‍याउन सक्यौं भने राम्रो उपलब्ध हासिल गर्न सकिन्छ ।

अहिले उद्योगी व्यवसायीहरूले बैंकिङ क्षेत्रबाट लगानीमा समस्या भयो भन्ने कुरा गरिरहेको सुनिन्छ । यसमा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी जहिले पनि उद्योग र व्यापारलाई एकै ठाउँमा राखेर कुरा गर्दा यसको हल कहिल्यै भेटिँदैन । त्यसकारण उद्योग र व्यापारलाई फरक तरिकाले बुझ्नुपर्छ । म एकातिर उद्योगी हुँ, अर्कोतर्फ बैंक तथा वित्तीय संस्था परिसंघको पनि अध्यक्ष छु । यसकारण मैले बैंकहरूको ब्याजदर अथवा तरलता अभावजस्ता जस्ता दुवै पक्षबाट बुझेको छु । म उद्योगहरूका लागि एक अंकमा ब्याजदर राख्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ म । तर त्यसको फाइदा व्यापारीहरूले लिइरहेका छन् । हामी कुरा उत्पादन बढाउने र उद्योगको गर्छौं तर फाइदा व्यापारबाट लिन खोज्छौं । यो अहिलेको सबैभन्दा ठूलो समस्या हो । बैंक तथा वित्तीय संस्थामा कर्जाका लागि माग आउने भनेको पनि आयातमा आधातिर भएर आउँछ । मेरो बुझाइमा अहिले परिचालन भएको ८० प्रतिशत ऋण व्यापार धान्नका लागि मात्रै प्रयोग भएको छ । त्यसरी व्यापार क्षेत्रमा प्रवाह भएको कर्जाको पनि गलत प्रयोग भएको छ । कुनै एउटा प्रयोजनका लागि भनेर बैंकबाट गएको कर्जा अर्को कुनै काममा प्रयोग भइरहेको छ । कुनै जग्गामा होला, कुनै सेयर बजारमा गएको होला । जसकारण आज तलरता अभावको समस्या भोगिरहेका छौं । अहिले सजिलै कर्जा पाउन नसक्नु यही कारणले गर्दा हो । जहाँसम्म ब्याजको कुरा छ ।

ब्याज भनेको माग र आपूर्तिको सिद्धान्तबाट निर्देशित हुन्छ । जबकि अहिले बचतको ब्याजदर १२/१३ प्रतिशत पुगिसकेको छ भने कर्जामा कसरी एकल अंकमा ब्याजदर कायम गर्न सकिन्छ र कसरी एकल अंकको ब्याजदरमा कर्जा पाउन सकिन्छ ? यसकारण बैंक तथा वित्तीय संस्था परिसंघले नेपाल राष्ट्र बैंकलाई दुई प्रकृतिको ब्याजदर कायम गरौं भनेर सुझाव दिँदै आएको छ । त्यो भनेको के हो भने हामीले उत्पादनमूलक क्षेत्रका लागि कम र व्यापार क्षेत्र तथा गैरउत्पादनमूलक क्षेत्रका लागि बढी अंकको ब्याजदर कायम गर्न सकिन्छ । विश्वका अरु देशमा ‘टर्म लोन’को ब्याज कम हुन्छ र ‘वर्किङ क्यापिटल’ को ब्याज बढी हुन्छ । किनभने वर्किङ क्यापिटल ऋण बढीमा बढी रिस्क हुन्छ । यो अवस्था परिवर्तन नहुन्जेलसम्म समस्या सकिँदैन ।

उत्पादनमूलक क्षेत्रमा ऋण नपाउने अवस्था नरहोस् र सजिलै ऋण पाइयोस् भनेर बैंक तथा वित्तीय संस्था परिसंघले पनि यसमा काम गरिरहेको छ । त्यसका लागि सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले पहल गरिदिओस् । विदेशबाट ऋण ल्याएर भएपनि नेपालका उत्पादनका उत्पादनमूलक क्षेत्रलाई पैसा उपलब्ध गराउनु पर्‍यो । निजी क्षेत्रबाटै पनि बैंकहरूले विदेशबाट पैसा ल्याइरहेका छन् । उत्पादनशिल क्षेत्र थला नपरोस् भनेर हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।

– बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष गोल्यनले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रमको 'पूर्वको पौरख' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १४, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?