‘अस्ट्रेलिया जान्छुभन्दा ५०/६० लाखसम्म पाइन्छ तर व्यापार गर्छुभन्दा पैसै पाइँदैन’- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अस्ट्रेलिया जान्छुभन्दा ५०/६० लाखसम्म पाइन्छ तर व्यापार गर्छुभन्दा पैसै पाइँदैन’

अनिल पराजुली

अनिल पराजुली — विगत ४/५ वर्ष काम गरेको अनुभवले भन्नुपर्दा सर्वप्रथम मानव संशाधन छैन । दक्ष मान्छे छैन । स्टार्टअप भनेको प्रशिक्षण तथा विकासको संस्थाजस्तै भएको छ । अर्को, समस्या न्यूनतम ज्याला पनि हो । अन्य कम्पनीहरु (विचार र विकास अभिमुखीकरण कम्पनी)सँग काम गरेको अनुभवमा पनि यो भन्दै छु ।

अर्को वित्तिय अवस्था हो । मनौं, मलाई २० लाख रुपैयाँ चाहिएको छ । मसँग धितो छैन, बैंकबाट पैसा पाएको छैन । न कुनै संस्थाले मलाई पैसा दिन्छ । अहिले एकदमै प्रचलित भन्न पनि मिल्छ । कल्चर र माइन्डसेटमा पनि काम गर्नुपर्छ । म अस्ट्रेलिया जान्छु, दु:ख गर्छुभन्दा बुबा/आमाले २०/२५ लाखदेखि ५०/६० लाखसम्म जोडिदिनु हुन्छ । तर, व्यापार गर्छु भन्दा पैसा पाइँदैन । व्यापारमा हुँदैन जस्तो कुरा आउँछ । २/४ पटक विचार गर सफल हुँदैन लगायतको मानसिकता रहन्छ ।

विफल हुन्छ भन्ने मानसिकता नहटेसम्म व्यापार नै गर्न सकिँदैन । दोस्रो/तेस्रो अवसर हुन्छ । अर्को व्यापार समर्थन प्रणालीको पनि कुरा गर्नुपर्छ । मलाई केही समस्या पर्‍यो भने २/३ पटक गुहार माग्छु । तर, यहाँ सल्लाह दिने संस्कृति नै छैन । विगतमा उद्यमी आउँथ्यो, भेटघाट हुन्थ्यो, राम्रो काम हुन्थ्यो । त्यो अहिले कार्यान्वयनमा छैन । सरकारले बल्ल उद्यमीको क्षमता विकास (इन्क्युबेसन सेन्टर)का लागि २६ करोड विनियोजन गरेको छ । सिटी क्यापिटलको कुरा पनि गरिरहेका छौं ।

अलिकति व्यापार बिस्तार गर्न खोजेका हुन्छौं, वित्तिय/मार्केटिङ सहयोग नै हुँदैन । सांस्कृतिक हिसाब र वित्तिय हिसाबले सहयोग भएन । पछिल्लो समय व्यापार लागत बढेको छ, तरलता अभाव छ । व्यापार गर्नका लागि महँगो परेको छ ।

त्यस्तै, अवसरको कुरा गरिरहँदा हाम्री कुल जनसंख्याको ४०.६८ प्रतिशत १६ देखि ४० वर्षमुनिका छांै । त्यो वर्गले बढी पीडा भोगेको छ । सेवा क्षेत्रमा पनि बढी आएका छन् । एउटा गल्ली म्याप्स नेपाल भन्ने छ, एक प्रकारको स्टार्टअप नै हो । उसको ग्राहक इकमर्स प्लाटफर्म, लजेस्टिक कम्पनी, डेलिभरी सर्भिस लगायत छन् । भर्टिकल राम्रो बनाएको छ । २/३ वर्षअघि ड्रोन नेपाल भनेर कम्पनी चलाएको थियो । अहिले एकीकृत रुपमा सेवा बिस्तार गरेको छ । यो खालको युवा जमात छ । आईटी क्षेत्र सम्भाव्यता क्षेत्र पनि हो ।

ताप्लेजुङ जाँदा काबीली खोलाको छेउमा एक जना २२ वर्षका केटाले सख्खर खेती गरेका छन् । २० रोपनी जग्गा भाडामा । त्यसलाई ब्रान्डिङ र प्याकेजिङ गरेर काठमाडौं ल्याउन पाए, राम्रो मूल्यमा बिक्री हुन्छ । सबैकुरा, उद्यमशिलता गरेर मात्रै पनि हँुदैन । गर्नुपनि हुँदैन । बजारको मूल्य श्रृंखला पनि हुन्छ । उनीहरुले पनि सेवा लिनुपर्छ । त्यसपछि मात्रै हामीले इलामको कोसेली मात्रै नभएर घरमा आएर ललिपप नै खान पाइन्छ ।

सेवा क्षेत्रमा अलि बढी रोचक कुराहरु आउँछन् । हामी पूर्वकै कुरा गर्दा उपाय सिटी कार्गोेले आफ्नो व्यापार बिस्तार गरिसक्यो । फुडमान्डु पनि आउँदै छ । भोजले स्थानीय स्तरमा पहिचान बनाउँदैछ । यो हेरिरहँदा इकमर्स, अनलाइन डेलिभरी सिस्टम एकदमै राम्रो छ । ताप्लेजुङ, संखुवासभा गइरहँदा विदेशबाट फर्केर आएको दाजुभाइ, दिदी बहिनीहरुले पनि राम्रो तरिकाबाट फार्म चलाएका छन् । विदेशमा सिप/ज्ञान सिकेर आउनु भएको छ । त्यो तरिकाले प्रयोग गरेर बंगुर फर्म खुलेको छ । सेवा क्षेत्रमा धेरै अवसर पनि छ ।

अहिले युवाहरुको लागि भूमिका बाँडिरहँदा, विराटनगरमा सेमिनार, बहस गरेका थियौं । २ वटा सिरिज भयो । त्यसमा डेढ सयदेखि २ सय जना युवाहरु नै सहभागी छन् । शैक्षिक विज्ञ, औद्योगिक क्षेत्र विज्ञ, बैंकर सहभागी हुने प्लेटफर्म बनेको छ । छलफल/बहस सुरु भएको छ । म सहज नेपाल एग्रिकल्चर मार्केटिङ डेभलपमेन्ट प्रोग्रामममा आबद्ध छु । पूर्वाञ्चल विश्वविद्यालय र कृषि मन्त्रालयसँग मिलेर गत वर्ष इन्क्युबेसन सेन्टर पनि स्थापना गर्‍यौं । जहाँ, झन्डै १०० जनाले आवेदन गर्नुभएको थियो । १० जनालाई कोर्स पनि चलायौं । हामीले कृषिमा मात्रै केन्द्रित गरेका थियौं । अहिले प्रदेश १ मा ग्रोथ ओरिएन्टेड एसएमइज, स्टार्टअप छन् ।

–युवा उद्यम कार्यशाला सञ्चालक एवं स्टार्टअप एन्ड इनोभेसन सपोर्ट एक्सपर्ट पराजुलीले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘युवा उद्यमीका अपेक्षा’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १२, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

‘कच्चा पदार्थको कर र अन्तशुल्क परिवर्तन गरे औद्योगिक क्षेत्र कमजोर हुन्छ’

ट्रेडिङका कुराहरु केही सामान नेपालमा बन्दैन, त्यो आयात गर्नु नै पर्छ । उद्योगलाई टेवा, औद्योगिकीकरण गर्नका लागि उद्योगमा लाग्ने कच्चा पदार्थमा भ्याट र अन्तशुल्क परिवर्तन गरे ट्रेडिङ क्षेत्र पक्कै कमजोर हुन्छ ।
महेश जाजु

प्रधानमन्त्री उत्पादन गर्ने क्षेत्र विराटनगर भनिएको छ । २००७ देखि २०७९ सालसम्म विराटनगरबाट ९ जना प्रधानमन्त्री, ३/४ वटा अर्थमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीले कति वर्ष शासन गरे, त्यो पनि हेर्नुपर्छ । सूर्यबहादुर थापा ४/५ पटक प्रधानमन्त्री बन्नुभयो, त्यसपश्चात कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला पनि ३ पटक प्रधानमन्त्री बन्नुभयो । झट्ट हेर्दा ७२ वर्षमा विराटनरले ३० देखि ३५ प्रतिशत शासन गरे ।

विराटनगर भनेको राजनीतिक परिवर्तन गर्ने थलोसँगै आर्थिक परिवर्तन गर्ने थलो पनि हो । र, हामी उद्योगी व्यवसायी आन्दोलित भएर काम गर्ने होइन । उद्योगी व्यवसायी भनेको सडक जाम, चक्का जाम वा टायर बाल्ने पक्षमा छैनौं । तर, सरकार आन्दोलनकै भाषा बुझ्ने हुनाले बाध्यतावश आन्दोलन गर्नुपर्ने हुन्छ ।

बजेटमा सेनेटरी प्याड, वायर, तेलका कुराहरु प्रेस विज्ञप्तिबाट जानकारी गरायो । जिल्ला प्रशासनमा पनि विज्ञप्ति बुझायो । तर, केही सुनुवाइ भएन । त्यसपश्चात अर्थ मन्त्रालय, उद्योग मन्त्रालयमा आफ्नो कुरा राख्यो, बजेटपश्चात पनि सम्बोधन गर्ने आश्वासन पायो । तर, बजेटपछि सम्बोधन भएन । त्यसपछि बाध्यता भएर आन्दोलन गर्‍यो । आन्दोलन गर्ने हाम्रो चाहना थिएन । सडकमा गएर आन्दोलन गर्ने चाहना पनि छैन । हामी उद्योगी व्यवसायीलाई उद्योगको काममा फुर्सद हुँदैन । तर, बाध्यताले आन्दोलन गर्‍यो । आन्दोलन गरेपछि ढिलो भएपनि प्रतिफल आयो । केही न केही रुपमा अर्थमन्त्रीले समर्थन गर्नुभयो । तर पनि केही कुरा बाँकी छ ।

आन्दोलनको भाषा बुझेर सरकारले आउने दिनमा यस्तो कार्यहरु गर्नु भएन । व्यापारी उद्योगीहरुको समस्या टिम बनाएर अगाडि बनाउन सके आन्दोलन हुँदैन । अहिले बैंक र बैंकरको मिलोमत्तोमा व्याजदर बढ्ने क्रममा छ, बढिरहेको छ । आज १४ देखि १६ प्रतिशत ब्याजदर छ । त्यसबारेमा पनि व्यापार संघले विज्ञप्ति निकालेको छ । व्याजदरका कारण व्यवसायीहरु ठूलो मारमा परेका छन् । बैंकलाई पोस्ने काम भएको छ । बैंक मोटाउँदै गएको छन् । विगत ४ वर्षको बैंकको ब्यालेन्स सिट हेर्दा बैंकहरु मोटाउँदै गएका छन् । उद्योगीहरु पातलिँदै गएका छन् । आउने दिनमा दिनमा सरकारले माग सम्बोधन नगरे विराटनगरले फेरि आन्दोलन गर्छ । बैंक र व्याजदरको विषयमा फेरि आन्दोलन हुन्छ । मोटर व्यापार संघ, उद्योग संगठन, सिएनआईको कुरा सुनेन भने आन्दोलनमार्फत व्याजदर घटाउँछौं ।

उद्योगी व्यवसायीको आन्दोलन गर्ने रहर होइन, बाध्यता हो । आन्दोलनमा समयको खर्च भएको छ, त्यो हाम्रो लागि घाटा हो । ताली भनेको राजनीतिक दललाई उर्जा दिन्छ, उद्योगी व्यवसायीको लागि तालीले उर्जा पाइँदैन । काम गरेर पैसा कमाउँदा उर्जा पाइने हो ।

जहाँसम्म बजेटको कुरा छ, प्रदेश सरकारलाई हामीले सल्लाह सुझाव दिइरहन्छौं । प्रदेशको जून अवस्था छ, हामीले दिएको सल्लाह, सुझाव सम्बोधन हुन्छ जस्तो लाग्दैन । किनभने, प्रदेशको आयस्रोत भनेको समानुपातिक अनुदान नै हो । हामीले बढी कुरा राख्दा संघ सरकारसँग लड्ने काम हुन्छ । अहिले प्रदेश सरकारसँग लड्ने काम भइरहेको छ ।

प्रदेशसँग ठूलो अपेक्षा पनि राख्न सकेका छैनौं । ५ वर्षको कार्यकालमा स्थिर सरकार भएन । मन्त्री कति बेला परिवर्तन हुने थाहा हुँदैन । स्थिर सरकार नहुँदा आर्थिक पाटोको स्रोत अगाडि बढ्न सक्दैन । स्थिर सरकारको बाटोमा अगाडि बढ्दा यो देशको आर्थिक विकास हुन्छ ।

यहाँ मन्त्री आज बन्यो भोलि नै पद जान्छ कि भन्ने चिन्ता हुन्छ । मन्त्री आफैं पनि कुर्सीमा कति दिनसम्म छु भन्नेमै अन्योल हुन्छ । यस्तो अवस्थामा उहाँहरुले हामीलाई के काम दिन्छ । त्यो ठूलो समस्या हो । मन्त्रीलाई जिम्मा दिइएको मन्त्रालय कम्तीमा २/३ वर्ष परिवर्तन गर्नु हुँदैन । त्यसो हुँदा काम गर्न सहज हुन्छ ।

सरकारको नीतिले गर्दा हाम्रो व्यवसायी ट्रेडिङमा छन्, हामीले गर्दा होइन । उद्योगी व्यवसायी जहाँ फाइदा हुन्छ, त्यही काम गर्छन् । यसमा हामी दोषी छैनौं । हामीले चाहेको मुलुकमा औद्योगिकीकरण होस, त्यसका लागि सरकारले आवश्यक पूर्वाधार लगायतका व्यवस्था गर्नुपर्छ । त्यसका लागि हामीले सल्लाह सुझाव दिँदै आएका छौं । उद्योगी व्यवसायीबाट रोजगारीको सृजना हुन्छ । विद्युत्को उत्पादनले पनि आउने दिनमा उद्योगीहरु प्रतिस्पर्धी हुन्छन् । ट्रेडिङका कुराहरु, केही सामान नेपालमा बन्दैन, त्यो आयात गर्नु नै पर्छ । उद्योगलाई टेवा, औद्योगिकीकरण गर्नका लागि उद्योगमा लाग्ने कच्चा पदार्थमा भ्याट, अन्तशुल्कमा परिवर्तन गरे ट्रेडिङ क्षेत्र पक्कै कमजोर हुन्छ ।

–मोरङ व्यापार संघका पूर्वअध्यक्ष जाजुले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रमको 'प्रदेशको परीक्षा' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १२, २०७९ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×