सुन्दर सपना सजाइएका स्रेस्ता- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
घोषणापत्र

सुन्दर सपना सजाइएका स्रेस्ता

पार्टीका चुनावी प्रतिबद्धतापत्र र योजना आयोगका योजनै-योजनाका दस्तावेजले थिचिएका नेपाली अविकासको अभिशप्त वर्तमान जिउन विवश छन् । 
ध्रुव सिम्खडा

काठमाडौँ — महानिर्वाचनअघि राजनीतिक दलहरूले मतदातासँग वाचा गर्छन् । त्यस्तो वाचा किन गर्छन् त ? सपना बाँडेर समाजमा आस जगाउन दलहरूले चुनावअघि घोषणापत्र सार्वजनिक गर्छन् । त्योसँगै मतदाताका घरदैलोमा पुग्छन् । मत माग्छन् ।

जितेमा आफूले गरेका प्रतिबद्धता पूरा गर्छौं भनी अनुनय–विनय गर्छन् । तर चुनाव सकिएको भोलिपल्टदेखि प्रायः सबै विजेताहरू बेपत्ता हुन्छन् । अर्को चुनावसम्म तिनलाई आफ्ना मतदाताको खासै चिन्ता हुँदैन । पाँच वर्षपछि जब चुनाव आउँछ अनि तिनले फेरि मतदातासामु जान घोषणापत्रको सहारा लिन पुग्छन् । हरेक निर्वाचनअघि नेताहरूले घोषणापत्रको कर्मकाण्ड सम्पन्न नगरी नहुने परम्पराजस्तै बनेको छ ।

अहिले पनि मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनका लागि त्यही कर्मकाण्डमा जुटिरहेका छन् हरेक दलका घोषणापत्र मस्यौदा समितिका ‘पण्डितहरू’ । २०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनयताका हरेक लोकतान्त्रिक निर्वाचनमा दलहरूले घोषणापत्र जारी गरेका छन् । ०७४ सालसम्म ७ वटा घोषणापत्र जारी भइसके । अब जारी हुने घोषणापत्र आठौं हुने छ ।

पार्टीका चुनावी प्रतिबद्धतापत्र र योजना आयोगका योजनै–योजनाका दस्तावेजले थिचिएका नेपाली अविकासको अभिशप्त वर्तमान जिउन विवश छन् ।

घोषणापत्र लेख्ने बहस गरिरहँदा अघिल्लो महिना स्वर्गे भएका विद्वान् समाजशास्त्री/राजनीतिज्ञ प्रदीप गिरिलाई स्मरण गर्न सकिन्छ । उनले एकपटक भनेका थिए, ‘घोषणापत्र र बजेटमा तथ्यको मात्र कुरा गरेर हुँदैन; ती दस्तावेज सत्य पनि हुनुपर्छ ।’ उनले सिरहाको आफ्नो निर्वाचन क्षेत्रका अधिकांश विद्यालयमा भवन र सरकारी शिक्षक भए पनि विद्यार्थी नभएको उल्लेख गरेका थिए । तथ्यांकमा पक्की विद्यालय भवन पनि छ, शिक्षक पनि छन् तर विद्यार्थी नभएको उल्लेख गर्दै भवन, शिक्षक हुनु तथ्य हो; विद्यार्थी नहुनु सत्य हो भनेका थिए । अहिले देशभर हरेक क्षेत्रको हाल यस्तै बेहाल छ । घोषणापत्र लेख्न घुँडा धसेर लागिपरेकाहरूले यो यथार्थतिर ध्यान दिनुपर्ला । घोषणापत्रमा तथ्य र सत्य दुवै होओस् ।

घोषणपत्र लेखनकै क्रममा मुलुककै जेठो राजनीतिक दलले महामन्त्रीको संयोजकत्वमा ४१ सदस्यीय कार्यदल बनाएको समाचार सार्वजनिक भयो । सबै क्षेत्रका विज्ञ र विद्वान्‌हरूलाई समेटेर कार्यदल घोषणापत्र लेख्न जुटेको छ ।

तिनले कस्तो घोषणापत्र लेख्लान् ? पहिले पहिलेको भन्दा विल्कुल फरक लेख्लान् ! किनकि पहिले पहिलेका चुनावमा कांग्रेसले आफ्नै नीति र कार्यक्रमअनुसार चुनावी घोषणापत्र लेखे पनि ती पूरा हुँदैनथे । तर यसपालिको आमनिर्वाचनमा कांग्रेसको नीति तथा कार्यक्रम के ? के नीतिमा रहेर कुन कार्यक्रमका लागि मतदातासँग कस्तो प्रतिबद्धता गर्ने ?

२०१५ सालको चुनावी घोषणापत्रलाई आममानिसले आफ्नो ठाने । त्यसले भूईंमान्छेमा आशा जगाएको थियो । त्यस्तै प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न निर्वाचनका बेला जारी घोषणापत्रप्रति पनि मानिसमा केही अभिरुची देखिन्थ्यो । त्यसयता कांग्रेसले जारी गरेका पाँचवटा घोषणापत्र जनताका लागि ‘कौवालाई बेल पाक्यो हर्ष न विष्मात्’ भनेझैं भयो । किन यस्तो भयो ?

किनभने, जनताले ती घोषणापत्रको स्वामित्व लिएनन् । तिनमा आफ्नो हीत देखेनन् । धेरै आडम्बरी र नक्कली कुरा जनतालाई प्रीतिकर लाग्दैन । यो हेक्का राखेर अघि बढ्न सके लाभ होला कि ! जनताले नपढ्ने र अपनत्व नलिने घोषणापत्र लेख्नुको के अर्थ ?

सातवटा घोषणापत्र पढ्दा

२०१५, ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ का घोषणापत्रभित्र विचरण गर्दा ०१५ र ०४८ सालका घोषणापत्र विशेष लाग्छन् ।

२०१५ सालको घोषणापत्रको बुँदा–१० मा भनिएअनुसार ‘स्थानीय योजना छनोट र व्यवस्थापन सरकारको नाममात्रको निरीक्षणमा स्थानीय जनताको हातमा रहने छ ।’ त्यसबेलाको घोषणापत्रले स्थानीय शासनलाई जोड दिएको थियो । आज गाउँ/सहर जताततै निर्वाचित स्थानीय सरकार हुँदा पनि कांग्रेसले यसतर्फ किन सोच्न सकेन ?

बुँदा–११ मा ‘गाउँको उन्नति नै देशको उन्नति हो’ भनिएको छ । अब के यो ६४ वर्षअघिको सोचमा देश विकास गर्न सकिएला ? त्यसबेला सहरमा भन्दा गाउँमा बस्ने जनसंख्या धेरै थियो । गाउँ विकासलाई केन्द्रमा राखेर घोषणापत्र लेखियो । तर अहिले ठीक उल्टो अवस्था छ । त्यसबखत कांग्रेसले ‘गाउँ सपार र गाउँ फर्क’ भन्ने नारा दिएको थियो । बढीभन्दा बढी मतदातालाई आकर्षण गर्न सफल भएको थियो । तर आजको यथार्थ ‘सहर सपार र सहर पस’ भन्ने हुनुपर्छ । किनभने प्रसिद्ध समाजशास्त्री चैतन्य मिश्रले आफ्नो पुस्तक ‘बदलिँदो नेपाली समाज’ मा भनेझैँ अहिले गाउँ सहरमा पसेको छ । धेरै मानिस सहरमा बस्छन्; बस्न चाहन्छन् । योजनाहरू पनि त्यसैअनुरुप हुनुपर्ने होइन र ? गाउँ/देहातका मानिसहरू सहरतिर ओइरिने विकासको खाकाचाहिँ गाउँलाई केन्द्रमा राखेर घोषणापत्र बनाउँदा ‘काँशी जान कुतीको बाटो’ भनेझैं पो हुने हो कि !

त्यसबेला पनि घरबारविहीनको अवस्थाबारे सरकारले योजना तर्जुमा गर्ने घोषणापत्रमा उल्लेख गरेको थियो । अहिले पनि सुकुम्बासी समस्यालाई कहिलै नटुंगिने समस्याको रुपमा राजनीतिक दलहरूले गिजोलिरहेका छन् । ७७ जिल्लामा कति सुकुम्बासी छन् ? तथ्यांक संकलन गरेर यो समस्या समाधान गर्न सकिँदैन र !

त्यसबेला उद्योगधन्दा एवं कलकारखानाको विस्तारबिना देश विकास गर्न सकिँदैन भन्ने ठहरसाथ घोषणापत्रमा उल्लेख गरिएको थियो । पछिल्ला ३२ वर्ष धेरै समय सरकारको नेतृत्व गरेको कांग्रेसले मुलुकमा कतिवटा उद्योग स्थापना गर्ने नीति लियो ? कतिवटा उद्योग स्थापना भए ? कति मजदूरले काम पाएका छन् ? के के वस्तु उत्पादनमा मुलुक आत्मनिर्भर बन्यो ? यो गम्भीर समीक्षाको विषय हो ।

त्यसबेलाको घोषणापत्रमा कांग्रेसले अर्को पनि एउटा विषयमा जोड दिएको पाइन्छ । घोषणापत्रमा भनिएको छ, ‘विदेशी पुँजीलाई प्रश्रय दिइने छ तर उक्त पुँजीले सरकारी नियमको पूर्ण मर्यादामा रहन पर्ने छ ।’ के त्यसबेलाको यो सोच यथावत् छ त ? अहिले कति विदेशी पैसा कुन प्रयोजनका लागि नेपाल भित्रिएको छ, भित्रिँदैछ सायद् त्यो न नेतालाई थाहा छ न सरकारलाई । ‘भगवान् भरोसा’ पारामा विदेशी पुँजी आइरहेको छ ।

‘वर्तमान प्रशासनयन्त्र अत्यन्त ढिलो र अवैज्ञानिक छ । सरकारी कामहरूमा यसैकारण बाधा उत्पन्न भएको अनुभव सबैले गरेका छन् ।’ त्यसबेला ठहर भएको यो समस्या आज झन् जटिल बनेको छ । मुलुकको सबैभन्दा ठूलो र ज्वलन्त समस्या यही हो । अहिले तीन तहका निर्वाचित सरकार छन् । कुन तहलाई कति कर्मचारी चाहिने हो ? कोसित तथ्यांक छ ? सिंहदरबारदेखि वडा तहसम्म पूरा तदर्थवादमा चलिरहेको छ‚ कर्मचारी प्रशासन । कांग्रेसले घोषणापत्रमा यो विषयलाई कसरी उठाउला र कार्यान्वयन गर्ला ?

दुई तिहाइको बीपी कोइराला नेतृत्वको सरकारले घोषणापत्र जारी गरेको ३३ वर्षपछिमात्र कांग्रेसले दोस्रो चुनावी घोषणापत्र जारी गर्ने अवसर पायो । २०४८ सालको आमनिर्वाचनको संघारमा जारी उक्त घोषणापत्रले मुलुकलाई पञ्चायती निर्दलीय सिकञ्जाबाट निकालेर खुला अर्थतन्त्रमा प्रवेश गराउने प्रतिबद्धता जनायो । निर्वाचनबाट बहुमतको सरकार बनाइसकेपछि कामहरू अगाडि बढायो । तर खुलापनको नाउँमा बजार हावी भएको र आममानिस बजारको शोषणमा परेको कांग्रेसले बुझ्न सकेन । सामाजिक सुरक्षाका सवालमा ध्यान दिन नसक्दा कांग्रेसप्रति जनविश्वास कमजोर बन्न पुग्यो । एमालेले पहिलो पटक सरकार बनाएको बेला सामाजिक सुरक्षाको मामिलामा थोरै भए पनि देखिने काम गरेकाले लोकप्रिय मत आफूतिर आकर्षित गर्न सफल भयो । हुन त अहिले घोषणापत्र लेखिरहँदा २०१५ या ०५१ सालतिर फर्केर हेर्ने होइन । त्यसलाई आधारमात्र मान्ने हो । त्योभन्दा धेरै परको प्रविधिको युगमा प्रवेश गरेको विश्वव्यापी लहरलाई केन्द्रबिन्दुमा राखेर समयलाई नियाल्नुपर्ने बाध्यता छ ।

यस्तै, परराष्ट्रको विश्वपरिवेश फेरिएको छ । पुराना शक्तिहरू क्षीण भएको र नयाँ शक्तिहरू उदाइरहेको परिवेशमा घोषणापत्र लेखिरहँदा नेपालको भू-राजनीति र योसित जेलिएका आन्तरिक र बाह्य शक्तिहरूको मनोभाव बुझ्नु जरुरी छ । मूलतः पखेटा लागेको नेपाली राष्ट्रियतालाई यसै रुपमा बुझ्न सक्नुपर्छ । राष्ट्रवादको साँघुरो घेराभित्र यसलाई खुम्च्याउन अब सकिने छैन ।

जनताले सिरान हाल्ने घोषणापत्र

जतिसुकै फूलबुट्टा भरेर लेखे पनि भरोसा टुटेका नेताहरू भएसम्म घोषणापत्रले आममानिसको आस जगाउन सक्ने छैन । पछिल्लो समय नेपाली समाजमा मौलाइरहेको भुइँफुट्टा प्रवृत्तिविरुद्ध जनतासँग एकाकार नेताले जारी गर्ने घोषणापत्रप्रतिमात्र आममतदाताले विश्वास गर्न सक्छन् ।

घोषणापत्र लेख्नेहरूमध्ये कतिका छोराछोरी सार्वजनिक विद्यालयमा पढ्छन् ? गाउँ/सहरमा विद्यालय बनेका छन् । राम्रा–राम्रा भवन छन्, सरकारी तलबका शिक्षक छन् तर विद्यार्थी छैनन् । पाँच जना विद्यार्थी भएका विद्यालयमा पाँचै जना शिक्षक छन् । घोषणपत्रले यो समस्या ठम्याउँछ तर समाधान दिन सक्दैन । चिप्ला शब्दहरूले सजाइएको घोषणापत्रले खाडी र मलेसियमा संघर्ष गरेर रेमिट्यान्स पठाइरहेका नेपाली पाखुरा र पसिनाकस तन्नेरीका जहान-बच्चाको समस्यालाई समाधान गर्न सक्दैन भने किन लेख्नु ?

हरेक चोटि ‘यति उद्योग र उति उद्योग खोलिने छ’ भनेको छ; हावादारी कुरा लेखेको छ । के काम ? २०४८ सालको घोषणापत्र पढौं त‚ के लेखिएको छ त्यसमा ? त्यसयताका कुनै घोषणापत्रमा जनताको दिलचश्पी देखिँदैन किनभने ती तिनका लागि फाल्तु पुलिन्दा सावित भए । पुस्तकालय र पार्टी कार्यालयका फाइलहरूमा मात्र भेटिने अर्को एक थान घोषणापत्र थप्ने कि जनजनको मनमनमा बस्ने घोषणापत्र लेख्ने ? मर्जी विद्वान् महानुभावहरूकै हो ।

कतिवटा निर्वाचन क्षेत्रका लागि घोषणापत्र लेख्दै हुनुहुन्छ ? गठबन्धन दलहरूसहित संयुक्त घोषणापत्र लेख्नुपर्ने होइन र ? होइन भने अन्य दलले जितेका स्थानमा तपाईंको घोषणापत्र कसरी पुग्छन् ? कार्यान्वयन गर्ने संयन्त्र के हुन्छ ? एक्लैले चुनाव सामना गर्न नसक्नेले एकल घोषणापत्र लेख्नु र जारी गर्नुको कुनै औचित्य छैन । बरु पार्टीका सबै निर्वाचन क्षेत्र समितिहरू (१ सय ६५) लाई नै आ-आफ्ना घोषणापत्र जारी गर्न दिनु जाति होला कि !

अब पालिकाहरूमा त्यहीँको स्थानीय घोषणापत्र आवश्यक हुन्छन्‚ जुन स्थानीय तहको निर्वाचनका बेला नै जारी भइसकेका छन् । तिनैलाई कार्यान्वयन गरे भइहाल्छ । ती सबै आफ्ना आवश्यकता र स्रोत हेरिकन फरक फरक हुन सक्छन् । केन्द्रले गाउँ/नगर र प्रदेशले गर्ने कामको घोषणापत्र किन बनाउने ? त्यसैले पाँच वर्षमा सुरु गरिने केन्द्रीय परियोजनाहरू के के हुन् ? तिनलाई उल्लेख गरेर सूक्ष्म घोषणापत्र जारी गर्दा वेश हुन्छ ।

नयाँ परिवेश‚ नयाँ वर्ग

आधुनिक बन्ने होडसँगै समाजमा विभिन्न वर्ग प्रकट भइरहन्छन्, भइरहेका पनि छन् । नेपाली समाजमा पनि त्यस्तै भइरहेछ । पुराना वर्ग बदलिएका छन् । हिजोका कमजोरहरू आज बलिया भएका छन् र हिजोका सत्ताधारीहरू आज सत्ताबाहिर पुगेका छन् । सत्ताधारी र सत्ताविमुख वर्गबीच द्वन्द्व छ । प्रविधिमा पहुँच भएका प्रविधिमैत्री र पहुँच नभएका अमैत्री वर्गबीच जान्ने र नजान्नेको विभेद प्रस्ट देखिन्छ । ०३६ सालतिर बीपीले पहिचान गरेको भुइँफुट्टा वर्ग आज बिचौलियामा बदलिएको छ । ०४६ सालताकाका निम्नवर्ग अहिले सहरिया मध्यमवर्गमा उक्लिएका छन् । मुलुकको ठूलो धनराशीमा मस्ती गर्ने ठालुहरूको सानो हिस्साको अर्कै वर्ग छ । वर्गपिच्छे बोलीवचन, खानपिन, पठनपाठन, यात्रा परिवहन, जमघट भिन्नभिन्न छ । गरिबका सन्तान पढ्ने गुणस्तरहीन सरकारी स्कुल छन्; मध्यम वर्गका छोराछोरी पढ्ने मध्यम खालका बोर्डिङहरु छन् भने घरानियाँका सन्ततिले पढ्ने स्तरीय र टल्कने स्कुलहरु आजका यथार्थ हुन् नेपाली समाजका ।

वर्ग विभाजनको स्पष्ट रेखा कोरिएका छन् । विभाजनको रेखा मेट्नतिर नलाग्ने हो भने यसले समाजमा तनाव र द्वन्द्व निम्त्याउने खतरा रहन्छ । गाउँ र सहरमा अलग्गै वर्ग छन् । गाउँ र सहरको दूरी बढिरहेका बेला, गाउँ सहरतिर पसिरहेका बेला घोषणपत्रमा गाउँको विकास गर्ने प्रतिबद्धता कति युक्तिसंगत होला ?

‘एसेम्बल्ड इकोनोमी’ लाई ‘म्यानुफ्याक्चरिङ इकोनोमी’ मा कसरी पुर्‍याउने ? यसबारे घोषणापत्र लेख्न घुँडा धसेकाहरूले सोचून् ।

सपना सजाइदिनेहरूलाई सुझाव

कुरा संघीय राजधानीबाटै सुरु गरौं । काठमाडौं ध्वस्त भइसकेको छ । यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई मध्यनजर राख्दै यसलाई संरक्षित सहर बनाउने हो । यो ठूलठूला रेल र सवारीसाधन गुडाउने राजमर्ग निर्माण गर्ने अनि गगनचुम्बी ‘हाउजिङ’ बनाउने भू-धरातल होइन । यसको सांस्कृतिक सभ्यतालाई पनि बचाउनु छ र यसले लोभ्याइरहेका नागरिकलाई पनि व्यवस्थित गर्नु छ । कसरी ?

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक आसपासका भेगलाई समेटेर ‘स्याटेलाइट सिटी’ को अवधारणाअनुसार योजना अगाडि बढाउने गाइँगुइँ सुनिएको पनि धेरै भइसक्यो । तर यस दिशामा कार्यान्वयनको कुनै छेकछन्द छैन । यी स्थानहरूबाट २ घण्टाभित्र काठमाडौं आउजाउ गर्न सक्ने गरी सहरहरू बसाल्ने योजना किन नगर्ने ?

शिक्षा, स्वास्थ्यसहित केही नयाँ योजनाबारे योजनासँगै रकम व्यवस्था कसरी गर्ने ? ठोस कार्यक्रम आउनुपर्छ । सातै प्रदेशमा मेडिकल कलेज, सातै प्रदेशमा विश्वविद्यालय, सातै प्रदेशमा पोलिमर उद्योग किन तर्जुमा नगर्ने ?

उच्च शिक्षा महँगो भए पनि केही फरक पर्दैन । आधारभूत शिक्षा अर्थात् एसईईसम्म निःशुल्क भनिए पनि राज्यले ध्यान नदिँदा शिक्षाको जग निकै कमजोर भएको छ ।

निजी विद्यालयलाई सरकारी निगरानीमा राख्नुपर्छ । अहिलेजस्तो पूरापूर नाफामुखी र छाडा छाड्नु हुँदैन । ‘स्कुल बिजनेस’ गर्ने तर त्यहाँबाट कमाएको रकम त्यही क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा लैजाने प्रवृत्ति रोक्नु वाञ्छनीय हुन्छ ।

सरकारी विद्यालय सुधार गर्ने । कसरी ? पहिलो काम शिक्षक छनोट प्रतिस्पर्धी, पारदर्शी बनाएर विद्यालयहरू समायोजन गर्न अब ढिला गर्नु हुँदैन ।

प्रदेशका केही सहर‚ जहाँ सूचना प्रविधिका अत्याधुनिक चिप्सदेखि धेरै कुरा बनाउन सकियोस् । यसका लागि अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूसित साझेदारी गर्नु उपयुक्त देखिन्छ । कर्णाली, गण्डकी प्रदेशमा फलफूलको वाइन कारखाना सञ्चालन गर्न ती प्रदेशहरूलाई घच्घच्याउनु पर्छ । पकेट क्षेत्रहरू जस्तैः मुस्ताङ, मनाङ, जुम्लामा स्याउ खेती; गोरखाको मनकामना, धादिङको ज्यामरुङ क्षेत्रमा सुन्तला खेतीलाई प्राथमिकतासाथ आधुनिक तरिकाले कृषि प्रवर्द्धन गर्न स्थानीय सरकारहरूले केही सोचेका छन् कि ! तिनलाई किन नझक्झक्याउने ?

कांग्रेसले नीति र कार्यक्रम बेगर ल्याउन लागेको यो घोषणापत्रको टाउकोमा लेखोस्- कुशासन हटाउँछौँ । कुशासनको सिरानी हालेर कसरी हुन्छ घोषणापत्र कार्यान्वयन ? कुनकुन क्षेत्रमा कति कर्मचारी चाहिने हो ? लेखाजोखा गरी प्रशासनयन्त्र सुधार्न जति ढिलाइ गर्‍यो उति मुलुकलाई क्षति पुग्छ । स्कुल, कलेज, विश्वविद्यालय, सरकारी अड्डाहरू अनावश्यक ट्रेड युनियनका कारण खत्तम भएका छन्; यसको उपचार के ? ‘युनियनिजम्’ ले खाएको देशलाई कसरी यो भासबाट सुरक्षित अवतरण गराउने ?

यतातिर सोचिएन भने सिर्फ सुन्दर सपना सजाइएका स्रेस्तामा परिणत हुनेछन् पार्टीका चुनावी घोषणापत्रहरू ।

प्रकाशित : आश्विन ११, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

दलमाथि स्वतन्त्रहरुको दबाब

कानुन बनाउने मुख्य जिम्मेवारी बोकेको संसद्‌मा निर्णायक संख्या नहुँदा स्वतन्त्र सांसदहरुले सक्रियता देखाए पनि सत्तासीन वा प्रमुख प्रतिपक्षी दलको रुचिभन्दा बाहिरको नजिता निकाल्न भने सक्दैनन् । स्वतन्त्रहरुको ध्येय दलहरुलाई दबाब दिनु नै हो ।
ध्रुव सिम्खडा

काठमाडौँ — २०७४ सालमा भएको संसदीय निर्वाचनमा हुम्लाबाट छक्कबहादुर लामा एकजना मात्र स्वतन्त्र हैसियतमा संसद् भवन छिरेपनि उनले सभामा खासै बोलेको सुनिँदैन । राष्ट्रिय सवालमा माओवादी जता उभियो त्यतै उभिने गर्छन् उनी । यसपालि स्वतन्त्र उठ्ने कि माओवादीबाट? लामाले भने, ‘दलबाटै उठ्छु भनेको हो । हाम्रो पार्टी माओवादीबाट उठ्न मन छ । तर अर्का पनि एकजना पार्टीका वरिष्ठ साथीले चाहना गर्नुभएको छ ।’

साथीले टिकट पाए के गर्ने त ? सांसद लामा भन्छन्, ‘हेपिएको, चेपिएको र थिचिएको महसुस भएन भने ठीकै छ । होइन भने फेरि पनि सोच्नुपर्ने हुनसक्छ ।’

‘राजनीति दलमै रहेर गर्नुपर्ने रहेछ’ सांसद लामाले भने, ‘एक्लै चुनाव जितेर सहरतिर अलिअलि देखाउन सकिए पनि गाउँमा केही गर्न सकिँदो रहेनछ । काम गर्ने हो भने दलकै उम्मेदवार बनेर जित्न सक्नुपर्ने रहेछ । किनभने दलका सिंहदरबारदेखि वडासम्मै सांगठनिक संरचना हुन्छ ।’

गत चुनावमा हुम्लाबाट स्वतन्त्र सांसद लामाले जिते पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरु धेरै निस्किइसकेका छन् । संघीय राजधानी काठमाडौंदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार घोषणाको बाढी नै चलेको छ । यसपटक स्वतन्त्र उम्मेदवारी घोषणाको लहर किन चलेको छ त ? प्राध्यापक तथा लेखक अभि सुवेदीका शब्दमा, ‘दल समर्थक नेता/कार्यकर्ताहरु बदनाम भइरहेका बेला स्वतन्त्र उठेर जित्न सकिने आकलन हुन सक्छ ।’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण हाछेथुका अनुसार ‘पार्टी बिल्डिङ इन् नेपाल’ भन्दा पृथक शैलीमा अघि बढिरहेका छन् पार्टीहरु । ‘पार्टी बिल्डिङ होइन, पार्टी डिस्ट्रोइङ’ भइरहेको राजनीतिक विश्लेषकहरुको मत छ ।

खासगरी दलहरुबाट मोहभंग भएका र आफूले लामो समय खर्चेको दलले चुनावी प्रतिस्पर्धामा टिकट नदिएपछि बागी बन्नेहरु नै स्वतन्त्र उठ्ने हुन् । अर्का राजनीतिशास्त्री प्राध्यापक कपिल श्रेष्ठ भन्छन्, ‘छिचिमिरासरी स्वतन्त्र उम्मेदवार घोषणा गरेकाहरुभन्दा पनि दलहरुलाई तिनकै दलभित्रका बागी उम्मेदवारले धेरै अत्याउनेछन् ।’ तर उनकाअनुसार यसपालिको चुनावमा स्वतन्त्र अनुहारहरुले दलका शीर्षहरुलाई हायल–कायल बनाउने संभावना छ । दलका नेताहरुसित चुनावी एजेन्डा छैनन् । स्वतन्त्रले विगतमा दलका नेता/कार्यकर्ताले गरेका बदमासी मात्र बोले पनि मतदाताबाट वाहवाही पाउने अवस्था छ । उनी भन्छन्, ‘स्वतन्त्रले जिते पनि दलका नेताहरुलाई दबाब दिनेबाहेक केही गर्न सक्दैनन् । तिनले सामाजिक सञ्जाल रंग्याउने मात्र हुन् ।’

स्वतन्त्रहरु पनि दलको विकल्प देख्दैनन्

पछिल्ला निर्वाचनहरुमा दलप्रति आममानिसको वितृष्णा बढेसँगै सहरकेन्द्रित स्वतन्त्र उम्मेदवार घोषणा गर्नेहरुको संख्या बढेको छ । यसै मेलोमा काठमाडौं–८ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार घोषणा गरेका सुमन सायमी भन्छन्, ‘गुठीविरुद्ध अन्याय भयो भनेर न्याय खोज्दा मुद्दा पनि जितियो तर कार्यान्वयन भएन । यो दलले गर्ला भने पनि गरेनन्, त्यो दलले गर्ला भने पनि गरेनन् । नाम फरक भए पनि अहिले भएका सबै दलका नीति तथा कार्यक्रम उस्तै रहेछन् ।’ मुलुकमा दलीय शासन प्रणाली छ । २००७ सालदेखि स्थापित भएका दलमा थुप्रै खारिएका नेता छन्, तिनले त गर्न सकेनन् भने एक/दुईजना स्वतन्त्रले जितेर केही गर्न सक्दैनन् भन्नेहरुलाई सायमी भन्छन्, ‘भ्रष्टहरुले भरिएका दलहरुले जनतलाई चुस्नबाहेक केही गर्न सक्दैनन् । हो, मुलुकमा संसदीय शासन प्रणाली छ । दलको विकल्प भनेको दल नै हो । तर, अहिले दल गठन गरेर संगठन गर्नतिर लाग्ने कि अन्याय, अत्याचार र भ्रष्टाचारविरोधी अभियान चर्काउन चुनावमा होमिने भन्ने सवाल अगाडि आयो । पहिले स्वतन्त्र उठ्ने, अन्यायविरुद्ध आवाज बुलन्द गर्ने र पछि दल गर्ने हो ।’

काठमाडौं–५ बाट संसदका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेकी रञ्जु दर्शना २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेर पराजित बनेकी थिइन् । भन्छिन्, ‘त्यसबेला पनि म प्राविधिक रुपमा स्वतन्त्र नै थिएँ तर राजनीतिक रुपमा विवेकशीलको उम्मेदवार बन्न पुगें ।’ त्यसपछि विवेकशील–साझा दलमा आबद्ध उनले अघिल्लो वर्षै दल त्यागेको घोषणा गरिन् । उनी भन्छिन्, ‘अहिले युवा उर्जा खेर जान नदिन स्वतन्त्र उठ्दैछु । म बहुदलमा विश्वास गर्छु । तर दलहरुलाई यति भ्रष्ट पारिएको छ कि त्यो भ्रष्टाचारको जालो माथिदेखि तलसम्मै छ । दलहरुलाई सुध्रने मेसेज दिन पनि म स्वतन्त्र उम्मेदवार बनेकी हुँ । साथै, संसद्‌भित्र निष्पक्ष सांसद्को पनि आवश्यकता महसुस गरेर यसपटक स्वतन्त्र उम्मेदवार दिएकी हुँ ।'

इतिहासमा स्वतन्त्र सांसद

२०१५, ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा सम्पन्न संसदीय निर्वाचनमा अहिलेसम्म दुई हजार २ सय एकजना सांसद प्रत्यक्ष चुनिएकामा १९ जनामात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । (हे. बक्स) ०१५ सालको आमनिर्वाचनमा १ सय नौ सिटमध्ये चारजना स्वतन्त्रले चुनाव जितेका थिए । तिनले १६.२६ प्रतिशत मत ल्याएका थिए ।

पछिल्लोपटक २०७४ सालमा सम्पन्न संसदीय निर्वाचनमा १ सय ६५ स्थानमध्ये एकजना मात्र स्वतन्त्रले जितेका छन् । अर्थात् शून्य दशमलव सात दुई नौ प्रतिशत मत स्वतन्त्रको पक्षमा गएको छ । ०५६ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले २ दशमलव आठ तीन प्रतिशत मत ल्याउँदा एक सिट पनि जित्न सकेनन् । अहिलेसम्म स्वतन्त्रहरुले धेरै सिट जितेको भनेकै ०५१ सालको मध्यावधिमा ७ सिट जितेका हुन् । प्राध्यापक कपिल श्रेष्ठ भन्छन्, ‘त्यसैले अहिले पनि स्वतन्त्रहरुले दुई डिजिट संख्यामा आफूहरुलाई संसद् प्रवेश गराउन सक्ने छैनन् ।’

हरिलाल चौधरी (सप्तरी पश्चिम, क्षेत्र–३७), राम दुलार (असिभौ कोद्राह, क्षेत्र–४६), भीमप्रसाद श्रेष्ठ (जुम्ला उत्तर,क्षेत्र–७३) र जयबहादुर महत क्षेत्री (जुम्ला दक्षिण, क्षेत्र–७४) २०१५ सालको प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद्हरु थिए ।

राजदेव गोइत (सिरहा–४), गोविन्द चौधरी (रौतहट–३) र ओमकारप्रसाद गौचन (बाग्लुङ–३) २०४८ सालको प्रतिनिधिसभामा स्वतन्त्र सांसद्का रुपमा प्रवेश गरे ।

शरद्सिंह भण्डारी (महोत्तरी–४), पाल्टेन गुरुङ (मनाङ), ज्योतेन्द्रमोहन चौधरी (रुपन्देही–४), परि थापा (बाग्लुङ–३), नवराज सुवेदी (प्युठान–२), मोतीप्रसाद पहाडी (डोल्पा) र नरेशबहादुर सिंह (बझाङ–२) ले २०५१ सालको प्रतिनिधिसभामा स्वतन्त्ररुपमा जितेका थिए । तर २०५६ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने एकजना पनि स्वतन्त्र उम्मेदवारले जित्न सकेनन् । यद्यपि, ६ सय ३३ जना स्वतन्त्ररुपमा संसद् बन्ने चाहनाले चुनाव भिडेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा/व्यवस्थापिका–संसद् (६ सय १ सदस्यीय) मा दुईजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । रौतहट–१ बाट बबन सिंह र सप्तरी–५ बाट सदरुल मियाँ हक निर्वाचित भएका थिए ।

२०७० सालको दोस्रो संविधानसभा/व्यवस्थापिका–संसद्को निर्वाचनमा महोत्तरी–४ बाट चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार बनी विजयी भएपनि पछि उनी जसपा प्रवेश गरेका थिए । त्यस चुनावमा कपिलवस्तु–२ बाट अतहर कमाल मुसलमान स्वतन्त्ररुपमा विजयी भएका थिए ।

कानुन बनाउने मुख्य जिम्मेवारी बोकेको संसद्‌‌मा निर्णायक संख्या नहुँदा स्वतन्त्र सांसदहरुले सक्रियता देखाए पनि सत्तासीन वा प्रमुख प्रतिपक्षी दलको रुचिभन्दा बाहिरको नजिता निकाल्न भने सक्दैनन् । स्वतन्त्रहरुको ध्येय दलहरुलाई दबाब दिनु नै रहेको विष्लेषकहरु बताउँछन् ।

प्रकाशित : भाद्र २८, २०७९ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×