सम्भावनाको सदुपयोग - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्भावनाको सदुपयोग 

म २० वर्षकी छँदा दाङबाट बिहे गरेर मोरङ आएँ, त्यो बेला र अहिलेमा स्वभावतः धेरै सुधार भए, पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ, काम गर्नुपर्छ भन्ने भावना बढेको छ, महिलालाई हेर्ने दृष्टिकोण पनि फराकिलो भएको छ
डिला संग्रौला

रोजगारीका अवसर सिर्जना गर्न कुनै पनि ठाउँमा उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसायका गतिविधि प्रशस्त चाहिन्छन् । तर, प्रदेश १ मा एउटा मात्रै औद्योगिक नगरी छ–विराटनगर । यस्तोमा यहाँ रोजगारीका अवसर खोज्न गाह्रै छ । रोजगारी अभावले युवा विदेशिन बाध्य छन् । हिमाल, पहाड, तराईका १४ जिल्ला मिलेर बनेको यो प्रदेशले निकै समुन्नत र सम्भावना बोकेको छ । दुःखको कुरा, हामीले सम्भावनाको सदुपयोग गर्न सकेनौं ।

पयर्टन, उद्योग, शिक्षा, स्वास्थ्य सबैका लागि प्रदेश १ मा गर्न सकिने धेरैथोक छन् । तर, यहाँको प्राकृतिक, सांस्कृतिक, मानवीय स्रोतसाधनको सदुपयोग भएको छैन । रोजगारीका अवसर नपाएर यहाँका जनशक्ति छिमेकको भारतदेखि दुबई, कतार, मलेसिया पुगेका छन् । अलि खर्च गर्न सक्नेहरू अध्ययन र रोजगारीका लागि अमेरिका, युरोप पलायन भएका छन् । हाम्रा जनशक्तिलाई स्वदेशमै राख्न हामीले युवा स्वरोजगार कार्यक्रम लागू गरी सरकार र निजी क्षेत्रको सहकार्यमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।

उद्योगधन्दा स्थापना र सञ्चालनको पुरानो इतिहास बोकेको प्रदेशलाई हामीले अझैसम्म आत्मनिर्भर बनाउन सकेका छैनौं । यो विस्मात्कै कुरा हो । प्रदेश १ माआन्तरिक मजदुरले काम पाउने ठाउँ भनेको सोलुखुम्बु, मोरङ र सुनसरी हुन् । चिया र सुपारी बगान भएकाले झापा र इलामलाई पनि मजदुर क्षेत्र भन्न सकिएला ।खोटाङ, धनकुटा, भोजपुरतिर अलैंची, अम्रिसो, कागती, अदुवा खेती गरिन्छ । सोलुखुम्बु, इलाम, सुनसरी, धनकुटा पर्यटनका लागि चिनिएका छन् ।

१९९३सालमा स्थापना भएको विराटनगर जुट मिल्स अहिले बन्द अवस्थामा छ । नेपालको पहिलो र ऐतिहासिक पृष्ठभूमि भएको यो उद्योग कहिले खुल्ने, कहिले बन्द हुने भइरहेको छ । त्यहाँका मजदुर एवं कामदार बिचल्लीमा छन् । यसपालि उद्योगमन्त्रीले यसको पुनः सञ्चालन गर्ने बताउनुभएको छ । यसलाई दिगो रूपमा सञ्चालनमा ल्याउनुपर्छ । औद्योगिक करिडोरका रूपमा परिचित विराटनगरका उद्यागी सरकारले ल्याएको पछिल्लो कर नीतिका करण निराश छन् । कर छुट भएन, सहुलियत दिइएन भनेर रिसाएका छन् । यसले गर्दा सुनसरी–मोरङ करिडोरका धेरै उद्योग बन्द हुने अवस्थामा छन् । उद्योग बचाउन सरकारले विशेष योजना सञ्चालनमा नल्याए धेरैको रोजगारी जानेछ । उत्पादकत्व पनि घट्नेछ ।

विश्वकै अग्लो हिमशिखर सगरमाथा हाम्रै प्रदेशमा पर्छ । हाल लुक्ला विमानस्थल हुँदै पयर्टक सोलुखुम्बु जाने गरेका छन् । तर, विराटनगरलाई अन्तर्राष्ट्रिय विमानस्थल बनायौं भने मोरङ–सुनसरी औद्योगिक क्षेत्रलाई सहयोग हुन्थ्यो । पर्यटक सोझै विराटनगर ओर्लिएर प्रदेश १ को भ्रमणमा निस्किन्थे । यहाँ धार्मिक र साहसिक पर्यटनका लागि पनि प्रशस्त सम्भावना छ । यसले रोजगारी वृद्धिमा सघाउँछ ।

पाथीभरा, माइपोखरी, बराहक्षेत्र, चतराधाम, हलेसी, दन्तकालीजस्ता धार्मिक स्थलमा आन्तरिक र बाह्य धार्मिक पयर्टक आउने गरेका छन् । यिनको प्रचार गरेर थप पर्यटक भित्र्याउन सकिन्छ । भारत सरकारले सुरु गरेको रामायण सर्किटअन्तर्गत जनकपुर आउने रेललाई चतराबाट हलेसी पुर्‍याई पाथीभरा लग्न सकिन्छ । त्यस्तै, इलाम र झापामा उत्पादन हुने चिया विश्व बजारनिर्यात गर्न सकिन्छ । त्यहाँका किसानलाई उत्थान हुने काम स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्छ ।

हिमाल, पहाड र तराई सम्मिलित यस प्रदेशमा असंख्य जातका जडीबुटी छन् । ती यत्तिकै खेर गइरहेका छन् । तिनको संरक्षण र संकलन गरी प्रशोधन केन्द्रमा लग्ने र यहाँ प्रशोधन गर्न नसके भारत वा अन्य देशमा पठाएर प्रशोधन गर्न सकिन्छ । तर, हामी उल्टै विदेशबाट जडीबुटी, औषधि आयात गरिरहेका छौं । पहाडतिर अम्रिसो, अदुवा, अलैंची खेती हुन्छ । तिनले पर्याप्त बजार पाउन सकेका छैनन् । हड्ताली हाट सुनसान छ । स्थानीय बजारकै राम्रो व्यवस्थापन गर्न सके यसबाट धेरथोर आयआर्जन हुन्थ्यो ।

झापा, सुनसरी, मोरङ प्रदेश १ का अन्नभण्डार हुन् । यहाँका बाली, खेतीपातीलाई उत्पादनमूलक बनाएर यस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ । कृषिमा अग्रणी प्रदेश भएर पनि यसमा आधारित उद्योग सञ्चालननहुँदा प्रदेशको गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दो छ । युवालाई नवप्रविधिमा आधारित कृषि उद्यममा जोड्न सकिने सम्भावना छ ।

सबैथोक शिक्षामै आएर जोडिन्छ । यहाँ पढ्नुपर्छ भन्ने भावना जागृत भएको छ । विकट ठाउँमा पनि बोर्डिङ स्कुल र प्लस टु कलेज खुलेका छन् । तर, हामीलाई गुणस्तरीय र आत्मनिर्भर बनाउने प्राविधिक शिक्षा चाहिएको छ । यो हामीले दिन नसक्दा अहिलेको शिक्षाले बेरोजगार उत्पादन गरेकोछ । उच्च शिक्षाको राम्रो अवसर छैन । हिमाल र पहाडी जिल्लाका विद्यार्थी पढ्नलाई मोरङ, विराटनगर, धरान, झापा वा काठमाडौं आउनुपर्ने बाध्यता छ ।

महिलाहरूको जीवन कष्टकर नै छ । समाजमा पछौटेपन छँदै छ । महिलाहरू घरकै काममा व्यस्त छन् । आयमूलक, सीपमूलक काममा संलग्न छैनन् । जागरण र सचेतनाका कार्यक्रम त्यहाँ पुगेका छैनन् । सुनसरी, मोरङ, झापा, उदयपुरतिरका महिला अलि टाढाबाठा छन् । शिक्षण पेसा अँगाल्ने, पसल खोल्ने, विदेश जाने गर्छन् । तर, तालिम र सीपबिना विदेशिएर श्रम शोषणमा पर्ने घटना अन्य प्रदेशझैं प्रदेश १ का पनि साझा समस्या हुन् ।

हाम्रो प्रदेशले देशका ठूल्ठूला नेता जन्माएको छ, धेरैलाई ठूल्ठूला पदमा पुर्‍याएको छ । तर, त्यो अनुसार यहाँ विकास भएको छैन । नेपालको चलन हेर्दा ठूल्ठूलो पदमा पुगेका वा सरकारको नेतृत्व गरेकाहरूले आफ्नो ठाउँ बनाउने (विकास गर्ने) चलन छ । पोखरा, बुटवल, भैरहवा कहाँ पुगिसके । तर, विराटनगरमा त्यो स्तरको विकास देखिएको छैन ।

प्रदेश १ पछाडि पर्नुको कारणचाहिँ सायद हामीले राजनीतिमा मात्रै धेरै ध्यान दिएर हो । बीपी कोइरालाको पुस्ता हुँदा हामी सानै थियौं, त्यसपछि गिरिजाप्रसाद कोइरालाको पुस्ता देख्यौं । मनमोहन अधिकारी, बीपी, शैलजा आचार्यदेखि हामी अहिलेको पुस्ता राजनीतिमा छौं । विकासलाई राजनीतिको चस्माले हेर्नुहुँदैन भन्ने मलाई आभास भएको छ । जुनसुकै दलको प्रतिनिधि भए पनि हामीले सबैभन्दा पहिले जनतालाई समृद्ध बनाउनुपर्छ । त्यसको आधार भनेका शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योगधन्दालाई जोड दिनुपर्छ । स्थानीय उत्पादन र नव उद्यमलाई प्रवर्द्धन गर्नुपर्छ । तर यसका लागि हामीसँग सामूहिक सोच छैन ।

म संघीय सांसद बनेपछि मैले ‘प्रदेश १ को समृद्धि र विकासका लागि हाम्रो अभियान’ शीर्षकको अवधारणापत्र बनाएर १४ वटै जिल्लामा बहस कार्यक्रम सञ्चालन गरेकी थिएँ । नेपाल भन्नासाथ विश्वलाई चिनाउने यो प्रदेश किन पछाडि पर्‍यो, यहाँका जनशक्तिले किन काम पाएनन्, यहाँका सम्भावना के के छन् भन्नेबारे स्थानीय विज्ञको धारणासमेत अवधारणापत्रमा समावेश गरेकी थिएँ ।

अवधारणापत्र तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई बुझाएकी थिएँ ।हामी प्रतिपक्षमा हुँदा त्यो अवधारणा मैले तत्कालीन सरकारलाई पनि बुझाएकी थिएँ । सत्तापक्ष भइसकेपछि मैले अर्को पहल के गरेकी थिएँ भने, प्रदेश १ किन एक नम्बर बनेन र अब सरकारले केके काम गर्नुपर्छ भनेर संसद्मा बुँदागत रूपमा बोलेकी पनि थिएँ । संघीयता कार्यान्वयनपछिको पहिलो स्थानीय सरकार बाटोघाटो, पुललगायत संरचना बनाउन सीमित रह्यो ।

अहिलेको सरकारपनि संरचना निर्माणमै लागिपरेको छ । यो आधारभूत आवश्यकता पनि हो । म २० वर्षकी छँदा दाङबाट बिहे गरेर मोरङ आएकी थिएँ । त्यो बेला र अहिलेमा स्वभावतः धेरै सुधार भएका छन् । पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ, काम गर्नुपर्छ भन्ने भावना बढेको छ । महिलालाई हेर्ने दृष्टिकोण फराकिलो भएको छ । यसले पक्कै सुधार र अवसर ल्याउने अपेक्षा छ ।

-(कान्तिपुरकी सजना बरालले संग्रौलासँग गरेको संवादमा आधारित)

प्रकाशित : आश्विन ८, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

२ वर्षमा २ गुणा हुने ग्लोबल आइएमई बैंकको मुद्दती योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आइएमई बैंकले २ वर्षमा २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकले २ वर्षमा आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्न निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्ने विज्ञप्तीमा भनिएको छ ।

यस योजनामा सहभागि हुन न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्छ । देशका ७७ वटै जिल्लामा बैंकका शाखा सञ्जालनमा छन् । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्र छन् । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट बै‌ंकले रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७९ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×