२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पूर्वले हिँडेको बाटो

समाज, सांस्कृतिक विकास र परिवर्तनका हिसाबले पूर्वी नेपाल निकै अगाडि थियो तर समयक्रममा त्यो स्थिर रह्यो
शेखर कोइराला

आफ्नै विशिष्ट पहिचान बोकेको पूर्वी नेपालको विकास क्रम थुप्रै पक्षसँग जोडिएको छ । यहाँको सम्पूर्ण इतिहास किरात संस्कृतिसँग जोडिन्छ भने विश्वकै सर्वोच्च शिखर सगरमाथा अनि सभ्यताको प्रतीक कोसी पनि यहीं छ । यसरी हेर्दा पूर्वी नेपालको इतिहास अलि भिन्न लाग्छ । समाज, सांस्कृतिक विकास र परिवर्तनको हिसाबले पूर्वी नेपाल निकै अघि थियो, तर समयक्रममा त्यो स्थिर रह्यो ।

पूर्वले हिँडेको बाटो

सुरुवातदेखि नै पूर्वको केन्द्रमा विराटनगर रहेको पाइन्छ । त्यसबेला राणा शासकहरूले विराटनगरलाई हेर्ने दृष्टिकोण फरक खालको थियो । तर, २००७ सालको क्रान्तिले त्यो दृष्टिकोणलाई फरक दिशानिर्देश गर्‍यो । एक समय राजनीतिक र औद्योगिक हब थियो, विराटनगर । विराटनगरले जे सोच्थ्यो, त्यही कुरा काठमाडौंमा धेरैपछि मात्रै लागू हुन्थ्यो । विराटनगर एक स्टेप अघि थियो भन्दा पनि हुन्छ । राजनीतिमा मात्रै होइन, अन्य विकासको कुरामा पनि लागू भयो । त्यसको प्रभाव चाहिँ सिंगो पूर्वी नेपालमै पर्‍यो ।

पूर्वी नेपालको विकास र विराटनगरसँग कोइराला परिवारको भूमिका पनि जोडिन्छ । हाम्रो पुर्ख्यौली थलो सिन्धुलीको दुम्जा हो । मेरा हजुरबुवा (कृष्णप्रसाद कोइराला) सिन्धुलीबाट पूर्व आएपछि व्यापार गर्नु हुँदोरहेछ । समयक्रममा उहाँले भन्सार हेर्ने जिम्मेवारी पाउनुभयो । मैले उहाँलाई देख्नै पाइनँ । तर, विराटनगरको जग उहाँले नै बसाउनुभएको रहेछ । विराटनगरमा व्यापारपछि समाजसेवा थाल्नुभयो । त्यहाँको शिक्षा, स्वास्थ्यलगायत सहरी पूर्वाधार निर्माण र विभिन्न उद्योग स्थापनाको वातावरण क्रमशः बन्दै गएको बुझिन्छ ।

राजनीतिक हिसाबले एउटा चाखलाग्दो कुरा के छ भने मेरो हजुरबुवाले सिरहाको माडा भन्ने ठाउँबाट त्यहाँका मानिसको अवस्थालाई देखाउने गरी दौरासुरुवाल, कोट, अनि फाटेको टोपी पार्सल गरेर पठाइदिनुभएछ, तत्कालीन शासक चन्द्रशमशेरलाई । शासकहरू जति सुखसयलमा बसे पनि जनताको अवस्था चाहिँ यस्तो छ है भनेर देखाउन खोज्नुभएको रहेछ । तर त्यो विषयले द्वन्द्व सिर्जना गर्‍यो । दरबारसँग उहाँको दूरी बढ्यो । उहाँ भारत गएर बस्नुभयो । त्यसबेला महिला संगठन थियो, त्यसको अध्यक्ष चन्द्रशमशेरकी श्रीमती हुनुहुन्थ्यो । मेरो हजुरआमा (विद्या कोइराला) सचिव ।

त्यसबेलाको राजनीतिक चेत कस्तो भने पूर्वेलीहरू माग्न नजान्ने, नमाग्ने । अहिले पनि हाम्रो यो गरिदेऊ, त्यो गरिदेऊ भन्ने स्वभाव नै छैन । पूर्वेलीहरूमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच त्यसबेलैदेखि रहेछ । खास राजनीतिक रूपमा त्यसरी पूर्वले चिनारी बनाउँदै आएको पाइन्छ ।

बीपीले २००७ सालको क्रान्तिताका जब गतिविधि थाल्नुभयो । उहाँलाई गिरफ्तार त गरियो, तर काठमाडौं ल्याउन समस्या भएछ । गिरफ्तार गरेपछि विराटनगरदेखि धनकुटा, संखुवासभा, ओखलढुंगा हुँदै उहाँलाई काठमाडौं ल्याएछन् । को हो यो मान्छे ? किन समातियो ? भनेर चर्चा भएछ । त्यही बेला उहाँको परिचय फराकिलो भएछ । त्यसरी राजनीतिक रूपमा पूर्वी पहाडमा चेतनाको विस्तार हुँदै गयो । विराटनगरमा एउटा एलिट क्लब भन्ने थियो । जहाँ बीपीले जमघट गर्नुहुन्थ्यो । त्यहाँ भएको छलफल राष्ट्रिय राजनीतिको विषय बन्थे । त्यसको अवशेष पनि छ । तर त्यसको महत्त्व अहिले छैन ।

विराटनगरमा औद्योगिक जग बसाल्नमा पनि कोइराला परिवारको नेतृत्व छ । जुट मिलदेखि आदर्श स्कुल स्थापना गर्नेसम्म । मैले त्यही आदर्श विद्यालय पढेको हुँ । त्यो विद्यालय हजुरबुवाले भारतमा खोल्नुभएको हो, तर पछि उहाँ फर्किएपछि यतै ल्याउनुभयो । त्यो बेला स्कुलका शिक्षकहरू हामीकहाँ नै बस्थे । यसको मतलब हजुरबुवाले शिक्षालाई प्राथमिकतामा राख्नुभएको थियो । अर्को चाखलाग्दो कुरा, उहाँ बुहारीहरूलाई घोडा चढ्न सिकाउने, पौडी सिकाउने गर्नु हुँदो रहेछ । त्यसरी खुला समाजको अभ्यास पनि त्यही बेला सुरु भएको हो । तुलनात्मक रूपमा पूर्वको समाज पहिल्यैदेखि खुला छ । त्यसैको कारण पनि होला, अहिले पूर्वको पर्यटन फस्टाएको । यहाँ सगरमाथा छ, सोलुखुम्बु क्षेत्रको पर्यटन यति विशाल छ कि यो हाम्रो कल्पनाभन्दा बाहिर छ । इलाम र अन्य ठाउँहरू पनि विकसित छन् ।

२००७ सालको कुरा हो । म जन्मिएकै त्यही बेला । गिरिजाबाबु, तारिणीदत्त कोइराला उहाँहरू जुट मिलमा श्रम गर्नुहुन्थ्यो । त्यही बेला हो, मजदुर आन्दोलन उठेको । श्रमिकको तलब वृद्धि हुनुपर्छ भनेर उहाँहरूले मजदुरलाई एकीकृत गर्नुभएको । मजदुरको पारिश्रमिक बढाउन भनेर त्यसरी भएको आन्दोलन सम्भवतः पहिलो थियो । गिरिजाबाबु त्यही आन्दोलनका कारण नेपाल ट्रेड युनियन कांग्रेसको प्रथम सभापति पनि बन्नुभयो । त्यसरी नेपालमा मजदुर आन्दोलन सुरु भएको हो । रेडियो नेपाल पूर्वबाटै सुरु भयो । तारिणीप्रसाद कोइरालाले जोगबनीबाट ‘यो रेडियो नेपाल’ हो भनेर पहिलो प्रसारण सुरु गर्नुभयो । त्यसले पनि यहाँको विकासमा ठूलो योगदान गरेको रहेछ ।

पञ्चायतकालमा तुलनात्मक रूपमा विराटनगरको विकासले गति लिन सकेन । त्यो बेला घरघरबाट महिलाहरू निस्किएर प्रतिरोध गरेका थिए । अहिलेको पुस्ताले त्यो कुरा बुझ्नै सक्दैन । पञ्चायतको समयमा पनि विराटनगरका लागि केही गर्नुपर्छ भन्ने भएन । गिरिजाबाबु पनि त्यसका लागि चुक्नुभएको जस्तो लाग्छ । मैले सोधेको थिएँ, उहाँले विराटनगरभन्दा बाहिर निस्किएर सिंगो मुलुकको विकासको कुरा सोच्नुभएछ ।

त्यो बेला भारतीय प्रधानमन्त्री चन्द्रशेखरजी विराटनगर आउनुभयो । मैले उहाँलाई चन्द्रशेखरजी यो कोसी अञ्चल अस्पताललाई राम्रो बनाइदिनुपर्‍यो भनेको थिएँ । उहाँले विराटनगरमा जनसभाबाटै त्यसको घोषणा गर्नुभयो, बीपीको नाममा मेडिकल कलेज खोल्ने भनेर । तर, त्यो घोषणा गिरिजाबाबुले समयमा राम्रो निर्णय लिनुभयो ।

उहाँले मेडिकल कलेज धरानमा खोल्ने भनेर निर्णय लिनुभयो । धरान त सुनसान थियो । कुनै आर्थिक गतिविधि थिएन । साँझ पर्दा धरान सुतिसक्थ्यो । गिरिजाबाबुको निर्णयले त्यो बेला विराटनगरमा अलिकति बेखुसी पनि छायो । अब त धरान र विराटनगर एउटै सहरजस्तो भइसकेको छ । धरान आफैंमा आर्थिक रूपले सबल सहर हो । विराटनगरमा त दुई वटा मेडिकल कलेज छन्, त्यसले पनि आर्थिक विकासमा भूमिका खेलेका छन् ।

विराटनगरमा जुन जुट मिल छ, अहिले त्यो केवल खाने भाँडो मात्रै भएको छ । जहाँ गिरिजाबाबुले काम गर्नुभयो, त्यति ठूलो आन्दोलनको जग बसालियो । त्यसलाई के गर्ने भनेर हामी गम्भीर हुनुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।

स्वास्थ्य प्रणालीमा धरान र विराटनगरमा स्वास्थ्यको एकदमै राम्रो सुविधा छ । अहिले बिर्तामोडमा पनि विकास भइरहेको छ । त्यसले नेपाल मात्रै होइन, भारतलाई समेत उपचार सेवा दिइरहेको छ । पूर्वको विकासक्रम हेर्दा राजमार्ग छेउछाउ मात्रै विकास हुने एउटा समस्या देखिन्छ । मान्छेहरू एकै ठाउँमा मात्रै झुम्मिने भइरहेको छ । इटहरीको विकास देखेर म छक्क पर्छु । दिन दोगुना, रात चौगुनाको दरले विकास भइरहेको छ । पूर्वी पहाडको ठूलो संख्या इटहरीमा सरिरहेको छ । खास गरी कृषिजन्य उत्पादनमा पहाडी जिल्ला एकपछि अर्को अब्बल बनिरहेका छन् । धनकुटामा चिया फस्टाइरहेको छ । इलाममा त पहिल्यैदेखि भइरहेकै हो ।

तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, सबैजसो जिल्लामा केही न केही कृषि उत्पादन छ । अहिलेको सरकारले उद्योगधन्दा फस्टाउने नीति ल्याउनै सकेन । सरकारले एउटा/दुइटा औद्योगिक घरानालाई मात्रै लाभ हुने गरी नीति लिएको देखिन्छ । पूर्वमा जुन गतिमा औद्योगिक विकास भयो, त्यो फस्टाउन नसकेको भनेको सरकारको नीतिकै कारण हो । पूर्वकै महेश आचार्य पटकपटक अर्थमन्त्री बन्नुभयो । किन विकास हुन सकेन ? सरकारले उद्योगको विकासका लागि कुनै न कुनै इन्सेन्टिभ त दिनैपर्छ ।

सरकारले औद्योगिक विकासका लागि अलग नीति लिनैपर्छ । १० वर्षसम्म कर लिदिनँ वा यस्तो उत्पादनका लागि यस्तो व्यवस्था हुन्छ भनेर तोकिदिनुपर्छ । विराटनगरका व्यापारीले उत्तराखण्डमा गएर उद्योग खोलेको छ, किन ? उद्योग खुल्नु भनेको करको कुरा मात्रै होइन, त्योसँगै रोजगारी जोडिन्छ । आर्थिक विकास जोडिन्छ । त्यसैले सरकारले उद्योगले सिधा कति पैसा दिन्छ भनेर मात्रै सोच्नुभएन । सरकारको नीतिकै कारण विराटनगरमा उद्योगहरूको बेहाल छ ।

कतिपय भारतीयले समेत यहाँ आएर उद्योग खोलेका छन् । अहिले व्यापारीसँग पैसा छ, तर लगानी गर्न डराइरहेका छन् । नेपालमा औषधिजन्य व्यवसायमा ठूलो लगानीको सम्भावना छ । विदेशबाट अर्बौंका औषधि नेपाल आइरहेका छन् । पूर्वाधारका हिसाबले पूर्वी नेपालले ठूलो फड्को मारेको छ । अहिले युवा उद्यमीहरूले थुप्रै खालका प्रयास गरिरहेका छन् । रोप–वेदेखि केबुलकारसम्मका योजना अघि ल्याएको पाइन्छ ।

देशका अन्य भूभागहरूभन्दा यहाँ सडकको राम्रो सुविधा छ । संखुवासभा, भोजपुरसम्म पनि सडकको प्रबन्ध छ । पूर्वाधारमा सबैभन्दा महत्त्वपूर्ण भनेकै सडक हो । अर्को भनेको अरुण जलविद्युत् परियोजना हो । यसलाई सरकारले थप विस्तार गर्ने भनिरहेको छ । यो आयोजनाका कारण रोजगारी सिर्जना भएको छ । कुनै न कुनै रूपले यसले पूर्वी नेपालको आर्थिकस्तर माथि उकास्ने कुरामा सहयोग पुर्‍याएकै देखिन्छ ।

जलविद्युत्को क्षेत्रमा थुप्रै सम्भावनाहरू खुलिरहेका छन् । जोगबनीदेखि विराटनगर हुँदै किमाथांका जोड्ने सडक हामीले बनाउन चाहेको हो । तर, अहिले नै चीनले त्यो सहजता दिन्छ या दिँदैन ? बीआरआईमा भन्न पनि सक्छ । त्यो के हुन्छ थाहा छैन । तर, यो सडक बन्यो भने पूर्वको मुहार नै फेरिन्छ । अर्को भनेको यहाँबाट बंगलादेशसम्म जोड्ने सडक हो । यसका लागि सरकारले प्रयास गर्नुपर्छ । फूलबारीसम्मको पहुँचलाई जोड्ने हो भने यो विकासको अर्को मार्ग बन्न सक्छ ।

हामीसँग सोलुखुम्बु छ, यसको आफ्नै विशेषता छ । यहाँ नभएको भनेको अझै पर्यटनलाई सहयोग पुग्ने गरी पूर्वाधार अपुग देखिन्छ । यहाँ होमस्टेहरू निर्माण हुन आवश्यक छ । कला र संस्कृतिमा एकदमै धेरै धनी छ । तर, त्यस्तो खालको सबै रूप यहाँ देखिएको छैन ।

(कान्तिपुरका प्रकाश धौलाकोटीले गरेको संवादमा आधारित)

प्रकाशित : आश्विन ८, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?