‘निर्यात बढाउन पहिले आन्तरिक उत्पादनको लागत घटाउनुपर्छ’- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘निर्यात बढाउन पहिले आन्तरिक उत्पादनको लागत घटाउनुपर्छ’

शेखर गोल्छा

काठमाडौँ — अहिलेको आर्थिक अवस्था निकै चुनौतिपूर्ण छ । यसको प्रकृति विगतभन्दा गम्भीर छ । यो समस्या दीर्घकालीन रुपमा रहने देखिन्छ । किनकि यो समाजको तल्लो वर्ग (ग्रास रुट) सम्म पुगेको छ । गत जेठको तुलनामा असारमा शोधनान्तर स्थितिमा केही सुधार देखिएको छ । यद्यपि अघिल्लो आर्थिक वर्षको सोही महिनासँग तुलना गर्दा हामी अझै पनि ठूलो शोधानान्तर घाटाको अवस्थामा छौं । 

गत आर्थिक वर्षको सुरुवातदेखि नै निम्तिएको तरलता अभावको अवस्थामा सुधार भएको छैन । लघुवित्त र सहकारी संघसंस्थाका गतिविधिले गर्दा तरलताको अवस्था लम्बिँदै गएको छ । यतिबेला अर्थतन्त्र ‘स्ट्यागफ्लेसन’को अवस्थामा छ । मूल्य पनि बढेको छ, माग पनि छैन । हामी आयातमा आधारित राष्ट्र हौं । रेमिट्यान्समार्फत नेपाल भित्रिने धेरै रकम आयात भुक्तानीमै खर्च भएको छ । यसकारण यो आधारभूत समस्या तत्काल समाधान गर्ने मन्त्र (सुत्र) कसैसँग पनि छैन । अर्थशाीस्त्रीहरुले यसलाई ‘खतराको घण्टी’ का रुपमा विश्लेषण गरिरहेका छन् । यो समस्या समाधानका लागि पहिले आन्तरिक उत्पादन बढाउनुपर्ने उनीहरुको सुझाव छ ।

सैद्धान्तिक रुपमा हामीले आयात कम हुनुपर्छ, मुलुक सम्वृद्धितर्फ जानुुपर्छ, उच्च आर्थिक वृद्धि हुनुपर्छ, वैदेशिक रोजगारीमा गएका ५० लाख युवालाई स्वदेशमै रोजगारी दिन सक्नुपर्छ, वृहत रुपमा स्वदेशी उत्पादन गर्नुपर्छ भन्दै आएका छौं । तर, आन्तरिक उत्पादन बढाउन र निर्यात बढाउनेबारे सोच्दैनौं । त्यसका लागि अत्यावश्यक नीति नियम पनि बनाउँदैनौं । देशको उत्पादन प्रोत्साहन गर्नका लागि नीति बनाउँदा वा सुविधा दिँदा हामी सानो मन बनाउछौं ।

आयातबाट राज्यले ठूलो राजस्व उठाएको छ, जसले विकास र साधारण खर्च धानेको छ । यसकारण अहिले एकै पटक आयात घटाउन सकिँदैन । उद्योग वाणिज्य महासंघले आयात घटाउने, निर्यात बढाउने र मुलुकलाई सम्वृद्धिमा लैजाने सम्बन्धमा अध्ययन गरेर एउटा ‘भिजन पेपर’ अघि सारेको छ । जसका सुझाव प्रभावकारी रुपमा कार्यान्वयनमा आएमा आयात कम्तिमा पनि ५० प्रतिशतले घट्छ । स्वदेशी उत्पादन तथा लगानी र रोजगारी बढ्छ । अहिलेको अवस्थमा आयात रोकेर मात्र समस्या समाधान हुँदैन । सँगसँगै निर्यात वृद्धि र त्यसका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ । विश्व व्यापार संघ (डब्लुटीओ) मा आवद्ध भएर हामीलाई ‘क्रेडिविलिटी’ को सवालमा केही फाइदा पनि भएकै होला । तर, हाम्रोमा उत्पादन लागत महँगो छ । यसकारण विदेशी वस्तुहरुसँग हाम्रो प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । विश्व व्यापारलाई मात्र हेरेर भएन, स्वदेशी वस्तुको संरक्षण पनि गर्नुपर्छ । आफ्नो उत्पादन प्रतिस्पर्धी नहुँदासम्म विदेशी वस्तुसँग प्रतिस्पर्धा हुँदैन, त्यसैले हाल विश्व व्यापार संघबाट हामीले अपेक्षित लाभ लिन सकिरहेका छैनौं ।

विश्व व्यापार संघलाई बंगलादेश र चीनले मात्र बुझे । लाभ पनि उनीहरुले मात्र लिन सके । नेपाल लगायत अरु धेरै राष्ट्रले त्यसलाई बुझ्न र सुविधा लिन सकेनन् । विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि हामीले अहिले पाएका धेरै सुविधाहरु कटौती हुन्छ । यसकारण पूर्व तयारीबिना उत्पादन लागत नघटाइकन स्तरोन्नतिमा जाँदा मुलुकलाई हितभन्दा बढी अहित हुन्छ । अल्पविकसित मुलुकको हैसियतले हाल नेपालले पाउँदै आएका सुविधा स्तरोन्नति पछि पाइँदैन । अहिलेकै अवस्थामा ती सुविधा कटौती हुँदा देशलाई थप समस्या हुन सक्छ । यसकारण उत्पादन लागत घटाउनेतर्फ काम नगरेमा निर्यात बढाउन सकिँदैन । स्तरोन्नति गर्नै हुँदैन भन्ने पनि होइन । तर आन्तरिक रुपमा पूर्ण तयारी गरेर मात्र स्तरोन्नति हुनुपर्छ भन्ने हो ।

निर्यात बढाउन सबैभन्दा पहिले आन्तरिक उत्पादनको लागत घटाउनु पर्छ । त्यसका लागि सरकारले नगद अनुदानको नीति लिएको छ । त्यो सहज तरिकाले छिट्टै कार्यान्वयन होस् । विशेष आर्थिक क्षेत्रहरुमा विशेष किसिमको श्रम ऐन आउनुपर्छ । जुन उत्पादनसँग जोडिने खालको हुनुपर्छ । उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जामा सरकारले ब्याज अनुदान दिनुपर्छ । यहाँ छुट्टाछुट्टै भन्दा पनि राज्यले समग्रतामा हेरेर निर्यात वृद्धिका लागि अभियान चलाउनुपर्छ । त्यसमा निजी क्षेत्र पूर्ण रुपमा साथ दिन तयार छ ।

- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गाेल्छाले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३०, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

‘बढ्दो आयात नियन्त्रण नगरेमा विदेशी मुद्रा सञ्चितिमा जोखिम अझै छ’

नीलम ढुंगाना तिम्सिना

काठमाडौँ — विश्वभरि नै उत्पादनमा सुस्तता आउने र मुद्रास्फीति बढेर गएको अवस्था छ । अर्थशास्त्रीय भाषामा यसलाई ‘स्ट्यागफ्लेसन’ भनिन्छ । रुस र युक्रेनको द्वन्द्व, इन्धनको मूल्यमा भएको वृद्धि, आपूर्ति शृंखलामा भएको अवरोधबाट माग र आपूर्तिमा देखिएको असन्तुलनले ‘स्ट्यागफ्लेसन’को अवथा आएको हो । अहिले विश्वभरका सबै राष्ट्रले यो समस्या भोगेका छन् । विस्तारै दक्षिण एसियाका राष्ट्रहरुमा पनि यसको असर आइपुगेको छ । 

अमेरिकाको मूल्यवृद्धि पछिल्लो चार दशकयताकै सबैभन्दा बढी ८.५ प्रतिशत पुगेको छ । अरु राष्ट्रहरुमा पनि मूल्यवृद्धिले नयाँ रेकर्ड बनाइरहेको छ । यहीं कारण अमेरिका, भारत लगायत राष्ट्रका केन्द्रीय बैंकहरुले सीआरआर (नगद मौज्दात् अनुपात) लगायत पोलिसी रेटहरु बढाएको अवस्था छ ।

गत असारसम्म नेपालको वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत छ । यो गत आर्थिक वर्षका लागि राष्ट्र बैंकले तय गरेको वार्षिक लक्ष्य ६.५० प्रतिशतभित्रै हो । तथापि असारको मात्र मूल्य वृद्धिदर ८.०८ प्रतिशत छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण छ । गत आर्थिक वर्षमा मुलुकमा १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको आयात र करिब २ खर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएकाले १७ खर्ब २० अर्ब रुपैयाँ कुल व्यापार घाटा छ । सोही अवधिमा चालु खाता घाटा ६ खर्ब २३ अर्ब छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को १२ प्रतिशतभन्दा बढी हो । यस्तै गत असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब रुपैयाँ छ । अघिल्लो महिना (जेठ)को तुलनामा गत असारमा विदेशी मुद्रा सञ्चितिमा केही सुधार भएको अवस्था छ । गत असारसम्म शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा छ । अघिल्लो महिना (जेठसम्म) २ खर्ब ५९ अर्ब घटामा थियो । जबकि अघिल्लो आर्थिक वर्ष (२०७७/७८) को अन्त्यमा शोधनान्तर स्थिति बचतमा थियो । यस्तै, गत आर्थिक वर्षमा कर्जाको वृद्धिदर १३ प्रतिशत र बचतको ९ प्रतिशत छ । गत आर्थिक वर्ष सरकारले २ खर्ब ३१ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ । सोही अवधिमा नेपालको कुल सार्वजनिक ऋण (आन्तरिक र बाह्य)जीडीपीको करिब ४१.५ प्रतिशत बराबर छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको व्यवस्थापन गर्ने गर्छ । सोही क्रममा सञ्चितिमा कमी आउन थालेपछि सरकारलाई त्यसको जानकारी मात्र गराइएको हो । विदेशी विनिमय ऐन २०१९ ले पनि राष्ट्र बैंकलाई विदेशी विनिमयको संरक्षण गर्ने अधिकार दिएको छ । यस्तो सञ्चिति सुधार गर्ने सम्बन्धमा सरकारले कदम चाल्ने हो । सोही अनुसार केही प्रयास भएका छन् । अहिलेको कदमलाई आयात निषेध गरिएको भन्दा पनि व्यवस्थापन गरिएको रुपमा बुझ्नुपर्छ । अहिले आयातमा कडाइ गरिए पनि भविष्यमा आयात गर्न सञ्चिति सहज होस् भन्ने उद्देश्यले गरिएको हो । अहिले एकै पटक आयात गरेर विदेशी मुद्रा सञ्चिति सक्ने कि अहिले बचाएर राखेको पैसाले भविष्यमा खरिद गर्ने भन्ने मुख्य विषय हो । अहिले आयात कडाइ नगरेको भए अझ धेरै आयात हुन्थ्यो होला, धेरै विलासिताका सामान पनि आउँथे होला तर, हाम्रो विदेशी मुद्राको अवस्था निकै कमजोर भइसकेको हुन्थ्यो । बढ्दो आयातलाई समयमै नियन्त्रण गरेनौं भने विदेशी मुद्रा सञ्चितिको हिसाबले मुलुक छिट्टै कमजोर हुने जोखिम अझै पनि छ । निर्यात बढाउन, वैधानिक प्रणालीबाट धेरैभन्दा धेरै रेमिट्यान्य भित्र्याउन, स्वदेशी उत्पादन बढाउन, धेरै प्रत्यक्ष विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले आफ्नो तर्फबाट पनि काम गरिरहेको छ । जसअनुसार रेमिट्यान्समार्फतको निक्षेपमा एक प्रतिशत विन्दु बढी ब्याज दिने, वैदेशिक रोजगार बचतपत्रमा १२ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने, विदेशी लगानी भित्र्याउने प्रक्रियामा सरलीकरण लगायत कामहरु पनि भएका छन् । यी उपायहरुले रेमिट्यान्स आप्रवाहमा सुधार भएको पनि छ । आयातमा नगद मार्जिन लागेपछि रेमिट्यान्स बढ्न थालेको देखिन्छ । यसबारे राष्ट्र बैंकले थप अनुसन्धान पनि गरिरहेको छ ।

मुलुकको विदेशी विनिमय सञ्चिति तीव्र रुपले घट्न थालेपछि राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा केही कडाइ गरेको हो । हाम्रो जस्तो मुलुकमा विदेशी मुद्रा सञ्चिति कम्तिमा पनि ७ देखि ८ महिनासम्मको आयात धान्न पुग्ने हुनुपर्छ । तर, हामीसँग अहिले पनि करिब ६ महिनालाई मात्र पुग्ने सञ्चिति छ । विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्न पुग्नेभन्दा कम हुनु भनेको जोखिमको अवस्था हो । यसकारण पनि अवस्था धेरै बिग्रन नदिन सरकार र राष्ट्र बैंकमार्फत केही नीतिगत व्यवस्था गरिएको हो । अवस्था सामान्य भएपछि अहिले नियन्त्रण गरिएका नीतिहरु विस्तारै खुला हुँदै जान्छन् । क्रिप्टोकरेन्सी, विटक्वाइनलगायत विद्युतीय मुद्रामा लगानी गर्न पाइँदैन । त्यसैले राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी लगायतमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले विदेशमा बस्ने नागरिकको लगानी नियन्त्रण गरेको नभई ती क्षेत्रमा लगानी गर्दा जोखिम हुनसक्ने भएकाले सचेत गराएको हो ।

नेपालबाट निर्यात वृद्धि हुँदै नभएको होइन । पछिल्ला वर्षहरुमा यो बढ्दो क्रममा छ । वार्षिक १ खर्ब रुपैयाँ बराबरको निर्यात पुर्‍याउन हामीलाई धेरै वर्ष लाग्यो । गत वर्ष यो बढेर २ खर्ब पुगेको छ । निर्यात वृद्धिका लागि धेरै प्रयास पनि भएका छन् । यद्यपि ती प्रयास पर्याप्त भने छैनन् । राष्ट्र बैंकले निर्यात अभिवृद्धि गर्नकै लागि पुनर्कर्जा, ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम ल्याएको छ । निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनमूलक उद्योगहरुलाई आधार दरमा २ प्रतिशत ब्याजमै कर्जा दिनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छौं । निर्यात प्रवद्र्धन गर्न सरकारले ल्याएका कार्यक्रम पनि राष्ट्र बैंकले सञ्चालन गरिरहेको छ ।

- नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गनर्भर तिम्सिनाले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३०, २०७९ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×