१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

के यो दक्षिण एसियाको समय हो ?

शिवशंकर मेनन

काठमाडौँ — प्रतिष्ठित कम्पनी कान्तिपुरको कान्तिपुर कन्क्लेभमा मलाई निम्त्याउनु भएकोमा सादर धन्यवाद । यो एक उल्लेखनीय अवसर हो  जुन तपाईंले आयोजना गर्नुभएको छ । सहभागिताको स्तरले नै कन्क्लेभको महत्व र प्रभावकारितालाई पुष्टि गर्छ । 

के यो दक्षिण एसियाको समय हो ?

यो मौकालाई म दक्षिण एसियाको अवसरका बारेमा बोल्न उपयोग गर्नेछु जसमा हामी आफैंलाई पाउँदछौं ।

विरोधाभाष

दक्षिण एसियालाई हेर्दा एउटा विरोधाभाषले आहत पार्छ । हाम्रा धेरै देशहरू आर्थिक दूरावस्था र राजनीतिक अनिश्चततामा छन् । तर पनि, हामी भूराजनीतिक र आर्थिक अवसरको क्षणमा छौं जस्तो मलाई लाग्छ ।

अहिलेको अवस्था

यसबारे विस्तृतमा विश्लेषण गरौं । धेरैले हाम्रो वर्तमान अवस्थालाई संकटपूर्ण समयको रूपमा वर्णन गर्छन् । दक्षिण एसियामा गत डेढ वर्षमा पाँचवटा सरकारहरू परिवर्तन भए; ती सबै अव्यवस्थित तरिकाले अनिच्छापूर्वक वा भविष्यवाणी गर्न नसकिने गरी भएका थिए । हाम्रा तीन देशहरू आईएमएफ र अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो ऋण संकट समाधान गर्ने कामको उच्च चरणमा छन् । अब थप अरु देशले पनि यसबारे मद्दत खोज्न सक्छन् । हाम्रा अर्थतन्त्रहरू विश्वव्यापी आर्थिक मन्दी, ठूला अर्थतन्त्रहरूमा हुन सक्ने खुम्च्यावट, महामारी, विप्रेषण तथा पर्यटनमा आएको गिरावट, वस्तुको मूल्यमा भएको अस्थिरता र निर्यातजन्य आम्दानीमा आएको गिरावटबाट ग्रसित छन् ।

दक्षिण एसियामा मात्रै यस्तो भएको होइन । हामी हाम्रो आर्थिक समस्यामा एक्लै छैनौं, आईएमएफ भन्छ- ५३ विकासशील देशहरू ऋण संकटको गम्भीर जोखिममा छन् । चिन्ताजनक के छ भने हामीले यसलाई वर्षौंदेखि भोगिरहेका छौं तर अझै पनि यसको समाधानमा अर्थपूर्ण काम हुन पाएको छैन । पछिल्लो दशकमा कोभिड महामारी, विकासोन्मुख राष्ट्रको ऋण सङ्कट, जलवायु परिवर्तन र अन्य अन्तर्राष्ट्रिय समस्याहरूमा विश्व समुदायले बढाएको प्रतिक्रिया वा यसको अभावलाई हेर्दा निश्चिन्त भएर भन्न सक्छौं, यो विश्व व्यवस्थाबाट हामीले कमभन्दा कम वा शून्य अपेक्षा गर्नुपर्ने भएको छ ।

हामी हाम्रा वर्तमान समस्याहरूको जवाफ वा समाधानका लागि सबैलाई गुहार्न सक्ने स्थितिमा छैनौं । यसबाहेक वृद्धि प्रक्षेपणहरू निरन्तर रूपमा तल झर्ने, अमेरिका र पश्चिमी युरोपमा हुने भनिएको मन्दीको वास्तविकता र चीनको उल्लेखनीय मन्दीका कारण विश्व अर्थतन्त्रको सम्भावना पनि राम्रो छैन । शीतयुद्धपछि भूमण्डलीकरणका दशकहरूको तुलनामा आन्तरिक र बाह्य दुवै रूपमा यी सबै देशहरूमा राजनीति आर्थिक निर्णयहरूको कमान्डमा छ ।

हामीसँग भूराजनीतिक र आर्थिक अवसरको क्षण हुन सक्छ भनेर म कसरी भन्न सक्छु जब म परिस्थितिलाई नै यसरी हेर्छु भने ?

भूराजनीति

सुरुवात भूराजनीतिबाटै गरौं ।
आज दक्षिण एसिया विश्वव्यापी भूराजनीतिको केन्द्रमा छ । हामीसँग लिने सामर्थ्य छ भने यसले हाम्रा लागि अवसर सिर्जना गर्छ । संसार अहिले संयुक्त राज्य अमेरिका वा पश्चिमी नेतृत्वको दोस्रो महायुद्धपछिको विश्वव्यवस्थाको संक्रमणमा छ । यसलाई हामी धमिलो सिसाबाट मात्र देख्न सक्छौं, जसको प्रकृति निर्धारण हुन बाँकी नै छ ।

म यसलाई विश्व व्यवस्थाहरूबीचको संसार भन्छु, एक विचलित संसार । भूमण्डलीकरण, विश्व अर्थतन्त्र र विश्व राजनीति सबै समस्यामा छन् र बदलिरहेका छन् ।

यसका संकेतहरू हाम्रो वरिपरि छन्, ठूलो शक्ति प्रतिद्वन्द्वको पुनरागमनमा, चीनको उदयमा र अमेरिका–चीन रणनीतिक विवादमा हामी समस्या र परिवर्तनका लक्षणहरू देख्न सक्छौं । सेन्काकसदेखि ताइवान र दक्षिणसम्म, चीन सागर, भारत–चीन सीमा, यमन इत्यादि हुँदै युक्रेनसम्मका तनावग्रस्त स्थानमा यी सब (समस्या र परिवर्तन) फेरि जीवन्त भएर आएका छन् । ध्यान दिनुहोस् कि यी तनावग्रस्त स्थानहरुले हामीलाई दक्षिण एसियामा घेरेका छन् । र, हाम्रा मुख्य चुनौतिहरूको जवाफ दिन अन्तर्राष्ट्रिय समुदायको असक्षमताले हामी विश्व व्यवस्थाहरुको संक्रमणमा छौं भन्ने संकेत गर्छ ।

परिणामस्वरुप, चीन तथा अमेरिका र रसिया तथा पश्चिमबीचको बृहद् शक्ति प्रतिद्वन्द्वले विश्व राजनीति पहिलेभन्दा बढी नै अचेटिएको स्पष्ट छ । चीनको उदयले उसको सामुद्रक र दक्षिणी परिधिमा सुरक्षा संशय पैदा गरेको छ । शीतयुद्धको विपरीत, दक्षिण एसिया विश्व भूराजनीतिक रेखाको नजिक छ र हिन्द महासागरको किनारैमा अमेरिका तथा चीनबीचको द्वन्द्व हुर्किरहेको छ । यसले दक्षिण एसियालाई फाइदा पुर्‍याउँछ । साथै, उनीहरुको प्रतिद्वन्द्व र विवादका कारण यस उपद्वीपलाई ठूलो शक्तिको चासोको वस्तु पनि बनाउँछ । हामी अब निष्क्रिय वा उदासीन दर्शक बन्न सक्दैनौं । नेपल एकै समयमा विआरआई र स्वतन्त्र एवं खुला इन्डो-प्यासिफिक रणनीतिको हिस्सा बन्न परेको अनुभवबाट तपाईं यो बुझ्न सक्नु हुन्छ । तर यो महाशक्ति प्रतिद्वन्द्वले अवसर पनि सिर्जना गर्छ । कोभिडअघिको दशकमा दक्षिण एसियामा विशेषतः चीनबाट बढेको प्रत्यक्ष लगानी उसको महाशक्ति राष्ट्र हुने दाबीको अनुपातमा खस्कियो ।

तर युक्रेनमा आक्रमण गरेपछि रुसमाथि पश्चिमी प्रतिबन्धको प्रतिक्रियाले अधिकांश देशहरू वैकल्पिक तेस्रो बाटो खोज्छन् र ठूलो शक्तिको प्रतिस्पर्धामा फस्न चाहँदैनन् भन्ने देखायो । यसमा हामी एक्लै पनि छैनौं ।

ठूलो शक्ति प्रतिद्वन्द्व र पिल्सिएको अन्तर्राष्ट्रिय राजनीतिको एउटा दुर्भाग्यपूर्ण प्रभाव भनेको अन्तर्राष्ट्रिय संगठनहरूलाई दोस्रो विश्वयुद्धको भन्दा पनि कमजोर र अधिक प्रभावहीन बनाउनु हो । महामारीको समयमा बहुपक्षीय संगठनहरूको प्रतिक्रिया प्रस्ट रुपले दयनीय भएको हामीले देख्यौं जब उनीहरुले कोभिड-१९ बाट उत्पन्न मानवीय संकटको सामना गर्नुको सट्टा शक्ति राष्ट्रहरुको पक्ष र विपक्षमा पृष्ठपोषण गरेर राजनीतिक फाइदा उठाउन खोजे ।

आखिर, यी सबै सदस्य राष्ट्रका संगठनहरू हुन् ।

यी राज्यहरू आपसमा झगडा गरिरहेका छन् भने ती संस्थाहरूलाई जलवायु परिवर्तन, महामारी वा विकासोन्मुख राष्ट्रको ऋण सङ्कटजस्ता हाम्रा प्रमुख अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्ने गरी प्रभावकारी बनाउन गाह्रो छ ।

विश्वव्यापी भूराजनीतिले दक्षिण एसियालाई साँच्चिकै केन्द्रविन्दुमा ल्याएको छ । यो परिवर्तनले विश्वको आर्थिक र राजनीतिक सत्ता अब एसियामा सरेको तथ्यलाई दर्साउँछ । विश्वव्यापी वस्तुहरूको उत्पादनको स्थानको रूपमा वा शक्तिको विश्वव्यापी सन्तुलनको निर्णय गर्ने केन्द्रको रुपमा एसिया उदाएको छ । दक्षिण एसिया सबैभन्दा गतिशील अर्थतन्त्र, विश्व राजनीतिको प्रमुख चमक र तनावग्रस्त स्थानको आसपासमा छ ।

यो राजनीतिक केन्द्रीयता दक्षिण एसियाका लागि असामान्य छ, जुन हामीले समकालिन इतिहासमा थाहा पाएका छैनौं । शीतयुद्धको समयमा दक्षिण एसिया भू-राजनीतिक रापतापमा थिएन, र स्पष्ट रूपमा त्यो हामीमध्ये धेरैलाई उपयुक्त देखिन्थ्यो । धेरैजसो दक्षिण एसियाली देशहरू संसारबाट बेदखल भई भएर आफ्नै गतिमा अघि बढ्नुमा सन्तुष्ट थिए । तर शीतयुद्धको अन्त्य, सोभियत संघको पतन र विश्वव्यापीकरणको प्रक्रियाले त्यो सबै बदल्यो । भारतको अर्थतन्त्र र थोरै वा धेरै हदसम्म हाम्रा सबै अर्थतन्त्रहरू अहिले विश्व अर्थतन्त्रमा एकीकृत भइसकेका छन् ।

अर्थशास्त्र

त्यो एकीकरणले हामीसामू समस्या र अवसर दुवै ल्याउँछ ।

तथ्याङ्कहरुले देखाएअनुसार दक्षिण एसियाले भूमण्डलीकरणको दशकदेखि राम्रो उन्नति गर्‍यो : बांग्लादेशले झैं त्यस अवसरको सदुपयोग गर्ने हामीमध्ये कतिपय देशले आफ्नो आर्थिक अवस्था र जनताको हितमा सुधार गर्दै निकै प्रगती गरे ।

हाम्रो वर्तमान आर्थिक संकट र हाम्रो भूराजनीतिक अवसर दुवै दक्षिण एसिया अहिले विश्वव्यापीकरणको अभिन्न अंग भएको प्रमाण हो । वास्तवमा, हाम्रा धेरै उल्झनहरू दुरुस्तै त्यो विश्वव्यापीकरणको सम्बन्धसँग जोडिएका छन् । मेरो विचारमा, यसको असरबाट मुक्त हुन सकिँदैन र यसलाई अस्वीकार गर्नु वा संसारबाट पछाडि फर्कनु कुनै समाधान पनि होइन । फर्किने ठाउँ पनि छैन । बरु, हाम्रा समस्याहरूको समाधान दक्षिण एसियाले विश्व र एकअर्काप्रति गर्ने व्यवहार र साथै आन्तरिक राजनीतिक तथा आर्थिक व्यवस्थापन गर्ने तरिकामा फेला पार्न सकिन्छ ।

समाधानहरू

त्यसो भए हामी के गर्न सक्छौं ?

भूमण्डलीकरण, विश्व अर्थतन्त्र र विश्व राजनीति सबै समस्यामा परेका छन् भने धेरै समाधानहरू हामी आफैंबाट खोज्नुपर्छ । अर्को शब्दमा भन्नुपर्दा, हामीले हाम्रो क्षेत्रीय सम्पर्क र सहयोगलाई बढाएर, बाँकी विश्वसँगको हाम्रो व्यवहारमा सुधार गरेर र नयाँ परिस्थितिले ल्याएका अवसरहरूको सदुपयोग गरेर हामी आफ्ना अवस्थालाई सुधार्न सक्छौं ।

यहाँ मेरा सुझावको सूचक सूची छ । यसमा म संशोधन, प्रतिक्रिया र सुझाव सुन्न खुसी हुनेछु । कुनै विशेष क्रममा नलेखिएका मेरा सूची छन्:

- दक्षिण एसिया क्षेत्रलाई आर्थिक रूपमा एकीकृत गर्न मिलेर काम गर्नुपर्छ । यहाँ केही सरल चरणहरू छन् जुन हामी मध्ये केहीले लागू गरेका छौं । कार्यान्वयनमा आएपछि हामीले फाइदा उठाएका छौं । सडक, रेल, विद्युत् र अन्य सन्दर्भमा कनेक्टिभिटी कुञ्जी हो ।

- हामीले आजको परिस्थितिमा विचार गर्न सक्ने अर्को चरण भनेको भुक्तानी प्रणालीहरूमा रचनात्मक परिवर्तनहरू गर्नु हो । श्रीलंकाको मामलामा, दक्षिण एसियाका देशहरूले उसलाई इन्धन, खाद्यान्न र ऋण उपलब्ध गराउँदै सघाए । भारतले यस वर्ष मात्रै ३.८ अर्ब भन्दा बढी अमेरिकन डलर उपलब्ध गराएको छ, जबकी ठूला ऋणदाताहरूले अझै पनि तीव्र गतिले खस्किरहेको अर्थतन्त्रलाई मद्दत गर्ने सर्त र प्रकृतिबारे छलफल गरिरहेका छन् । बाह्य शक्तिका आफ्नै प्राथमिकताहरू हुन्छन् जसमा भर पर्न सकिँदैन । न त, मैले भनेझैं, हामी यस्तोमा अन्तर्राष्ट्रिय संस्थाहरूमा भर पर्न सक्छौं ।

- हामी संसारमा सबैभन्दा कम एकीकृत उप–क्षेत्रहरूमध्ये एक भएको कारण के हो भने हामीले आपूर्ति र मूल्य श्रृंखलाहरू निर्माण गरेका छैनौं जसले हाम्रा नजिकका छिमेकीहरूको तुलनात्मक लाभ प्रयोग गर्छ । विश्वको धेरैजसो उत्पादन संयुक्त राज्य अमेरिका, जर्मनी र चीन (पहिले जापान थियो सन् २००७ सम्म) मा केन्द्रित तीन सीमापार उत्पादन सञ्जालहरूमध्ये एउटामा हुन्छ । यी सञ्जालहरूमा मध्यवर्ती लगानीको व्यापारले सबै अन्तर्राष्ट्रिय व्यापारको आधाभन्दा बढी व्याख्या गर्दछ, जबकी तयारी वस्तु र सेवाहरूको सीमापार व्यापार मात्र एक तिहाइ हुन्छ । ऊर्जा र धातुका वस्तुहरूले बाँकी हिस्सा ओगट्छन् (म्याथ्यु सि क्लेइन एन्ड माइकल पेटिस : ट्रेड वार्स आर क्लास वार्स, यल युनिभर्सिटी प्रेस, २०२०, पृष्ठ २७–२८) ।

- अर्को अवसर ऊर्जामा छ, जहाँ दक्षिण एसिया लामो समयदेखि आयातकर्ताका रुपमा छ । तैपनि, हामी हरियाली र थप दिगो भविष्यतर्फ लम्किँदै गर्दा ऊर्जा प्रविधि र ऊर्जाको अर्थशास्त्रमा हुने क्रान्तिकारी परिवर्तनका कारण दक्षिण एसियामा नयाँ अवसरहरू छन् । यस उल्लेखनीय घुम्तीमा, नेपालले हामीलाई यस क्षेत्रका लागि जलविद्युत् शक्तिको प्रमुख स्रोतको रूपमा आफ्नो सम्भावना देखाउँदैछ । श्रीलंका हवाई ऊर्जाको लागि त्यस्तै संभावित देश हुन सक्छ । र, सौर्य ऊर्जा अर्काे स्रोत हो जसमा हामी सबै लाभान्वित छौं । विगतको हिचकिचाहट र काँतरपनलाई हामीले हटाउन सके नवीकरणीय ऊर्जाले सीमापार सहयोगका अवसरहरू खोल्छ ।

- हामीले हाम्रा आफ्ना उप–क्षेत्रीय संस्थाहरू : सार्क, बिमस्टेक आदिलाई पुनर्जीवित गर्न आवश्यक छ । कुनै एक देशले अर्काे देशलाई सहयोग गर्नबाट रोक्न भिटो प्रयोग गर्ला भन्ने विश्वास म गर्दिन ।

- हामी विश्वलाई कसरी संलग्न गर्छौं भन्ने सन्दर्भमा, हामीसँग अहिले नयाँ सम्भावनाहरू छन्, विश्वभरि वास्तविक संख्यामा दक्षिण एसियाली अप्रवासीहरु उपस्थित छन् । उनीहरुले आफ्नो नयाँ थातथलोको राजनीति र अर्थतन्त्रमा भाग लिँदा दक्षिण एसियाको प्रभाव पनि जमाइरहेका छन् । विदेशमा हाम्रो छवि परिवर्तन गर्न, नीतिलाई सक्षम बनाउन र आर्थिक रूपमा हाम्रो विकासमा योगदान दिन उनीहरूको भूमिका बढ्दै गएको छ । हाम्रो सबै अर्थतन्त्रमा रेमिट्यान्सले निर्वाह गर्ने भूमिकालाई हेरौं । यो संप्रवाहन एक अवसर हो ।

- हामीले हाम्रो राजनीतिको जिम्मेवारी पनि लिनुपर्छ । सुरक्षा र स्थायित्वलाई साझा लक्ष्यका रूपमा खोज्ने दायित्व संयुक्त रूपमा आइपुगेको छ । हामीसँग यस उपमहाद्वीपमा नै सामुन्द्रिक सुरक्षा, प्रतिआतंकवाद र अन्य क्षेत्रमा व्यावहारिक सहयोगको राम्रो उदाहरण छ । सन् २०१० देखि भारत, श्रीलंका, माल्दिभ्स र हिन्द महासागरका अन्य देशहरू बीचको सामुन्द्रिक सुरक्षा सहयोग बढ्दै गएको छ र बङ्गालको खाडीमा पनि हामी मिलेर यस्तो काम गर्न सक्षम हुनेमा म आशावादी छु । सन् २००८ पछि भारत र बंगलादेशले आतंकवाद र विद्रोही समूहहरूका विरुद्ध जे गरे त्यसले हामीलाई पारस्परिक लाभको सम्बन्धमा कनेक्टिभिटीको आर्थिक सम्भाव्यताको दोहनका लागि आधार तयार पारेको छ । दक्षिण एसियामा हामीले आफूबीच भएका सफल अनुभवहरूका आधारमा सम्बन्ध निर्माण गर्नुपर्छ र त्यसलाई बढाउनुपर्छ ।

- हाम्रा विगतका असफलताहरूले दिएको एउटा पाठ यो हो कि छिमेकीहरूप्रति डर जगाउने घरेलु राजनीतिले नराम्रो मात्रै गर्छ । जबसम्म हामी नागरिकले हाम्रा राजनीतिक नेताहरूलाई यसबारे स्पष्ट पार्न सक्दैनौं तबसम्म उनीहरूले आफ्नो शून्य योगको राजनीतिक खेल खेलिरहन्छन् । यसले त हामीलाई हाम्रो क्षमताको बोध गर्नबाट वञ्चित गर्छ ।

निष्कर्षमा भन्नुपर्दा, संकट तब मात्र उपयोगी हुन्छ जब यसले हामीलाई हाम्रो निश्चितता र बानीहरूबाट हटाएर नयाँ वा फरक काम गर्न प्रेरित गर्छ । मैले यो दक्षिण एसियाको क्षण हुन सक्छ भन्नुको तात्पर्य के भने हामीसँग वर्तमान संकटलाई विगतका खराब अभ्यास तोड्न प्रयोग गर्ने मौका छ, जसले हामीलाई विश्वको सबैभन्दा गरिब र कम एकीकृत उप-क्षेत्रहरूमध्ये एक बनाएको छ । भनौं न, सन् १९९१ मा भुक्तानी सन्तुलन संकटलाई अनुमतिपत्रको राजबाट बाहिर निस्कने र अर्थतन्त्र खोल्ने अवसरका रूपमा प्रयोग गर्दा भारतले जे गरेको थियो, हामीले त्यही गर्नुपर्छ । वर्तमान संकट र बदलिँदै गएको अन्तर्राष्ट्रिय परिदृश्य भनेको छिमेकीको कुनै पनि फाइदालाई आफ्नो हानीको रूपमा हेर्ने र दक्षिण एसियाका जनताका लागि राम्रो भविष्य निर्माण गर्ने शून्य योगको राजनीतिक सोचलाई परिवर्तन गर्ने हाम्रो अवसर हो ।

(कान्तिपुर कन्क्लेभको उद्घाटन सत्रमा भारतीय पूर्वविदेश सचिव तथा पूर्वराष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार प्राध्यापक मेननले दिएको मुख्य सम्भाषणको अनुवादित अंश)

प्रकाशित : भाद्र २५, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?