कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कस्तो विकास मोडल बनाउने ?

मोडल जुनसुकै होस् सबैले देशभित्र काम गर्ने वातावरण बनोस्, आर्जेको कमाइले राम्रो घरपरिवार बसाउन सकियोस्, छोराछोरी राम्ररी पढाउन सकियोस् र आवश्यक परेका बेला औषधिमूलो गर्न पाइयोस् । त्यही नै सबैको चाहना हो र त्यही प्रत्याभूति गर्ने विकास मोडल अहिलेको आवश्यकता हो ।
बामदेव पौडेल

विश्वका विभिन्न भागका आ–आफ्नै विशेषता र त्यहाँका मानिसको आ–आफ्नै जिउने तरिका हुन्छन् । यसले गर्दा पनि विकास कसरी हासिल गर्ने आ–आफ्नै तरिका हुनुपर्छ । लिबिया जहाँ मरूभूमि नै मरूभूमि छ यो देशले उन्नतिको लागि खेतीलाई प्राथमिकतामा कसरी राख्न सक्छ ? त्यसैगरी लक्जेमबर्ग जहाँ पेट्रोलियमको भण्डार छँदै छैन यसले पेट्रोलियम उत्पादनमार्फत् देशको उन्नति कसरी कल्पना गर्न सक्छ ? कुनै देश बहुल सांस्कृतिक छन् त कुनै एकल सांस्कृतिक ।

कस्तो विकास मोडल बनाउने ?

जस्तैः भारत र दक्षिण कोरिया । कुनै देशको वरिपरि समुद्रै–समुद्र छ त कुनै भूपरिवेष्ठित छन् । जस्तैः अस्ट्रेलिया र स्वीट्जरल्यान्ड । कहीँ प्रचुर प्राकृतिक साधन छ त कहीँ उजाड भूमि । जस्तैः ब्राजिल र नामिबिया । यसैगरी नेपालका पनि आफ्नै विशेषता छन् । त्यसैले यसको विकास मोडल पनि आफ्नै हुनुपर्छ ।

कस्तो मोडल नेपालको लागि सुहाउँछ त ? हामीले नेपाललाई स्वीट्जरल्यान्ड बनाउने कुरा पनि सुनिसक्यौँ अनि सिंगापुरजस्तो बनाउने पनि । चीनको भजन गाउन थालेको धेरै भइसक्यो र दक्षिण कोरियाको कुरा गरेर त हामी कहिल्यै थाक्दैनौँ । भर्खर–भर्खर रूवान्डा र बोत्स्वाना पनि आउन थालेका छन् हाम्रा गफमा । हामी यिनका कुनै मोडल हाम्रोमा लागू गर्न सक्दैनौँ किनकि ती मोडल ती देशका लागि हुन्, हाम्रा लागि होइन । हामी पानीजहाज चलाउने पनि कुरा गर्छौं र बिजुली बेचेर धनी बन्ने सपना पनि देख्छौँ । कतिले खेती नै हाम्रो उच्च प्राथमिकता हो भन्छौँ त उद्योगधन्दाहरू भएनन् भनेर पनि गनगन गरिरहन्छौँ । हामीले यो गर्नुपर्छ कि ती मोडलहरूका राम्रा पक्ष जो हाम्रो परिस्थितिसँग मेल खान्छन् ती मात्र यहाँ ल्याउनुपर्छ न कि हुबहु उतार्ने हो । अनि ती कुरामा केन्द्रित हुनुपर्छ जहाँ हाम्रो सम्भावना छ न कि बाहिरको देखेर त्यसलाई यहाँ नक्कल गरौँ । यसैले हामीले अरूसँग प्रतिस्पर्धा गर्ने वा अरूको नक्कल गर्ने होइन कि हामी आफैंले आफैंलाई हेर्ने हो र आफ्नो प्रतिस्पर्धी आफैं हुने हो ।

जुन देशले विकास गरे तिनीहरूले सबै कुरा यसै गरेका हुन् र अरूबाट पुरै नक्कल गरेका होइनन् । मात्रामा तलमाथि होला तर उनीहरूले अन्य देशले अवलम्बन गरेका कुराबाट कति लिने भन्ने कुरा देशको परिस्थितिअनुसार विचार गरेर मात्र ल्याएका छन् । उदाहरणमा सिंगापुरलाई लिऔँ । सिंगापुरका तत्कालीन नेतृत्वले जब पूर्व र पश्चिमको वित्तीय केन्द्र बनाउने सोच ल्याएको थियो त्यसबेला यसले नजिकैको जापानको उत्पादन र निर्यातमा आधारित आर्थिक विकासको मोडललाई अँगालेको थिएन तर सेवामा जोड दिएको थियो, आफ्नो देशको भौगोलिक र रणनीतिक अवस्थितिअनुरूप । अर्को उदाहरण ‘वासिंटन कन्सेन्सस’ को लिन सकिन्छ जसले कसरी विकासको मोडल हुबहु उतार्दा आर्थिक दुर्घटना हुनसक्छ भन्ने देखाउँछ । पश्चिमा पुँजीवादी देशहरूमा ‘डिजाइन’ गरिएको यो मोडल विकासशिल देशहरूमा लागू गर्ने संरचना थियो जो बोलिभियामा सर्वप्रथम लागू गरियो र यसले विनाशकारी नतिजा ल्यायो । नेपालमा पनि बैंकिङ क्षेत्रको विकासमा यसले केही योगदान गरे पनि भइरहेका उद्योगहरू धराशायी हुनुमा यसको उल्लेख्य योगदान छ जो जगजाहेर छ ।

मानौँ, हामीसँग भूउपग्रहबाट गत चारसय वर्षसम्म खिँचिएको पृथ्वीको भिडियो रेकर्ड छ र त्यो भिडियो हेर्दै जाँदा हामी के अनुमान लगाउन सक्छौँ भने आधुनिक विकास युरोपमा सुरू भई आन्ध्रमहासागर पार गर्दै उत्तर अमेरिकामा आयो र अहिले प्रशान्त महासागरलाई पार गरी एसियाको पूर्वी तटमा आएको छ र बिस्तारै पश्चिमतर्फ सर्दैछ । यस दौरान के सबै देशले एउटै विकासे मोडल लागू गरे त ? पक्कै पनि समग्रमा हेर्दा तिनीहरूले पुँजीवादी अर्थतन्त्रको माध्यमबाट नै उन्नति हासिल गरेका छन् तर अलि गहिरिएर सुक्ष्मरूपमा हेर्ने हो भने ती देशका विकासका रणनीतिहरू फरक फरक छन् ।

क्यानडाको कुरा गरौँ । युरोपबाट हिँडेको विकास क्यानडा आउँदा यसले धेरै स्वरूप फेरिसकेको छ । यद्यपि, क्यानडा पुँजीवादी देशको रूपमा चिनिन्छ, तर संसारमा त्यस्तो विरलै देश होला जहाँ क्यानडाजस्तो पुँजीवादी र साम्यवादीको एउटा आदर्श मिश्रण भएको देश होस् जहाँ आम्दानी एकसुको छैन भने पनि खान नपाएर मर्नु पर्दैन, औषधि उपचारमा खल्तीबाट एक पैसा हाल्नु पर्दैन र छोराछोरीको शिक्षाको लागि बाबु–आमाले खासै चिन्ता लिनु पर्दैन । क्यानडाको दक्षिण सीमा अमेरिकामा यसभन्दा पृथक स्थिति छ जहाँ आम्दानीको खाडल उच्च छ, करोडौँ जनताको स्वास्थ्य बिमा छैन र शिक्षामा अत्यधिक खर्च छ । यद्यपि, दुवै पुँजीवादी देशहरू हुन् र युरोपबाटै पुँजीवादी व्यवस्था भित्र्याएका हुन् ।

यसैगरी विकास प्रशान्त महासागर पार गरी सत्तरीको दशकको अन्ततिर चीन आउँदा चीनले पुँजीवादी आर्थिक संरचना त भित्र्यायो तर राजनीतिक संरचना साम्यवादी नै कायम राख्यो र पनि विकासमा निकै फड्को मार्‍यो । भियतनामले यसलाई नक्कल गरेको देखिए पनि यी दुई देशबीच आन्तरिक प्राथमिकताहरू फरक–फरक छन् । उदाहरणको लागि युनिभर्सिटी अफ मलेसियाको चीनसम्बन्धी अध्ययन गर्ने एक संस्थामा प्रकाशित एक अध्ययनले के देखाएको छ भने चीनको निजी क्षेत्रको अनुसन्धान तथा विकासमा निकै बढी प्राथमिकता छ भने भियतनाममा यो निकै कम छ । विकासका कुरा गर्दा अर्को बुझ्नुपर्ने कुरा के छ भने विकास रणनीतिहरू परिवर्तनशिल हुन्छन् । क्यानडा अहिलेको कल्याणकारी राज्य संरचनामा आउँदासम्म धेरै नीतिगत परिवर्तन भएर आएको हो । यद्यपि, सुरूमा यस्तो थिएन । त्यस्तै, चीनले अहिले अल्पकालीन कूल गार्हस्थ उत्पादनको प्रक्षेपणमा आधारित विकासभन्दा लगानीको राम्रो उपयोगमार्फत् दीर्घकालीन सोचको विकासमा ध्यान केन्द्रीत गरेको छ ।

हाम्रो पनि ‘हार्डवेयर’ त पुँजीवादी आर्थिक संरचना नै हो तर ‘सफ्टवेयर’ को हकमा हामी पनि ती उन्नति हासिल गरेका देशहरू क्यानडा, अमेरिका, चीन, भियतनामले गरेजस्तै हाम्रो परिस्थिति, स्रोतसाधन र क्षमताले भ्याउने बाटोमा हिँड्ने हो । भइरहेका अभ्यासमात्र नभई नयाँ कुराको अन्वेषण र प्रयोग पनि गर्नुपर्ने हुन्छ ।

अब कुरा आउँछ प्राथमिकता केमा दिने र कहाँबाट सुरू गर्ने ? पहिलो काम त फोहोर भाँडो सफा गर्ने नै हो । मानौँ, हामी यहाँबाट प्रस्थानविन्दु सुरू गर्दैछौँ र अब सबै नयाँ सुरू गर्नुछ । कम्प्युटरको पूरै ‘हार्डवेयर’ सहित फेर्ने त्यति सम्भव नभए पनि कम्प्युटरको सञ्चालन ‘सफ्टवेयर’ परिवर्तन गर्नुपर्ने बेला आएको छ । ‘सफ्टवेयर’ को नयाँ संस्करणसहितको ‘अपडेट’ चाहिएको छ । पुराना फाइलहरू ‘डिलिट’ गर्ने र नयाँ फाइलहरू सिर्जना गर्ने बेला आएको छ । वर्तमान ‘सफ्टवेयर’ ले चाहे अनुरूपको विकास हासिल गर्न असम्भवप्रायः देखिन्छ किनकि यसले अहिलेसम्म खासै कुनै उपलब्धि दिन सकेन ।

यसको लागि आगामी चुनाव उत्तम अवसर हो । विकासको बाटो तय राम्रो नेतृत्वबाट नै सुरू हुन्छ भन्नेमा कसैको दुईमत छैन । हामीले दक्षिण कोरिया, सिंगापुर, रूवान्डा सबैका विकासका पछाडि नेतृत्वको बारेमा सुनेकै छौँ र ती देशहरूले फड्को मार्नुमा त्यहाँका नेतृत्वहरूकै अहम् भूमिका छ । यो चुनाव पनि त्यस्तै नेतृत्व छान्न निर्देशित हुनुपर्छ । जब नेतृत्वबाट विकासको आहृवान सुरू हुन्छ तब तल्लो तहमा यो प्रसारित हुन थाल्छ । तत्कालीन संरचनाले केही बाधा त सिर्जना गर्न खोज्छ तर दृष्टिकोणसहितको नेतृत्व बिरलै पछि हटेको हामीले देखेका छौँ र देशलाई अहिले त्यही चाहिएको छ ।

विकासको जुनसुकै मोडल अवलम्बन गरे पनि सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने देशमा काम गर्न सक्षम जनसंख्यालाई त्यसै मोडलअन्तर्गत उच्च उत्पादकत्त्व सहितको उत्पादनका क्रियाकलापमा सरिक बनाउने वातावरण बनाउनु नै हो । बिरालो कालो होस् कि सेतो त्यसले मुसा मारे त भइहाल्यो नि भनेर चीनका तत्कालीन राष्ट्रपति देङ सियाओ पीङले चीनलाई बजार अर्थतन्त्रमार्फत् विकासतर्फ अगाडि बढाउने घोषणा गर्दा भनेजस्तै मोडल जुनसुकै होस् सबैले देशभित्रै काम गर्ने वातावरण बनोस्, आर्जेको कमाईले राम्रो घरपरिवार बसाउन सकियोस्, छोराछोरी राम्ररी पढाउन सकियोस् र आवश्यक परेका बेला औषधिमूलो गर्न पाइयोस् । त्यही नै सबैको चाहना हो र त्यही प्रत्याभूति गर्ने विकास मोडल अहिलेको आवश्यकता हो ।

यसको लागि कहाँबाट सुरू गर्ने भन्ने प्रश्न उठ्छ र यसको उत्तर खोज्नु पहिले घाँटी हेरेर हाड निल्ने उदाहरण चरितार्थ हुन जान्छ । हाम्रा पूर्वाधारहरू कस्ता छन्, हामीसँग कस्तो जनशक्ति छ, हाम्रो विकास प्रक्षेपित गर्ने संस्थागत आधारहरू कस्ता छन्, हामीसँग हाम्रै यथेष्ट बचतमार्फत् आवश्यक लगानी जुटाउनसक्ने अवस्था छ कि छैन आदि/इत्यादि गहन प्रश्नहरू हाम्रा अगाडि तेर्सिन आउँछन् । यसका लागि दक्षिण कोरियाको विकास मोडलबाट केही कुरा लिन सकिन्छ । दक्षिण कोरिया विकासका सुरूका दिनहरूमा माथिका यिनै प्रश्नहरूबाट गुज्रिएको थियो । आन्तरिक बचत परिचालन देशको प्रमुख एजेन्डा बन्यो सुरूका दिनमा । पहिले कृषिलाई प्राथमिकतामा राखी यसको ‘व्याकवार्ड र फर्वार्ड लिंकेजेज्’ मार्फत् औद्यगिकीकरण र प्रविधिमा पछिमात्र प्रवेश गरेको थियो दक्षिण कोरिया । यो एउटा उदाहरण मात्र हो र यो हाम्रो पनि प्रस्थानविन्दु हुन त सक्छ तर अन्य धेरै कुराको विश्लेषण आवश्यक छ माटो सुहाउँदो विकास मोडलको संरचना तयार हुनको लागि ।

आगामी चुनावको बहसमा विकासका मुद्दाहरूले उच्च प्राथमिकता पाउन् र चुनाव पश्चातको नेतृत्वले देश सुहाउँदो उचित विकास मोडलमार्फत् देशलाई उन्नतिको बाटोमा डोर्‍याउन सकोस् सबैले त्यही विश्वास राखौँ ।

(नेपाल राष्ट्र बैंकका पूर्वअधिकृत डा. पौडेल क्यानडास्थित शेरिडान कलेजमा अर्थशास्त्रका प्राध्यापक हुन् ।)

प्रकाशित : भाद्र २३, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?