कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदीप गिरि : जैविक कृषिका सारथी 

यो वर्तमान उत्पादन प्रणालीले प्रकृतिको अभूतपूर्ण दोहन गरेको छ । त्यसैले प्रकृतिको विनासको मूल्यमा कुनै पनि प्रकारको समाजवाद बन्न सक्दैन ।
कृष्णप्रसाद पौडेल

प्रतिनिधिसभा सदस्य, नेता तथा स्वावलम्बन अभियन्ता प्रदीप गिरि अब भौतिकरुपमा हामीसँग हुनुहुन्न तर समाज उन्नत बनाउने उहाँको समाजवादी चिन्तन र दृढ अठोटले हामी सबैलाइ सधै घच्घच्याइरहने छ । नेपालको माटो, खाना र खेतीपाती संकटग्रस्त हुँदै गएकोमा हामीसँगै केही गर्न सकिने कुरामा उहाँ सधैं विश्वस्त हुनुहुन्थ्यो ।

प्रदीप गिरि : जैविक कृषिका सारथी 

यसै प्रसंगमा उहाँले व्यक्त गर्नुभएका विचार र उहाँसँगका संवाद निकै अर्थपूर्ण छन् । यसको चर्चाले उहाँको बहुआयामिक व्यक्तित्व मात्र हैन जैविक कृषिबारेमा उहाँको रुचि, प्रस्टता र विश्वास बुझ्न सकिन्छ ।

२०७४ सालको निर्वाचन लगत्तै दाइलाई खानाका लागि खेतीपातीको चासो बढाउन संसद्मा कुरा राखिदिनुपर्‍यो भन्न भेटघाटको समय मिलाएर पुरानो वानेश्वरको कोठामा पुगेको थिएँ । मैले यो कुरा गर्न आएको हो दाइ भन्न नपाउँदै तपाईंलाई हामीले खोज्नुपर्नेमा तपाईं नै यहाँ आउनुभएछ, म आभारी छु भन्नुभयो । नेपालको राजनीतिकर्मीमा विरलै पाइने यो सरलताले धेरै छोयो । उक्त भेटघाटमा ‘नेपालजस्तो देशमा समाजवादको परिकल्पना कृषि क्रान्तिबिना सम्भव हुँदैन कृष्णजी भन्दै नेपालका कुनै पनि पार्टी यसका लागि तयार छैनन् तर हामीले यो कुरा उठाउन थाक्नु हुँदैन, म तपाईंको यो आवाज संसद्मा उठाउँछु’ भन्नुभयो ।

उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘कृष्णजी यसको बदला तपाईंले मेरो बस्तीपुरको आश्रमलाई जैविक बनाउन सघाइदिनुपर्‍यो ।’ मैले ‘यो त मीतले हलो दिने र मीतलाई कोदो दिएजस्तै हो नि दाइ, म कोसिस गर्छु’ भनेँ । यसको केही महिनापछि दाइको बस्तीपुर आश्रम पुगेँ । दाइको आश्रमलाई जैविक बनाउन सघाउने निधो गरेँ । फर्केपछि हामीले कसरी बस्तीपुरको फार्म र वरिपरिको समुदायलाई जैविक अभियानमा जोड्न सकिन्छ भनेर छलफल गरिरह्यौँ । दाइ बेलाबेला हराउनुहुन्थ्यो तर हामी जैविक अभियानमा सँगै थियौँ, एकदिन फोन गर्नुभयो र भन्नुभयो, ‘मैले बस्तीपुरको फार्मको व्यवस्था गर्न सघाउने मानिस पाएँ, चाँडै छलफलमा बोलाउँछु, समय मिलाउनु होला ।’

त्यसपछि लामो समय नै भेटघाट भएन । यसैबीच कृषि मन्त्रालयले मन्त्रीकै अध्यक्षतामा प्रांगारिक कृषि अध्ययन कार्यदल बन्यो । यसको सदस्यको हैसियतले मैले एउटा प्रांगारिक सम्मेलन गर्ने प्रस्ताव गरेँ । २०७६ वैशाखमा नेपाल सरकारको आयोजनामा प्रांगारिक कृषि सम्मेलन आयोजना गर्ने भयौँ । मैले प्रदीप दाइलाई उद्घाटन सत्रमा केही बोलीदिन अनुरोध गरेँ । दाइले सजिलै म आउँछु भन्नुभयो र आउनुभयो । उहाँले उक्त सम्मेलनमा व्यक्त गरेका विचार निकै अर्थपूर्ण छन् ।

छोटो बोलेका दाइले ‘आज संसद्मा पनि यही विषयमा बोल्न जाने हुँदा मेरा केही भनाइ राखेर बिदा हुन चाहन्छु । यसका लागि क्षमा याचना चाहन्छु । एउटा रमाइलो प्रसंगबाट मेरो भनाइ राख्न चाहन्छु भन्दै मञ्चमा कमरेड प्रचण्ड, चक्रपाणि खनाल (बलदेव) बसेको बेला यो प्रसङ्ग सम्झिनुपर्ने छ । यो घटना सन् १९७५ को हो । भियतनामको क्रान्तिमा चीन र सोभियत संघ दुवैको ठूलो योगदान थियो ।

भियतनामका महान क्रान्तिकारी हो चि मिन्हको देहान्त भएपछि सोभियत संघका प्रधानमन्त्री पेकिङको बाटो भियतनाम जाने भए । उनले धेरै अनुनयविनय गरेर एकपटक माओसँग भेट्ने कोसिस गरे । धेरै कुटनीतिक प्रयासपछि उनले भेट्ने मौका पाए । सोभियत प्रधानमन्त्री कोचिनले विनम्रतापूर्वक माओलाई भने, ‘उहाँ तपाईं हामी सबैको मित्र, यत्रो क्रान्तिकारी योद्धाको सहादतको बेलामा तपाईं हाम्रो झगडा खतम गर्ने राम्रो मौका हुने थियो । कति वर्षसम्म तपाईंको पार्टीले संशोधनवाद विरुद्धको लडाईं भन्दै हाम्रो पार्टी विरुद्ध लडिरहन्छ ?’

माओले भन्नुभयो ‘म त १० हजार वर्षसम्म संशोधनवाद विरुद्ध लड्छु भनेको थिएँ । भइगो तपाईं त्यत्रो दु:ख गरेर यहाँसम्म आउनुभयो, मैले एकहजार वर्ष घटाइ दिएँ ।’ कोचिनले भने, ‘तपाईं के ठट्टा गर्नुहुन्छ, म त साँच्चिकै कुरा गर्न आएको हो । हामी दुई महाशक्ति मिलेर काम गर्नुपर्छ, अमेरिकाको यत्रो दबदबा छ ।’ माओले भन्नुभयो ‘फेरि तपाईंले कर गर्नुभयो, अर्को एकहजार वर्ष घटाउँछु । अब आठ हजार वर्ष बाँकी भयो ।’ फेरि कोचिनले मुख खोले तर माओले जुरुक्क उठेर भन्नुभयो, ‘यहाँभन्दा कम त हुँदै हुँदैन ।’

उनले अगाडि भने, ‘यो एउटा प्रतिकात्मक कथा हो । के थियो माओले भन्न खोजेको ? यो निकै महत्त्वपूर्ण कुरा छ । एकसय वर्ष पनि मुस्किलले बाँच्ने मानिस हजारौँ वर्ष लड्ने उत्साह, जाँगर, आँट र अठोट कहाँबाट आउँछ ? यस्तो हजारौँ वर्ष लड्ने सपना बोक्छ र सार्वजनिकरूपमा भन्छ त्यो के सपना हो ? यो संस्मरण हो । माओ यही जोश र जाँगरका साथ लडेका थिए । यो महान स्वप्निल आकांक्षाले निरन्तर लड्न सम्भव भएको हो ।’

हो, माआले त्यही जोश, आवेगका साथ सांस्कृतिक क्रान्ति गरेका थिए । दुनियाँ बदल्ने माओत्सेतुङ्गको महान आकांक्षा मरेको थिएन, परिघटनाले त्यो बताउँछ । त्यसरी नै यो प्राङ्गारिक क्रान्ति गर्दै हुनुहुन्छ के बुझ्नुपर्‍यो भने यसको बाटोले मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छ । जसले मानेर हिँड्छ १० हजार वर्ष नभए पनि एकहजार वर्ष त लडिन्छ उसले मात्र यो प्राङ्गारिक कृषिको लडाईं लड्न सक्छ ।

पृथ्वी नष्ट हुँदैछ, तपाईंहरू तथ्य दिएर भन्दै हुनुहुन्छ, प्रत्येक दिन देखिँदैछ, अनेकौँ प्रमाण छन् तर विज्ञान प्रतिको अन्धविश्वासले विकासको मोडल गलत दिशातर्फ जाँदैछ । यसले विनाशको संघारमा पुर्‍याउन लागेको छ । हाम्रा विद्धान वर्गसँग बेलाबेला यसबारेमा कुरा गर्छु । विकास गलत मोडलको छ, यो गलत दिशामा जान लाग्यो । यो फोसिल डिजेल (खनिज उर्जा) बाट कहिलेसम्म चल्छ ? उहाँहरू उल्टै मलाई भन्नुहुन्छ, ‘के भन्नुहुन्छ प्रदीपजी विज्ञानले बाटो देखाइहाल्छ ।’

यो नेपालको मात्र सवाल होइन, चीन र भारतको मात्र पनि सवाल होइन । यो समग्र विश्वको विनासको सवाल हो । त्यसैले यो सबैको चासोको सवाल हो । आयोजकको तर्फबाट एकजना मित्र मलाई निम्तो गर्न आउनुभयो, मैले उहाँलाई सोधेँ, ‘यो प्राङ्गारिक कृषिबारे प्रचण्डजीले के भन्नुभयो, मन्त्रीजीले के भन्नुभयो ?’ उहाँले भन्नुभयो, ‘मन्त्रीजीले उत्साह देखाउनुभयो, प्रचण्डजीले समर्थन गर्नुभएको छ ।’ मलाई अति छक्क लाग्यो साँच्चै हो कि होइन भनेर पत्यार नलागेर म यहाँ तपाईंहरूलाई हेर्न आएको हुँ ।

प्राङ्गारिक कृषि एउटा नयाँ र मौलिक विचार छ, यसलाई मैले स्वीकार गर्छु भन्नु पनि ठूलो योगदान हो किनभने संसारमा विकल्प नै छैन, एउटै बाटो छ त्यो अमेरिकाले देखाएको विकासको बाटो हो । यो विकासको बाटो असफल भइसकेको छ । जब नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो त्यतिबेला मौका थियो । त्यतिबेला भर्खर सोभियत संघ विचित्र ढङ्गले विघटन भएको थियो । कुनै हातहतियार र शक्तिले मात्र कुनै देश बच्दैन भन्ने यो ठूलो पाठ थियो ।

हाम्रो देशमा बीपी कोइरालाले विकासको आफ्नै मोडल चाहिन्छ भनेर चिच्याइचिच्याइ भन्नुभयो तर जब कांग्रेस सत्तामा आयो यसले अमेरिकी विकासका मोडलका विद्धानलाई अर्थशास्त्रको प्राविधिक जिम्मा लगायो । यो नै हाम्रो दुर्भाग्यको सुरुआत थियो । नेपालले समाजवाद ल्याउने भनेको वैकल्पिक सभ्यता बनाउने हो । दोस्रोपटक यो मौका प्रचण्डजीको पार्टीले बहुमत ल्याउँदा थियो । हामीले परम्परागत समाजवाद होइन मानवतावादी समाजवाद ल्याउनुपर्नेछ । समाजवाद ल्याउने भनेको कुनै कारखाना बनाउने कुरा मात्र होइन ।

मार्क्सले समाजवादले प्रकृतिको भूमिका उत्पादनमा प्रकृतिको अवदानबारेमा गणना गर्न अलिकति अलमल गरेका थिए । यो वर्तमान उत्पादन प्रणालीले प्रकृतिको अभूतपूर्ण दोहन गरेको छ । त्यसैले प्रकृतिको विनासको मूल्यमा कुनै पनि प्रकारको समाजवाद बन्न सक्दैन । समाजवाद बन्न सक्छ जसरी प्रकृतिलाई पनि सह–अस्तित्वको निम्ति प्रेरित गर्छ । यो जुन रासायनिक मल छ मूलत: यो प्रकृतिको विनाससँग सम्बन्धित छ ।

प्रकृतिको सुरक्षा हुनासाथ मालिक र दासको सम्बन्ध पनि सुध्रिन्छ, त्यो सम्बन्ध प्रविधिमा पनि आधारित हुँदोरहेछ । आज नेपालको जुन दीगो व्यवस्थाको कुरा गरिन्छ भने जुन बाटो प्राङ्गारिक कृषिकर्मीले लिएका, गरेका छन् हेर्दा सानो भए पनि यसको प्रोत्साहन हुन्छ । जस्तै: सोलार, गोबरग्यास । आयातलाई प्रतिस्थापित गर्न गरिने कार्यक्रमलाई कृषि मन्त्रालयबाट गराउन सकियो भने यो क्रान्ति हो । विकासको नयाँ नमूनाको खोजी र प्रचारप्रसार त्यसको एक पक्ष हुन्छ प्राङ्गारिक कृषि । यो गहन आर्थिक सामाजिक विषय हो ।

माओले कल्पना गरेको समाजवाद यो समाजवाद होइन, साँचो समतामूलक समाजवाद तथाकथित समृद्धिको आधारमा होइन मानवताको आधारमा बन्छ । जनयुद्ध सकियो मनयुद्ध थालौँ । प्राङ्गारिक कृषि भनेको नवीकरणीय उर्जाको उपयोग हो । नयाँ किसिमको जीवनशैलीको माग हो । म यो नयाँ विचारको पक्षमा छु त्यही ऐक्यबद्धता जनाउन म यहाँ आएको हुँ । यदि हामी सबैलाई यो आन्दोलन मन परेको छ भने यसलाई अगाडि बढाउन यहाँहरू लाग्नुहोस् । मजस्तो सुषुप्त मान्छे पनि सँगै लाग्ने छु । अन्त्यमा यहाँहरू यो अभियानमा सफल हुनुहोस् ।

यो सम्मेलन भएको केही समयपछि फेरि हामी एकपटक बस्तीपुरको फार्म बनाउने छलफलसम्म गर्न भ्यायौँ तर त्यसपछि भने दाइको स्वास्थ्य समस्या बल्झिदै गयो भेटघाटसमेत पातलियो । हामी सबैका वामपन्थी दाइ अहिले हाम्रो साथमा हुनुहुन्न । दाइको जैविक फार्म बनाउने सपना त अधुरै भयो तर हाम्रो जैविक अभियान भने जारी नै छ, रहिरहनेछ । उहाँले सुनाउनुभएको माओको १० हजार वर्षको स्मरणको प्रसंगले हामीलाइ सधैं घच्घच्याइरहने छ । सादगी जीवन र जैविक विचारका दाइलाई भावपूर्ण श्रद्धाञ्जली ।

प्रकाशित : भाद्र १६, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?