कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिरीकै विचारले निर्माण गरेको बाटोमा देश

मैले मेरो जीवनमा यत्तिको तीक्ष्ण बुद्धि र स्मरण शक्ति भएको अर्को मान्छे भेटेको छैन । उहाँसँग म घण्टौं बिताउँथें । यति धेरै फराकिलो ज्ञान भएको मान्छे पाउँदा म त छक्क पनि पर्थें ।
गगन थापा

प्रदीप गिरीसँग मेरो गुरु–शिष्य सम्बन्ध हो । २०५३/५४ सालतिर म भर्खर विद्यार्थी राजनीतिमा जिम्मेवारी लिएर काम गर्न थालेको थिएँ । त्यतिखेर हामी कांग्रेसभित्र विलक्षण प्रतिभा भएका बौद्धिक नेता भनेर उहाँलाई चिन्थ्यौं । पार्टीभित्र र बाहिर उहाँको राम्रो छवि थियो । साप्ताहिक पत्रिकाहरूमा कहिलेकाहीं उहाँको अन्तर्वार्ता आउँथ्यो, लेखहरू प्रकाशित हुन्थे । म त्यो नछुटाई पढ्थें ।

गिरीकै विचारले निर्माण गरेको बाटोमा देश

उहाँसँग नभेट्दै मैले उहाँका बारेमा रातभरि पढ्नुहुन्छ रे, कुनै पुस्तक पढ्न थालेपछि रात बितेको थाहा हुँदैन रे, जो भेट्यो उहीसँग किताबी संवाद गरिहाल्ने स्वभावको हुनुहुन्छ रे ! भन्ने सुनेको थिएँ । उहाँलाई पढ्दै जाँदा उहाँप्रति रुचि पनि बढ्दै गयो । हामी उहाँलाई निरन्तर पढ्न र सुन्न चाहन थाल्यौं । पार्टी विभाजनपछि हामी अलग–अलग बाटोमा लाग्यौं । त्यही बेलादेखि विचार निर्माण र मैले गर्ने गतिविधिमा उहाँको प्रभाव परेको थियो ।

मलाई व्यक्तिगत रूपमा उहाँले ०६० सालभन्दा अगाडि नोटिस गर्नुभए जस्तो लाग्दैन । त्यो बेला नेपालमा गणतन्त्र ल्याउनुपर्छ भन्ने विषयमा जसरी म र साथीहरू ‘भोकल’ भएरै आएका थियौं, त्यसले नै मलाई उहाँसँग जोडेको हो । त्यही सेरोफेरोबाट उहाँसँग निकटता बढ्यो ।

राज्यको अग्रगामी बाटो के हुन्छ भनेर हरेकजसो पार्टीभित्र अन्तरसंघर्ष थियो । कोही राजतन्त्रकै पक्षमा थिए भने कोही परिवर्तनको पक्षमा बोल्न थालेका थिए । हामीचाहिँ आमूल परिवर्तको पक्षमा थियौं । समग्रमा नेपालको रूपान्तरणका लागि अब ठूलो आन्दोलनको खाँचो छ भन्ने जनमत बनिरहेको थियो ।

०४६ को राजनीतिक परिवर्तनपछि समाजले पाएको चेतना भनेका आवधिक निर्वाचन, मतदानको अधिकार, वाक् स्वतन्त्रता जस्ता प्रजातन्त्रका आधारभूत अधिकारहरू हुन् । ०४७ को संविधानले तिनै कुरालाई दस्ताबेजीकरण गरेको थियो । तर, त्यसपछि पनि प्रजातन्त्रको सर्वव्यापी मूल्य र मान्यतालाई स्वीकार गर्दैमा नेपाली समाजमा रहेका सबै समस्याको सम्बोधन हुन्छ भन्ने खालको अपेक्षा थियो, तर त्यो गलत सावित भइसकेको थियो ।

नेपाली समाज विविधतायुक्त छ । जस्तो कि जातीय विविधता यहाँको नैसर्गिक अवस्था हो । यहाँ वर्षौंदेखि संरचनागत विभेदको खाडल छ, चाहे त्यो महिलाको सन्दर्भमा होस् वा दलित वा अन्य समुदायको हकमा होस् । त्यस्तै, विकाससँग पर्यावरणका पक्षहरू जोडिएका छन्, दिगोपनाको सवाल पनि जोडिन्छ । यस्तो अवस्थामा हामीले समाजमा प्रजातान्त्रिक अधिकारहरू प्रयोग गर्दै गर्दा त्यसले स्वतः हाम्रा समस्याहरूको समाधान नहुँदो रहेछ । बरु समाजमा झन्–झन् असमानताको खाडल बढिरहेको थियो । यस्ता थुप्रै विषय थिए, जुन पहिले राजनीतिक दलहरूमा छलफलको विषय नै बन्दैनथे । यी विषयलाई नेपालको प्रजातान्त्रिक विमर्शको मूलधारमा अर्थात् राजनीतिको मूलधारमा ल्याउने कुरामा प्रदीप दाइले सर्वाधिक योगदान गर्नुभएको छ ।

हामीले मुलुकका खास–खास राजनीतिक घटनाक्रममा कसले के भूमिका खेले भनेर सम्झिन्छौं । जस्तो कि १२ बुँदे समझदारी गर्दा हस्ताक्षरकर्ता को–को थिए भनेर सम्झिने कुरा एउटा भयो । तर, त्यो प्राविधिक कुरामात्रै थिएन, सँगैसँगै विचार निर्माण पनि भइरहेको थियो । प्रजातन्त्रबाट लोकतन्त्रसम्म जाने कुरा भाष्यमा आएको सामान्य परिवर्तन मात्रै थिएन, त्यो विचारमै परिवर्तन भएको अवस्था थियो । त्यो नयाँ विचार निर्माण गर्ने कुरामा प्रदीप गिरीको सबैभन्दा ठूलो योगदान रह्यो । लोकतन्त्र ल्याउने सन्दर्भमा हाम्रो एउटा पुस्ता जसरी आन्दोलित भयो, त्यो पुस्ता उहाँबाट प्रभावित थियो । उहाँको विचारबाट हामी प्रभावित भयौं, हाम्रो पंक्ति प्रभावित भयो र बिस्तारै त्यो कुराले पार्टीलाई पनि प्रभावित पारेको थियो ।

पार्टी विभाजित हुँदा प्रदीप दाइ कांग्रेस प्रजातान्त्रिकमा हुनुहुन्थ्यो । त्यो बेला कांग्रेस प्रजातान्त्रिकले नेपाली समाजको संरचनागत विभेदलाई अन्त्य गर्ने गरी महत्त्वपूर्ण र ऐतिहासिक प्रस्तावहरू पारित गरेको थियो र पार्टीभित्र लागू पनि गरेको थियो । त्यसमध्ये ‘कदमजम’ का आधारमा प्रतिनिधित्व गराउने कुरा एउटा हो, जसको प्रस्ताव प्रदीप गिरी हो । उहाँले राज्य संरचनामा कर्णाली (क), दलित (द), मधेसी (म), जनजाति (ज) र महिला (म) को प्रतिनिधित्व बढाउनुपर्छ भनेर त्यो प्रस्ताव ल्याउनुभएको थियो ।

०६० सालमै कांग्रेस प्रजातान्त्रिकले नेपालमा संघीयता लागू गर्नुपर्छ भनेर निर्णय गरेको थियो । हामी अहिले धेरैपछि मधेस आन्दोलनबाट मात्रै संघीयताको अवधारणा आयो भन्छौं, तर त्यो ०६० सालमै उठेको विषय हो, जसको प्रस्तावक उही प्रदीप गिरी हुनुहुन्थ्यो । अहिले हामी संघीयता भन्नेबित्तिकै प्रदेश भनेर बुझ्छौं, तर उहाँको जोड त्यसमा होइन । प्रदीप गिरीले कदमजम वा संघीयता भन्दै गर्दा त्यसको राजनीतिक व्यवस्थाभन्दा पनि मर्मलाई जोड दिनुभएको थियो । उहाँ अहिलेजस्तो पाँच–पाँच वर्षमा चुनाव गर्ने, कोही निर्वाचित भएर आउने, सरकार चलाउने पद्धतिबाट नेपाली समाजका समस्या समाधान हुनै सक्दैनन्, यो युरोपको जस्तो ‘होमोजिनियस’ सोसाइटी होइन र यसले आफैं हल गर्न सक्दैन भन्नुहुन्थ्यो । समाजको शक्तिलाई विकेन्द्रित गरेर भुइँ तहका मान्छेसम्म पुर्‍याउनुपर्छ, भुइँ तहमा प्रजातन्त्रको अभ्यास गर्न पाउनुपर्छ भन्नेमा उहाँको जोड थियो ।

०६०–०६२ ताका मैले सबैभन्दा बढी भेट्ने, सुन्ने गरेको व्यक्ति हो उहाँ । उहाँ आफैं पनि सधैं युवा, नयाँ पुस्तासँग भेट्न, कुरा गर्न चाहनुहुन्थ्यो । ०६२/६३ को आन्दोलनपछि चाँहि उहाँ यो एउटा विचार त सिर्जना भयो तर यसलाई अब कसैले बोकेर हिँड्ने हो वा होइन, अबको पुस्ताले यो विचारलाई जोगाएर राख्ला वा नराख्ला भनेर ठूलो चिन्ता व्यक्त गर्नुहुन्थ्यो । त्यसैले हामीले उहाँकै प्रेरणा र संरक्षकत्वमा ‘पब्लिक पोलिसी पाठशाला’ खोल्यौं, जसमा अहिले पनि हामी काम गरिरहेका छौं । यसको सुरुवात, नाम जुराउने सबै काम उहाँबाटै भएको हो । सुरुमा हामी एउटा समूहमा थियौं, सातामा एउटा साथीले कुनै एउटा पुस्तक पढेर त्यसबारेमा समूहमा बसेर विवेचना गर्नुपर्थ्यो । पछि हामीले पाठशालाबाटै ‘विचार’ त्रैमासिक प्रकाशन गर्‍यौं । प्रदीप दाइ सधैं पार्टीमा विचार पक्ष कमजोर भयो भनेर चिन्ता व्यक्त गर्नुहुन्थ्यो । पार्टीका हकमा उहाँले सधैं विचारभन्दा टाढा रहेर पार्टीको संगठन चल्न सक्दैन भन्नुहुन्थ्यो । वास्तवमा उहाँले आफ्नो सक्रिय जीवनमा त्यही विचारलाई निखार्ने, प्रस्फुटन गर्ने काम गर्नुभयो । उहाँले बीपी कोइरालाका रचनाहरू संकलन तथा प्रकाशन गर्ने र बीपीका विचार/सोच के–के थिए भनेर लेख्ने गर्नुभयो । उहाँकै प्रेरणामा हामीले पार्टीका दस्ताबेजहरूलाई संकलन गर्‍यौं । यी कामको पछाडिचाहिँ उहाँको चिन्ता के थियो भने नेपाली कांग्रेस पार्टी निर्माण सत्ता राजनीति र शक्ति प्रयोगका लागि मात्रै होइन, यसको वैचारिक पक्ष छ तर त्यो छाडिँदै गयो भन्ने थियो ।

मैले संविधानसभामा उहाँसँगै रहेर काम गरें । पहिलो संविधानसभामा प्रदीप गिरी, नरहरि आचार्य र म भएर नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था आवश्यक छ भन्ने कुरा उठाएका थियौं । हामीले सामूहिक रूपमा पार्टीभित्र र संविधानसभामा पनि यो विषय उठायौं । प्रदीप दाइले त यस विषयमा संविधानसभामा फरक मत नै दर्ज गर्नुभयो । हामीले त्यस विषयका पक्षमा विचार निर्माण गर्न पनि पहल गर्‍यौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुँदा र नहुँदा के हुन्छ, के फाइदा छन्, के बेफाइदा छन् भनेर छलफल चलायौं । नेपालको अहिलेको परिप्रेक्ष्यमा त्यो सबैभन्दा उपयुक्त छ भन्ने हाम्रो निष्कर्ष थियो ।

त्यो बेला हामीले पार्टीभित्र बदलाव चाहिन्छ भनेर अन्य पहल पनि गर्‍यौं । जस्तो कि हामी तीन जनासहित १२ जना मिलेर सुप्रभा घिमिरेलाई संसदीय दलको नेतामा लडायौं । जब–जब पार्टीको महाधिवेशन आउँछ, प्रदीप दाइले सधैं ‘वी फस्ट सेलेक्ट भोटर्स, देन दे सेलेक्ट अस’ भन्ने गर्नुहुन्थ्यो । अर्थात् पहिले हामी पार्टीका क्रियाशील सदस्य छान्छौं, त्यसपछि उनीहरूले हामीलाई छान्छन् । र, यसरी पार्टी चल्दैन भन्ने उहाँको कुरा थियो । अहिले हामी दुई महामन्त्रीले पार्टीको क्रियाशील सदस्य खुला गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ भनेर लागेको पनि त्यही प्रेरणाले हो । प्रदीप दाइ पार्टीको संरचनालाई जब्बर बनाएर हुँदैन, अलि उदार, खुला प्रकृतिको हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो ।

अर्को कुरा, उहाँ एकदमै विद्रोही स्वभावको मान्छे हो । उहाँ पार्टीसँग सधैं गुनासो गरिरहनुहुन्थ्यो । पार्टी जीवन्त हुनुपर्छ भन्ने उहाँको जोड थियो । पार्टीभित्र संघर्ष हुनुपर्छ, अधिकारको आन्दोलन भइरहनुपर्छ, लामो समयसम्म एउटै मान्छे नेतृत्वमा भइरहनुहुँदैन भन्नुहुन्थ्यो । उहाँ के भन्नुहुन्थ्यो– हाम्रो पार्टी कार्यालयमा किन कोही पनि भोकहडताल बस्दैन ? किन कोही मान्छे आन्दोलन गर्न आउँदैन ?

उहाँ पार्टी सञ्चालनमा सीमित मान्छे मात्रै व्यस्त हुन्छन्, बाँकी मान्छे प्रेरित हुने भनेको पार्टीभित्रको संघर्ष र आन्दोलनले हो भन्नुहुन्थ्यो । पार्टी कसरी चल्नुपर्छ भन्नेमा उहाँको एकदमै मौलिक र उपयुक्त चिन्तन थियो, जसका बारेमा पार्टीभित्र एकदमै कम छलफल भयो । कतिपय कुरामा उहाँसँग मेरा मतभेद पनि थिए । पछिल्लो समयमा नेपालले लिनुपर्ने आर्थिक नीतिका विषयमा उहाँसँग मेरो वैचारिक द्वन्द्व हुन्थ्यो । उहाँ हामीलाई ‘नयाँ पुस्ताका युवा साथीहरूलाई पनि विश्व पुँजीवादको चक्रबाट अलग्ग रहेर नेपाल चल्नै सक्दैन भन्ने विचारले आक्रान्त पारिरहेको छ, यसबाट तपाईंहरू निस्किनुपर्छ’ भन्नुहुन्थ्यो । हामी त्यसबाट कसरी निस्किने त भनेर सोध्थ्यौं । उहाँले नयाँ पुस्ताको मान्छेले मौलिक बाटो खोज्नुपर्छ भन्नुहुन्थ्यो ।

पार्टीको १४ औं महाधिवेशनमा मैले एउटा दस्ताबेज सार्वजनिक गरें, त्यो बेला उहाँ भारतमै उपचाररत हुनुहुन्थ्यो । उहाँले मेरो साथी जुगल भुर्तेलमार्फत मगाएर पढ्नुभयो अनि ‘नेपाल आइसकेपछि लेख्छु, यसबारेमा मेरा असहमति पनि छन्’ भनेर खबर पठाउनुभएको थियो ।

अस्पतालको बेडमा बस्नुभएका प्रदीप गिरीले मेरो अवधारणापत्र पढ्नुभयो तर जो महाधिवेशनमा सशरीर सहभागी हुनुहुन्थ्यो, उहाँहरूका बीचमा सामान्य छलफल गर्ने विषय पनि भएन त्यो । उहाँ यस्तो मान्छे हो कि कांग्रेसमा त उहाँसँग तुलना गर्ने कोही

मान्छे नै छैन । म लेखपढ गर्ने मान्छेसँग संगत गर्न रुचाउँछु, धेरथोर साथीहरूसँग कुराकानी गरेको छु, मैले मेरो जीवनमा यत्तिको तीक्ष्ण बुद्धि र स्मरण शक्तिको भएको अर्को मान्छे अहिलेसम्म भेटेको छैन । उहाँसँग भेटघाट गर्न जाँदा म घण्टौं बिताउँथें । उहाँ यति धेरै फराकिलो ज्ञान भएको मान्छे हो कि म त छक्क पर्थें । उहाँले एकै बसाइमा राजनीति मात्रै होइन, चलचित्र, संगीत, खेलकुद, नजानेको कुनचाहिँ विषय होला भन्ने लाग्थ्यो ।

मैले प्रदीप दाइलाई १५ दिन अगाडि अस्पतालमै पुगेर भेटेको थिएँ । म पुग्नेबित्तिकै उहाँले मृत्युसम्बन्धी हिन्दी सायरी सुनाउनुभयो । मैले भुलिसकें । उहाँले नै धेरै कुरा गर्नुभयो, बोल्नुभयो । खास मैले केही कुरा गर्न सकिरहेको थिइनँ । अनि उहाँले नै ‘के तिमीलाई डर लाग्यो, म त डराएको छैन, मृत्युदेखि पनि डराउने हो ?’ भन्नुभएको थियो । त्यसपछि पनि उहाँले नै बोल्नुभयो । ‘पार्टीभित्र जे लाइन लिइरहनुभएको छ, त्यो ठीक छ, त्यसमा नडगमगाईकन अघि बढ्नू, पार्टीमा संघर्ष आवश्यक छ’ भन्नुभयो । म उहाँको अवस्था देखेर बोल्न सकिरहेको थिइनँ । त्यसको दुई/चार दिनपछि त उहाँ बोल्नै छाड्नुभयो । त्यस्तो अवस्थामा पनि उहाँले मलाई बाटो देखाइरहनुभएको थियो । उल्टै मलाई प्रश्नहरू गरिरहनुभएको थियो । त्यो छोटो समयमा उहाँले एमसीसीलगायत विषयमा मैले निर्वाह गरेको भूमिकालाई लिएर प्रशंसा पनि गर्न भ्याउनुभयो ।

अहिले हामीले उहाँको विचार र दर्शनचाहिँ गुमायौं जस्तो लाग्छ । हामीले जति पटक भेट्दा पनि उहाँलाई भनिरहेका हुन्थ्यौं– तपाईंले अरूका विचार र साहित्यबारे लेख्नुभयो, संकलन गर्नुभयो तर तपाईंको आफ्नै विचार, दर्शन लेख्नुपर्‍यो, जुन भोलिको नेपाली समाजका लागि एकदमै महत्त्वपूर्ण छ । त्यो कसैले लेखेको छ, सुनेको छ भने एउटा कुरा, अन्यथा त्योचाहिँ ‘मिस’ भएजस्तो लाग्छ ।

प्रदीप गिरीको आफ्नै चिन्तन थियो । विचार थियो । उहाँले नेपाली समाजलाई राम्ररी चिन्नुभएको थियो । उहाँले बीपीले नेपाली समाज र समाजवादलाई कसरी व्याख्या गर्नुभएको छ भनेर लेख्नुभयो । तर त्यसमा उहाँका आफ्नै चिन्तन, बुझाइ के थियो, त्योचाहिँ छुट्यो । नेपाली समाजका समस्याहरू के हुन्, तिनलाई कसरी समाधान गर्ने, नेपालको अबको बाटो के हो भनेर उहाँको विचार अबको पुस्ताले पढ्न पाउनुपर्ने थियो ।

प्रदीप दाइ नेपाली राजनीतिको अलग पात्र हो । एक पटक उहाँले मलाई ‘तपाईं राम्रो सम्भावना भएको मान्छे हो, प्रधानमन्त्री बन्नुपर्छ’ भन्नुभयो । मैले पनि उहाँलाई ‘मभन्दा पहिले त तपार्इं बन्नुपर्छ नि’ भनेको थिएँ । उहाँको जवाफ के थियो भने ‘मचाहिँ यो दक्षिण एसिया नै एउटा देश भयो भने प्रधानमन्त्री बनूँला, नेपालको मात्रै त बन्दिनँ, तपाईंहरूलाई बनाउने हो’ भन्नुहुन्थ्यो । कहिलेकाहीं जिस्किएर भन्नुहुन्थ्यो– ‘मचाहिँ चाणक्य बन्ने हो, तपाईंहरू चन्द्र गुप्त हो । मैले तपार्इंहरूलाई बनाउने हो ।’ एउटा सामान्य राजनीतिज्ञमा सत्ता र शक्तिको जुन किसिमको चाहना र आशक्ति हुन्छ, त्यस्ता सबै कुराबाट उहाँ टाढा हुनुहुन्थ्यो । त्यस हिसाबले उहाँ फकिर नै हो । फेरि उहाँ राजनीतिमा जोडिएर रहन पनि चाहनुहुन्थ्यो । उहाँ पार्टीको केन्द्रीय सदस्य जित्न चाहनुहुन्थ्यो, सांसद बन्न चाहनुहुन्थ्यो । यसपालिको संसद्मा त उहाँ एकदमै सक्रिय हुनुहुन्थ्यो । मैले उहाँलाई बुझेको चाहिँ के हो भने राजनीतिक नेतृत्वको सोच्ने तरिका जुन हो, उहाँ त्यसमा प्रभाव छाड्न चाहनुहुन्थ्यो, विचारमा प्रभाव छोड्न चाहनुहुन्थ्यो । जस्तो कि हामी १२ बुँदे समझदारीकर्तालाई शक्तिशाली भनिरहेका हुन्छौं । उहाँचाहिँ त्यहाँ ओझेलमा रहेको विचारको स्रोत त म नै हो नि भनेर खुसी हुनुहुन्थ्यो । उहाँ अहिले बित्नुभयो । तर म त अहिले पनि उहाँकै विचारले निर्माण गरेको बाटोमा देश हिँडिरहेको देख्छु ।

उहाँले त्यो बेला ल्याएको ‘कदमजम’ को प्रस्ताव अहिले त संविधानबाटै सम्बोधन भएको छ । त्यो बेला उठेको संघीयता जस्तो प्रबन्धमा होस्, लागू भएको छ । त्यसकारण उहाँको नजरमा शक्ति विचारमा छ, सत्तामा होइन ।

मेरो हकमा त म एक प्रकारले उहाँको नियन्त्रणमा थिएँ भन्छु । किनकि मैले नेपाली समाजलाई कसरी चिन्छु, कुन नजरले हेर्छु, मेरो चेतना कस्तो छ भन्ने कुराचाहिँ उहाँसँगै जोडिन्छ । उहाँ मेरो गुरु नै हो । कतिपय विषयमा मतभेद पनि छन् । तर, मलाई वैचारिक रूपमा स्थापित गरेको उहाँले नै हो । मलाई मन्त्री बनाउन, महामन्त्री बनाउन उहाँको भूमिका भएन होला । तर, मन्त्री वा महामन्त्री हुँदा काम कसरी गर्ने भन्ने कुरामा उहाँको नियन्त्रण थियो । त्यसैले उहाँले कार्यकारी पदमा नगए पनि शक्तिको अभ्यास गर्नुभयो जस्तो लाग्छ । मैले राजनीतिक जीवनका करिब २० वर्ष उहाँसँगै बिताएँ । त्यो बेला धेरै कुरा भए । राजनीतिक रूपमा कहिले म उहाँसँग भइनँ, कहिल्यै उहाँले मलाई आशीर्वाद दिनुभएन । तर म उहाँसँग कहिल्यै टाढा भइनँ । म उहाँसँग जानु भनेको नयाँ कुरा सिक्नकै लागि हो, त्यस कुरामा उहाँले कहिल्यै मुठी बन्द पार्नुभएन ।

अब प्रदीप दाइ हामीसँग हुनुहुन्न । अब नयाँ पुस्ताका राजनीतिकर्मीहरूले उहाँबाट सिक्नुपर्ने कुरा भनेको राजनीति केका लागि गर्ने भन्ने हो । म राजनीतिमा किन छु भनेर आफूले आफूलाई सोध्नुपर्छ । जवाफ हुन्छ, केही कुराको बदलाव ल्याउनका लागि । त्यो बदलाव कसरी ल्याउने भन्दै प्रश्न गर्दै गयो भने त्यसका लागि वडाध्यक्ष, सांसद वा मन्त्री नै हुनुपर्छ त भन्दा त्यसको जवाफ पर्दैन भन्ने आउँछ । त्यसैले उहाँको जीवनबाट लिनुपर्ने ज्ञान भनेको ‘आफैंसँग एकपटक प्रश्न गर’ भन्ने हो ।

(कांग्रेस महामन्त्री थापासँग प्रकाश धौलाकोटीले गरेको संवादमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?