भूपू समाजवादी र असली समाजवाद- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अर्काइभबाट-प्रदीप गिरि

भूपू समाजवादी र असली समाजवाद

कुनै एउटा प्रचण्डपथ वा साइनिङ पाथले एउटा पन्थ बनाउन सक्छ । विचारधाराले एउटा बलियो राजनीतिक पार्टी बनाउन सक्छ । त्यो बलियो पार्टीले नेतालाई सत्तामा पुर्‍याउँछ । तर समाजवाद बनाउन सक्दैन । समाजवाद मुख्यत: जीवनमूल्यसँग गाँसिएको कुरो हो । कहाँ छ, त्यो व्यवहार आज ?
प्रदीप गिरि

रवर्ट अवेनदेखि कार्ल मार्क्स हुँदै बीपी कोइरालासम्म आइपुग्दा समाजवाद विमर्शले समाजको प्रत्येक पक्षलाई आलोकित गरेको छ । पुँजीवादी उत्पादन मानवीय प्रक्रिया होइन । उत्पादनका निमित्त उत्पादन यस व्यवस्थाको बाध्यता हो । तथाकथित विकासको अन्धवेगमा हिजोसम्म मानिस उत्पादनको एउटा निरीह पुर्जा थियो । आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा अब त्यो पनि रहँदैन ।

मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्र लेख्दा इतिहासको सरल व्याख्या गरेका थिए, ‘मानव जातिको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो ।’ तर यो केन्द्रीय कथन थिएन । पुँजीवादले मानिसलाई वस्तु बनाएको छ । देखिँदा मात्र ऊ स्वतन्त्र छ । उत्पादन व्यवस्थाले उसलाई निरन्तर घचेडिरहेको छ । अन्जानमा उसको वस्तुकरण भएको छ । उपभोगको नशामा मानिस बेहोस छ ।

मार्क्स–एंगेल्स सामाजिक संघर्षको विविधता र जटिलतासित बिलकुलै अनभिज्ञ भने थिएनन् । ऐतिहासिक दृष्टिले हेर्दा विषाक्त पुरुषवादको पहिलो गम्भीर विश्लेषण मार्क्स–एंगेल्सबाटै भएको थियो । मार्क्स–एंगेल्सले थोरै भए पनि पर्यावरणीय संकटको समेत संकेत गरेका छन् ।

हरेक महापुरुष आफ्ना युगका सन्तान हुन्छन् । मार्क्स अपवाद थिएनन् । तिनताक बेलायतमा एडम स्मिथ र डेविड रिकार्डोको नेतृत्वमा शास्त्रीय अर्थशास्त्र प्रतिष्ठाको उचाइमा थियो । त्यस बौद्धिक परिवेशमा मार्क्स भिजेका थिए । श्रमको अतिरिक्त मूल्यको सिद्धान्तका निमित्त उनी डेविड रिकार्डोप्रति ऋणी थिए । मार्क्सले पुँजीवादको खास पैशाचिक चरित्र चिने । उनी पुँजीवादको उत्पादन क्षमताबाट भने चमत्कृत थिए । पुँजीवादले उत्पादनका सबै समस्याको समाधान गरिदिइसकेको छ, अब जो गर्ने हो वितरण मात्र गर्ने हो भन्‍ने मार्क्सको ठहर थियो ।

यसै विश्वासका साथ उनले ‘विश्वका मजदुर हो एक होऊ’ भनी आह्वान गरेका थिए । महिला, पर्यावरण, जातीय उत्पीडनका प्रश्नले उनीहरू उद्वेलित नहुने होइन तर वर्गसंघर्ष नै इतिहासको चालक शक्ति हो भन्‍ने सवालमा उनीहरू विश्वस्त थिए । पुँजीवादको उत्पादन प्रणाली र उत्पादनको सम्बन्धको टकरावले नयाँ व्यवस्था आउँछ । त्यो नयाँ व्यवस्था मजदुर वर्गको नेतृत्वमा आउँछ भन्‍ने मार्क्सको भविष्यवाणी थियो ।

तर त्यो दिन आउनुअघि नै पुँजीवादी प्रणालीले सिंगो पृथ्वीलाई नाश गर्न सक्छ भन्‍ने कुरो मार्क्सले सोच्‍न सकेका थिएनन् । उत्पादन प्रणाली जस्ताको तस्तै राखेर उत्पादनको सम्बन्धलाई मात्र ओभानो पाराले फेर्न सकिन्छ भन्‍ने उनको प्रस्ताव पनि अहिले अव्यावहारिक देखिएको छ ।

संसार परिवर्तनशील छ । अझ यताका तीस वर्षमा त अचिन्त्य रूपमा दुनियाँ फेरिएको छ । तत्कालीन देश, काल र परिस्थितिमा जन्मिएका, हुर्किएका मार्क्स–एंगेल्सका निमित्त अहिलेको परिवर्तन कल्पनातीत छ । तर मानिस मात्रको वस्तुकरण र असान्दर्भिकताको समस्या झन् चुलिएको छ ।

प्रथम महायुद्ध इतिहासको एउटा काल विभाजक मिति हो । त्यस युद्धको माझमा नै बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा सोभियत राज्यको स्थापना भयो । नयाँ युग प्रारम्भ भयो । सोभियत क्रान्तिका पृष्ठभूमिमा विश्व समाजवादी आन्दोलन भने दुई भागमा बाँडियो । पश्चिमी युरोपका अधिकांश सोसल डेमोक्रेट पार्टीहरूले शान्तिपूर्ण संसदीय बाटोबाट समाजवादमा पुग्‍न सकिन्छ भन्‍ने विश्वास राखे ।

एडवर्ड बर्नस्टिन र कार्ल काउत्स्की संसदीय बाटोका प्रवक्ता थिए । लेनिन र ट्राटस्कीले सशस्त्र संघर्षका आधारमा मजदुरले राज्यसत्ता कब्जा गर्नुपर्छ भन्‍ने आग्रह अगाडि सारे । मतभेद त अरू पनि थिए तर मुख्यत: यसै प्रश्नमा सोसल डेमोक्र्याट र कम्युनिस्ट छुट्टिए । त्यसपछिका लगभग तीन दशक कम्युनिस्ट र सोसल डेमोक्र्याटको कलहबाट निर्देशित रह्यो । यसै कलहले हिटलर र मुसोलिनीलाई जन्म दियो । द्वितीय महायुद्धको महासंहार भयो ।

द्वितीय महायुद्धले विश्वको राजनीतिक परिदृश्य फेर्‍यो । तेस्रो विश्वका अधिकांश मुलुकहरू विशेषगरी दक्षिण एसिया स्वाधीन भयो । फेवियन समाजवादमा विश्वास राख्‍ने जवाहरलाल नेहरु स्वाधीन भारतका प्रथम प्रधानमन्त्री भए । चीनमा माओ त्से तुङको नेतृत्वमा कम्युनिस्ट जनवादी गणतन्त्र कायम भयो ।

हिन्दुस्तानको स्वाधीनता संग्रामका सिलसिलामा सन् १९३४ मा पटनामा कांग्रेस सोसलिस्ट पार्टीको स्थापना भएको थियो । नेहरु यस आयोजनाको पृष्ठभूमिमा थिए तर आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र डा. राममनोहर लोहिया यसका मुख्य व्यक्तित्व थिए । उहाँहरू तीनै जना उच्चकोटिका चिन्तक हुनुहुन्थ्यो । मार्क्सवादका विद्वान हुनुहुन्थ्यो । तर सँगसँगै भारतीय परम्पराका जानकार हुनुहुन्थ्यो । भारतीय परिवेशमा समाजवादको स्वरूप के हुन सक्छ भन्‍ने विषयमा उहाँहरूले मौलिक सोच अगाडि ल्याउनुभयो । बीपी कोइराला पनि यस समूहसँग सम्बद्ध र प्रभावित हुनुभएको थियो ।

मुख्यत: जयप्रकाश नारायण र डा. लोहियाको प्रयासमा बर्मामा सन् १९५३ मा एसियाली समाजवादी सम्मेलन भयो । बीपी र किसुनजी त्यस सम्मेलनमा सहभागी हुनुहुन्थ्यो । त्यस एसियाली समाजवादी सम्मेलनमा जयप्रकाश नारायण र डा. लोहियाले समाजवादको सैद्धान्तिक स्पष्टीकरणका दिशामा अभिनव सोच अगाडि राखेका थिए । बर्माका उ वा स्वेले समाजवाद र बौद्ध दर्शनलाई गाँस्‍नुपर्छ भनेका थिए । अरू देशका नेताहरू पनि बोलेका थिए । बीपीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

डा. लोहियाको प्रस्तुति सर्वाधिक स्पष्ट, सुसम्बद्ध र ठोस थियो– एसियाले समाजवादको निर्माणका निम्ति आफ्नै बाटो खोज्‍नुपर्छ । बेलायत, जर्मनी र फ्रान्सको जस्तो औद्योगिकीकरण यहाँ हुन सक्दैन । त्यस्तो सम्पन्‍नताका लागि चाहिने प्रतिव्यक्ति पुँजी, सापेक्ष जनघनत्व र प्राकृतिक सम्पदा हामीसँग छैन । जे छ, श्रम छ । जो भएका श्रमको सदुपयोग गरेर पुँजी बनाउने भन्‍ने कुरा पनि गाह्रो छ । पश्चिमी देश तेस्रो विश्वलाई लुटेर सम्पन्‍न भएका हुन् । उपनिवेशबाट प्राप्त धनले पश्चिमी देशलाई सम्पन्‍न बनाएको हो । त्यो सम्पन्‍नताको नक्कल गर्न खोज्‍नु हुँदैन । हामीले समता, सादगी र सहकारी जीवनमूल्यलाई अपनाएर नौलो किसिमको समाजवाद बनाउन सक्छौँ । समाजवाद सहकारिताको दर्शन हो । यसैले सहकारी ग्रामीण श्रमलाई केन्द्रमा राखेर एसियायी अर्थतन्त्रको नवनिर्माण गर्नुपर्छ, पश्चिमको अनुकरण गरेर हाम्रो समस्या हल हुँदैन । स्मरणीय छ, आफ्ना आखिरी वर्षहरूमा बीपीले यो कुरा बारम्बार दोहोर्‍याउनु भएको छ ।

तर एसियायी सम्मेलनको अभियान तुहिएर गयो । यसै पनि द्वितीय महायुद्धपछिको कालखण्ड शीतयुद्धका चिसा र अँधेरा दिनहरू थिए । सोभियत रुस र अमेरिकाको सामरिक प्रतिस्पर्धाले सबै ग्रस्त थिए । अन्तत: यसै प्रतिस्पर्धाको फलस्वरूप सन् १९८९ मा सोभियत युनियन धराशयी भयो ।

सोभियत युनियन विघटन भएको आज लगभग तीस वर्ष पुगेको छ । यस तीस वर्षमा दुनियाँको कायापलट भएको छ । जनजीवनको प्रत्येक क्षेत्रलाई सूचना प्रविधिले आक्रान्त गरेको छ । कृत्रिम बुद्धि र कौशलले मानिस तिरिमिरी भएको छ । तर नयाँ कुरा हुँदैमा त्यो स्वागतयोग्य छ भन्‍ने छैन । पुरानो हुँदैमा त्याज्य हुँदैन । विकासको वर्तमान चरणमा मानिस चाहेर पुगेको होइन । घिसारिएर ल्याइएको छ । पुँजीवादी उत्पादन प्रणालीका हातमा मनुष्य एक कठपुतली भएको छ । तर स्वयं उसलाई यो याद छैन ।

फ्रान्सेली राज्य क्रान्तिको एक सय वर्षपछिको तिथि पारेर द्वितीय अन्तर्राष्ट्रियको स्थापना भएको थियो । द्वितीय अन्तर्राष्ट्रिय स्थापनाको एक सय वर्षमा सोभियत युनियनको विघटन हुनु पनि एउटा संयोग हो । सोभियत युनियनको विघटनका केही निश्चित कारण थिए । समाजवादले त्यो कारण पत्तो लगाएर अगाडि बढ्नुपर्ने थियो । विगत सय वर्षे ऐतिहासिक अनुभवको निचोड निकाल्नु त्यस समयका समाजवादी पार्टीहरूको कर्तव्य थियो । त्यति हुँदाहुँदै पनि सोभियत युनियनको विघटनले विश्वमा सबै थरीका समाजवादीहरूलाई निराश र किंकर्तव्यविमूढ मनस्थितिमा पुर्‍याइदियो । लगत्तैपछि दुनियाँमा बजारको सर्वज्ञता र सर्वोच्चताको हुइँया चल्यो । कतिले त इतिहासको अन्त्यसमेत भयो भने ।

सन् २००८ मा अमेरिकामा ठूलो आर्थिक मन्दी आयो । बजार व्यवस्थाको अराजकता ठूलासाना सबैले भोगे । राज्य र सरकारलाई गुहारियो । बजार व्यवस्थाको सर्वज्ञतालाई ठूलो धक्का लाग्यो । त्यसपछि हारेका, थाकेका समाजवादीहरू थोरै तग्रिंए तर नेपालमा अहिले पनि बजारवादको धङधङी छ ।

फ्रान्सेली राज्यक्रान्तिले राजनीतिक स्वतन्त्रता त दियो तर आर्थिक समानता दिन सकेन भन्‍ने चिन्ताका साथ समाजवादको राजनीति सुरु भएको थियो । तर कुरो यत्ति मात्र थिएन । लेनिनलगायतका क्रान्तिकारीहरूले अर्थवादको घोर विरोध गरका थिए । पुँजीवादले मनुष्यलाई मात्र देखावटी स्वतन्त्रता दिएको छ । मनुष्यका अन्तर्निहित सम्भावनालाई पुष्पित पल्लवित हुन दिएको छैन । आर्थिक स्वावलम्बन त्यस लक्ष्यका निम्ति एक अनिवार्य सर्त हो । तर त्यो पर्याप्त होइन भन्‍नेमा समाजवादको केन्द्रीय तर्क हो । यो कुरा दोहोर्‍याएर भन्नुपरेको छ– समाजवाद मनुष्यलाई सम्पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो । वृद्धिदर बढाउने मन्त्र होइन ।

बोल्सेभिक क्रान्तिका दौरान रोजा लक्जम्बर्गले उपयुक्त कुरा बुलन्द रूपमा उठाएकी थिइन् । नागरिक अधिकार र स्वतन्त्र आम चुनावलाई प्रतिबन्धित गरेर समाजवादको निर्माण हुन सक्दैन । उनको स्पष्ट कथन थियो– समाजवाद आधारभूत रूपमा नयाँ संस्कृति, सभ्यताको अभियान हो । त्यसलगत्तै एन्टोनियो ग्राम्स्कीले राज्य र क्रान्तिको सम्बन्धलाई लिएर वर्चस्व (हेजिमनी) को मौलिक सिद्धान्त प्रतिपादन गरेका थिए । स्तालिनको नेतृत्वमा हिँडिरहेको विश्व कम्युनिस्ट आन्दोलनले रोजा लक्जेम्बर्गको उपहास र विरोध गर्‍यो । ग्राम्स्कीको अस्तित्वलाई रेखांकित गर्ने कोसिस पनि गरेन । सोभियत युनियन विघटनको परिप्रेक्ष्यमा रोजा, ग्राम्स्की र अन्य अनेकानेक मेधावी चिन्तकहरूको अवदानलाई आत्मसात गरेर मात्र एक्काइसौँ शताब्दीको समाजवाद अगाडि बढ्न सक्छ ।

दोभान राईले महिला उत्पीडनको कुरा उठाउनुभएको छ । यो एक न्यायोचित र भावनाशील प्रश्न त हुँदै हो । तर यस समस्यालाई ऐतिहासिक तथा व्यापक सामाजिक परिप्रेक्ष्यमा बुझ्नुपर्छ । विगत दशकहरूमा महिला आन्दोलनले रुढ मार्क्सवादलाई जो चुनौती दिएका छन्, त्यो ठीक भएको छ । महिला आन्दोलनले उनीहरूले गरेको पारिवारिक श्रमको योगदानको हिसाब गर्न मार्क्सले भ्याएनन् भन्‍ने औँल्याएका छन् । मार्क्सवाद श्रमिकको गुणगान गरेर कहिल्यै थाकेन तर श्रमिकलाई जन्म दिने महिलाको योगदान उसले गनेन । यस्ता छलफलबाट प्रत्येक अग्रगामी आन्दोलन लाभान्वित भएका छन् । आज महिलावाद आफैँमा एक सशक्त विचारधारा भएको छ ।

महिला, दलित वा अन्य अल्पसंख्यकहरू आज किन सीमान्तीकृत भए अनि यो स्थिति कसरी आयो, कसले ल्यायो, कसरी निराकरण हुन्छ भन्‍ने सवालले फेरि हामीलाई समाजवादको व्यापक सरोकारको सम्झना गराउनैपर्छ ।

दक्षिण एसियाका समाजवादीहरूमध्ये डा लोहिया महिलाका प्रश्नबारे जागरुक हुनुहुन्थ्यो । उहाँले नै भारतीय पाठकलाई कदाचित पहिलो पटक सिमोन द बुभाएर पढाउनुभएको थियो । जन्मँदै कोही महिला दोस्रो दर्जाका प्राणी हुँदैनन् । समाज र संस्कृतिले महिलालाई यस्तो दर्जा दिन्छ भन्‍ने सिमनको कथनसँग लोहिया सहमत हुनुहुन्थ्यो ।

साठी वर्षभन्दा अघि नै उहाँको एउटा विचारोत्तेजक लेख छापिएको थियो । लेखमा द्रौपदी र सावित्रीको व्यक्तित्वको तुलनात्मक अध्ययन गरिएको थियो । द्रौपदी कि सावित्री भन्‍ने त्यस लेखमा डा. लोहिया पूर्णरुपेण द्रौपदीका साथ हुनुहुन्छ ।

महिला प्रश्नका दृष्टिले बीपीको उपन्यास तीन घुम्ती एक अनुपम कृति छ । औपन्यासिक अन्वितिको कुरा अहिले छाडिदिऔँ । उपन्यासमा नायिका इन्द्रमायाले पति पीताम्बरसँग सवाल–जवाफ गर्छिन् । इन्द्रमायाका शब्द खरा र स्पष्ट छन् ।

इन्द्रमाया भन्छिन्, ‘मेरो सतीत्व तिम्रो खाँचोको विषय पटक्कै होइन । त्यो त मेरो विषय पो हो । मेरो आस्थासँग सम्बन्ध राख्‍ने सती या असती जे हुन्छ, त्यो म पो हुन्छु । त्यसकारण म सती भएँ वा असती भएँ भन्‍ने त मैले निर्णय दिने कुरा पो हो । तिम्रो वास्ता त मेरो प्रेमसँग मात्र हुने होइन र, पिताम्बर ?’

डा. लोहियाले नरनारी समताको विषयमा अनेकन लेख लेख्नुभएको छ । महिला उत्पीडनका सांस्कृतिक, आर्थिक, सामाजिक सबै पक्ष केलाउनुभएको छ । त्यहाँ योनिशुचिताको प्रश्न उठेको छ । एउटा संस्थाका रूपमा विवाहको उपहास छ । तर त्यति मात्र छैन । मुख्य कुरो समाजवादी आन्दोलनको प्रहारको केन्द्र एक मात्र निजी सम्पत्ति होइन । आन्दोलनको एक मात्र स्वरूप वर्गसंघर्ष होइन । भारत र नेपालमा जाति व्यवस्थाको अत्याचार उस्तै क्रूर छ । भारतका पिछडाले आरक्षण पाएका हुन् । भाषा पनि शोषणको ठूलो हतियार हो । डा. लोहियाले नारी उत्पीडन सँगसँगै भाषा, जातीयता, रंगभेद, राष्ट्रिय विषमता र सबै किसिमका हतियार विशेषगरी आणविक हतियारविरुद्ध एकजुट भएर संघर्ष गर्न आह्वान गर्नुभएको थियो । डा. लोहियाले आफ्नो क्रान्ति आह्वानलाई सप्त क्रान्तिको संज्ञा दिनुभएको थियो । क्रान्ति एकांगी हुन सक्दैन । इन्द्रधनुषजस्तो सप्तरंगी हुनुपर्छ । महिला, दलित, जनजाति, पर्यावरण, अणु बम, निजी सम्पत्ति, भाषा र सबै सीमान्तीकृत अस्मिताको संघर्षलाई अँगालेर मात्र क्रान्ति अगाडि बढ्न सक्छ ।

डा. लोहियाको सबभन्दा महत्त्वपूर्ण एजेन्डा थियो– विश्व सरकार । सबभन्दा ठूलो सपना थियो, विश्वबाट भिसा प्रणाली अन्त्य होस् ।

बीपी भन्‍नुहुन्थ्यो– समाजवाद मूलत: एउटा नवीन सभ्यताको निर्माण हो । यो मात्र एउटा नयाँ राजनीति व्यवस्था होइन । फगत उत्पादन प्रणाली र वितरण व्यवस्था त हुँदै होइन । रवर्ट ओवेनले कडा परिश्रम गरेर कमाएको आफ्नो अकुत व्यक्तिगत सम्पत्ति समाजवादको सपनामा बगाएका थिए । उनले आफ्नै खर्चमा खडा गरेका कम्युन चलेनन् । त्यस्ता कम्युनहरू नचलेको परिप्रेक्ष्यमा मार्क्सले वैज्ञानिक समाजवादको कुरा झिके । कुनै एउटा व्यक्तिले बनाउँछु भनेर कहाँ हुन्छ ? समाजवादका निम्ति समय आउनुपर्छ । प्रचुर उत्पादन हुनुपर्छ भन्‍ने कुरा झिके । तर दोभान राईका शब्दमा भन्‍ने हो भने आजको विश्व अर्थहीन उत्पादन र अन्त्यहीन उपभोगको दुष्चक्रमा फसेको छ । यस दुष्चक्रले पर्यावरणवादलाई समाजवाद विमर्शको केन्द्रमा राखिनु अर्को अनिवार्यता भएको छ ।

उन्‍नाइसौँ शताब्दीमा जन्मिएका मार्क्स आफ्ना आखिरी वर्षहरूमा आर्थिक विषमतालाई लिएर चिन्तित थिए । युवा मार्क्सका निम्ति मनुष्यको स्वतन्त्रता र आत्मनिर्वासन मुख्य विषय थियो । निर्वाध र अन्त्यहीन उत्पादनले एक दिन प्रकृतिको विनाश गरेर मानव सभ्यता नाश गर्नेछ भन्‍ने सोच्‍ने त्यो जमाना थिएन । आजको उपभोक्तावाद कल्पनातीत थियो । नयाँ अनुभवको आलोकमा मार्क्सलाई परिस्कृत, परिमार्जित र परिवर्तित गर्नु हाम्रो दायित्व हो ।

रुसमा सोभियत व्यवस्था थालिएपछि मार्क्स र एंगेल्सको देवत्वकरण भयो । उनीहरूका हरेक शब्द वेदवाक्य भए । मानव जातिलाई जो चाहिने हो, त्यो मार्क्सले भनेकै छन् । त्यहाँ नभएको कुरा किन चाहियो भन्‍ने आग्रहका साथ विश्व कम्युनिस्ट आन्दोलन रुढिग्रस्त भयो । यो गलत थियो । नेपालमा पनि अहिले बीपी, मदन भण्डारी, पुष्पलालको नाम जपेर कांग्रेस, कम्युनिस्ट पार्टीभित्र मनपरितन्त्र चलेको छ । बीपीले कुनै समय भन्‍नुभएको थियो रे– एक चम्चा दूध बाँडेर कहाँ हुन्छ ? बीपीको यस असान्दर्भिक उद्धरणको भरमा हाम्रा अर्थमन्त्रीहरू भतुवा पुँजीवादका व्याख्याता भए । यो गलत हो । बीपीलाई हामीले आजको सन्दर्भमा बुझ्नुपर्छ । चम्चे दूध वा राजासँग घाँटी जोड्ने भन्‍ने कुरो आज हास्यास्पद भएको छ ।

कार्ल मार्क्स अथवा बीपीलाई बुझ्दा–बुझाउँदा एउटा असान्दर्भिक उद्धरण घोकेर हुँदैन । समाजवाद घोकन्ती विद्या होइन । यो एक सिर्जनात्मक आन्दोलन हो ।

समाजवादीहरूले इतिहासको गति बुझ्नुपर्छ । त्यसका साथ कदमताल गर्नुपर्छ ।

यस्ता नयाँ विषय कस्ता प्रकारले आइरहेका छन् भन्‍ने कुरा नेपाल साप्ताहिकको (माघ २६) मा प्रकाशित हरारीको लेखले देखाएको छ । असान्दर्भिक हुनु शोषित हुनुभन्दा पनि धेरै भयानक छ भन्‍ने उनको कथन छ । उनको सिंगो आलेखमा समाजवाद शब्दको प्रयोग छैन । तर उनले ठीक एक सय वर्षअघि लेखिएको रोजा लक्जम्बर्गको चेतावनीलाई दोहोर्‍याएका छन् । मनुष्यले छिटोभन्दा छिटो समाजवादी जीवनमूल्यलाई आत्मसात गर्नुपर्छ । होइन भने बर्बरताको विकल्प छैन । रोजा लक्जम्बर्गको चेतावनीलाई प्रतिध्वनित गर्दै हरारीले आफ्ना कुरा भनेका छन् । आजको विश्व कुन अवस्थामा बाँचिरहेको छ भन्‍ने कुरा हरारीले प्रभावशाली शैलीमा बताएका छन्– विश्व व्यवस्था अहिले त्यस्तो घर भएको छ, सबै यसमा बस्छन् तर कसैले मर्मत गर्दैनन् ।

अब केही वर्ष त हामीलाई यसले ओत देला तर हामीले यस्तै व्यवहार गरिरह्यौँ भने एक दिन यो घर ध्वस्त हुनेछ । मानव सभ्यता फेरि सर्वव्यापी युद्धको जंगलमा पुग्‍नेछ । त्यो जंगल कस्तो थियो भन्‍ने हामीले बिर्सिसकेका छौँ तर एक इतिहासकारका रूपमा मैले भनेको कुरा विश्वास गर्नुस्, तपाईं फेरि त्यहाँ फर्कन चाहनुहुन्न । त्यो तपाईंले कल्पना गर्न सक्नेभन्दा कैयौँ गुणा खराब अवस्था हो । हो, मानव जाति यस्तै जंगलमा उद्‍भव भयो, हुर्कियो, हजारौँ वर्ष त्यही बाँच्यो र त्यहीँ समृद्ध भयो । तर अहिले हामी त्यहाँ फर्कने हो भने हाम्रो जाति नै समाप्त हुन्छ ।

युवल नोआ हरारी एक युवा चिन्तक हुन् । सौभाग्यवश, उनले समस्या देखाएका मात्र छैनन्, समाधान पनि बताएका छन् । एक्काइसौँ शताब्दीका समस्याबारे उनको एउटा सिंगो किताब छ । समाधानका रूपमा उनले त्यहाँ अंग्रेजीको सीबाट सुरु हुने चार–सी लाई रेखांकित गरेका छन् । ती चार–सी यस प्रकार छन् :

१. क्रिटिकल थिङकिङ २. कम्युनिकेसन ३. कोलाबोरेसन ४. क्रियटिभिटी

मेरा विचारमा उनले यसमा एउटा अर्को सी पनि थप्‍नुपर्थ्यो । त्यो हो– कम्प्यासन (करुणा) ।

समाजवादी विचारधाराको इतिहासमा धेरै शास्त्रार्थ भएको छ । किताब खुब लेखिएका छन् । कार्ल मार्क्सले नै यो जन्जाल सुरु गरे । उनको पहिलो गम्भीर कृति दी पोभर्टी अफ फिलोसफी पु्रधोका विरुद्ध लेखिएको रचना थियो । फ्रेडरिक एंगेल्सले डाक्टर ड्युहरिङका विरुद्धमा एन्टी ड्युहरिङ लेखेर कीर्तिमान स्थापित गरे । लेनिनले गुरुतुल्य काउत्स्कीका निम्ति गद्दार शब्दको प्रयोग गरे । यस अस्वस्थ परम्परालाई मोहनविक्रमले गद्दार पुष्पलाल भनेर अगाडि सारे । नेपालको कम्युनिस्ट आन्दोलन आज पनि यसबाट प्रभावित छ । बीपी र सुवर्णको उदात्त मानवीयताले कांग्रेसलाई यति ज्यादा बिग्रन दिएन ।

शास्त्रको शुष्क विवादमा समाजवादको आत्मा मरेको छ । मार्क्स, लेनिन, बीपी र मदन भण्डारीको उद्धरणको ओइरो छ । तर उनीहरूको जीवनशैलीको कुरा हुँदैन । उनीहरूको मूल्य, मान्यता र उदात्त साहसिकता बिर्सिइएको छ ।

कुनै एउटा प्रचण्डपथ वा साइनिङ पाथले एउटा पन्थ बनाउन सक्छ । विचारधाराले एउटा बलियो राजनीतिक पार्टी बनाउन सक्छ । त्यो बलियो पार्टीले नेतालाई सत्तामा पुर्‍याउँछ तर समाजवाद बनाउन सक्दैन । समाजवाद मुख्यत: जीवनमूल्यसँग गाँसिएको कुरो हो । बर्मामा बोल्दै गर्दा जयप्रकाश नारायणले भन्‍नुभएको थियो– समाजवाद दस प्रतिशत मात्र सिद्धान्त हो, बाँकी ९० प्रतिशत व्यवहार हो । कहाँ छ, त्यो व्यवहार आज ?

लेनिनको गद्दार काउत्स्की पृुस्तकमा कतिपय राम्रा कुरा पनि छन् । सत्तामा जाने र राज्य कब्जा गर्ने विषयमा लेनिनले कार्ल काउत्स्कीलाई दुत्कारेका थिए । उनले भनेका छन्, ‘हामीले भएकै राज्य कब्जा गर्न खोजेको होइन, त्यसलाई नष्ट गर्ने हो ।’

अनि सर्वथा नयाँ किसिमको राज्य कायम गर्ने हो । त्यस नयाँ राज्यमा शासक र शासितको भेद समाप्त हुनेछ । दोहोर्‍याई–तेहेर्‍याई लेनिन भन्छन्, ‘पुराना शासकलाई हटाएर तिनका ठाउँमा बस्‍न जाने होइन, हामीले त सबै किसिमका शासकवादको निर्मूल गर्ने हो ।’ लेनिनले स्टेट एन्ड रेभोलुसन पुस्तकमा यस विचारलाई ज्यादा स्पष्ट रूपमा बताएका छन् । माओ त्से तुङले सांस्कृतिक क्रान्ति ताका यस पुस्तकबाट प्रेरणा लिएका थिए । आजका हाम्रा कांग्रेस र कम्युनिस्ट नेताले लेनिनका त्यस्ता पुस्तिकालाई घोरिएर पढ्नुपर्छ ।

तर आजका मितिमा यति मात्र भनेर पुग्दैन । कुरो नयाँ किसिमको राज्यको मात्र रहेन । नयाँ किसिमको सभ्यता अनिवार्य भएको छ । एउटा तथाकथित वैज्ञानिक विचारधाराले सरकार र राज्यका समीप पुर्‍याउन सक्छ । सभ्यता बनाउन सक्दैन । विश्व समाजवादी आन्दोलनले जन्मदेखि नै साम्राज्यवाद र पुँजीवादको विरोध गरेको छ । तर फेरि हामी उनीहरूद्वारा प्रतिपादित जीवनशैली र जीवनमूल्यको सम्मोहनमा आकण्ठ डुबेका छौँ । एक्काइसौँ शताब्दीको समाजवादले विश्व पुँजीवादको यस जिम्भिकास्त्रको उपचार खोज्‍नुपरेको छ । मोहपाशको भेदन गर्नुपरेको छ । त्यो कसरी होला ?

इटलीका नामी लेखक इग्‍नजियो सिलोनले लेखेका छन्, ‘यसो हेर्दा पुराना समाजवादीहरूबीचको संघर्ष नै अन्तिम क्रान्तिकारी अभियान होला । भूतपूर्व समाजवादी र असली समाजवाद एक दिन बाझिने छन् । त्यस दिन सम्झनुपर्ने हुन्छ, तर्क–वितर्कका आधारमा विचारधारा बनाउन सकिन्छ । तर संस्कृति बनाउन सक्दैन । सभ्यता बनाउन सक्दैन । नयाँ किसिमले बाँच्‍ने तरिका सिकाउन सकिँदैन । स्वतन्त्रताको अर्थ बुझाउन सकिँदैन । स्वातन्त्र्यबोध चाहिन्छ । स्वतन्त्रता तपाईंलाई कसैले सित्तैमा दिँदैन ।’ अन्त्य नभए पनि नेपालमा यो उद्धरण स्मरणीय भएको छ ।

प्रकाशित : भाद्र ५, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्

यथेच्छसि तथा कुरु !

बीपीले गीतामा महाभारतको विध्वंस मात्र देख्नुभयो । योगी अरविन्दले महाभारतको त्यस महायुद्धलाई नवोन्मेषकारी एवम् नवजागरणका संकेतका रूपमा व्याख्या गर्नुभएको छ ।
अध्यात्म भन्नाले सबभन्दा ठूलो कुरो मानिसले ढिलो-चाँडो आफूलाई सोध्नैपर्छ म को हुँ ? मेरो कर्तव्य के हो ? संसारमा कुन कुरो कर्तव्य र अकर्तव्य हुन्छ ? कुन कुरो गर्न हुने र नहुने काम हो ?
प्रदीप गिरि

राजधानीमा गत साता एउटा उल्लेखनीय आयोजना भयो । भारत संस्कृति केन्द्रको कुनै कार्यक्रममा महाराजा कर्ण सिंह आउनुभएको रहेछ ।केही समयअघि मेरो मित्र गोपालप्रसाद दुलालले कर्ण सिंहको आत्मकथा नेपालीमा अनुवाद गर्नुभएको थियो । मैले दिल्ली गएको मौका पारेर कर्ण सिंहलाई यस कुराको जानकारी दिएको थिएँ । कुरैकुरामा मैले उहाँलाई त्यस पुस्तकको लोकार्पणका निमित्त काठमाडौं आउन आमन्त्रित गरें । आखिर परिबन्दले गर्दा उहाँ आफै यता आउने हुँदा उक्त पुस्तकको लोकार्पणको चाँजो मिल्यो । १५ फरवरी २०१४ का दिन उक्त पुस्तकको लोकार्पण गरियो ।

लोकार्पण सँगसँगै हाम्रै अनुरोधमा कर्ण सिंहले सरल र सुवोध ढङ्गबाट 'गीता'का उपर पनि प्रवचन दिनुभयो । गीताका उपर हाम्रो परम्परामा प्रवचन अथवा टीकाटिप्पणीको कुनै अभाव छैन । आदि गुरु शंकराचार्यदेखि लिएर २१ औं शताब्दीमा छयाप्पछ्याप्ती देखापरेका अनेकन टेलिभिजन गुरुहरूसमेतले गीतामा बोल्ने गरेका छन् । गीतामा यसरी बोल्ने प्रयासमा राजनेताहरू पनि पछि रहनुभएको छैन । हुँदाहुँदै आधुनिक युगमा अरविन्द, तिलक, महात्मा गान्धी र विनोवा भावेले पनि भाष्य लेख्नुभएको छ । हाम्रो नेपालको हकमा बीपी कोइरालाले गीताका उपर स्वतन्त्र व्याख्या लेख्नुभएको छैन । तर आफ्नो जीवनयात्राको क्रममा उहाँले 'मोदिआइन' र 'हिटलर र यहुदी' भन्ने बहुचर्चित उपन्यासमा गीताको चर्चा गर्नुभएको छ । तर ती चर्चा विवादास्पद भए पनि अत्यन्त लोकप्रिय छन् भनेर भन्न सकिन्छ । गीताका उपर कर्ण सिंहको व्याख्यानको थालनी गर्ने क्रममा विद्वान् जयराज आचार्यले 'मोदिआइन'को लामो उल्लेख गर्नुभयो । उहाँले मोदिआइनको लामो उद्धरण पनि पढेर सुनाउनुभयो ।

कर्ण सिंहले आफ्नो प्रवचनमा मोदिआइनको उल्लेख गरेनन् । त्यसै मञ्चमा जयराजले आफूले अंग्रेजीमा अनुवाद गरिसकेको 'मोदिआइन'को एक प्रति कर्ण सिंहलाई दिनुभयो । कर्ण सिंह मूलतः राजनीतिक प्राणी हुनुहुन्छ । बीपी कोइराला पनि त्यस्तै नै हुनुहुन्थ्यो । यस्ता मानिसले गीताका बारे टीकाटिप्पणी गर्ने गरेको देख्दा यहाँ एउटा प्रश्न स्वाभाविक रूपले उठ्दछ । गीताका परम्परागत व्याख्याताहरू ज्यादातर विद्वान्-साधु वा योगी भएका छन् । उनीहरूको विद्वता पनि असन्दिग्ध छ । खासगरेर शंकराचार्य, रामानुजाचार्य प्रभृतिको विद्वताका उपर कसैले शंका गर्ने कुरै उठ्दैन । तर प्रश्न छ, गीतालाई हेर्दा एउटा विद्वान्हरूले टीका गर्नु र एउटा जीवन संग्राममा आकण्ठ रहेको मान्छेले टिप्पणी गर्नुमा के फरक हुन्छ त ? कर्ण सिंहले त्यस दिन राम्ररी सम्झाउनुभयो, गीताको प्रथम विशेषता भनेको नै युद्धभूमिमा त्यो उपदेश हुनु हो । बीपी कोइरालाले पनि युद्धभूमिकै पृष्ठभूमिलाई ध्यानमा राखेर गीताका उपर टिप्पणी गर्नुभएको छ । तर कर्ण सिंहले यसलाई अझ ठोस रूपमा यसको अर्थ अगाडि ल्याउनुभयो । खासमा गीतामा उपनिषद्मा भनिएकै कुरालाई प्रकारान्तरबाट भन्ने कोसिस गरिएको छ । स्वयम् गीताले यस कुरालाई स्वीकार गरेको छ । गीताको उपोद्घातमा नै हामीले स्पष्ट यो घोषणा भेट्दछौं । तर कर्ण सिंहका अनुसार उपनिषद्भन्दा एक कदम अगाडि बढेर गीताको महत्त्व यस कारणले हुन्छ किनभने यसले उपनिषद्को शिक्षालाई युगीन जीवनसंग्रामसँग जोडेको छ ।

अहिले वा उहिल्यैका विद्वान्हरू अथवा कर्ण सिंह, तिलक, गान्धी वा बीपी कोइरालाले गर्नुभएको टीका-टिप्पणीका उपर विशद् चर्चा गर्नु यस लेखको अभीष्ट पनि होइन । त्यस किसिमको सामथ्र्य प्रस्तुत पंक्तिकारमा छैन पनि । पंक्तिकारको मुख्य प्रश्न के हो भने गीताको दार्शनिक चिन्तनलाई जीवन संग्राममा ल्याउने प्रयास के-कति महत्त्वपूर्ण छ त ? वेदान्त र गीताले एउटा कुरा बारम्बार भनेको छ- यहाँ व्यक्त गरिएको निष्कर्षहरू तर्कगम्य छैनन् । यिनीहरू अनुभूतिजन्य मात्र छन् । कुनै व्यक्तिले गीताका बारेमा अथवा वेद-वेदान्तका बारेमा सयकडौं किताब पढेको हुन सक्छ । सयकडौं किताब पढेको आधारमा निजले हजारौं प्रवचन पनि गर्न सक्छन् । तर त्यहाँ व्यक्त गरिएका शिक्षालाई त्यस व्यक्तिविशेषले आफूले अनुभव गरेको छैन भने त्यस शिक्षाको मतलब के हुन्छ त ? त्यस शिक्षाको मतलब एक टिप्पणीकारका अनुसार चखिलो दालमा राखिएका एउटा निर्जीव डाडु वा पन्युजस्तै हुन्छ । डाडु दालको हण्डीमा रहेको हुन्छ । त्यसै डाडुका मद्दतले दाल बाँडिन्छ । तर दालको स्वाद डाडुले कहिल्यै पनि पाउँदैन, जिब्रोले पाउँछ । त्यो पनि स्वस्थ मानिसको जिब्रोले । त्यस हिसाबले गीता र उपनिषद्मा गरिएको विद्वतापूर्ण टिप्पणी खासै मतलब राख्दैनन् भन्ने सनातन मान्यता छ । यस सनातन मान्यताका दृष्टिले ठीक-बेठीक जे भन्नुभए पनि बीपी कोइरालाको भनाइ उहाँको आत्मसंघर्षको परिप्रेक्ष्यमा हेर्नुपर्छ ।

तद्नुरूप कर्ण सिंह वा बीपी कोइरालाको व्यक्तित्वबाट पृथक् राखेर उनीहरूले गरेको व्याख्यालाई शास्त्रसम्मत छ वा छैन भन्ने कसीमा हेर्‍यौं भने त्यो न्यायोचित हुने छैन । ज्यादातर हिन्दू शास्त्रहरूबारे लेखिएको कुनै भाष्य विशेष शास्त्रसम्मत छ-छैन, अझ वेदसम्मत छ-छैन भनेर अल्झिएका हुन्छन् । सबै टीकाहरू यस जंगलमा भड्किएका हुन्छन् । यो ठूलो समस्या हो । प्राचीनकालका विद्वान् शंकराचार्य, रामनुज, जीव गोस्वामी र वल्लभाचार्यदेखि लिएर अचेलका पण्डित यथा डा. विनोदरञ्जन बरालसमेतले गीता र भागवतको यस्तै टिप्पणी गर्नुहुन्छ । निजहरुले उक्त टिप्पणीलाई आफ्नो अनुभवभन्दा पनि शास्त्रसम्मत बनाउन खोजेका हुन्छन् । कर्ण सिंह वा बीपी कोइरालामा यी दुवै दोष छैन । होइन भने शास्त्रको कसीमा कर्ण सिंह र बीपीलाई मूल्यांकन गर्न खोज्ने हो भने दुवैको टिप्पणीको तर्कलाई खण्डन गर्ने केही अप्ठेरो छैन ।

बीपीले गीतामा महाभारतको विध्वंस मात्र देख्नुभयो । योगी अरविन्दले महाभारतको त्यस महायुद्धलाई नवोन्मेषकारी एवम् नवजागरणका संकेतका रूपमा व्याख्या गर्नुभएको छ । यो व्याख्या बीपी कोइरालाको व्याख्यासँग मिल्दैन । जीवनमा सुख मात्र खोज्ने, दुःखलाई नकार गर्ने, संसारमा जीवन मात्र खोज्ने, मृत्युको सत्यलाई स्वीकार नगर्ने मानिस पूर्ण मानिस हुँदैन भन्ने सनातन धर्मको धारणा छ । यो एउटा सानो तर्कमा बीपी कोइरालाको 'मोदिआइन'को सम्पूर्ण वेदना गौण भएर जान्छ । सनातन परम्परामा एकातिर सतत् बाँसुरी बजाएर प्रसन्न रहने कृष्णलाई परमेश्वर मानिएको छ भने अर्कोतिर विध्वंसकारी कालीको नृत्य पनि उनकै लीला हो भनेर अभ्यर्थना गरिएको छ । 'मोदिआइन'ले यस पक्षलाई हेरेको छैन । मानव जीवन दुःख र सुखको द्वन्द्वात्मक अनुभूतिमा अगाडि बढ्छ । दिन र रात एक-अर्काको पूरक भएझैं दुःख-सुख पनि जीवन यात्राका दुई अनिवार्य पाङ्ग्रा हुन् । यसै हिसाबले युद्ध र शान्तिलाई पनि हेर्नुपर्छ । युद्ध र हिंसाको तथ्यलाई नकारेर शान्तिलाई बुझ्न सकिंदैन । कतिपय इतिहासविद्ले युद्धलाई विकास र प्रगतिको आनिवार्य सर्तको रूपमा लिएका छन् । यस दृष्टिले हेर्दा बीपी कोइरालाको मोदिआइनको विलाप निरर्थक छ । यसको अर्थ मोदिआइनको प्रस्तुतिको सार्थकताका उपर प्रश्नचिन्ह लाग्दैन । कुरो यति हो, अत्यन्त सानो कलेवरको त्यस उपन्यासिका 'मोदिआइन'मा प्रतिपादित विषयप्रति न्याय गर्न सकिएको छैन । बरु यस सिलसिलामा एउटा शिक्षाप्रद प्रश्न उठाउन सकिन्छ- महाभारतको मुख्य प्रतिपाद्य विषय के हो ? के महाभारतले युद्धलाई गौरवान्वित गर्न खोजेको छ ? स्वयम् गीताले अहिंसा र क्षमाजस्तै अन्य 'सद्गुण'को कुरा उठाउँछ । महषिर्व्यासले आदि पर्वमा नै महाभारतको उद्देश्यको स्पष्टीकरण गरिसकेका छन् । आदि पर्वमा गृहस्थ आश्रमलाई श्रेष्ठतम आश्रम भनिएको छ, मोक्षको समेत त्यहाँ उल्लेख छैन । 'मोदिआइन' प्रकारान्तरले गृहस्थ-नारीको करुण क्रन्दन हो । कुनै पनि हालतमा क्षत्रीले ओछ्यानमा मर्नै हुँदैन भन्ने विश्वास भएका वीररसका प्रतिमूर्ति कर्णजस्ता योद्धाका निमित्त यस्तो क्रन्दनको कुनै मूल्य थिएन, त्यस युगमा । यस युगमा समेत घर-परिवार, पद, प्रतिष्ठा, पैसा समेतलाई सबै व्यर्थ ठान्ने मानिस मनज्ञ छन् । भर्तृहरिले यसै भावमा लेखेको 'तत् किम' भन्ने श्लोक यसै पनि हाम्रै संस्कृतिको एक पक्ष हो । यस्तो पृष्ठभूमिमा महाभारतकारले त्यस कृतिमा मुकुटमणिको रूपमा जडान गरेका भागवत गीतालाई कुनै एकाङ्गी दृष्टिबाट हेर्न सकिंदैन ।

आधुनिक युगका हामी राजनीतिक कार्यकर्ताले जीवनका यस्ता प्रश्नलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिंदैनौं । बीपी कोइराला र किसुनजीजस्ता अपवादलाई छोड्ने हो भने सामयिक राजनीतिक जीवनमा नैतिकताका सँगसँगै अध्यात्मको पनि लोप भएको छ । तर अध्यात्म जीवनको एउटा सत्य हो । आधुनिक मनोविज्ञानले पनि अध्यात्मको महत्त्वलाई अर्कै शब्दमा भए पनि स्वीकार गरेको छ । फ्रायडपछि पश्चिममा देखापरेका मनोविज्ञान वेत्तामध्ये अव्राहम म्यास्लो एक महत्त्वपूर्ण हस्तक्षेप मानिन्छ । अब्राहम म्यास्लोले फ्राइडियन मनोविश्लेषणको परम्परा अस्वीकार गरे । म्यास्लोका अनुसार फ्रायडले रोगी मानिसहरूलाई आफ्नो अध्ययनको केन्द्र बनाए । म्यास्लोले 'स्वस्थ मानिस'लाई केन्द्र बनाए । उनले आफ्ना जीवनकालमा भेटेका स्वस्थ मानिसको प्रवृत्तिलाई अध्ययन गर्न खोजे । आफ्ना जीवनकालभन्दा अघि पनि इतिहासबाट जानकारी लिएर स्वस्थ व्यक्तिहरूको स्वभाव अध्ययन गरे । त्यस्ता अध्ययन गर्दा उनले हिटलरलाई मात्र होइन, लिङ्कनलाई पनि अध्ययन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । स्टालिनलाई मात्र होइन, गान्धीलाई पनि अध्ययन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । लिङ्कन र गान्धी मानवताका परिपक्व-पुष्ट फल हुन् । त्यही कुरा हिटलर र स्टालिनका बारे भन्न सकिंदैन भन्ने म्यास्लोको निष्कर्ष छ । हिटलर र स्टालिनलाई एकै श्रेणीमा राख्दा यहाँ केही अन्याय गरेको बोध हुनेछ । त्यो होला । हिटलर त युद्ध पिपासु मात्र थिएनन्, कदाचित मनोरोगी थिए । तद्जनित परिस्थितिमा कतिपटक मनोरोगी पनि सर्वेसर्वा शासक भएका छन् । समाजले यस्ता तथ्यतर्फ ध्यान दिनुपर्छ । राजनीतिमा नैतिकता नभएको कुरा हामी सधैं सुन्दछौं । वास्तवमा आजको युगमा जनजीवनबाट नैतिकताको विमर्शसमेत विलीन भएको छ । त्यसैले त्यस्तो स्थिति ल्याउँछ ।

सत्ताको नामूद खेलाडीहरूलाई यस प्रश्नसँग उल्झिने खाँचो पनि हुँदैन, समय पनि हुँदैन । तर यस प्रश्नसँग ढिलो-चाँडो नउल्झिने हो भने मनुष्य अपूर्ण रहन्छ । विकासक्रममा मानिस अमिबाबाट यहाँ आइपुगेको छ । तर मानिसको विकासको यो अन्तिम खुड्किलो होइन । मानिस योभन्दा पनि अगाडि बढ्नैपर्छ । अरविन्दका शब्दमा भन्ने हो भने मनुष्य एउटा असमाप्त प्राणी हो । आज गीताका उपर यो टिप्पणी गर्ने क्रममा मुख्यतः अध्यात्मिक जिज्ञासा र नैतिकताको सम्बन्ध गाँस्न खोजिएको हो । नैतिकताको उत्स अन्ततः अध्यात्म नै हुन्छ । कमसे कम सर्वसाधारणका लागि यही हुन्छ । अध्यात्म भन्नाले यहाँ पूजा-आजा, मन्दिर मात्र भन्न खोजिएको होइन । अध्यात्म भन्नाले सबभन्दा ठूलो कुरो मानिसले ढिलो-चाँडो आफूलाई सोध्नैपर्छ म को हुँ ? मेरो कर्तव्य के हो ? संसारमा कुन कुरो कर्तव्य र अकर्तव्य हुन्छ ? कुन कुरो गर्न हुने र नहुने काम हो ? यस्ता जिज्ञासाबिना मानिसको जीवन सार्थक हुँदैन भन्ने अब्राहम म्यास्लोको ठहर छ । गीताको केन्द्रीय प्रश्न पनि यही नै हो । युगौंदेखि साधु-संन्यासी-कवि-द्रष्टाले यस्ता प्रश्न जीवित राखेका थिए । अहिले यी प्रश्न समाजमा छैनन् ।

भीष्म र द्रोणलाई मार्न मन लागेन भनेर अर्जुनले धनुष फ्याँकिदिएको घडीदेखि गीताको अन्तिम अध्यायसम्म अर्जुनले बारम्बार कर्म-अकर्मका अन्तरका बारे कृष्णलाई पछ्याएका छन् । अर्जुन शिष्य पनि नामूद थिए । कृष्णले दिएको कुनै जवाफलाई उनले सजिलै स्वीकार गर्दैनथिए । कृष्णले दिनुभएको अन्तिम जवाफ मेरो पछि लाग भने र अर्जुन बिल्कुलै आविष्ट मोहच्छन्न र यन्त्रवत् भएर युद्धका निमित्त लागे भन्ने व्याख्या त्यति सजिलो छैन । गीताका आखिरी श्लोकहरूमा 'मामेकं शरणं ब्रज' अवश्य भनिएको छ । तर लगत्तै अघिको श्लोकमा 'यथेच्छसि तथा कुरु' समेत भनिएको छ । यति मात्र होइन, सिंगो महाभारतका कृष्णमा अनेक अन्तरविरोध छर्लङ्ग भेटिन्छ । त्यसको प्रतिविम्ब गीतामा पनि छ । तर अन्ततः गीता एक समन्वयपरक पुस्तिका छ । होइन भने कुनै पनि एक श्लोक पढेर अर्को श्लोक प्रतिवाद गर्न सकिन्छ । फेरि अर्जुन सजिलै र सोझो बाटोबाट 'करिष्ये वचनं तव'मा कदापि पुगेका छैनन् ।

बीपी कोइरालालाई आजीवन अस्तित्ववादको पश्चिमा दर्शनले घचघच्यायो । अबलेयर कामुका उपर उहाँको दुई/तीन लेख पनि उपलब्ध छ । अस्तित्ववादका यावत् परम्परा 'यथेच्छसि तथा कुरु'बाट अभिप्रेरित छन् । स्वयम् बीपी कोइरालाको जीवन र खास गरेर मेलमिलापको ऐतिहासिक निर्णय यसको उत्कृष्ट उदाहरण छ । 'मोदिआइन'को प्रस्तुतिमा कोइरालाको यो पक्ष छैन । नत्र कृष्ण-अर्जुनको त्यो रोमहर्षक संवाद बीपी कोइरालाले पृथक् ढङ्गबाट हेर्नुहुन्थ्यो कि ? गीताको 'यथेच्छसि तथा कुरु' भन्ने सम्झँदा कृष्णले मोहित गरेर अर्जुनलाई लडाइँमा लगाए भन्ने मोदिआइनको तर्क ठीक ठहरिंदैन । तर सत्यको एक पक्ष मात्र देख्नु सायद मानव जातिको नियति नै हो । मानिसजस्तै महान् किन नहोस् बीपी कोइराला, गान्धी, कर्ण सिंह र तिलक आ-आफ्नो जीवनका अनुभवले गर्दा कहिल्यै पनि एक ठाउँमा हिंड्न सक्ने रहनेछन् । यसैले आजको राजनीतिको यस्तै क्रूर रूप छ । आज एमाओवादी, एमाले र कांग्रेसको बानी-व्यहोरा र विचारधारा हेर्दा धेरै फरक देखिंदैन । खासगरी एमाले र कांग्रेसको विचारधारा त झन् नजिक देखिन्छ । तर दृष्टिमा अहम् प्रवेश भएपछि कांग्रेस र एमाले पनि आज मुलुकमा मिल्नै नसक्ने शक्ति भएका छन् । गान्धी, कर्ण सिंह र बीपी कोइरालाको समानान्तर व्याख्याले यस तथ्यलाई स्वीकार गरेर राजनीतिक शक्तिहरूलाई केही नजिक ल्याउन सकिन्छ ? नजिक नआए पनि राजनीतिक शक्तिले जीवनको अधुरो पाटो अध्यात्ममा ध्यान पनि दिनुपर्छ भन्ने घचघचाउँछ कि ! त्यसका निमित्त अरू केही नभए पनि गीता, उपनिषद् वा धर्म परम्पराका उपर यस्ता प्रवचन सामयिक र वाञ्छनीय भइरहनेछन् ।

  • २०७० फागुन १६ गतेको कान्तिपुरको कोसेलीमा प्रकाशित गिरिको लेख । उनको लेखनीको सम्झनास्वरुप अर्काइभबाट पुनः प्रकाशित गरिएको हो ।

प्रकाशित : भाद्र ५, २०७९ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×