कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिने बिदाले विद्यालय शिक्षामा पार्ने असर

सिकाइमा असमानताहरु बढ्दै गएको तथा विद्यार्थीको सिकाइस्तर कमजोर भइरहेको विद्यमान अवस्थामा घटाइएको विद्यालय समयलाई गुणस्तरीय बनाउने काम निकै चुनौतिपूर्ण छ
देवीराम आचार्य

काठमाडौँ — पृष्ठभूमिमा जेजस्ता कारण र परिस्थिति भए पनि सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने र विद्यालयहरुमा पनि त्यसलाई लागू गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार अब विद्यालयहरु सातामा पाँच दिनमात्र सञ्चालन हुनेछन् ।

दुई दिने बिदाले विद्यालय शिक्षामा पार्ने असर

विद्यालय समय पहिलेकै जस्तो दशदेखि चार बजेसम्म (६ घण्टा) हुनेछ । विद्यालयमा हुने शिक्षण सिकाइको समय कम हुने, तोकिएको पाठ्यवस्तु शिक्षण सिकाइ गर्न नसकिने, तोकिएको पाठ्यघण्टा पुर्‍याउन कठीन हुने तथा यो अव्यवहारिक र हचुवामा गरिएको निर्णय भनेर यसको आलोचना भइरहेको छ । केन्द्रमा संस्थागत विद्यालय सञ्चालकहरुको छाता सङ्गठन एन–प्याव्सनले नमान्ने र प्याव्सनले मान्ने गरी विज्ञप्ती जारी गरेका छन् भने काठमाडौँ जिल्लाका दुवैले पालना नगर्ने भएका छन् ।

विद्यालयमा बिताउने समय बढाउँदा विद्यार्थीको सिकाइ क्षमता बढ्छ भन्ने विश्वास गरिन्छ र यसो गर्नु स्वाभाविक पनि हो । अनुसन्धानहरुले विद्यालयमा बिताउने समय र विद्यार्थीको उपलब्धि बीचको सिकाइ सम्बन्धमा मिश्रित खालका नतिजाहरु देखाएका छन् । संसारमै राम्रो विद्यालय शिक्षा भएको देश फिनल्याण्डमा सबैभन्दा कम समय विद्यार्थीहरुले विद्यालयमा बिताउँछन् भने चीनमा सबैभन्दा धेरै समय बिताउँछन् । विद्यार्थीको सिकाइका लागि उनीहरुले विद्यालयमा कति समय बिताउने भन्दा पनि महत्वपूर्ण विषय त्यो समय कसरी बिताउने भन्ने हुन्छ ।

नेपालको सामुदायिक विद्यालयको सिकाइ उपलब्धि समग्रमा अहिले पनि कमजोर छ । दुई वर्षसम्मको कोभिड महामारीले विद्यार्थीको सिकाइमा क्षति पुगेको छ । कोभिडले सिकाइस्तरमा यति नै क्षति भएको छ भन्ने कुनै विश्वसनीय अनुसन्धान र तथ्याङ्क उपलब्ध नभए पनि स्थानीय पालिकाहरुले सञ्चालन गरेको कक्षा ८ को आधारभूत परीक्षाको नतिजा निकै कमजोर रहेको प्रारम्भिक तथ्याङ्कहरु उपलब्ध भएका छन् । पङ्तिकारले सङ्कलन गरेको ३ वटा प्रदेशका ३ वटा पालिकाको नतिजाअनुसार तोकिएको ग्रेड ल्याएर उत्तीर्ण हुनेको संख्या ५–१५ प्रतिशतमात्र रहेको छ ।

विद्यालय खुल्ने दिन र पठनपाठन हुने सन्दर्भमा संसारभर नै फरकफरक अभ्यास छन् । नेपालमा पनि केही संस्थागत विद्यालयहरुले पहिलेदेखि नै सातामा पाँच दिनमात्र विद्यालय सञ्चालन गर्दै आइरहेका छन् । तर उनीहरुको शिक्षण सिकाइ योजना र शैक्षिक कार्यपात्रो सोहीअनुसार व्यवस्थित गरिएको हुन्छ र प्रभावकारी कार्यान्वयन गरिन्छ । आइतबार शिक्षकको विदा नगरी हप्ताभरिको लागि पाठयोजना, सिकाइ सामग्री निर्माण र क्षमता विकास गरिन्छ । सबै सार्वजनिक संस्थाहरुमा दुई दिन विदा हुँदा विद्यालय वा शैक्षिक संस्थामा त्यस्तो विदा आवश्यक हो/होइन ? के विद्यालय र अन्य सेवा प्रवाह गर्ने संस्थाको कामको प्रकृति एउटै हुनसक्छ ? के अन्य सार्वजनिक संस्थाहरु र शैक्षिक संस्थाको कार्यप्रक्रिया, उद्देश्य र त्यसबाट उपलब्ध हुने नतिजा एकै प्रकृतिको हो ? विद्यालय तथा शैक्षिक संस्था र अन्य कुनै पनि सार्वजनिक निकायको कार्यप्रणाली, कार्यप्रक्रिया र उद्देश्य एकैप्रकारको हुँदैन ।

शैक्षिक संस्थाको सञ्चालन प्रक्रिया अन्य संस्थाहरुजस्तै बनाउन खोजियो भने त्यसबाट अपेक्षित नतिजा हासिल गर्न सकिँदैन । अन्य सरकारी कर्मचारीलाई विदा हुँदा शिक्षकलाई किन नहुने र अन्य संस्था दुई दिन विदा हुँदा शैक्षिक संस्था किन नहुने भनेर तर्क गरियो भने त्यो सान्दर्भिक हुन सक्दैन । विद्यालय सञ्चालन हप्तामा पाँच दिन गर्न सकिन्छ, तर त्यसको कार्यप्रक्रिया फरक हुन्छ ।

विद्यालयमा कति समय विदा दिने, कति समय सञ्चालन गर्ने र शिक्षक, कर्मचारीको व्यवस्थापनका सम्बन्धमा अन्य सार्वजनिक संस्थासँग तुलना गर्न मिल्दैन र गर्नु हुँदैन । शैक्षिक संस्थाहरूको सञ्चालन गर्ने विधि र प्रक्रियाको प्रभावकारी ढाँचाको विकास गरिनु पर्छ । बालबालिकाले विद्यालयमा गुणस्तरीय समय बिताउन सके र विद्यालयहरु जे जति समय सञ्चालन हुन्छन् त्यो समयमा गुणस्तरीय शिक्षण सिकाइ हुन सक्ने हो भने पाँच दिन विद्यालय सञ्चालन हुँदा धेरै समस्या छैन । तर हालको विद्यालय तहको पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तकहरु सबै सातामा ६ दिन र १०–४ बजेसम्म सञ्चालन हुनेगरी विकास गरिएको छ । पाठ्यघण्टा सोहीअनुसार निर्धारण गरिएको छ । थुप्रै औपचारिक तथा अनौपचारिक अध्ययनहरुले धेरै विद्यालयमा विगतमा पनि तोकिएको सयम विद्यालय सञ्चालन हुन नसकेको देखाएका छन् । शिक्षकहरुले कक्षाकोठामा बिताउने समयमा समस्या समयको अनुगमन गर्ने र त्यसका आधारमा अनुदान दिने व्यवस्था गरिएको विद्यमान अवस्थाले कक्षाकोठाको समयमा गुणस्तरीयता नभएको संकेत गर्छ ।

ओइसिडिले गरेको ‘विद्यार्थीका लागि गुणस्तरीय सिकाइ समयः विद्यालय र विद्यालय बाहिर’ प्रतिवेदनमा विभिन्न देशमा पढाइ हुने समयको तुलना गरिएको छ । विकसित देशहरुमा विद्यार्थीले विद्यालयमा बिताउने समय कम भए पनि उनीहरुले सिकाइमा बिताउने समय भने धेरै भएको उल्लेख गरेको छ । हाम्रो जस्तो ग्रामीण परिवेश भएको मुलुकका अभिभावकको अवस्थाले विद्यालय बाहिरको समयमा बालबालिकाले सिकाइमा समय दिन सक्दैनन् । सिकाइका लागि विद्यालयमै भर पर्नु पर्छ । यस्तो अवस्थामा विद्यालयको गुणस्तरीय समयको महत्वपूर्ण भूमिका हुन्छ । कक्षाकोठाभित्रको शिक्षण सिकाइको गुणस्तर र त्यसका लागि शिक्षकको क्षमता, तयारी तथा उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षणका लागि विद्यालयको न्यूनतम पूर्वाधार र व्यवसायिक गुणयुक्त शिक्षकको उपलब्धता महत्वपूर्ण हुन्छ । दुई वर्षको कोभिडले सिकाइमा पारेको क्षति थोरै भए पनि न्यूनीकरण गर्ने अभिप्रायले गतवर्ष केही पालिकाहरुले घटस्थापनापछि थप ३/४ दिनमात्र विद्यालयको पठनपाठन सञ्चालन गर्न खोज्दा त्यसको विरोध भएको र कार्यान्वयन गर्न जटिल भएको परिवेशले हाम्रा लागि विद्यालयमा थप समय काम गर्ने विषय निकै जटिल छ भन्ने देखाउँछ । हाम्रो पाठ्यक्रमको विषयवस्तु अहिले पनि धेरै भएको र पुरै पाठ पढाउन समस्या भएको भन्ने गरिन्छ । पङ्तिकारले विभिन्न विषयका १० जना शिक्षकसँग गरेको कुराकानीमा तोकिएको पाठ्यवस्तु शिक्षण गरेर सक्न कठीन हुने बताए ।

हप्ताको ६ दिनका लागि निर्धारण गरिएको पाठ्यक्रम र पाठ्यवस्तुलाई पाँच दिनको सोही समयमै समायोजन गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै विद्यार्थीको सिकाइस्तर सुनिश्चित गर्न पक्कै पनि चुनौतिपूर्ण रहेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु चुनिदै गर्दा संविधानतः विद्यालय शिक्षाको अधिकार हाम्रो हो, हामी ६ दिन नै विद्यालय सञ्चालन गर्छौ भन्ने अवस्था पनि आउन सक्छ । यो आलेख तयार गर्दासम्म भक्तपुर, तार्केश्वर, गोदावरी, जिरी, वीरेन्द्रनगर लगायतका एक दर्जनभन्दा बढी पालिकाले आइतबारको विदा कार्यान्वय नगर्न निर्देशन जारी गरेका छन् र सामाजिक सञ्जालमा त्यसको धेरै प्रशंसा भइरहेको छ । प्रश्न के पनि उठेको छ भने विद्यालय कति दिन खोल्ने भन्ने आदेश कसले दिने ? संविधानको अनसूचीअनुसार पालिकाको मान्नुपर्ने हो भने पालिकाले पनि संघीय सरकारको निर्देशन पालना गर्नुपर्ने होला ।

विद्यालयमा कति दिन, कति घण्टा पठनपाठन भयो भन्नुभन्दा पनि गुणस्तरीय सिकाइ भएको छ/छैन ? अपेक्षित सिकाइ उपलब्धि हासिल भएको छ/छैन र पाठ्यक्रमले निर्धारण गरेको पाठ्यवस्तु पढाएर सकिएको छ/छैन भन्ने महत्वपूर्ण हुन्छ । कोभिड महामारीले सिकाइमा पुगेको क्षति न्यूनीकरणका लागि थप शिक्षण सिकाइ योजना तयार हुनुपर्ने अवस्थामा विद्यालय समय घटेको छ, यसले हाम्रो विद्यार्थीको सिकाइमा थुप्रै चुनौतीहरू सिर्जना गर्ने छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक सत्र २०७६ को अन्त्यमा सामुदायिक विद्यालयका कक्षा ३ का विद्यार्थीहरुमा गरेको अध्ययनले १९ प्रतिशत बालबालिकाले नेपाली भाषाको अनुच्छेद शुद्धसँग पढ्न सक्ने र ९ प्रतिशतले तोकिएको पठन सक्षमता हासिल गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । यस्तै विश्व बैङ्कले २०७७ मा विभिन्न दशवटा पालिकामा गरेको लघु अनुसन्धानमा कक्षा ३ का चार प्रतिशत बालबालिकाले मात्र गणितका आधारभूत सीप (गुणन, भाग) सिकेको उल्लेख गरेको छ । सिकाइमा असमानताहरु बढ्दै गएको तथा विद्यार्थीको सिकाइस्तर कमजोर भइरहेको विद्यमान अवस्थामा घटाइएको विद्यालय समयलाई गुणस्तरीय बनाउने काम निकै चुनौतिपूर्ण छ । विभिन्न बहानामा शिक्षण सिकाइमा अवरोध नगर्ने तथा प्रदेश र स्थानीय तहले थप विदाहरु दिने सवालमा विशेष ध्यान दिनुपर्छ । स्थानीय सरकारहरुले तय गर्ने प्रभावकारी रणनीति र शिक्षकहरुको क्षमता विकास, उत्प्रेरणा र व्यवसायिकता र शैक्षिक जवाफदेहितालाई प्रभावकारी बनाउनु तत्कालको आवश्यकता हो । दीर्घकालका लागि पनि यसको व्यवहारिक कार्यान्वयन र जटिलताका सवालमा थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ । हालको कमजोर सिकाइ अवस्थालाई हप्तामा दुई दिन विदा दिने सरकारी निर्णयले थप कमजोर नबनाओस् भन्नेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?