२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

निर्वाचनमा मिथ्या सूचनाको चुनौती

अमेरिकी अनुसन्धाता माइक कउलफिल्डले ‘सिफ्ट’ नामक विधिको विकास गरेका छन् । अर्थात् कुनै सामग्री देख्ने बित्तिकै शेयर गरिनहालौं, आफूलाई रोकौं । त्यसपछि आफैं त्यसको खोजी गरौं र त्यसमा गरिएका दाबी वा भनाइको मूल स्रोत पत्ता लगा‌‌औं । उनका अनुसार यो विधि प्रयोग गरिएमा गलत र भ्रामक सामग्रीको शिकार हुनबाट बच्न सकिन्छ ।
दीपक अधिकारी

गुडिरहेको गाडिभित्र रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई एक युवती (जसको आवाजमात्र सुनिन्छ) प्रश्न गर्छिन्, 'हजुरले आचार संहिता उल्लंघन गर्न पाउनुहुन्छ ? मलाई भन्नुस् । फोर्टी एट आवर्सदेखि आचारसंहिता उल्लंघन गर्न पाइँदैन भन्ने आइरछ न्युजहरुमा ।' दिक्क मानेजस्तो गर्दै थापा जवाफ दिन्छन्, 'ए बैनी, हे भगवान, मैले के पाउँछु, के पाउँदिन, राम्रोसँग थाहा छ । कस्तो डराएको तपाईंहरु ? नडराउनुस् ।' त्यसपछि गगन थापा मुर्दावाद भनी नारा लगाइएको सुनिन्छ । 

निर्वाचनमा मिथ्या सूचनाको चुनौती

यो भिडियो क्लिप गत चैत पहिलो साता केही ट्वीटर र फेसबुक प्रयोगकर्ताले शेयर गरेका थिए । सो क्लिपसँगै यस्तो सामग्री पनि शेयर गरिएको थियो, 'गगन थापा उर्फ बाख्रा चोरलाई आज रामधुलाई सहित बाँदर लखेटेझै लखेटियो । जनता अब जागिसक्यो । यसलाई जहाँ भेट्छ, त्यही ठोके हुन्छ ।'

उक्त भिडियो क्लिप चार वर्षअघिको भएको फेला परेको छ । २०७४ साल वैशाख ३० गते स्थानीय निर्वाचनको अघिल्लो दिन थापा काठमाडौं कपनस्थित एक आफन्तको घरबाट फर्किदै थिए । त्यस क्रममा पार्टीहरुका सहकर्मीहरु भेटेपछि आफूमाथि आचार संहिता उलंघनको आरोप लागेका उनले त्यसपछिको एक भिडियो सन्देशमा बताएका थिए । बाटोमा एमाले समर्थक र कार्यकर्ताले नाराबाजी गरेको र स्थिति नभड्कियोस् भनेर आफू बाटो लागेको उनले बताएका थिए ।

चार वर्षअघिको भिडियो क्लिप आसन्न चुनाव अघि शेयर गरिनुले भ्रामक सूचना फैलाउन कुनै समूह वा व्यक्ति लागिरहेको प्रष्ट हुन्छ । कसरी फैलाइन्छ त इन्टरनेटमा भ्रम ? माथिको उदाहरणलाई केलाउँदा प्रष्ट हुन्छ, सन्दर्भ नखुलाइकन पुरानो फोटो/भिडियो अहिलेको झै‌ं गरी शेयर गरिन्छ । यस्ता भिडियो/फोटो सामाजिक सञ्जाल प्रयोगकर्ताले छिटो शेयर गर्छन् । कतिपय अवस्थामा विपक्षी दललाई नराम्रो देखाउने सामग्री नियतवश फैलाइएको हुन्छ ।

मुलुक निर्वाचनमा होमिँदै‌ गर्दा इन्टरनेटको माध्यमबाट फैलिने मिथ्या र भ्रामक सूचना ठूलो चुनौतीको रुपमा देखा परेको छ । आगामी चुनावमा सामाजिक सञ्जाल कसरी भ्रम फैलाउन प्रयोग गरिन सक्छन् भन्ने कुराको संकेत पनि माथि उल्लेखित भिडियो क्लिपको विश्लेषणबाट देखिन्छ । स्मार्टफोनको व्यापक प्रयोग र त्यसमार्फत इन्टरनेटमा ठूलो संख्या जोडिएकोले आउँदो निर्वाचनमा सामाजिक सञ्जालको बढी प्रयोग हुने निश्चित छ । त्यो किन पनि भने, कोरोना भाइरस फैलिएसँगै सामाजिक सञ्जाल सूचना र समाचारको प्रमुख माध्यम भएको छ । कोभिड सम्बन्धी कतिपय भ्रामक सूचनाका कारण मानिसको ज्यानसम्म जानसक्ने वा कोभिडबाट संक्रमण हुनसक्ने विभिन्न अध्ययनबाट देखिएको छ । अहिले कोरोनाको संक्रमण घट्दै गएको छ तर सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक भ्रम फैलाएर दल वा उम्मेद्वारले मतदातालाई प्रभावित पार्नसक्ने टड्कारो सम्भावना छ ।

विगतका निर्वाचनमा प्रचारका परम्परागत तौर तरिका (जस्तै तुल, ब्यानर, आमसभा, घरदैलो कार्यक्रम) को प्रयोग बढी हुन्थ्यो भने आगामी चुनावमा अनलाइन र सामाजिक सञ्जाललाई प्रचार प्रसारका लागि प्रयोग गरिनेछ । आफ्नो प्रचार प्रसार गर्ने क्रममा दल र तिनका उम्मेदवारले गलत, भ्रामक र मिथ्या सूचना पनि फैलाउँछन् । मुलतः पाँच किसिमका समूहहरुले निर्वाचनको समयमा गलत र भ्रामक सूचना फैलाउने गरेको अमेरिकाको नेसनल डेमोक्रेटिक इन्स्टिच्युट, इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट र स्ट्यानफोर्ड विश्वविद्यालयले गरेको एक अध्ययनमा उल्लेख छ । सन् २०२१ को सेप्टेम्बरमा प्रकाशित ‘कम्ब्याटिङ इन्फर्मेसन म्यानिपुलेसन: अ प्लेबुक फर इलेक्सन्स एण्ड बियोण्ड’ शीर्षकको सो अध्ययनले चुनावका दौरान राजनीतिक दलहरु, घृणा फैलाउने उग्र समूहहरु, सरकार, विदेशी शक्ति, दल आवद्ध वा निकट सञ्चारमाध्यम आदिले भ्रम फैलाउने जनाएको छ ।

यी सबैका आ–आफ्ना स्वार्थ हुन्छन् । सबैको उद्देश्य सूचना र समाचारलाई आफ्नो अनुकुल व्याख्या गर्ने, भइरहेका घटनाक्रमलाई आफ्नो पक्षमा पार्न कोसिस गर्ने र चुनावको परिणामलाई प्रभावित पार्ने हुन्छ । चुनाव अघि, चुनावका दौरान र चुनावपछि पनि भ्रामक र मिथ्या सूचना फैलिन्छन् ।

यस्ता गलत सूचनालाई खासगरी तीन तरिकाले वर्गीकरण गर्न सकिन्छ ।

मिसइन्फर्मेसन: राम्रो उद्देश्यका साथ शेयर गरिएको गलत सामग्री

यसमा खराब नियत वा कसैलाई हानि पुर्‍याउने उद्देश्य हुँदैन । यो सर्वसाधारणले बढी फैलाउँछन् । उदाहरणका लागि कोभिडको असर कम गर्ने कुनै घरेलु उपचार । यस्तो सामग्री राम्रो मनसाय राखेर शेयर गरिएको हुन्छ । तर त्यस्तो सूचनाका आधारमा कदम चालिनु हानिकारक हुनसक्छ किनभने यस्ता सामग्रीको प्रभावबारे अध्ययन अनुसन्धान गरिएको हुँदैन । यसमा आफूलाई मन परेर वा मन छुने भएकाले शेयर गरिएका फोटो, भिडियो वा मिम (हँसाउनका लागि बनाइएका इन्टरनेट सामग्री) आदि पर्दछन् । यसमा प्रयोगकर्ता झुक्किएको वा उसले गल्ती गरेको हुन्छ ।

डिसइन्फर्मेसन: गलत उद्देश्यका साथ शेयर गरिएको सामग्री

यसमा खराब नियत वा कसैलाई हानि पुर्‍याउने उद्देश्य हुन्छ । यसलाई संगठित समूह, सरकार वा राजनीतिक दलले बढी फैलाउँछन् । निर्वाचनको समयमा डिसइन्फर्मेसन बढी फैलिन सक्छ किनभने त्यसबेला राजनीतिक दल वा तिनका समर्थकले विरोधीलाई असक्षम वा कमजोर र आफू अब्बल देखाउने कोसिस गरिरहेका हुन्छन् ।

मालइन्फर्मेसन: दुष्प्रचार अर्थात् सही सूचनालाई गलत उद्देश्यका साथ प्रयोग गर्ने

उदाहरणका लागि विकिलिक्समा उपलब्ध सूचना सही हुनसक्छ तर त्यसलाई आफ्ना विपक्षीलाई नराम्रो देखाउन प्रयोग गरिन्छ । चुनावको समयमा यसको अधिक प्रयोग हुन्छ । चुनावका बेला बढी प्रयोग गरिने प्रपोगाण्डा पनि हो । प्रपोगाण्डा र डिसइन्फर्मेन उस्तै लागे पनि केही भिन्नता छन् । प्रपोगाण्डा कुनै निश्चित राजनीतिक विचार फैलाउन वा मानिसलाई त्यसमा मनाउन प्रयोग गरिन्छ भने डिसइन्फर्मेनमा नियतवश गलत सामग्री फैलाइएको हुन्छ ।

कसरी रोक्ने त सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको गलत/भ्रामक सूचनाको प्रदुषण ? यस्ता सामग्री फैलिनुको एउटा कारण सूचना/सञ्चार साक्षरता नहुनु हो । हामी हाम्रा साथीभाइ वा चिनेजानेको मान्छेले शेयर गरेको सामग्री गलत हुनसक्छ भन्ने विचारै नगरी फैलाउँछौं । सामाजिक सञ्जालको प्रविधि नै सूचना वा सामग्री शेयर गर्न प्राथमिकता दिने र प्रोत्साहित गर्ने भएकाले भ्रामक सामग्री फैलिन मद्दत पुर्‍याएको छ ।

यसको निराकरणका लागि अमेरिकी अनुसन्धाता माइक कउलफिल्डले ‘सिफ्ट’ नामक विधिको विकास गरेका छन् । अंग्रेजीको एस (स्टप), आई (इन्भेस्टिगेट द सोर्स), एफ (फाइन्ड बेटर कभरेज र टि (ट्रेस क्लेम्स, कोट्स एण्ड मिडिया टु ओरिजिनल कन्टेक्स्ट) । अर्थात् कुनै सामग्री देख्ने बित्तिकै शेयर गरिनहालौं, आफूलाई रोकौं। त्यसपछि आफैं त्यसको खोजी गरौं र त्यसमा गरिएका दाबी वा भनाइको मूल स्रोत पत्ता लगा‌‌औ‌ं । उनका अनुसार यो विधि प्रयोग गरिएमा गलत र भ्रामक सामग्रीको शिकार हुनबाट बच्न सकिन्छ ।

यसबाहेक अर्को उपाय संस्थागत तथ्य जाँच हो । नेपालमा साउथ एसिया चेक र नेपाल फ्याक्टचेकले तथ्य जाँच गर्छन् । चुनावका बेला फैलिने भ्रामक वा मिथ्या सूचनाको अनुगमन गर्ने र सक्रियतापूर्वक तिनको तथ्य जाँच गरी सही सूचनाको सम्प्रेषण गर्नुपर्दछ ।

(अधिकारी सन् २०१५ देखि नेपालमा तथ्य जाँच गरिरहेको साउथ एसिया चेकका सम्पादक हुन् । हरेक वर्ष अप्रिल २ मा अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस मनाइन्छ ।)

प्रकाशित : चैत्र १९, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?