कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक प्रणालीमा परम्परागत संरचना र ‘टप-डाउन’ मोडलले समस्या ल्यायो

आफ्नो जीवनशैली, इच्छा र स्वतन्त्रताका लागि पनि मानिसहरू बिदेसिरहेका छन् । हाम्रा स्कुल र कलेजहरू आज पनि पोलिसिङकै लागि बसिरहेका छन् ।
नरोत्तम अर्याल

विद्यार्थी किन विदेश जान्छन् भन्ने कुरामा बहस गरिरहँदा विद्यार्थीलाई पनि समावेश गराउनुपर्नेमा आयोजकलाई सुझाव दिन्छु । जसको सरोकार तथा भविष्यको विषयमा कुरा गर्छौं; तीबाहेक सबै मानिसको समूहले निर्णय लिने ‘प्यारेन्टिअल’ मनोवृत्ति कर्मचारी, राजनीति र शिक्षामा सबैभन्दा धेरै हाबी छ । यो पुरानो परम्परागत संरचना तथा टप-डाउन मोडलले नै सबैभन्दा ठूलो समस्या पैदा भइरहेको छ । 

शैक्षिक प्रणालीमा परम्परागत संरचना र ‘टप-डाउन’ मोडलले समस्या ल्यायो

विदेश जानेलाई सधैँ गाली गर्ने तर विदेश किन गइरहेको छ भन्ने प्रश्न नसोध्ने प्रवृत्ति हामीमा व्याप्त छ । स्वदेशमा बस्दाको समस्या तथा विदेशीतिरको आकर्षणको कारण खोजेर त्यहि आधारमा हाम्रो प्रणालीलाई डिजाइन गर्ने हो भने धेरै समस्याको समाधान हुन सक्थ्यो होला । उनीहरूलाई सोध्नुको सट्टा हामी आफ्नै राष्ट्रभक्त गुनगान गाउँदै बस्छौं‚ जसले गर्दा यहिँबाट समस्या सुरु हुन्छ ।

धेरै महिला विद्यार्थीसँग कुरा गर्दा एउटा फरक कुरा थाहा पाएँ । स्वदेशमा स्वतन्त्रता नपाउँदा पनि महिला विद्यार्थी बिदेसिरहेका छन् । लुगा किन छोटो लगाएको भनेर शिक्षकदेखि आफन्तसम्मले प्रश्न गर्छन्; यी र यस्ता कुरालाई हामीले अहिलेसम्म विचारै गरेका छैनौं । आफ्नो जीवनशैली, इच्छा र स्वतन्त्रताका लागि पनि मानिसहरू बिदेसिरहेका छन् । हाम्रा स्कुल र कलेजहरू आज पनि पोलिसिङ गर्न बसिरहेका छन् ।

मेरो विचारमा एउटा शिक्षक आफ्नो विद्यार्थीको शिक्षाको विषयमा अनुरागी हुनुपर्छ तब मात्र एउटा शिक्षाको उद्देश्य पूरा हुन्छ । तर‚ हामी त्यो बाहेक सबै कुरामा चासो राखिरहेका हुन्छौं । म आफैँ निजी कलेजको सञ्चालक हुँ । मलाई पनि धेरैले गाली गर्नुहुन्छ होला । तर‚ भन्छु आजभोलि डाक्टरले बिरामीको अनुहारमा ८ सय रुपैयाँ देख्छ । एउटा शिक्षकले विद्यार्थीको अनुहारमा १ लाख रुपैयाँ देख्छ । हामी कुन हदसम्म पुगेका छौं भनेर अनुमान गर्न सकिन्छ । हाम्रो शिक्षा प्रणालीमा एकातिर व्यावसायिक जाल त अर्कोतिर सार्वजनिक शैक्षिक संस्थामा राजनीति हाबी भएको छ । यी दुईवटा जालबाट बाहिर निस्किएको अवस्थामा मात्र हामी विद्यार्थीका लागि राम्रो गर्न सक्छौं ।

हामी औद्योगिक युगमा डिजाइन गरेको शिक्षा प्रणालीलाई अझै पनि च्यापेर बसिरहेका छौं । यो प्रणालीलाई अपडेट गर्नुपर्छ । त्यो शिक्षा प्रणालीलाई परिवर्तन गर्नेतर्फ हामी युवा जमात लाग्यौँ भने अनुभव सोध्छन् । कुनै व्यक्तिले ४० वर्षसम्म चकडस्टर नसमाइकन सुझाव दिन लागेको अवस्थामा त्यसको सुनुवाइ हुँदैन ।

संसारलाई युवा जमात र प्रविधिले हल्लाइरहेका छन् । कति प्रविधिका संस्थापक युवा छन् । तर‚ हाम्रो देशमा शिक्षा नीति परिवर्तन गर्न अझै कति वर्ष चकडस्टर समाउनुपर्ने हो भन्ने यकिन छैन । युवा जमातको कुरा सुनिँदैनन्; कार्यन्वयन त टाढाको कुरा हो । अहिलेका युवाहरूले शिक्षाको छुट्टै अवधारण देखेका होलान् । अहिलेको शिक्षामा के-कस्ता समस्या छन्‚ यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर युवा जमातलाई सोध्ने चलन नै छैन । नेपालमा ६६ सदस्यीय आयोग बन्छ । त्यसमा पार्टीको झन्डा बोक्ने कार्यकर्ता र ४० वर्ष चकडस्टर समाएका शिक्षाविद् हुन्छन् । तर, सामान्य मान्छेको प्रतिनिधित्व हुँदैन । उनीहरूले के चाहिरहेका छन् भन्ने कुराको सम्बोधन हुँदैन । त्यसैले भन्छु सरोकारवाला बाहेक सबैले निर्णय गर्ने अधिकार राख्छन् तर सरोकारवाला के चाहन्छन् भन्ने कुरा सोधिँदैन ।

संसार धेरै अघि बढिसकेको छ । तर‚ नेपालमा गुणस्तरीय शिक्षाको ‘हल मार्क’ कति घण्टा क्याम्पसमा बस्योमै सीमित छ । स्वदेशमा बस्ने विद्यार्थी ८ बजेदेखि ३ बजेसम्म पढिरहेका हुन्छन् । त्यसलाई गुणस्तरीय शिक्षाको नाम दिन्छौं । तर‚ विदेशमा जाने विद्यार्थीले पढाइसँगै कामको अनुभव बटुल्दै आफ्नो खर्च आफैँ जुटाउँछन् । तर‚ तिनीहरूलाई दोष दिनु सिवाय केही गर्दैनौं ।

विदेशबाट पढेर आएको विद्यार्थीहरू ‘इक्विभिलेन्स’ गर्न त्रिभुवन विश्वविद्यालय जान्छन् । तर‚ उनीहरूले इक्विभिलेन्स पाउँदैनन् । हाम्रो हरेक ठाउँमा समस्या छ । तर‚ यसलाई कहिलेसम्म छोप्ने ? त्यसैले देशभक्तिको झण्डा हल्लाउने होइन; विद्यार्थीको भविष्यका लागि सोचौं ।

वास्तवमा भन्ने हो भने अहिलेको शिक्षा जसरी अघि बढ्दै छ; यो ठिक छैन/होइन । नेपाली नागरिकले विश्वमा गएर के गर्न चाहेको छ ? यो स्पष्ट पार्न जरुरी छ । उच्च शिक्षा आयोगको प्रतिवेदन पढ्दै गर्दा मैले विमति जनाएको थिएँ ।

भारतीय नागरिक गुगलको सीईओ बन्दा धेरै गर्व गर्ने तर हाम्रो मान्छे विदेश गएर राम्रो काम गर्दा गर्व गर्ने कि नगर्ने ? विदेश जानु आफैँमा समस्या हो कि होइन ? विदेशी सम्बन्धनमा सञ्चालित स्वदेशी कलेजहरूले ‘फन्ड एफिलिटी’ किन ल्याउँछन् भन्दा नेपालमा नवीन ‘इनोभेसन’ छैन । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले हामीलाई सम्बन्धन दिन्छन् ? कुनै एउटा कलेजले एमबीए चलाउँछु भन्दै त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा गयौं भने ‘हामी शैक्षिक गुणस्तरमा ‘कन्सर्न’ छौँ’ भन्छन्; यो हामीबाहेक अरुले चलाउन सक्दैनन् भन्ने जवाफ पाइन्छ । यदि हामीले गुणस्तरका कुरालाई परिपूर्ति गरेर शैक्षिक संस्था सञ्चालन गर्छु भन्दा पनि सञ्चालन गर्न दिँदैनन् । यो ‘भर्सेस’ कल्चर कहिलेसम्म ? त्यसैले मलाई एउटा ठाउँ देखाइदिनुहोस्‚ जहाँ गएर भन्न पाइयोस्, नेपालको शिक्षा कस्तो बनाउन चाहनुहुन्छ ? अहिले प्रधानमन्त्रीलाई सोध्यौं भने उहाँले पनि समस्या मात्र भनुहुन्छ ।

नेपालमा कलेजमा एउटा कार्यक्रम थप्नका लागि ५ वर्षसम्म चाकडी गर्नेलगायत काम गर्नुपर्छ । पहिलाको जमानामा चाकडी चल्थ्यो होला तर अहिलेका विद्यार्थीले गर्दैनन्; बरु देश छाडेर जान्छन् । पहिला भ्रष्टाचार चल्थ्यो होला । तर‚ अहिलेका पुस्ता सचेत छन् । उनीहरूसँग ‘फ्रिडम अफ च्वइस’ छ । त्यसैले नेपालमा चाकडी गर्नुको सट्टा उनीहरू विदेश जान्छन् ।

बाहिरबाट ल्याएको सम्बन्धन दूधले धोएको छ; गज्जब गरेको छ भनेर दाबी गर्दिनँ; त्यहाँ पनि आफ्नै समस्या र चुनौती छन् । तर‚ नेपालमा चाहिँ वर्षौंदेखि निजी कलेजले ठग्यो मात्र भन्छन् । निजी कलेजले ठगेको छ भने एउटा नीति बनाऔं । हरेक कलेजले वार्षिक प्रतिवदेन सार्वजनिक गर्नुपर्ने नीति राखिदिनूस् । त्यस्तै शैक्षिक गुणस्तरको पनि नीति र क्याटागोरी बनाऔं । त्यो नीतिमा त्रिभुवन, काठमाडौं, किङ्सलगायत सबै कलेजलाई दाँजौं । त्यसपछि छर्लङ्ग हुन्छ कुन कलेज कहाँ हुन्छ ?

विदेशमा बसेका नेपालीहरू पनि स्वदेशमा केही गर्ने चाहना राख्छन् । उनीहरूलाई प्रोत्साहन गर्न सकिन्छ । विदेशमा बसेकालाई आफ्नै बक्सभित्र हाल्ने काम नगरौँ । उनीहरूको चाहना, खोज-अनुसन्धानलाई एकीकृत गरौं । सबैलाई एउटै मोडलमा नघुसाऔं । नेपाल विविधताले भरिएको छ । त्यस्तै यहाँको आवश्यकता पनि विविध छ । शैक्षिक संस्थालाई आइसोलेसनमा हेर्ने प्रयत्न गरिरहेका छौं‚ जुन गलत हो ।

- किङ्स कलेजका प्रधानाध्यापक अर्यालले कान्तिपुर एजुकेसन समिटमा राखेको विचारको सम्पादित अंश

प्रकाशित : चैत्र ११, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?