निजी शिक्षाले समाजमा विभेद ल्याएको छ- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी शिक्षाले समाजमा विभेद ल्याएको छ

निमयन नहुदा निजी विद्यालय अनियन्त्रित
नाफामुखी भएर शैक्षिक संस्था सञ्चालन गर्नु हुँदैन
विद्यानाथ कोइराला

निजी विद्यालयबाट क्रिमिलियर (आर्थिक रुपमा सम्पन्न मानिसको जमात)लाई मात्र फाइदा भएको छ । क्रिमिलियरहरू निजी विद्यालयका सञ्चालकहरू हुन् । घाटाको कुरा गर्दा सामाजिक हिसाबले दरार सिर्जना भएको छ । हुने र नहुनेको स्कुल फरक फरक हुन्छ भन्ने स्थिति हाम्रो समाजमा देखा पर्‍यो । सामाजिक दरार घाटा हो भने व्यक्तिगत र क्रिमिलियरलाई फाइदा भएको नाफा हो ।


आउँदा दिनमा निजी विद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुरा टुङ्गो नभएको विषय हो । अझै हामीमा नन-पब्लिक भएर जाने कि निजी नै भएर जाने अन्योल कायमै छ । सरकारी विद्यालयले नाफा लिँदैन; निजी विद्यालयहरू बिनानाफा चल्दैनन् । यही विषयमा हाम्रोमा गोलमोटोल छ ।

निजी विद्यालय खोल्दा सबैभन्दा धेरै नाफा राजनीतिक दललाई हुँदो रहेछ । आफूले उदार अर्थनीति ल्याएकाले अहिले नेपाली कांग्रेसले फुर्ती गर्न पाएको छ । एमाले र एकीकृत समाजवादीले देशका करिब ६० प्रतिशत विद्यालय हाम्रा छन्; त्यहाँ हाम्रा कार्यकर्ताले जागिर खाएका छन् र नियमित रुपमा लेबी तिरिरहेका छन् भनेर गर्व गर्न पाएका छन् । यसको भरपुर फाइदा ती पार्टीले उठाएका छन् ।

माओवादी र अझ क्रान्तिकारी माओवादीलाई हामीलाई चन्दा दिने भरपर्दो स्रोत यही क्षेत्र हो भन्ने छ । पूर्ववक्ताहरूको भनाइ सुन्दा निजी विद्यालयको फाइदा सन्तान कम हुने; आर्थिक अवस्था राम्रो हुनेलगायत सीमित वर्गका लागि मात्र रहेछ । बाँकीको हालत के हुने ? त्यो सोच्दा हामीले अपराध गर्‍यौं भनेर सोच्नुपर्छ कि पर्दैन ? आर्थिक रुपमा समाजमा विभेद ल्याउने प्रणालीको विकास तथा विस्तार शिक्षित मानिसले गर्ने काम हो ? पक्कै पनि होइन ।

अब गुणस्तरको कुरा गरौं । बच्चा अंग्रेजी बोल्न सक्दैमा गुणस्तरमा सुधार आयो भन्ने जमाना अहिले छैन । अब त ठमेलको कुकुरले पनि अंग्रेजी बोल्छ । तपाईंका बच्चाले रोबोट बनाउँछन्; अब त्यत्तिले पुग्छ ? निजी विद्यालयमा पढ्ने बच्चाहरू पनि आत्मनिर्भर हुने खालका काम गर्न सक्ने भएपछि मात्र गुणस्तरमा सुधार भएको मान्न सकिन्छ ।

हामीमाझ निजी र सरकारी विद्यालयबीचको सहकार्यको विषय चर्चामा ल्याइरहने तर कार्यान्वयन नहुने समस्या छ । विगतमा दुईवटा विद्यालयलाई निजीसँगको साझेदारीमा सञ्चालन गर्ने प्रयास पनि भएको हो । तर, त्यस्ता कार्य पूर्ण रुपमा असफल भएका छन् । निजी क्षेत्रले खोलेका स्कुल कलेज शहरमा छन् । बहुसंख्यक गरिब मानिस गाउँमा बस्छन् । उनीहरूलाई शिक्षा दिन गाउँगाउँमा विद्यालय खोलिनुपर्छ । त्यसका लागि ननपब्लिक मोडेललाई प्रोत्साहन गरौं । ननपब्लिक भनेको नाफा नलिने तर सरकारबाट केही रकम लिएर विद्यालय सञ्चालन गर्ने प्रणाली हो । चीनमा किन्डरगार्टेनको स्कुलको जिम्मा बाबुआमाले लिने हो; सरकारले लिँदैन । त्यस्तो ठाउँको करिब ६५ प्रतिशत विद्यालय निजी क्षेत्रबाट सञ्चालित छन् । त्यहाँ निजी विद्यालयहरू पूर्ण रुपमा नियमनको दायरामा हुन्छन् । नेपालमा नियमन छैन । निजी क्षेत्रले सरकारले भनेको मान्दैन । सरकारले स्कुल कलेजको नाम अंग्रेजीमा नराख्न; नेपाली राष्ट्रियता झल्किने गरी राख्न निर्देशन दिएको छ । तर, तपाईंहरू किन मान्न तयार हुनुहुन्न ?

एक पटक आफू नेपाली भएर सोचौं न । मेहनत गरेर पैसा कमाउनुभयो; म त्यसको सम्मान गर्छु । तर, आफू जिम्मेवार भएर सोचौँ न । आफूलाई पब्लिक स्कुल पनि भन्ने‚ अनि नाफामा पनि चल्ने गर्नु त भएन नि । अब नामअनुसारको काम गरौं ।

निजी स्कुलहरूको पहुँच बलियो भएकै कारण सरकारी स्कुल सुध्रिन नसकेका हुन् । उनीहरुको पहुँच सबै राजनीतिक दलसँग छ । उनीहरूले चाहेमा सरकार नै ढाल्दिन सक्छन् । हाम्रा राजनीतिज्ञ पैसामा बिकेका छन् । यसकारण जनता जनार्दनले घाटा (अपराध) बेहोरिरहनु परेको छ । यो समस्या सल्टाउने जिम्मा पनि निजी क्षेत्रकै हो । देशको क्रिमिलियर; मेहनत गर्न सक्ने; मान्छेको खल्तीबाट पैसा निकाल्न सक्ने भएकै कारण अब निजी क्षेत्रले पनि इमान्दार भएर काम गरौं । पहिलो दुर्गम स्थानमा ननपब्लिक मोडेलमा विद्यालय सञ्चालन गरौं, जुन सरकारद्वारा फन्डेड र निजी क्षेत्रको व्यवस्थापन भएको वा साझेदारीमा फन्डेड भएको पनि हुन सक्छ । नजिकैका स्कुलहरूसँग पनि सहकार्यको खाका बनाएर अघि बढौं ।

सरकारी स्कुलको आत्मविश्वास बढाउनुपर्ने टड्कारो आवश्यकता हामीसामू छ । सरकारी विद्यालयको नेतृत्वमा राजनीतिक दलका कार्यकर्ता भएकाले पनि दुःख पाइयो । राजनीतिक आडमा शिक्षक संघसंगठन धेरै बलिया भएका छन् । अहिलेको संविधानले पनि माध्यमिक तहसम्मको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर‚ अहिले स्थानीय तहको अधिकार कटौती गरेर माथि ल्याइएको छ; त्यसमा शिक्षकहरूले सहमति जनाएका छन् । यो विषयले निजी क्षेत्रलाई एकाधिकार दिन खोजेको भान हुन्छ । हामी कुन विचारको पक्षमा रहेर अघि बढ्ने हो; त्योबारे स्पष्ट हुनुपर्‍यो । केन्द्रवादी, जनवादी केन्द्रीयताका वा विकेन्द्रित विचारको पक्षमा रहने भन्नेबारे स्पष्ट गरौं । राजनीतिक दलको अर्को पाटो रहेछ । राजनीतिक दलले सरकारी विद्यालयलाई स्थापना गर्न तयार; सञ्चालन गर्न तयार; काम लाउनलाई तयार तर राम्रो काम गर्‍यो वा गरेन भनेर हेर्न तयार नहुने र नराम्रो काम गर्दा पनि ढाकछोप गर्ने प्रवृत्ति कायम रहेको छ । राजनीतिक दलको यही अपराधीकरण गरेको परिणति सरकारी स्कुलहरूले नराम्ररी भोगिरहेका छन् । त्यसको भरपुर फाइदा निजी क्षेत्रलाई भएको छ । सरकारी स्कुल जति कमजोर भयो त्यति निजी बलियो हुने हो । यो निजी क्षेत्रले बुझेको छ । नाफामात्र निजी क्षेत्रको जिम्मेवारी होइन । अब पैसाले पुग्यो । सेवामा पनि ध्यान दिनुहोस् ।

पहिलो‚ निजी विद्यालयलाई कुन प्राइभेट र कुन ननपब्लिक हो भनेर छुट्याउनुपर्छ । निजी स्कुल राम्रो र नराम्रो भन्ने दुवै पार्टीले सरकार चलाइरहेका छन् । निजी शिक्षा यस्तो र उस्तो भन्ने दिन गए । अब निजी क्षेत्रका विद्यालयलाई पनि नियमन गर्ने बेला आएको छ । यसमा निजी क्षेत्रका साथीहरू पनि सहमत हुनुहुन्छ । १२ कक्षासम्मको जिम्मा पालिकालाई र उच्च शिक्षाको जिम्मा प्रदेश र संघीय सरकारलाई दिन सकिन्छ । निजी विद्यालयलाई पनि मर्जरमा लैजाऔं । सरकारी स्कुलको ढोकामै बोर्डिङ स्कुल खोल्नु भएन । त्यो त मिचाहा प्रवृत्ति र अपराध हो । त्यस्ता स्कुलहरू गाभेर ठूलो निजी स्कुल बनाउन सकिन्छ । सरकारी र निजी स्कुलबीच सहकार्यको मोडेल बनाऔं । धेरै गरिब भएका स्थानमा ननपब्लिक स्कुल बनाऊँ; तिनमा सरकारले लगानी गर्छ । हुनेखाने परिवार बसोबास गर्ने ठाउँमा ठूला निजी विद्यालय सञ्चालन गरौं । कम्तीमा प्रत्येक बच्चामा आफैं केही गरेर खान सक्छु भन्ने आत्मविश्वास जगाउन सकियोस् । निजी स्कुलमा पढेका अधिकांश विद्यार्थीको गन्तव्य युरोप, अमेरिका, अस्ट्रेलिया लगायत विकसित राष्ट्र बनेका छन् । नेपालमा पनि धेरै राम्रा ठाउँ छन्; धेरै सम्भावना छ; विदेसिनुमात्र विकल्प होइन भनेर बच्चालाई सिकाउन पनि त सकिन्छ । नेपालमा पानी घट्ट, ढिकी, जाँतोलगायत धेरै पैराणिक प्रविधिहरू हामीसँग छन् । निजी विद्यालयमा अध्ययन गर्ने अधिकांश बच्चालाई यी प्रविधिबारे जानकारी नै छैन । अब ती वस्तुबारे पनि जानकारी दिऊँ ।

हुने र नहुनेबीचको अन्तर (ग्याप) स्वभाविक हो । तर, त्यो अन्तर बढ्दै गयो भने द्वन्द्व निम्तिन्छ । त्यसैले त्यो अन्तर कम गर्नेतिर सोचौं । विद्यालय मर्जरको अभियान चलाऊँ । त्यसको नेतृत्व निजी क्षेत्रले गर्न सक्छ । सरकार भनेकै तपाईंहरू हो । जुनसुकै कारणले भए पनि तपाईंहरूले सरकार चलाउन सक्ने क्षमता राख्नुहुन्छ । यत्रो शक्ति दुरुपयोग गरेर पैसामात्र कमाउन लाग्नु भएन । समाजमा बसेपछि अलिकति आफ्नो उत्तरदायित्व र जिम्मेवारीबारे पनि सोच्नुपर्छ ।

(सोमबार कान्तिपुर एजुकेसन समिटमा शिक्षाविद् कोइरालाले राखेको विचारको सम्पादित अंश)

प्रकाशित : चैत्र ११, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

जोड्ने भाष्यको खोजी

विद्यानाथ कोइराला

दलीय भाष्य बदल्ने कि ?एकअर्को दललाई राजनीतिक हिलो छ्याप्न सबै सिपालु भयौं । त्यसका निम्ति सिंगो संरचना बन्यो । बनायौं । समर्पित संरचना । दलहरू आफैं स्थिर संरचना भयौं । तिनका भ्रातृ/भगिनी संगठनहरू शाखा संरचना भयौं । शिक्षकका । प्राध्यापकका । विद्यार्थीका । कर्मचारीका । यसरी हामीले संरचनागत टकरावको भाष्य सिर्जना गर्‍यौं । यो टकरावी भाष्यलाई विषयगत संवादले जोडे के हुन्छ ? त्यसका निम्ति जान्नुपर्छ, दलहरूको राज्य सञ्चालनसम्बन्धी मिल्दो डिजाइन के हो ? कृषि विकासको मिल्दो डिजाइन के हो ? फरक डिजाइन के हो ?

यस्तै, स्वास्थ्यको मिल्दो र अमिल्दो डिजाइन के हो ? शिक्षाको के हो ? राजनीतिको के हो ? अरू विषयको के हो ? यसो गर्नलाई थप संरचना चाहिन्न । थप विज्ञता पनि चाहिन्न । खालि दलहरूले भाष्यको गेडो बदल्नुपर्छ । यसो गर्नाले दलहरूले नयाँनयाँ विचार पाउँछौं । आफ्ना विचारलाई समयसापेक्ष बनाउन पाउँछौं । आआफ्ना कार्यकर्ता भएका ठाउँमै विज्ञता पाउँछौं । यसो गर्ने हो भने टकरावको राजनीति सृजनाको भाष्यमा बदलिन्छ । प्रश्न हो, राजनीतिमा कोही पनि स्थायी शत्रु तथा स्थायी मित्र हुन्नन् भन्ने पुरानो भाष्यकै अभ्यास गरिरहने कि अभ्यास बदल्ने ? विधागत रूपमा एउटै भाष्य बोल्नेहरूलाई नै कहिले शत्रु ठहर्‍याउने, कहिले तिनैलाई मित्र भन्ने–भनाउने फोहोरी खेलकै पुनरावृत्ति गर्ने कि खेल बदल्ने ? बेलायतीले भनेझैं, ‘मोरल कोल्याप्स’ बाट आफू पनि बच्ने अनि अरूलाई पनि बचाउने कि माकुरालेझैं त्यही जालमा परे–पारेर रमाउने ? राजनीतिज्ञहरूले यसबारे सोच्ने कि ?

जातजातीय भाष्य बदल्ने कि ?
हामीले जातजातीय तथा लैंगिक भाष्यहरू उछाल्यौं । उछाल्नमै शक्ति खर्चिइरह्यौं । यो खर्चाइले अंग्रेजीमा भनिने ‘ओक संस्कृति’ बन्यो । बहुपहिचानको संस्कृति । यो हदसम्म ठीकै गर्‍यौं । अब आएर त्यही ‘ओक संस्कृति’ अराजक बन्न थाल्यो । एकअर्कामा वैमनस्य पैदा गर्न थाल्यो । यसले अर्को भाष्य माग्यो । त्यो भाष्य हो- पालिका तहबाटै जातजातीयको अर्घेलो कसरी समाधान गर्ने ? एकअर्को जातजाति तथा लिंगका गुणहरूको सूची कसरी बनाउने ? त्यो सूचीलाई कसरी जनस्तरमा पुर्‍याउने ? एकअर्का जातजाति तथा लिंगका मानिसहरूलाई मन दुख्ने कामकुराहरू केके हुन् ? ती कुराहरूको खोजी कसले गर्ने ? खोजेका कुरालाई अंग्रेजी शब्दावलीको ‘क्यान्सिल संस्कृति’ मा कसरी रूपान्तरित गर्ने ? क्यान्सिल संस्कृतिले खराब संस्कृति रोक्ने दस्ता खोज्छ । खराब व्यवहार रोक्ने दस्ता खोज्छ । राजनीतिक दलहरूले बनाएका संरचनाहरू नै ती दस्ता बन्न सक्छन् । बनाउन सक्छौं । यी कुराहरूको थालनी भने पालिका तहमै हुनुपर्छ । हाम्रो बहुलताले त्यही माग्छ । यसरी जातजातीय तथा लैंगिक भाष्यले औंल्याएका समस्याहरू सल्टाउँदै अगाडि बढ्ने कि उछाल्ने भाष्यमै मज्जा मानिरहने ? ‘भ्यालु ग्याप’ बढाइरहने कि मिलाउने उपाय खोज्ने ? भाष्यकारहरू के भन्छौं ? उछालिन बाध्य समुदाय के भन्छौं ? तिनका अगुवा के भन्छौं ? सरकारमा हुने राजनीतिक दलहरू के भन्छौं ? सरकारबाहिरका दलहरू के भन्छौं ? समुदायका अधिकारकर्मी के भन्छौं ?

डिजिटल भाष्य बदल्ने कि ?
डिजिटल भाष्यले अंग्रेजी शब्दको इको च्याम्बर बनायो । सामाजिक सञ्जाल इको च्याम्बर हो । वेब साइट इको च्याम्बर हो । इको च्याम्बर चलाउने मान्छे कहाँ बस्छ, थाहा छैन । त्यसको प्रभाव भने घरघरमा परिरहेको हुन्छ । यस्ता इको च्याम्बरहरूले अनेकौं जानकारी दिएका छन् । कति राम्रा । कति नराम्रा । यो बेलाको हाम्रो भाष्य हो, ती च्याम्बरहरू बन्द गर्ने कि खुला गर्ने ? यो भाष्य बदल्न बन्द गर्नेबाट सिक्ने के ? खुला गर्नेबाट सिक्ने के ? यति कुरा सोच्नासाथ भाष्य बदलिन्छ । जस्तो, दिसापिसाब फोहोर हो । यो एउटा भाष्य हो । त्यो फोहोरबाट जैविक मल बनाएमा देशले रासायनिक मल किन्नुपर्दैन । अर्को भाष्य हो । नांगो तस्बिर अश्लील हो । यो एउटा भाष्य हो । डाक्टरी पढ्ने त्यही नांगो मान्छेमा अध्ययन गरेर युरोलोजिस्ट बन्छ । गाइनेकोलोजिस्ट बन्छ । यो अर्को भाष्य हो । यसरी भाष्य बदल्ने कला पो सिकाउने कि ? ती इको च्याम्बरहरूलाई पनि सदुपयोग गर्ने संस्कार पो बनाउने कि ? बन्द र खुलाबीचको कडी पो खोज्ने कि ?

भाषिक भाष्य बदल्ने कि ?
हामी बहुभाषी देशका बासिन्दा हौं । भन्न चाहिं ‘तेरो र मेरो भाषा’ भनिरहेछौं । नेपाली भाषाले आन्तरिक उपनिवेश कायम गर्‍यो भन्ने भाष्य बोकेका छौं । बोकाएका छौं । संस्कृत भाषा मुर्दावाद भनिरहेछौं । भनाएका छौं । सम्पर्कभाषा चाहिन्छ पनि भनिरहेछौं । अर्कातिर न्युरोलिंगुइस्टहरू धेरै भाषा जान्नेहरूमा अल्जाइमर रोग लाग्ने कम सम्भावना हुन्छ भन्दै छौं । दिमागवेत्ताहरू दिमागी कोष क्रियाशील बनाउन बहुभाषी बन भनिरहेछौं । भाषाअधिकारकर्मीहरू आआफ्ना भाषाहरू च्यापिरहेछौं । यी एकलकाँटे भाष्यहरूलाई जोड्न–जोडाउन एकअर्काका भाषा सबैले सिकौं–सिकाऔं भने के हुन्छ ? नीतिकारले । शिक्षकले । नेताले । अधिकारकर्मीले । यसबारेमा सबै जना घोत्लिने कि भाषिक उपनिवेशका कुरामै रमाउने ?

शिक्षण सिकाइ भाष्य बदल्ने कि ?
पढ्ने-पढाउने ठाउँ स्कुल हो । कलेज/क्याम्पस हो । विश्वविद्यालय हो । अहिलेको भाष्य यही हो । पढाइ व्यावहारिक भएन । जनमुखी भएन । यो दोस्रो भाष्य हो । हामी त निरक्षर छौं । तर जीवन जिउने सीप तथा ज्ञान हामीसँग छ । यो तेस्रो भाष्य हो । यसको अर्थ हो, हामी तीनवटै भाष्यहरू मिलाउन सक्छौं कि त ? उदाहरणले भन्छ, सहज छ । जस्तो, मोबाइलमा सिक्यौं । किताब पढ्यौं । खेतबारीमा काम गरेर सिक्यौं । स्कुल, कलेज तथा विश्वविद्यालयमा सिक्यौं । ठूला शब्दमा भन्दा स्कुल, कलेज तथा विश्वविद्यालयमा सिक्ता औपचारिक शिक्षा लियौं । खेतबारीमा सिक्ता अतिरिक्त । मोबाइलको कार्यक्रममा सिक्ता अनौपचारिक । यसले दिने सन्देश हो- एउटै कुरा तीनवटा मोडमा सिक्यौं । यसरी सिक्न सक्छौं भने सिकाउन किन सक्तैनौं ? किन स्कुल, कलेज तथा विश्वविद्यालय खोल्ने तथा बन्द गर्ने भाष्य मात्र बोकिरहेछौं ? बोकाइरहेछौं ? स्कुल, कलेज तथा विश्वविद्यालयका कुरालाई खेतबारीमा किन जोडेनौं ? किन जोडाएनौं ? खेतबारी तथा घरघरका कुरा किन स्कुल, कलेज तथा विश्वविद्यालयमा जोडेनौं ? आधुनिक प्रविधिका कुरालाई किन खेतबारी वा घरघरका कुरामा जोडेनौं ? किन जोड्न–जोडाउन प्रेरित गरेनौं ? शिक्षकले ? प्राध्यापकले ? अभिभावकले ?

क्रान्तिकारी भाष्य बदल्ने कि ?
ध्वंसको पर्याय बनेको छ क्रन्तिकारी भाष्य । थर्काएर बोल्ने वा बोल्न लगाउने । टेबल ठोक्ने वा ठोक्न लगाउने । कालो मोसो दल्ने वा दल्न लगाउने । भौतिक संरचना नष्ट गर्ने वा गर्न लगाउने । धम्क्याएर पैसा असुल्ने । ठेक्का हात पार्ने । क्रान्तिकारीको पहिचान त्यस्तो भयो । यो पीडादायक भाष्यलाई नबदल्ने हो भने क्रान्तिकारी भन्ने शब्द नै बदनाम हुन्छ । यसलाई बचाउनका लागि पनि भाष्य बदल्नु जरुरी छ । अबको क्रान्तिकारी हौं भन्नेहरूले जातजातीय छुवाछुत निर्मूल पार्ने कि ? लैंगिक विभेद तथा बालहिंसा आदिलाई घरबाटै निमिट्यान्न पार्ने कि ? आफू बसेको समुदायमा भएका विभेदहरूको अनुसन्धान गर्ने कि ? अनुसन्धानका आधारमा कामको थालनी गर्ने कि ?

आधुनिक भाष्य बदल्ने कि ?
आधुनिक भनेको के हो ? रैथानेको सुधार हो कि अरूको अनुकरण ? हालको अलमल यही हो । यो अलमलले नयाँ भाष्य खोज्छ । रैथानेमा सुधार । अरूको र रैथानेको वर्णसंकर । यसो भन्ने हो भने शिक्षाको रैथाने संरचना के हो ? स्वास्थ्यको के हो ? कृषिको के हो ? तिनमा के थपे आधुनिक बन्छ ? के झिके आधुनिक बन्छ ? केमा वर्णसंकर बनाए आधुनिक बन्छ ? यसको लेखाजोखा पो गर्ने हो कि ? त्यसकै आधारमा विधागत आधुनिकीकरण गर्ने अभियान पो थाल्ने कि ?

आर्थिक भाष्य बदल्ने कि ?
प्रकारान्तरले हामीलाई अर्थप्रेमी बनायो । गुजारामुखी खेती छोडेकाले । चाहना बढाएकाले । सहरवासी बन्न थालेकाले । महँगा आधुनिक उपकरण किन्नुपर्ने बाध्यताले । रहरले । प्रतियोगितात्मक भावनाले । यो स्थितिले हामीलाई धनमुखी बनायो । भ्रष्टाचारउन्मुख । लिप्त । परिणामतः हामी यही भाष्यका वरिपरि घुम्यौं । यो स्थितिमा व्यवस्थित आर्थिक भाष्य बनेन । गुजारामुखीका लागि थप कमाइको भाष्य । आधुनिक उपकरण उपलब्ध गराउने किस्ताबन्दीका कुरा । चाहनावालालाई थप श्रम गराएर आधुनिक उपकरण उपलब्ध गराउने तरिका । बाध्यतावालालाई संस्थागत सहयोग गर्ने तरिका । किस्ताबन्दीमा तिर्ने गरी पाइने घरघडेरीका कुरा । जग्गाजमिनका कुरा । यी र यस्ता भाष्यहरूले हामीलाई धनमा मरिहत्ते गर्ने चिन्तनबाट हटाउँथे । केका लागि धनमा मरिहत्ते गरे भन्ने कुराको उत्तर आउँथ्यो । कतै यो कामको संस्थागत थालनी गर्ने हो कि ?

अधिकारमुखी भाष्य बदल्ने कि ?
हामी कर्तव्यवादी चिन्तक हौं । रिझाएर अधिकार हत्याउने चिन्तक । पैठारी गरिएको अधिकारवादी चिन्तन हाम्रो समाजमा नमिल्नुको कारण यही हो । यो अमिल्दोपनाले हामी अनुशासनहीनताका कुरा गर्न थाल्यौं । नैतिकताहीनताका कुरा गर्न लाग्यौं । यो स्थितिले अर्को भाष्य खोज्यो । अधिकार र कर्तव्यबीच सन्तुलन गर्ने–गराउने भाष्य । यो अधिकार पाउन यो कर्तव्य गर भन्ने भाष्य । यो कर्तव्य गरे यो अधिकार पाइन्छ भन्ने भाष्य । यो भाष्यमा हामी सोच्न थाल्ने कि ? लेख्न थाल्ने कि ? पैरवी गर्न थाल्ने कि ? अधिकारका कुरा गरेर पनि उपलब्धि हुन नसकेका कुरामा घोत्लिने कि ? अधिकार तथा कर्तव्यबीच सन्तुलन खोज्ने कि ? अधिकार पूरा गर्न नसक्ने संरचनाको समस्या बुझ्ने कि ?

ज्ञान, प्रविधि तथा विज्ञान सम्बन्धी भाष्य बदल्ने कि ?
विज्ञान, अविज्ञान तथा झूठ विज्ञानजस्ता शब्दावलीमा विज्ञान बसेको छ । प्रयोगशालामा प्रमाणित कुरा विज्ञान हो । प्रयोगशालामा परीक्षण नगरिएको कुरा अविज्ञान हो । विज्ञान हो भन्ने दाबी गर्दा पनि प्रमाण नजुटेको कुरा अविज्ञान हो । यो हाम्रो भाष्य हो । यो भाष्यले हामीलाई कित्तामा बाँड्यो । परिणामतः हामी शब्द–प्रयोगमा अलमलियौं । वैज्ञानिक शिक्षा । वैज्ञानिक समाजवाद । यस्ता फुँदा जोडिएका कुरा के हुन् त ? त्यसबारे हाम्रो सोचले पुनः प्रयोगशाला नै खोज्यो । खोजायो । यहीँनेर हामीले भाष्य बदल्ने हो कि ? हाम्रा ढिकी, जाँतो, कुटो, कोदालो, ढिकुली, ठेकी, मदानी, आरन, पञ्चेबाजाजस्ता प्रविधिमा विज्ञान छ कि छैन ? तिनका कार्यथलोलाई प्रयोगशाला मान्न हुन्छ कि हुँदैन ? कुन तरकारी पकाउँदा कुन मसला हाल्ने भनी जान्नेहरू वैज्ञानिक हुन् कि हैनन् ? के ती अवैज्ञानिक हुन् त ? के ती झूठ वैज्ञानिक हुन् त ? यसरी प्रश्न गर्ने भाष्य बनाउनासाथ हाम्रो परम्परागत विज्ञान चिनिन्छ । परम्परागत प्रविधिमा कुन विज्ञान प्रयोग भएको छ भनी खोजिन्छ । मार्क्सवादलाई विज्ञान भन्नेले यो तथ्यबारे किन सोचेनौं भन्ने कुराको जानकारी मिल्छ । फलानो दिन ग्रहण लाग्छ भन्ने कुरा बुझ्ने–बुझाउने पुर्खाको सम्मान हुन थाल्छ । सबैतिर कारण तथा असर खोज्ने संस्कार बन्छ । प्रश्न हो- यो संस्कार बनाउने कि अमूर्त अर्थमा वैज्ञानिक भन्ने शब्दप्रेम देखाइरहने ?

निजी लगानीलाई उपयोग गर्ने कि दुत्कार्ने ?
निजी लगानी बन्द गर्नु एउटा भाष्य हो । लगानीकर्ताकै मनोमानी चल्न दिनु अर्को भाष्य हो । त्यसलाई निश्चित क्षेत्रमा मात्रै लगानी गर्न दिनु तेस्रो भाष्य हो । यस्ता भाष्य अनेकौं छन् । हुन सक्छन् । हामी कुन भाष्यमा जाने हो ? बन्द गर्ने भए तिनको लगानीलाई कसले किन्ने ? जनशक्ति कसले उपयोग गर्ने ? किन्नेले सोही गतिमा चलाउन सक्ने कि नसक्ने ? नसके के हुने ? यी कुराहरूको पनि एकसाथ टुंगो गर्नुपर्ने हो कि त ? मनोमानीमै छोड्ने हो भने कसरी ती निजी लगानीकर्ता तथा सरकारी एवं सहकारी लगानीबीच सहसम्बन्ध कायम गर्ने ? एकअर्कासँग भिड्नुपर्ने स्थितिबाट कसरी बचाउने ? निश्चित क्षेत्रमा लगानी गराउने हो भने कुनकुन क्षेत्रमा लगानी खुला गर्ने ? कुनकुन क्षेत्रमा लगानी निषेध गर्ने ? कुन क्षेत्रमा लगानी गरे सरकारले सुरक्षा दिने ? कुन क्षेत्रमा लगानी गरे लगानीकर्ताले नै सुरक्षाको जिम्मेवारी लिने ? यी र यस्ता विषयलाई पो भाष्य बनाउने कि ?

मैझारो
हरेक क्षेत्रमा भाष्यहरू छन् । हुन्छन् । एक दशकका भाष्यहरूको विधागत विश्लेषणले त्यसै भन्छ । शिक्षामा व्यावहारिक, वैज्ञानिक, प्राविधिक तथा व्यावसायिकता चाहियो । दशकौंको भाष्य हो यो । त्यसो भए सामाजिक शिक्षाबारे के भन्ने ? मानविकी शिक्षाबारे के भन्ने ? सीप भएका तर बजार नपाएका परम्परागत सीपका धनीहरूको शिक्षालाई कुन तहमा राख्ने ? व्यावसायिकमा ? प्राविधिकमा ? अर्को कुनैमा ? कृषिको भाष्यमा धेरै फलाउने कि रैथाने फलाउनेबीचको भाष्य हुन सक्छ- धेरै फल्ने रैथाने उत्पादन गर्ने ? मल कारखाना स्थापना गर्ने कि मौजुदा सेप्टिक ट्यांकी बनाउने भाष्य नै बदलेर दिसापिसाबलाई रासायनिक मलको विकल्प बनाउने ? विज्ञान र वैज्ञानिक भनेर बोलिरहने कि हाम्रा अभ्यासहरूमा वैज्ञानिकता खोज्ने–खोजाउने ? एक थरीको भाष्यलाई मात्रै उचालिरहने कि ? भाष्यहरूमा फेरबदलको संस्कृति बनाउने ? नेपाली समाज बुझ्ने–बुझाउने विदेशी भाष्यमै अल्झिने कि आफ्ना भाष्यहरूको खोजी गर्ने ? इतिहासलाई मात्रै उधिन्ने कि ऐतिहासिक गल्तीबाट सिके–सिकाएर अगाडि बढ्ने भाष्यहरूको खोजी गर्ने–गराउने ? यी र यस्ता विषयगत भाष्यहरूको खोजी गरौं । तिनका भाष्यहरूको लेखाजोखा गरौं । भाष्यहरू नबनेका विषयलाई अगाडि ल्याऔं । यसो गर्ने देशहरू प्रगतिपथमा छन् । भाष्य दोहोर्‍याउनेहरू स्थिर छन् । त्यही भीडमा रमाएका छन् । त्यसैले पछाडि छन् । सोचौं, भाष्य दोहोर्‍याएर फुटमै बस्ने–बसाउने कि जोड्ने भाष्यहरू खोजे–खोजाएर अघि बढ्ने ? जिम्मेवारी हाम्रै हो ।

प्रकाशित : फाल्गुन १५, २०७८ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×